 
																			२२ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय सुझबुझपूर्ण भएको बताएका छन् ।
संघीय संसदको संसदीय सुनुवाइ समितिमा बोल्दै मन्त्री साउदले पोर्चुगलमा नेपाली नागरिकको संख्या बढिरहेका कारण उनीहरूको हक हितमा काम गर्नका लागि दूतावास खोल्ने निर्णय भएको बताएका छन् ।
‘वैदेशिक रोजगारी तथा विभिन्न पेशा व्यवसायका लागि पोर्चुगलमा बसोबास गर्ने नेपालीको संख्या दिनानुदिन बढिरहेको सन्दर्भमा उनीहरूको हक हित संरक्षण गर्न तथा उनीहरूलाई आवश्यक कन्सुलर लगायतका सेवा सहज रुपमा प्रदान गर्न राजदूतावास स्थापना गर्ने निर्णय भएको हो’, मन्त्री साउदले समितिमा भने ।
सरकारले २ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकबाट पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय गरेसँगै त्यसको आलोचना भइरहेको छ । यसै विषयमा छलफल गर्न संसदीय सुनुवाइ समितिले परराष्ट्रमन्त्री साउदलाई शुक्रबार छलफलमा बोलाएको थियो ।
मन्त्री साउदले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको हित तथा चासो अभिवृद्धि गर्दै विदेशमा रहेका हरेक नेपालीको रक्षा गर्नु परराष्ट्र नीतिको आधारभूत काम भएको भन्दै क्षमताले भ्याएसम्म कूटनीतिक पहुँच र उपस्थिति विस्तार गर्दै लैजाने सरकारको नीति रहेको बताए ।
उनले पोर्चुगल हेर्ने जिम्मेवारी तोकिएको नेपाली दूतावास फ्रान्सको पेरिस टाढा रहेको हुँदा पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूलाई राहदानी तथा कन्सुलर सम्बन्धी सेवाका लागि आउजाउ गर्न कठिन भएको समेत बताए ।
पोर्चुगल र स्पेनबीचको सम्बन्धमा रहेको ऐतिहासिक मतभिन्नताका कारण स्पेनमा रहेको नेपाली राजदूतावासले पोर्चुगल हेर्ने व्यवस्था गर्न नसकेको समेत मन्त्री साउदले बताए ।
उनले हालै नेपाल भ्रमण गरेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस समेत पोर्चुगलका पूर्व प्रधानमन्त्री रहेको र उनले नेपालको जलवायु परिवर्तनले ल्याएका संकटको न्यूनिकरणका लागि नेपालको वकालत गरेकाले पोर्चुगलमा राजदूतावास खोल्नु सान्दर्भिक रहेको तर्क समिति समक्ष पेश गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4