+
+
विचार :

डिजिटल समाजमा प्रियतावाद र अराजक राजनीति

भाइरल एक्कासी आउँछ, व्यापक फैलिन्छ अनि तुरून्तै हराउँछ। कुनै एउटा मुद्दामा समुद्रको छाल जस्तै सरर्र जान्छ अनि फेरि अर्को छालसँगै बग्छ। यसले मानिसमा अस्थिर मनोविज्ञानको निर्माण गर्छ।

वाईपी आचार्य वाईपी आचार्य
२०८० मंसिर ९ गते १८:१३

पछिल्ला तमाम घटनाक्रमलाई हेर्दा नेपाली समाज अराजकताको भड्खालोमा भासिंदै गएको प्रतीत हुन्छ। अहिले नागरिकमा बेचैन छ। कन्फ्युजन छ। मानसिक अस्थिरता छ। निराशा छ। घृणा छ। उनीहरूको व्यवहारमा तरलता छ। समाजको नेतृत्व गर्छौं भन्नेहरूमा सद्भाव भन्दा घृणा छ। सृजना भन्दा प्रतिक्रिया छ। निर्माण भन्दा विध्वंश छ। छटपटी छ। भाइरल हुने भूतले सताएको छ।

राजनीतिक बहसमा विचार भन्दा व्यक्तिका बोली हाबी छन्। दीर्घकालीन विकास र समृद्धिका मुद्दा भन्दा सस्ता तर तुरून्तै भाइरल हुने विषयमा छलफल छ। पार्टी र संस्थाभन्दा व्यक्तिमा भर परेका छन्। यसो हुनुमा कुनै नेता विशेष वा पार्टी तथा व्यक्ति मात्रै दोषी छैन। कुनै एक पक्षलाई वा नेतालाई मात्रै दुत्कारेर वास्तविकताको नजिक पुग्न सकिंदैन। यसलाई अलि गहिरिएर हेर्नुपर्ने हुन्छ।

यस लेखमा सूचनाप्रविधि र यसको जगमा निर्माण हुने समाज, त्यहाँ विकास हुने मनोविज्ञान र त्यसमा खेल्ने पात्र तथा ‘एजेन्सी’ को चरित्र उधिन्ने प्रयास गरिएको छ।

डिजिटल समाज

सूचनाप्रविधिको विकास एक सामान्य परिवर्तन मात्रै होइन, एक क्रान्ति पनि हो। यसले समग्र समाज र सभ्यतामा नै उथलपुथल ल्याएको छ, ल्याउँदै छ। जब समाज र व्यक्तिको हरेक पक्षमा यसले प्रभाव पार्छ, स्वभावैले मानिसको मनोविज्ञान वा व्यवहारमा गहिरो प्रभाव पार्छ नै।

प्रविधिको प्रयोग मोबाइल चलाउने वा टिकटक तथा फेसबुक चलाउनेमा मात्रै सीमित नभएर यसले मानिसको चेतना र उसको जीवनमा गहिरो छाप पारेको हुन्छ जुन सामान्य रूपमा सामान्य मानिसले हेक्का पाउँदैन। नेपालमा पनि प्रविधिको प्रयोगसँगै डिजिटल समाजको विस्तार भएको छ। बढिरहेको छ।

भौतिक रूपमा अलग्गिएका तर नेटवर्कबाट विशाल क्षेत्रमा जोडिएको समाज निर्माण भएको छ। यो भर्चुअल संसार पनि हो। तर, नेपालमा यो समाजको विकास विश्वस्तरको परिवर्तनको बाढीमा परेर भएको हुँदा नेपाली समाजले आफूलाई यो परिवर्तनका लागि तयार नै गर्न सकेको थिएन।

परिणामस्वरूप प्रविधिको प्रयोग त गरियो तर प्रयोग गर्ने संस्कारको विकास भएन। हरेक विकास वा अन्वेषणको उपयोग गर्ने आफ्नै संस्कार वा नियम हुन्छन्। हामीले संस्कार र नियम विना नै यसको विस्तार हुन दियौं। मूलतः यस समाजका निम्न विशेषता हुन्छन्।

सूचनाको बाढी

यो समाजको मूल चूनौती सूचनाको कमी नभएर सूचनाको समुद्रबाट सही सूचना छनोट गर्नु हो। यहाँ सही, गलत र हानिकारक गरी तीन प्रकारका सूचना हुन्छन्। सेन्टर फर ह्युमन टेक्नोलोजी २०२२ को रिपोर्ट अनुसार सही सूचना भन्दा गलत र हानिकारक सूचना ६ गुणा छिटो फैलन्छन्। सामाजिक सञ्जालमा छिटो फैलने खालका सूचना बढी हुन्छन्। साथै सतही सूचनाको बाढी हुने हुँदा ज्ञान निर्माण प्रक्रियामा विसडमसम्म पुग्नै पाउँदैन।

