+
+

पृथ्वीमा कहाँ छ स्याटेलाइटहरुको चिहानघर ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १३:२७

काठमाडौं । धर्तीमा एउटा यस्तो ठाउँ पनि छ जसलाई उपग्रहहरुको चिहानघर पनि भनिन्छ । यो ठाउँमा यस्ता कृत्रिम भूउपग्रह अर्थात् स्याटेलाइटहरुको अन्त्येष्टि गरिन्छ जो उमेर पुुगेर वा बिग्रिएर काम नलाग्ने बनेका हुन्छन् । यसलाई पृथ्वीको सबैभन्दा अलगथलग स्थान पनि भनिन्छ । यो ठाउँ यति धेरै दुर्गम छ कि यो बिन्दुको सबैभन्दा नजिकको जमिन नै २७ सय किलोमिटर टाढा छ ।

यो ठाउँमा पुग्नका लागि नै मानिसहरुलाई कैयन् दिन लाग्दछ । यो ठाउँमा केही साना टापु छन् जसमा केवल चराचुरुंगी मात्रै छन् । यही ठाउँमा भविष्यमा अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशनको पनि अन्त्येष्टि गरिनेछ । स्पेस स्टेशन केही वर्षभित्रै निकम्मा बन्नेछ ।

नाम को हो ?

स्याटेलाइटको चिहानघरको नामबाट चर्चित उक्त ठाउँको नाम ‘प्वाइन्ट निमो’ हो । यो प्रशान्त महासागरको मध्यभागमा छ । यसलाई पोल अफ इनएक्सेसिबिलिटी पनि भनिन्छ । किनकि यहाँ कोही पनि मानिस सजिलैसँग पुग्न सक्दैन अर्थात् आम मानिसको पहुँचबाट यो ठाउँ टाढा छ ।

इस्टर टापुको दक्षिण तथा अन्टार्कटिकाको उत्तरमा अवस्थित यो इलाकामा महासागरको औसत गहिराइ ४ हजार मिटर भन्दा धेरै छ । जहाँ ठूला भन्दा ठूला जहाजहरु प्नि पलभरमै डुबेर गायब हुनसक्छन् । अत्यधिक गहिराइ, मानव वस्तीबाट निकै टाढा जस्ता विभिन्न असाधारण विशेषताका कारण यो ठाउँ स्याटेलाइटको चिहान बनाउनका लागि आकर्षक स्थल बनेको छ ।

डुबाइसकियो ३ सयभन्दा धेरै स्याटेलाइट

सन् १९७० को दशकयता प्वाइन्ट निमोस्थित महासागरमा अहिलेसम्म ३ सयभन्दा धेरै स्याटेलाइट तथा अन्तरीक्ष स्टेशन विलय भैसकेका छन् । त्यहाँ अन्त्येष्टि गरिएका स्याटेलाइटहरु विश्वका विभिन्न देशहरुका हुन् ।

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशनलाई पनि प्वाइन्ट निमोमै अन्त्येष्टि गर्ने घोषणा हालै गरेको छ ।

स्पेस स्टेशन पछिल्लो २५ वर्षदेखि अन्तरीक्षमा रहेको छ जुन सन् २०३० पछि आधिकारिक रुपमा बन्द गरिनेछ । ३ सय ५७ फिट लामो तथा ४ लाख १९,७२५ किलोग्राम तौल भएको यो स्पेस स्टेशन प्वाइन्ट निमोमा विलय हुने अहिलेसम्मकै ठूलो अन्तरीक्ष उपकरण हुनेछ ।

अन्तरीक्षको फोहोरलाई कम गर्दै

युरोपेली अन्तरीक्ष एजेन्सीका अन्तरीक्ष फोहोर सम्बन्धी विश्लेषक स्टिजन लेमेन्सका अनुसार अन्तरीक्ष स्टेशनलाई डुबाउनु एउटा अतिवादी काम जस्तो लाग्दछ । तर यसलाई विकल्पको रुपमा प्रचार गर्नु सही हुँदैन ।

उनका अनुसार अहिले ४० हजार भन्दा बढी मानव निर्मित वस्तुहरुले पृथ्वीको परिक्रमा गरिरहेका छन् जसको आकार २ इन्चदेखि सयौँ मिटरसम्म रहेको छ । अन्तरीक्ष फोहोरको घनत्व जति धेरै बढ्छ त्यस्ता टुक्राहरु एक आपसमा ठोक्किने जोखिम पनि उति नै धेरै हुन्छ । यसले भविष्यमा नथामिने खालको टकरावको अवस्था आउनसक्छ र भविष्यमा अन्तरीक्षमा रहेका सबै स्याटेलाइटहरु ध्वस्त हुने जोखिम रहन्छ ।

त्यसैले मिति गुज्रिएका स्याटेलाइट वा अन्तरीक्षका अन्य निकम्मा वस्तुहरुलाई समुद्रमा विसर्जन गराउने कार्य अन्तरीक्ष फोहोर कम गर्ने एउटा प्रभावकारी उपाय मानिएको छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?