+
+

लयमा फर्कियो पर्वतीय पर्यटन

२२ मंसिरदेखि पोखरामा ५ दिन अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव

विकास रोकामगर विकास रोकामगर
२०८० मंसिर १३ गते १८:४४
फाइल तस्वीर

१३ मंसिर, पोखरा । कोरोना महामारीसँगै विथोलिएको पर्वतीय पर्यटन लयमा फर्किन सुरु गरेको छ । स्वदेशी तथा विदेशी पर्यटकको आगमन कोभिड–१९ अगाडिकै अवस्थामा पुग्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले २०१८ मा निकालेको तथ्यांकअनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा ८.५ प्रतिशतसम्म योगदान थियो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपालका पर्यटन उद्योगले ३ लाख ७१ हजार जनाभन्दा बढीलाई रोजगारी सिर्जना गरेको थियो । बर्सेनि नेपालमा बाह्य पर्यटनको चाख बढ्दै गइरहेको उक्त अवस्थामा प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको थियो ।

नेपाल सरकारले नेपालको पर्यटन व्यवसायलाई उकास्न भन्दै सन् २०२० लाई नेपाल भ्रमण वर्षकै रुपमा घोषणा गर्‍यो ।

तर, त्यसको एक वर्षअघि ०१९ मै विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले पर्यटन क्षेत्रलाई ठूलो धक्का लाग्न पुग्यो ।

पर्यटन मन्त्रालयले २०१९ मा निकालेको तथ्यांकलाई हेर्ने हो भने कोरोना महामारीकै कारण आन्तरिक र बाह्य पर्यटकको आगमन २.५ प्रतिशतसम्म झरेको थियो । त्यसअवधिमा नेपाल पर्वतारोहण संघमा दर्ता भएका १ हजार ५५५ ट्रेकिङ कम्पनी कामविहीन भएका थिए ।

लम्सालका अनुसार एक जना विदेशी पर्यटक आउँदा ४ जनालाई प्रत्यक्ष रोजगार सिर्जना गर्छ । ‘प्रत्यक्ष जोडिएका ११ हजार ३२१ जना आरोही कोरोनाको बेला पूरै कामविहीन हुनुपर्‍यो,’ संघका महासचिव मोहन लम्साल भन्छन्, ‘कोभिडपछि आरोहीहरुले काम पाउन थाले । अहिले सबैजना व्यस्त भइसकेका छन् ।’

उनका अनुसार नेपालमा आउने कुल बाह्य पर्यटकमध्ये ४० प्रतिशत पर्वतीय पर्यटनकै लागि आउने गरेका छन् ।

नेपालमा आरोहणका लागि खुला गरिएका हिमाल ४१४ वटा छन्, त्यसमध्ये ७५ वटा हिमालमात्रै आरोहण बाँकी छ ।

विश्वमा भएका ८ हजार मिटरभन्दा माथिका सर्वोच्च शिखर सगरमाथासहित १४ वटा हिमाल नेपालमै भएकाले पनि पर्वतीय पर्यटकको मुख्य गन्तव्य नेपाल पर्दै आएको पर्वतीय पर्यटन व्यवसायीको भनाइ छ ।

पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे नेपालको सबैभन्दा धेरै सम्भावना बोकेको क्षेत्र नै पर्वतीय पर्यटन रहेको बताउँछन् ।

‘अरु क्षेत्रमा आ–आफ्नै सीमाहरु होलान्, तर नेपालको सन्दर्भमा पर्यटन नै हाम्रो मूल आयस्रोत हो,’ पोखरामा आयोजित एक कार्यक्रममा उनले भने, ‘छिमेकी राष्ट्रहरुले यसबाट मनग्गे फाइदा लिइरहेका छन् । तर, हामीले प्रकृतिको वरदान पाएर पनि प्रचार गर्न सकिरहेका छैनौं ।’

पछिल्लो समय बढ्दो औद्योगीकरणले विश्वतापमानमा फरक पर्दै जाँदा पर्वतीय वातावरणमा पनि असामान्य असर गर्दै गइरहेको पर्वतीय पर्यटन व्यवसायी चिन्ता व्यक्त गर्दछन् ।

‘संसारमा बढ्दो औद्योगिकरणका कारण बढेको विश्वतापमान, अनियन्त्रित वनफडानी, पर्वतीय वातावरणमा भएको असामान्य परिवर्तनजस्ता विषयले पर्वतारोहण पर्यटनलाई प्रभावित पारेको छ,’ संघका महासचिव लम्सालले भने, ‘पर्वतारोहण पर्यटनसम्बन्धी जनमानसमा जनचेतना पनि जोगाउन जरुरी देखिन्छ ।’

८ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २२ गतेदेखि

संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले पर्वतीय महोत्सव गर्दै आएको हो । आठौं संस्करणमा ५ दिनसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागेको महोत्सवका निर्देशक जिनेश सिन्दुल्करले जानकारी दिए ।

महोत्सव २२-२६ मंसिरसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुनेछ ।
यसवर्षको महोत्सवमा बर्डस कन्जरभेसनसँगको सहकार्यमा ‘मिसअन्डरस्टुड बर्डस’ नामक नाटक प्रर्दशन मुख्य आकर्षणको रुपमा रहनेछ ।

आयोजक नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालका अनुसार उक्त नाटक ललितपुरको परोपकारी विद्यालय चिल्ड्रेन एन्ड युथ फर्स्टका विद्यार्थीले मञ्चन गर्नेछन् ।

‘विद्यार्थीहरुले स्टेजमा गिद्धहरुको भेषमा मास्क लगाई गिद्धको महत्वबारे साथसाथै नेपालका चरा तथा जैविक विविधतासम्बन्धी ज्ञान जनसाधारणमा पुर्‍याउने छ,’ लम्सालले भने, ‘यो कार्यक्रमको संरक्षणबारे जानकारी दिने विश्वास लिएका छौं ।’

महोत्सवमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन गरिने छ । महोत्सवमा पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई–डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र मञ्चन हुनेछन् ।

महोत्सवमा पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको फोटो प्रदर्शनीसमेत गरिने महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् ।

प्रतियोगितामा यो वर्ष ‘टग अफ वार’ पहिलो पटक समावेश गरिएको छ । ‘यसबाहेक छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको छ,’ उनले भनिन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?