+
+
घुमघाम :

विद्यार्थीकालको सम्झना बोकेर लण्डनतिर बरालिंदा

अध्ययनका लागि बेलायत पुग्दा लण्डनको मेयरमा बोरिस जोन्सन थिए। उनी बेलायतको प्रधानमन्त्री बनिसकेर पनि राजनीतिबाट ओझेल परिसके। तर १४ वर्षअघि देश छोड्दै गर्दा नेपालको राजनीतिको केन्द्रबिन्दुमा जो थिए, आज पनि उनीहरू नै छन्।

मोहन बराल मोहन बराल
२०८० मंसिर ९ गते १२:३८
लण्डनको वूलविच सहर ।

१४ वर्षअघि १९ सेप्टेम्बर २००९। कतारको दोहा हुँदै सपनाको शहर लण्डन पुग्दाको क्षण। पहिलो पटक देश छोड्दाको त्यो अमिलोपन। वैदेशिक अध्ययनका लागि बेलायतको सपनाले डोर्‍याइरहँदा मनमा डर, त्रास र चञ्चलता त्यस्तै।

अहिले पुनः १४ वर्षपछि पनि उही लण्डनतिर बरालिने रहर जाग्यो। २४ अक्टोबर २०२३ मा अमेरिकाको ड्यालसदेखि लण्डन पुग्दा विगतलाई सम्झिएर म नोस्टाल्जिक बनें। बितेका वर्षहरूमा मेरो जीवनमा पनि थुप्रै परिवर्तन आए। मैले विदेश आएर दुःख पोखेको लण्डन शहरमा पनि मेरा आँखाहरूले थुप्रै परिवर्तन देखे।

पाँच वर्षको बेलायत बसाइ टुंग्याएर सन् २०१४ मा नेपाल फर्किंदा मैले सोचेको पनि थिइनँ फेरि यो शहरमा मेरा पाइला पर्नेछन्। तर भाग्यवश घुम्नकै लागि भने पनि फेरि त्यो अवसर प्राप्त गरें।

सन् २०१६ देखि संयुक्त्त राज्य अमेरिकामा स्थायी रूपमा बसोबास गर्ने अवसर पाएको छु। विकसित देशहरूमा जहाँ गए पनि उस्तै। देश र ठाउँ परिवर्तन भए पनि मिहिनेत र परिश्रम गर्नुपर्ने। समयको महत्व उस्तै। देश विकासको मेरुदण्ड ठानिएको व्यवस्था उस्तै। यी सबै परिबन्दमा बाँधिएर समय निकाल्न मुश्किल नै पर्दोरहेछ।

मोहन बराल

ड्यालसको डीएफडब्लुको अमेरिकी एयरलाइन्समा काम गर्ने अवसर पाएकाले मलाई यात्रा गर्न निकै सहज छ। आवतजावतका लागि एयरलाइन्सबाट थुप्रै अवसर प्राप्त गर्दै आएको छु। उसो त डेढ महिना मात्रै भएको थियो नेपालबाट फर्किएको। फेरि दुई हप्ताअघि नेपथ्यको कन्सर्ट हेर्न टोरोन्टो पुगेकाले यो पटक तत्काल समय निकाल्न कठिन नै थियो। तर ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैं दशैंको हप्ता लण्डनका लागि समय निस्किछाड्यो।

करिब ४८०० माइल्स टाढा रहेको बेलायतलाई दशैं मनाउने आफ्नो गन्तव्य बनाएँ। लण्डन यात्रा जीवनसंगिनी सन्ध्यालाई भने नौलो थियो। तर मलाई याद र सम्झनाले भरिएको शहर जस्तो। साथमा उनी भए पनि आफूलाई माया गर्ने प्रेमीलाई भेट्न हिंडे जस्तो। टियर ४ अन्तर्गत बेलायतमा पढ्न गएका हजारौं विद्यार्थीको कथा सुन्न हिंडे जस्तो। ड्यालसबाट लण्डन उडे पनि मेरो मानसपटलमा भने कतारबाट लण्डन उड्दाका क्षणहरू घुमिरहेका थिए। म पूर्ण रूपमा विगतमा नै फर्किएको थिएँ।

