+
+

लाभांश प्रभावले नबिल बैंकको सेयर मूल्यमा भारी गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १५:४४

७ मंसिर, काठमाडौं । हालसम्मकै न्यून लाभांश घोषणा गरेपछि नबिल बैंकको सेयर मूल्यमा भारी गिरावट आएको छ । बिहीबार एकै दिन कम्पनीको सेयर मूल्य ८.२० प्रतिशत अर्थात् प्रतिकित्ता ४६ रुपैयाँले घटेको छ । सो गिरावटपछि कम्पनीको मूल्य बिहीबार बजार बन्द हुँदा ५१५ रुपैयाँमा झरेको छ । अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुमा नबिलको सेयर मूल्य सबैभन्दा उच्च प्रतिकित्ता ५६१ रुपैयाँ रहेकोमा बिहीबार भने स्टान्डर्ड चार्टड बैंकको मूल्य सबैभन्दा उच्च ५२४ रुपैयाँ रहन पुग्यो ।

बिहीबार सेयर मूल्य घटेका कम्पनीमध्ये नबिल सबैभन्दा अगाडि देखियो । यस दिन धेरै कारोबार हुने कम्पनीमा पनि नबिल नै सबैभन्दा अगाडि रह्यो । बिहीबार कुल १ अर्ब ३४ करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा नबिलको मात्रै १३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भयो ।

लाभांशसँगै पहिलो त्रैमासको रिपोर्टको असर

नबिलको सेयर मूल्यमा एकैदिन यति ठूलो गिरावट आउनुको प्रमुख कारण कम्पनीबाट घोषित लाभांशप्रति लगानीकर्ता असन्तुष्ट रहनु हो । नबिल बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पुँजीको जम्मा ११ प्रतिशत अर्थात् प्रतिकित्ता ११ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । बैंकले यसपटक सेयर बोनस नदिने भएको छ । बैंकले घोषणा गरेको यो लाभांश हालसम्मकै न्यून हो ।

अर्कोतर्फ नबिलको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण पनि राम्रो आउन सकेन । चालु वर्षको पहिलो तीन महिनामा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको निष्क्रिय कर्जा कुल कर्जामा ३.६९ प्रतिशत पुगेको छ, पहिले यो २.३३ प्रतिशत थियो । जसले गर्दा नबिलको सेयर बिक्रीमा चाप पर्न गई मूल्यमा भारी गिरावट देखियो । वार्षिक प्रतिसेयर आम्दानी पनि २७ रुपैयाँबाट २१ रुपैयाँमा झरेको छ ।

किन घट्यो नबिलको लाभांश ?

नबिलले साविकको नेपाल बंगलादेश बैंकलाई गाभेपश्चात बढेको चुक्ता पुँजी र निक्षेपअनुसार आम्दानी तथा नाफा बढ्न नसक्दा बैंकको लाभांश क्षमता घटेको छ । निक्षेप तथा कर्जाको औसत ब्याज अन्तर (स्प्रेड दर) नियामकीय प्रावधानअनुरुप घट्दै जानु, समयमै कर्जा नउठ्नुजस्ता चुनौतीले बैंकको नाफासँगै प्रतिफल क्षमतामा ह्रास आएको छ ।

पछिल्लो समय नबिलसहित सबैजसो बैंकको सम्पत्तिमा प्रतिफल (रिटर्न अन इक्वीटी) घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा नविलको १३.३८ प्रतिशत यस्तो प्रतिफल रहेकोमा यो वर्षको पहिलो त्रैमासमा १०.०३ प्रतिशतमा झरेको छ ।

यस्तो छ नबिलको लाभांश इतिहासः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?