
२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाट नटुंगिए बहुमतबाट टुंगो लगाउने बताएका छन् ।
आइतबार गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरुको राष्ट्रिय सञ्जालका प्रतिनिधिलाई बालुवाटारमा भेट्दै उनले आफूले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास गर्ने तर हुन नसके बहुमतको आधारमा टुंग्याउने बताएका हुन् ।
उनले हाल एमालेको मध्यपहाडी लोकमार्ग अभियान चलिरहेकाले उक्त अभियान सकिएपछि संसद बैटक बोलाउने बताए । ‘सम्भवतः त्यसपछि सदन बोलाउने सोचिंदैछ । तैपनि अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा यसलाई प्रवेश गराइन्छ । राष्ट्रिय सहमति गराउने अन्तिम प्रयास हुनेछ । भएन भने डेमोक्रेटिक प्रक्रियाबाट टुंग्याइन्छ’, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने कोसिस भइरहेको पनि बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने कोसिस भइरहेको छ । त्यसकारण पनि हामी अझ बढी एक भएर अघि बढ्न जरुरी छ र यसलाई छिटोभन्दा छिटो पोजिटिभ्ली सकारात्मक ढंगले टुंग्याउन जरुरी छ । त्यसो गर्न सकेनौं भने अफ्ठ्यारा आउँछन्’, उनले भने ।
प्रतिक्रिया 4