मेरो कलेज थियो वूलविचमा। त्यतिवेला कोठा पाउनै मुश्किल। पाइहाले पनि सेयरिङमा बस्नुपर्ने। त्यतिवेला पढ्नलाई बेलायत आउनेहरू थुप्रै विचल्ली अवस्थामा भेटिए। हातमा लगेज लिएर बिसाउने ठाउँ थिएन। दिनहुँ हुलका हुल विद्यार्थी आइरहन्थे। भित्तामा टाँसिएका फोन नम्बरहरूमा कल गर्दै कोठा खोज्नेहरूको ताती त्यस्तै। त्यो बेलामा नेपाली विद्यार्थी ठगिनु ठगिए। एयरपोर्टदेखि रिसिभ गरेको नाममा होस् वा कोठा खोजेबापत लिने कमिसनमा किन नहोस्! वा काम लगाइदिने बहानामा धेरै विद्यार्थी ठगिए। त्यो अरु कोहीबाट होइन, नेपाली नेपालीबाटै ठगिए। कति त आफ्नै आफन्त र साथीभाइबाट पनि। तर म आफूलाई भाग्यमानी सम्झिन्छु। मेरा शुभचिन्तकहरूले मलाई निस्वार्थ भावले दु:खमा सहयोग गरे।

आजको यात्रामा पहिले जस्तो त्रास, भय र चिन्ता केही थिएन। थियो त केवल अतीत र सम्झना मात्रै। न त एअरपोर्टमा प्लेकार्डमा नाम देखाउँदै कोही रिसिभ गर्ने वाला नै थियो। वर्षौंपछि घर फर्किए जस्तो लागिरहेको थियो। पुम्दीभुम्दीको खाल्सेमा जन्मेर छोरेपाटनमा बसोबास गरेको म। आज मलाई लण्डन खाल्से जस्तै प्यारो लागिरहेको थियो। पढ्न आएको शहर। धन कमाउने सपना देखेको शहर। मिहिनेत र परिश्रम गर्ने तालिम पाएको शहर।

मंगलबार बिहान ६ बजे नै अमेरिकन एअरलाइन्सले हिथ्रो विमानस्थलमा अवतरण गरिसकेको थियो। आज एअरपोर्ट पिकअप गर्न कोही नआए पनि सबै आए जस्तै लाग्यो। न त त्यतिवेलाको जस्तो कलिंग कार्ड नै। अहिले त मेट्रो र बसका लागि ओस्टर कार्ड पनि किन्नु नपर्ने। क्रेडिट कार्ड टच गर्न पाइने सुविधा थपिएको।

हिथ्रोबाट साउथहल बोर्डओएको लागि ४८२ नम्बरको सार्वजनिक बस। बसको प्रतीक्षामा रहँदै गर्दा अमेरिकन कमेडियन, अभिनेता, लेखक एवं गायक ग्रुचो मार्क्सको कथनलाई सम्झिएँ। उनी भन्थे ‘मौसम धेरै राम्रो भएकोले लण्डन जाँदैछु। म फेरि लण्डनलाई घृणा त्यो बेला गर्छु जब पानी पर्दैन।’

थेम्स नदी लण्डनको सबैभन्दा प्रसिद्ध जलमार्ग हो। २१५ माइलमा फैलिएको यो प्रख्यात नदी व्यापार र यातायात मात्र नभएर सौन्दर्य र प्रेरणाको स्रोत पनि हो। यसले बेलायतको सबैभन्दा प्रिय बाल कथाहरू मध्ये एक ‘द विन्ड इन द विलोज‘ लाई प्रेरित गरेको मानिन्छ। कलेजका दिनहरूमा किनारै किनार डुल्दा त्यतिवेला थेम्स रिभरले प्रश्न सोधे झैं भान हुन्थ्यो। किनारै किनार हिंड्दा मनभित्रका वेदनाहरू हराएको अनुभव हुन्थ्यो।
सायद यो मौसममा उनी यतिबेला भइदिएको भए कति खुशी हुन्थे होला। बिहानी पखको समय। सिमसिम वर्षा। चिसो हावाले पनि आत्मीयजन सम्झाए झैं लाग्ने। सन्ध्या ओत लागे पनि म चाहिं सिमसिमे पानीले रूझेको आकाशमाझ बस कुर्दै रुझिरहें। क्रेडिट कार्ड टच गरेर हामी पालै पालो बस चढ्यौं। दुई तले बसको माथिल्लो तला पुग्दा वर्षौंअघिको दैनिकीमा फर्किएको भान भयो।