यहाँ मानिस कन्फ्युजनमा पर्छ। अनि सतही सूचनाको आधारमा आफ्नो मत निर्माण गर्ने गर्छन्। पटक-पटक आइरहने सूचनालाई विश्वास गर्ने मानिसको मेन्टल फ्याकल्टीको प्याट्रन हुन्छ। अनि गलत सूचना र अति सतही सूचनालाई आधार बनाएर आफ्नो चेतनाको निर्माण गर्ने हुन्छन्। त्यसैले जस्तो सूचना त्यस्तै मनोविज्ञानको निर्माण हुन्छ।

बेकामे वर्ग र आक्रोशित समाजको निर्माण

रोबर्ट हसान आफ्नो प्रसिद्ध पुस्तक ‘डिजिटल सोसाइटी एण्ड मार्क्सिजम’ मा लेख्छन्, ‘अब श्रमिकहरू मुनाफाको हिस्साबाट मात्र अलग नभएर उसको कामबाट नै अलग हुन सक्छ।’ वर्ल्ड इकोनोमिक फोरम २०१९ को रिपोर्ट अनुसार सन् २०३० सम्ममा करिब ५० प्रतिशत रोजगारीहरू रोबर्ट, अटोमेशन, कृत्रिम बौद्धिकता आदिले खोस्नेछ।

इतिहासकार युवल नोवा हरारेको भनाइमा डिजिटल समाजको मूल चुनौती जागिरबाट विस्थापित भएको र आर्थिक रूपमा बेकामे वर्गको जन्म हुनु हुनेछ। यो वर्ग राज्यबाट आफू अलग्गिएको महसुस गर्छ। साथै यो वर्ग मानसिक रूपमा बेचैन, संवेगात्मक रूपमा आक्रोशित, सामाजिक रूपमा अराजक, राजनीतिक रूपमा अस्थिर प्रकृतिको हुन्छ।

जागिर गुम्ने, छिटो परिवर्तित हुने दुनियाँमा आफूलाई पनि छिटो बदल्नुपर्ने, अरूको आक्रोशको साझेदारी समेत हुनुपर्ने, छिटो नतिजा चाहने, अरूसँग तुरुन्तै तुलना हुने, प्रविधिको लत बस्ने आदि कारण यो समाजमा आक्रोश बढ्दै जान्छ। आफूले थाहा पाएको सूचना नै सत्य हो भन्ने मानिसको स्वभाव हुन्छ जहाँ फरक विचारलाई अस्वीकार गर्छन्।

यहाँ बुझाइको जगमा विचारको लडाइँ हुन्छ जसले आक्रोश बढाइरहेको हुन्छ। मानिसमा डिप्रेसिप सिन्ड्रम पनि देखिन थाल्छन्। हरारेका अनुसार विश्वमा युद्धले भन्दा आत्महत्याको कारण मर्नेहरूको संख्या बढी छ। नेपालमा पनि मानसिक स्वास्थ्य सर्वेक्षण २०२० का अनुसार १० प्रतिशत वयस्कमा मानसिक असन्तुलन देखिएको छ। यही आक्रोशित समाजले समग्र मानिसको चेतनामा समेत प्रभाव पार्छ।

रिमोट गतिविधि

मानिस विश्वको जुनसुकै कुनामा बसेर सबैसँग जोडिने भयो। अहिले नेपालका उत्पादक उमेरका युवा विश्वका विभिन्न ठाउँमा पुगेका छन्। उनीहरू पढे–लेखेका वा देश–विदेश देखेका छन्। उनीहरूले नेपाललाई अन्य विकसित मुलुकसँग तुलना गर्छन्। अरू देशमा विकास, स्थिरता र प्रणाली बसेको देख्छन्। नेपालमा कमजोर देख्छन्। अनि तत्कालीन राजनीतिक नेतृत्वलाई सराप्छन्।

विदेशमा पढ्ने र काम गर्नेहरू मध्ये ५०० जनामा गरेको मेरो सर्वे अनुसार ८६ प्रतिशत युवाहरू पुराना राजनीतिक नेतृत्वप्रति असन्तुष्ट थिए। साथै उनीहरूको फेसबुक स्टाटसमा निरन्तर उतारचढाव देखिन्थ्यो। उनीहरूको व्यवहार र प्रतिक्रियामा तरलता थियो। यिनीहरू डिजिटल समाजमा टाढैबाट पनि सक्रिय हुने, आर्थिक उपार्जन गरेको तथा पढेलेखेको पनि हुने हुँदा उनीहरूले आफ्नो परिवारलाई समेत तुरुन्तै प्रभावित गर्न सक्छन्।

