+
+

सर्वोत्तमको आईपीओ भर्न कम्तीमा १८ हजार रुपैयाँ चाहिने, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १२:१८

१३ मंसिर, काठमाडौं । सर्वसाधारणलाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) भर्न कम्तीमा १८ हजार रुपैयाँ चाहिने भएको छ ।

सर्वसाधारणलाई कम्पनीको आईपीओ मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा पर्ने भएको छ । बुक बिल्डिङ पद्दतीमार्फत सर्वसाधारणलाई पहिलो पटक खुल्न लागेको यो आईपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्छ ।

जसले गर्दा सर्वसाधारणलाई कम्तीमा १८ हजार ४५ रुपैयाँ चाहिने भएको हो । सो मौज्दात रकम बैंक खातामा नभएको खण्डमा आवेदन स्वतः रद्द हुन जानेछ ।

आईपीओ बाँडफाँटका क्रममा पर्ने लगानीकर्ताले कम्तीमा ५० कित्ता नै सेयर पाउने छन् । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) संस्थागत लगानीकर्ताहरुलाई बाँडफाँट गर्ने क्रममा ‘कटअफ प्राइस’ ४०१ रुपैयाँ तय भएको थियो ।

बुक बिल्डिङ निर्देशिकाअनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुन्छ । कटअफ मूल्य ४०१ रुपैयाँ हुँदा त्यसको १० प्रतिशत अर्थात् प्रतिकित्ता ४० रुपैयाँ १० पैसा कममा सर्वसाधारणलाई जारी गरिनुपर्ने व्यवस्था छ । यसअनुरुप सर्वसाधारणलाई ३६० रुपैयाँ ९० पैसा पर्ने भएको हो ।

सर्वोत्तमले जारी पुँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर पहिले योग्य संस्थागत लगानीकर्तालाई प्रदान हुनेछ भने बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी हुनेछ ।

कस्तो छ कम्पनी ?

नवलपरासीको सुनवल नगरपालिकामा सर्वोत्तम सिमेन्ट उद्योग सञ्चालनमा छ । दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिंकर उत्पादन क्षमताको उद्योग रहेको कम्पनीले सार्वजनिक गरेको आहृवान पत्रमा उल्लेख छ ।

पाल्पाको तिनाउँ तथा निस्दी गाउँपालिकामा कम्पनीले चुनढुंगा खानीको अनुमति लिएको छ । यसका सहायक कम्पनीहरु सर्वोत्तम होल्डिङ्स र सवोत्तम इन्भेस्टमेन्ट कम्पनी सञ्चालनमा छन् ।

अर्थतन्त्रमा देखिएको शिथिलताले गर्दा निर्माण क्षेत्रमा परेको असरले सर्वोत्तम सिमेन्टको पनि बिक्री आम्दानी खस्केको छ ।

गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । सो अवधिसम्म कम्पनीको जगेडा कोष तीन अर्ब ४५ करोड रुपैयाँ बराबर छ ।

आर्थिक वर्ष २०७७/७८ मा ८ अर्ब ९३ करोड ७८ लाख पुगेको कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ८८ करोड १५ लाखमा झरेको थियो । गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी पाँच अर्ब ३८ करोड ३ लाखमा झरेको छ ।

सञ्चालन आम्दानीमा कमी आउँदा कम्पनीको नाफा प्रभावित बन्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २०७८/७९ मा ४६ करोड ७६ लाख र २०७९/८० मा २० करोड ७५ लाख मात्रै खुद नाफा कमाएको छ ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ३ वर्ष ९ महिना रहेको र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ४ वर्ष ७ महिना प्रक्षेपण छ । इक्रा नेपालले कम्पनीलाई ट्रिपल बी रेटिङ प्रदान गरेको छ ।

कम्पनी समयमा नै वित्तीय दायित्व वहन गर्न मध्यमस्तरको क्षमतामा रहेको जनाउँछ । इक्राले सबैभन्दा सुरक्षित कम्पनीलाई ट्रिपल ए रेटिङ प्रदान गर्दछ भने कमजोर स्तरको कम्पनीलाई डी रेटिङ प्रदान गर्दछ ।

२०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म कम्पनीको दिर्घकालीन ऋणसहितको दायित्व ६५ करोड ५४ लाख रुपैयाँ छ ।

चालु पुँजी प्रकृतिको दायित्व ३ अर्ब ३५ करोड रुपैयाँसहित कुल चालु दायित्व ५ अर्ब ११ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । हालै सूचीकृत भएको घोराही र सोनापुर मिनरल्सको तुलनामा कम्पनीको ऋण दायित्व न्युन देखिन्छ ।

कम्पनीले लिएको ऋणमा वाषिर्क १०.५० प्रतिशत ब्याज बुझाउँदै आएको जनाएको छ । कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपाने हुन् । उनले २८.९७ प्रतिशत सेयर स्वामित्व लिएका छन् । अन्य सञ्चालकहरुमा विमलकुमार सवार्थिया, टिकाराम न्यौपाने, दिवस न्यौपाने, तेन्जिङ लाक्देन तामाङ छन् ।

कम्पनीमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र स्वतन्त्र व्यवसायिक सञ्चालक १ जनासहित ७ जना सञ्चालक हुनेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?