हन्स्लो वेस्ट स्टेशनमा बसबाट ओर्लेपछि उस्तै लाग्ने ती गल्लीहरूमा पाइला लम्के। मौसमले हामीलाई नै स्वागत गरे झैं सफा हुँदै गयो। वर्षौंपछि सन्तोष लामिछाने भाइसँग पनि त्यहीं भेट भयो। भाइको घरमा पुग्दा दशैं मनाउन नेपाल नै फर्किए जस्तो अनुभूति भयो। दुई परिवारबीचको पहिलो भेट। भाइका दुई छोरीहरू हाम्रो अँगालोमा बेरिइसकेका थिए।

विदुर नीतिमा उल्लेख भएको कुरा सम्झन मन लाग्यो। ‘तिम्रो खुसीमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसलाई तिमी चाहन्छौ। तर, तिम्रो दु:खमा त्यही व्यक्तिहरू सामेल हुन्छन्, जसले तिमीलाई चाहन्छ।’ दु:ख-सुखहरूमा सम्झने साथीहरू मध्ये एक सन्तोष गुरुङ। स्कुले जीवनदेखि युनिभर्सिटीसम्मका साथी उनलाई नभेट्ने कुरै भएन। छोरेपाटन स्कुलका कक्षा कोठादेखि लण्डन स्कूल अफ इन्जिनियरिङका कक्षाकोठासम्म बिताएका क्षणहरू सम्झँदै मज्जाले गफियौं।

ग्रीनवीच पार्क ।

साढे दुई दशक अघि कृस्ति मट्टिखानको डाँडामा काफल खाएकोदेखि फेवाताल, फुर्सेखोलादेखि ब्राइटन, बोर्नमाउथ जस्ता सामुद्रिक तटमा रमाएको पनि सम्झियौं। पोखराका माइक्रोमिनीदेखि लण्डनका राताराता बसहरू चढेर यात्रा गरेका पलहरू। पोखराको सभागृहमा हुने नेपाली कलाकारहरूको कन्सर्टदेखि वोम्ली एरिनामा सान्टाना कार्लोस, वान डि, नेपथ्य, केली कार्लसनका अन्तर्राष्ट्रिय कन्सर्टहरूका धुनहरू। पोखरा रंगशालादेखि वोम्ली स्टेडियममा हेरिएका फुटबल खेलहरू। कामको खोजीमा सेन्ट्रल लण्डनमा भौंतारिएका भोको पेटको सम्झना भयो। रेस्टुरेन्टका लिफलेटले भरिएका झोलालाई सिरानी बनाएर ग्रीनवीच पार्कमा सुत्दै बिताएका पलहरू। साउट इष्ट लण्डनको वूलविचबाट १६१ नम्बरको बस लिएर चिस्लेहर्स्ट वार मेमोरियलमा उत्रिंदा अन्धकार बनेका रातहरू। आज वर्षौंपछि विगतलाई ताजा बनायौं।

भाइ रूजेन गुरुङ र बहिनी रश्मि श्रेष्ठ पनि ड्यालसबाट लण्डन आउँदै थिए। सेन्ट्रल लण्डन अर्थात् डाउनटाउन भोलि उनीहरूसॅंगै जानुपर्ने थियो। त्यसैले हामी त्यता नगई सुरुमा लण्डन आउँदा बसेको ठाउँ वूलविच घुम्ने विचार गर्‍यौं।

