+
+

‘गुडलक’का लागि वैजनी अण्डरवेयरदेखि कोठीमा लामो रौँसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १३:५२

काठमाडौं । करीब १ अर्ब ४२ करोड जनसंख्या रहेको छिमेकी मुलुक चीन अनौठा खालका समुदाय तथा परम्पराहरुका लागि पनि चर्चित छ ।

भाग्य चम्किने विश्वासमा अर्थात् गुडलकका लागि चिनियाँहरु अनेक खालका तरिकाहरु अपनाउँछन् । यसको लामो इतिहास छ चीनमा । जुन रंग तथा प्रतिकहरुसँग जोडिएको छ ।

मानिसहरु आफ्ना इच्छा पूरा गर्नका लागि अनेक खालका तरिकाहरु अपनाउँछन् । चाहे विद्या आर्जनको कुरा होस् कि धन प्राप्तिको वा प्रेम प्राप्तिको नै किन नहोस्, चिनियाँहरुमा आफ्ना आकांक्षा पूरा गर्नका लागि अनेक खालका अन्धविश्वास वा आस्थाहरुको पालना गर्ने चलन अद्यापि छ ।

गुडलकका लागि भन्दै चिनियाँहरुले गर्ने केही अनौठा कामहरु यस्ता छन्–

तल काटिएको पहिरन : चीनमा कलेज भर्नाका लागि देशव्यापी प्रवेश परीक्षा हुन्छ । निकै ठूलो फलामे ढोका मानिने सो प्रवेश परीक्षालाई ‘गाओकाओ’ भनिन्छ । यो परीक्षाले चिनियाँ विद्यार्थीहरुको जीवनमा निकै ठूलो महत्व राख्दछ । आफ्ना सन्तानहरुले यो परीक्षा उत्तीर्ण गरुन् भन्नका लागि चिनियाँ महिलाहरुले एउटा अनौठो गतिविधि गर्दछन् ।

उनीहरु तलबाट काटिएको, लामो quipao नामक पहिरन लगाएर आफ्ना छोराछोरीले जाँच दिइरहेको परीक्षा केन्द्र बाहिर उभिन्छन् । यसले परम्परागत चिनिया उखान qi kai de sheng लाई जनाउँछ । जसको अर्थ हुन्छ पहिलो लडाइँमा जित हात पार्नु । कहिलेकाहीँ आमा मात्र नभएर परीक्षार्थीका बुवाहरु पनि यस्तै कार्यमा सहभागी हुन्छन् ।

वैजनी रङको अण्डरवेयर : गुडलकका लागि उत्तरी चीनमा विद्यार्थीहरुलाई वैजनी रंगको अण्डरवेयर लगाउन भनिन्छ । पूर्वोत्तर चीनको स्थानीय भाषामा वैजनी रंगलाई zi र हिपलाई ding भनिन्छ । चिनियाँ भाषामा एउटा वाक्य छ, zi ding xing । यसको अर्थ निश्चित रुपले जित हासिल गर्नु भन्ने हुन्छ । त्यसैले zi र ding लाई एकसाथ जोड्नका लागि वैजनी रंगको अण्डरवेयरलाई महत्व दिइन्छ । परीक्षाको समयमा यसबाट अधिक सकारात्मक उर्जा प्राप्त हुने विश्वास गरिन्छ ।

मोबाइल फोनको खोलभित्र १ सयको नोट : चीनमा युवाहरुको बीचमा एउटा उखान निकै चर्चित छ– प्रेम नहुनु ठीक हो तर पैसा नहुनु ठीक होइन । उनीहरु आफ्नो आर्थिक अवस्थालाई सुधार्नका लागि नयाँ–नयाँ तरिकाहरु अपनाइरहेका छन् । त्यसमध्ये एउटा चलन छ मोबाइल फोनको खोलमा १ सय युआनको बैंक नोट राख्नु । यसलाई फोन र खोलको बीचमा राखिन्छ । नोटलाई त्रिभुजाकारमा मोडिएको हुन्छ ताकि तिनै तर्फ पैसा आओस् ।

विभिन्न अनलाइन भिडियोहरुमा पनि नोटलाई सही तरिकाले मोड्ने तरिकाको बारेमा बताइएको हुन्छ । यसरी मोड्दा १०० को अगाडिको हिस्सा फोनको भित्रतर्फ हुनुपर्छ । त्यस्तै अन्तिममा आठ अंक हुने सिरियल नम्बरवाला नोटलाई सबैभन्दा लक्की मानिन्छ । यो संख्या पारम्परिक चिनियाँ संस्कृतिमा धनको प्रतिक मानिन्छ ।

कोठीमा लामो रौँ : वास्तवमा शरीरमा भएको कोठीमा लामो रौँ हुनु राम्रो देखिँदैन । तर चीन तथा हंगकङ्गमा भने कोठीमा पलाएको लामो रौँलाई भाग्य तथा बुद्धिको प्रतीक मानिन्छ । सन् २०१२ मा लण्डन ओलम्पिकमा चिनियाँ भारत्तोलन खेलाडि झांग जी आफ्नो शरीरको कोठीमा पलाएको लामो रौँका कारण चर्चित थिए । कतिपयले उनलाई छालाको क्यान्सरबाट बँच्नका लागि कोठीका रौँ काट्न सुझाव समेत दिएका थिए । वास्तवमा उनले गुडलकका लागि कोठीमा रौँ पालेका थिए ।

कान्छी औँलामा लामा नङ पाल्नु : चीनमा हातको कान्छी औँलामा निकै लामो नङ पाल्नुलाई पनि सौभाग्यको प्रतीक मानिन्छ । यसरी कान्छी औँलामा लामो नङ पाल्नाले कम शारीरिक मेहेनत र धेरै तलब हुने काम पाइने विश्वास चिनियाँहरुमा छ ।

बेडरुममा ताजा गुलाब : प्रेम तथा रोमान्सको खोजी गर्ने चिनियाँ पुरुष तथा महिलाहरुले आफ्नो बेडरुममा काँडा बिनाको ताजा गुलाबको फूल राख्ने गर्दछन् । ४९ दिनसम्म बेडरुममा ९ वटा गुलाबको फूल राख्नाले जीवनमा सकारात्मक परिवर्तन आउने विश्वास गरिन्छ । ती फूलहरु सुक्ने बित्तिकै फेर्ने गरिन्छ ।

महिलाहरुले बेडरुमको दक्षिण पश्चिम कुनामा र पुरुषहरुले उत्तरपश्चिम कुनामा गुलाबको फूल राख्नुपर्ने चलन समेत चिनियाँ समाजमा छ । महिला र पुरुषहरुका लागि फरक–फरक दिशामा गुलाबका फूलहरु राख्ने कुरा चिनियाँ संस्कृतिको Eight Trigrams बाट आएको हो । जसमा दक्षिणपश्चिमलाई महिलाहरुको प्रतीक अर्थात् ग्रहणशीलताको रुपमा मानिन्छ भने उत्तरपश्चिमलाई पुरुषहरुको प्रतिक सिर्जनशीलको रुपमा मानिन्छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?