व्यक्तिकेन्द्रित मुद्दा हाबी

यो समाजमा सामाजिक भन्दा व्यक्तिगत मुद्दा बढी बिक्छन्। छुवाछूत, भाषा, जाति, जनजाति, वर्गका मुद्दा भन्दा व्यक्तिगत लाभ हेर्ने जमातको निर्माण हुन्छ। गणतन्त्र आयो मैले के पाएँ, स्कुल बन्यो मैले के पाएँ भन्ने मनोविज्ञान हाबी हुन्छ। यसो हुँदा समाज बदल्ने भन्दा पनि ऋण नतिर्ने मुद्दाले तान्छ। यहाँ विचार कमजोर र व्यक्ति हाबी हुन्छ। त्यसैले यहाँ प्रियतावादीहरूको जन्म हुन्छ।

भाइरल समाज

यो समाजमा कामले भन्दा बढी प्रचारले प्रभाव पार्छ। जनताको सेवामा लागेका व्यक्ति यदि ऊ सञ्जालमा जोडिंदैन र प्रचारमुखी छैन भने गुमनाम हुन्छ तर आकर्षक तरिकाले बोल्छ, मिडिया म्यानेजमेन्ट गर्छ भने ऊ भाइरल हुन्छ।

भाइरल एक्कासी आउँछ, व्यापक फैलिन्छ अनि तुरून्तै हराउँछ। कुनै एउटा मुद्दामा समुद्रको छाल जस्तै सरर्र जान्छ अनि फेरि अर्को छालसँगै बग्छ। यसले मानिसमा अस्थिर मनोविज्ञानको निर्माण गर्छ।

प्रियतावादको जन्म

माथि उल्लिखित चरित्रका कारण यो समाजमा प्रियतावादको उदयका लागि अनुकूल परिस्थिति बन्छ। प्रियतावाद संस्थारहित व्यक्तिगत नेतृत्व हो। कुनै एक क्षेत्रमा चर्चामा आएका तथा आफूलाई बौद्धिक ठान्ने वा चामत्कारिक ठान्ने व्यक्तिहरू राजनीतिक मूल नेतृत्वमा आउने चेष्टा हो। म एक्लैले जनताको खास प्रत्यक्ष प्रतिनिधित्व गर्छु भन्ने प्रवृत्ति हो। मैले मात्रै जनताका चाहना बुझ्छु। समस्या गहिरिएर बुझ्न सक्छु। जनताको आकांक्षाको जानकार छु। म एक्लैले ती सबै समस्या समाधान गर्न सक्छु भन्ने प्रवृत्ति हो।

प्रियतावादीहरू बाहिरबाट हेर्दा प्रतिभाशाली देखिन्छन्। यिनीहरू मुख्यतः चार प्रकारका हुन्छन्। पहिलो, डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन जस्ता अतिराष्ट्रवादी प्रियतावादी। दोस्रो, नरेन्द्र मोदी र नेपालमा धर्म सापेक्षताको नारा लगाउनेहरू जस्तै धार्मिक प्रियतावादी। तेस्रो, कोशी प्रदेशमा जातीय आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्नेहरू जस्तै पहिचानवादी प्रियतावादी र चौथो, स्टन्टका आधारमा राजनीति गर्नेहरू स्टाइलिस्ट प्रियतावादी।

प्रियतावादीसँग चार वटा चिज हुँदैन। पहिलो, खास राजनीतिक दल हुँदैन, भए पनि कमजोर हुन्छ र उनीहरू संस्था भन्दा व्यक्ति प्रधान ठान्छन्। जनतासँग सीधै जोडिन खोज्छन्। दोस्रो, स्पष्ट विचारधारा हुँदैन। उदारवाद, समाजवाद जस्ता राजनीतिक कथा हुँदैन। तेस्रो, उत्तराधिकारी योजना हुँदैन। नेताले गलत गरेमा जनताले दण्ड दिने वा त्यसको जवाफ दिने अर्को कोही हुँदैन। चौथो, यिनीहरूको ऐतिहासिक राजनीतिक विरासत हुँदैन जसको कारण राजनीतिक संस्कार सिक्न पाएका हुँदैनन्।