त्यतिवेला हन्स्लोबाट वूलविच पुग्न करिब डेढ घण्टा लाग्थ्यो। हामी एज एण्ड हार्लिण्टन स्टेसनमा पुग्यौं। त्यहाँबाट भर्खरै संचालनमा आएको एलिजाबेथ लाइन चढ्ने अवसर पायौं। पैंतालिस मिनेटमा नै वूलविच पुग्यौं। अन्डरग्राउण्ड मेट्रो सेवाबाट संसारभर परिचित लण्डनले आफ्नो सेवामा थप इँटा थपेको महसुस भयो।

अमेरिका र बेलायतमा एउटा फरक छर्लङ्ग थियो। अमेरिकामा प्राइभेट ट्रान्सपोटेसन विना काम गर्न गाह्रो मात्रै होइन जीवन नै चल्न पनि कठिन छ। तर बेलायतमा यो ठ्याक्कै उल्टो छ। यहाँ काममा आवतजावतका लागि प्राय: सबै पब्लिक ट्रान्सपोटेसनमा निर्भर छन्। सम्भवतः संसारकै व्यवस्थित मध्येको एक। सार्वजनिक यातायातको सुविधा लण्डन शहरमा भेटिन्छ।

सन् १८६३ को जनवरी ९ मा विश्वको पहिलो सुरुङ मार्ग लण्डनमा उद्घाटन भएको थियो। त्यसबेला तीस हजार मानिसले भूमिगत रेलद्वारा यात्रा गरेका थिए। तर आज लगभग १६० वर्षपछि दैनिक ५० लाख मानिसले लण्डनको भूमिगत ट्यूब प्रयोग गर्ने गरेको तथ्याङ्क भेटिन्छ।

वूलविच पुगेपछि डीएलआर ट्रेनलाई कहाँ बिर्सन सकिन्छ र ? यो ट्युबलाइनसँग जिन्दगीका धेरै किस्साहरू जोडिएका छन्। सन् २०१० ताका बेलायतमा काम पाउन मुश्किल। विद्यार्थीको चाप उस्तै। त्यो बेला संघर्षका दिनहरूमा हामीले आफ्नै गीत पनि बनाएका थियौं। ‘आमा रूँदै गाउँबेसी मेलैमा, छोरो रूँदै डीएलआर रेलैमा!’

यूकेमा पढ्न जानेभन्दा कलेजका अफिसियल वेबसाइटमा हेर्थ्यौं। ठूला ठूला भवनसँगै टावरब्रिज, लण्डनआईको फोटो राखेर आकर्षण देखाइन्थ्यो। कलेजका ठूला-ठूला ग्राउण्ड, फराकिला र आकर्षक देखाइन्थे। तर ती भवनभित्रका २-४ वटा कोठाहरू भाडामा लिएर कलेज खोलिएको हुन्थ्यो। झुटको खेती लामो समयसम्म कहाँ नै टिक्छ र ? नेपालमा कन्सल्टेन्सी सञ्चालकहरूले छरेका भ्रम लामो समय टिक्न सकेन। युकेबोर्डर एजेन्सीको नाम लिएर शुल्क उठाउने उनीहरूको दाउपेच वूलविच पुग्दा क्यानभासमा घुमिरहे।

सन् २०१० को विश्वकप फुटबल हेरेको वूलविच पार्कको त्यो टिभी स्क्रिन। आज पनि दर्शकहरू खोजिरहे जस्तो लाग्ने। मान्छेहरूको व्यस्तता, बसका ताँतीहरू, स्टेसनहरूमा यात्रुहरूको चहलपहल। यस्तो लाग्थ्यो आज यो शहर झनै व्यस्त बनेछ। सबै हतारहतारमा दौडिरहेका। दिन विस्तारै साँझतर्फ ढल्कँदै थियो। सडक व्यापारीहरू आफ्ना टेन्टहरू प्याक गर्न सुरू गर्दै थिए। यी दृश्यहरू देखेर चिसो साँझमा साथीभाइसँगै गएर तरकारी किन्दै गरेको याद आयो।

