+
+

अपडेट : उर्लाबारी आगलागीमा मृत्यु हुनेको संख्या २ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १०:२९

७ मंसिर, विराटनगर । मोरङको उर्लाबारीमा लक्ष्मीपूजाको दिन भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका–७ बरगाछीमा २६ कात्तिकमा भएको आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको पनि मृत्यु भएपछि यो घटनामा मृत्यु हुनेको संख्या २ पुगेको हो । गत मंगलबार उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आगलागीमा परेर गम्भीर घाइते उर्लाबारी–७ का हेमकुमार दाहालको काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।

लक्ष्मीपूजाको दिन कात्तिक २६ गते दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट आगलागी भएको थियो । आगो नियन्त्रणमा लिने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको मृत्यु भएको हो । २६ जनाको उपचार भइरहेको छ । तीमध्ये सात जनाको अवस्था गम्भीर छ ।

कार्कीको घरमा सुनचाँदी पसलसहित भायानेटको कार्यालय र घर नजिकै फर्निचर पसल थियो । आगलागीबाट सुनचाँदी पसल तथा भायानेटको कार्यालयमा पूर्णरूपमा जलेको थियो । फर्निचर पसलमा आंशिक क्षति भएको छ । आगलागीबाट ३ करोड ४१ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?