यिनीहरूसँग चार वटा विशेषता हुन्छन्। पहिलो, समस्यालाई नाटकीय रूपमा प्रस्तुत गर्ने कला, दोस्रो, सामाजिक सञ्जाल तथा आफ्नै मिडियाबाट जनतासँग प्रत्यक्ष जोडिन सक्ने तागत, तेस्रो, चामत्कारिक नेतृत्व भएको स्वाङ पार्न सक्ने खुबी र चौथो, सूचनामा पहुँच भएको।

त्यस्तै यिनीहरूले मुख्यतया चार वटा काम गर्छन्- समस्याको ढ्वाङ् पिट्छन्, जुनसुकै विचारको विरोध गर्छन्, संस्थाको विरोध गर्छन् र स्थापित पार्टीको विरोध गर्छन्।

यिनीहरूले जहिले पनि बहुमतको सेन्टिमेन्ट मात्रै बोक्न खोज्छन् जसको कारण अल्पमत प्रति अनुदार हुन्छन्। आफूलाई जान्ने र सभ्य ठान्छन् जसको कारण उनीहरूले पिछडा वर्गको प्रतिनिधित्व गर्न सक्दैनन्।

नकारात्मक नागरिक समाज

यहाँ नागरिक समाज भन्नाले नेपालमा बुझिने केही सीमित व्यक्तिहरूको झुण्ड नभएर दार्शनिक एन्तोनियो ग्राम्सीले भने जस्तो बृहत् पक्षलाई भन्न खोजिएको हो। परिवार, स्कुल, मिडिया, धार्मिक संस्था, बुद्धिजीवी र अहिले आएर सामाजिक सञ्जाल आदि नागरिक समाज हुन् जुन सत्ताको शक्तिमा हुँदैनन्। तर, समाजको चेतना निर्माणमा ठूलो भूमिका खेल्छन्।

ग्राम्सीले भने जस्तो उनीहरूले राज्यसत्तामा रहेको वर्गको सांस्कृतिक आधिपत्य कायम गर्न सूक्ष्म रूपमा काम गर्छन्। तर, नेपालमा उनले भने जस्तो नभएर राज्य सत्ता र जनतालाई अलग्याउने र समाजमा घृणालाई प्रोत्साहन गरेको देखिन्छ। सामाजिक सञ्जाल, मिडिया, विद्वानका भनाइ आदिमा समालोचना भन्दा आरोप र घृणा बढी भेटिन्छ।

समाजका अन्य मानिसहरूलाई उनीहरूका विचार, सूचना र व्यवहारले प्रभाव पार्दछ जसका आधारमा उनीहरू आफ्नो चेतनाको निर्माण गरिरहेका हुन्छन्। जस्तै आम व्यक्तिले त्यही कुरा बोलिरहेको हुन्छ जुन कुरा मिडिया, सामाजिक सञ्जाल वा सामाजिक अगुवाले बोलेको हुन्छ। समाजमा यस्तो घृणा र आक्रामकता मौलाउनुमा नागरिक समाज पनि दोषी छ।

यस्तो अवस्थामा हुर्कंदै गरेको समाजका मानिसलाई मेनुपुलेट गर्न निकै सहज हुन्छ। जसले पनि प्रयोग गर्न सक्छ। घृणा र अराजकताको सहारा लिनेहरूले छिटो दुरुपयोग गर्न सक्छन्। आज एउटाले प्रयोग गरेको भए भोलि अर्कोले प्रयोग गर्न सक्छ।

यस्तो समाजमा फ्रान्सिस फुकुयामाले भने जस्तो मेगालोथाइमिया (अरूभन्दा सुपेरियर भएर बाँच्न चाहने मनोविज्ञान) भएका व्यक्तिले आम मानिसलाई प्रभावित गर्न खोज्छन्। यस्ता मानिसहरू अरूको अस्तित्व स्वीकार गर्दैनन्। आफैंलाई सर्वेसर्वा ठान्छन्।

जब अशिक्षा, राजनीतिक अस्थिरता र बेरोजगारी सतही र ‘मालिअबेल’ चेतनासँग मिलन हुन्छ त्यहाँ अराजकता र असामञ्जस्यको सृजना हुन्छ। त्यसैले देशलाई बचाउने हो भने यसरी प्रभावित भएको समाजलाई बचाउनुपर्छ। यो बचाउने जिम्मा हामी सबैको हो। बचाउन लाग्ने कि प्रयोग मात्रै हुने, रोज्ने बेला आएको छ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक रहेका लेखक हाल विद्यावारिधिको सिलसिलामा नर्वेको ओस्लोमेट विश्वविद्यालयमा अध्ययनरत् छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?