हुन त एक दशकयता बेलायतमा पनि ठूलो राजनीतिक उथलपुथल भयो। नेतृत्व पटक–पटक परिवर्तन भइनै रहे। तर जहाँ व्यवस्था गतिलो छ भने विकासको गतिलाई यसले ठूलै प्रभाव पार्ने रहेनछ भन्ने पनि लाग्यो। १४ वर्षपछि थपिएका संरचना र व्यवस्थित बन्दै गएको लण्डन शहर त्यसको ज्वलन्त उदाहरण हो

रोयल आर्सेनलको आर्टिलरी स्क्वायरमा सम्झनाका तस्बिरहरू कैद गर्दै थेम्स नदीको किनारतर्फ सोझियौं। थेम्स नदी लण्डनको सबैभन्दा प्रसिद्ध जलमार्ग हो। २१५ माइलमा फैलिएको यो प्रख्यात नदी व्यापार र यातायात मात्र नभएर सौन्दर्य र प्रेरणाको स्रोत पनि हो।

यसले बेलायतको सबैभन्दा प्रिय बाल कथाहरू मध्ये एक ‘द विन्ड इन द विलोज‘ लाई प्रेरित गरेको मानिन्छ। कलेजका दिनहरूमा किनारै किनार डुल्दा त्यतिवेला थेम्स रिभरले प्रश्न सोधे झैं भान हुन्थ्यो। किनारै किनार हिंड्दा मनभित्रका वेदनाहरू हराएको अनुभव हुन्थ्यो।

१४औं शताब्दीदेखि वूलविचको आफ्नै एउटा इतिहास। दक्षिण किनारमा रहेको वूलविचलाई उत्तरमा नर्थ वूलविचसँग जोड्ने सेतु। २०औं शताब्दीमा सवारी साधन ट्राफिकको वृद्धि र पुलहरूको अभावको कारण यो लोकप्रिय रह्यो।

भनिन्छ- हरेक वर्ष करिब २० लाख यात्रुले ‘वूलविच फेरी’ प्रयोग गर्दै आएका छन्। मेरो लागि यात्रा नौलो त थिएन तर सन्ध्याको लागि भने विशेष र फरक थियो। पुरानो पुस्ताले गरेको विकासलाई अहिलेका नयाँ पुस्ताले गरेको संरक्षणको उदाहरण पनि हो यो। अहिलेसम्मको निरन्तरता इतिहासको सम्मान मात्रै थिएन, पछिल्ला पुस्ताहरूको लागि एउटा उपहार हो जस्तो पनि लाग्छ।

हजारौं नेपाली विद्यार्थीले मुखमा झुण्डिने बस नम्बर ५३। वूलविचबाट सेन्ट्रल लण्डन जाँदा होस् वा फर्कंदा। काम खोज्दा होस् वा कामबाट फर्कंदा। कलेज जाँदा होस् वा फर्कंदा। ‘फिप्टीथ्री बस’ भन्ने बित्तिकै धेरै यादहरू आइहाल्छन्। त्यसलाई छुटाउने त प्रश्न नै रहेन। वूलविच स्टेसनबाट बस नं. ५३ लिइयो। ग्रीनविच मेरिडियन, एक काल्पनिक रेखामा पुग्ने लक्ष्यका साथ। चार्लटन पुग्दै गर्दा कस्तो रमाइलो लाग्ने। हिजो भोगिएका ती कठिन दिनहरू आज सम्झिंदा भावुकतामा पनि बगिंदोरहेछ।

हिंड्दा हिंड्दै खुट्टा गलेर सुन्निएपछि आरामका लागि नसुतेको कुन चाहिं पार्क छैनन् होला र ? हिंड्दा हिंड्दै पसिनाले शरीर सर्लक भिज्दा छहारी नलिएको कुन चाहिं रूख अछूत रह्यो होला र ? चार्लटनदेखि ग्रीनविच, लुईसमदेखि ईल्थमसम्म घरघरै हिंडेर पुग्नु मेरो दैनिकी थियो।

घरका ढोका-ढोका पुग्नुपर्ने काम। लिफलेट पेपर प्रत्येक घरमा खसाल्नुपर्ने। बसबाट देखिएका प्राय: यी सबै हातले स्पर्श गरेका घरहरू थिए। जीवनमा सबैभन्दा कठोर दुःख पाएर पनि मलाई विचलित हुन नदिएको ठाउँ। जीवनमा हरेस खान नसिकाउने ठाउँ। मलाई सधैं पैदल हिंड्न प्रेरित गराउने ठाउँ। मलाई यही ठाउँ सन्ध्यालाई देखाउनु थियो। र उनलाई सुनाएँ पनि।

बस ग्रीनविच पार्क नजिकैको स्टेशनमा रोकियो। ग्रीनविच पार्कको एक छेउ भृकुटीमण्डप जस्तै थियो। विश्व सम्पदा सूचीमा सूचीकृत यो पार्क नजाने त कुरै हुँदैनथ्यो। पृथ्वीलाई उत्तरी र दक्षिणी गोलार्धमा विभाजन गर्ने काल्पनिक रेखा भूमध्यरेखामा उभिन कुन चाहिं भूगोलको विद्यार्थीलाई मन नहोला र ? भूमध्यरेखामा उभिंदा छोरेपाटन स्कूल पढ्दा भूगोलको कक्षा पढे जस्तै अनुभूति हुन्थ्यो।

ग्रीनविच पार्कबाट देखिएका मनमोहक दृश्य। कलेज युनिभर्सिटीका विद्यार्थीहरू। तल्लो फाँटमा देखिएको ग्रीनवीच युनिभर्सिटी। हामीलाई सत्कार गरे झैं लाग्ने। त्यो झरीसॅंगैहरूबाट विस्तारै नचाहेर पनि हामी छुट्टिंदै थियौं। जीवनमा ग्रीनवीच पार्क। नजिकै रहेको ब्याल्कहिथका उकाली ओराली धेरैपटक गरियो। पार्कलाई विस्तारै छाड्दा ब्याल्कहिथ हिलतिर ओरालो लाग्नुपर्थ्यो। विगतका भोगाइहरूलाई कवि तुलसी दिवसको कविता एकसरो जोवनको तलको कवितांशले झल्को दिए झैं लाग्दछ।

उक्लॅंदा-उक्लॅंदै उकालोमा

उक्लेको बाटो नै ओर्लेपछि

उक्लनेको पनि केही लाग्दो रहेनछ!

छुट्टिंदै गर्दा ग्रीनविचका रूखहरूले विरहका गीत सुसेलिरहेको जस्तो लाग्थ्यो। ग्रीनविचलाई स्नेहसित मुटुमा सँगाल्दै हामी ओरालो झर्दै अगाडि बढिरह्यौं। यसरी नै वर्षौंपछि यो सुन्दर शहरमा फेरि एकपटक बरालिने मौका मिल्यो। बरालिंदै गर्दा एक हप्ताको समय बितेको पत्तै पाइएन।

अध्ययनका लागि बेलायत पुग्दा लण्डनको मेयरमा बोरिस जोन्सन थिए। उनी आज बेलायतको प्रधानमन्त्री बनिसकेर पनि राजनीतिबाट ओझेल परिसके। तर १४ वर्षअघि देश छोड्दै गर्दा नेपालको राजनीतिको केन्द्रबिन्दुमा जो थिए आज पनि उनीहरू नै छन्।

हुन त एक दशकयता बेलायतमा पनि ठूलो राजनीतिक उथलपुथल भयो। नेतृत्व पटक–पटक परिवर्तन भइनै रहे। तर जहाँ व्यवस्था गतिलो छ भने विकासको गतिलाई यसले ठूलै प्रभाव पार्ने रहेनछ भन्ने पनि लाग्यो। १४ वर्षपछि थपिएका संरचना र व्यवस्थित बन्दै गएको लण्डन शहर त्यसको ज्वलन्त उदाहरण हो।

वूलविच ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?