+
+
आईपीओ प्रिभ्यु :

हिमालयन रिइन्स्योरेन्स : कानुनले नै सुरक्षित गरिदिएको व्यापार

कमल नेपाल कमल नेपाल
२०८० मंसिर २७ गते ८:३०

२७ मंसिर, काठमाडौं । सर्वसाधारणका लागि हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा बुधबारदेखि आवेदन खुल्ने भएको छ । कम्पनीको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाई छुट्याइसकेपछि कुल २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको हो ।

कुल जारी पुँजी १० अर्बको ३० प्रतिशत अर्थात ३ करोड कित्ता सेयर सर्वसाधारण समूहमा जारी हुनेछ । त्यसमध्ये २ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा गएकाहरुका लागि र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

अंकित मूल्य १ सयमा १०६ रुपैयाँ थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओ मूल्य तोकिएको छ । न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । न्यूनतम संख्या (१० कित्ता) का लागि आवेदन दिन कम्तीमा २ हजार ६० रुपैयाँ बैंक खातामा मौज्दात हुनुपर्छ । अधिकतम भने ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आफ्नो खाता भएको बैंक शाखा वा अनलाइन प्रणाली मेरोसेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

के हो कम्पनीको बिजनेस ?

२०७८ असारदेखि सञ्चालनमा आएको यो कम्पनीको मुख्य कार्यालय काठमाडौंको महाराजगञ्जमा अवस्थित छ । बीमा कम्पनीहरुले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा आएको हो । बीमा कम्पनीहरुले बहन गर्ने जोखिमको केही अंश यस कम्पनीले पनि बहन गर्दछ, जसले बीमा कम्पनीहरुको जोखिम हस्तान्तरण गर्न मद्दत पुग्नेछ ।

कम्पनीले पुनर्बीमा तथा बीमा व्यवसायबाट प्राप्त हुने रकम, बीमा शुल्कबाट बीमा कोषमा जम्मा हुने रकमलाई विभिन्न क्षेत्रमा लगानी गरी थप प्रतिफल लिने, विभिन्न कम्पनीका सेयर, ऋणपत्रजस्ता धितोपत्रमा लगानी गरेर पनि नाफा आर्जन गर्न सक्नेछ । स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीसँग आवश्यकताअनुसार पुनर्बीमा ब्रोकरको रुपमा पनि सेवा लिनेदिने काम गर्दछ ।

नेपालका सबै बीमा कम्पनीहरुलाई सबैजसो योजना/पोलिसीको पुनर्बीमा स्वदेशी कम्पनीमै गराउनुपर्ने बाध्यकारी व्यवस्था बीमा ऐनमा गरिएको छ । जीवन बीमा, मोटर, कृषि पशुपन्छी तथा जडिबुटी, हुलदंगा तथा आतंकवादीजस्ता बीमा स्वदेशमै शतप्रतिशत पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ । यसले कुल बीमा शुल्क, आम्दानी बढ्ने कम्पनीको प्रक्षेपण छ ।

स्वदेशी पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेका जोखिमको मात्रै विदेशी कम्पनीमा पुनर्बीमा गर्न पाउने व्यवस्था छ । स्वदेशमा हुने पुनर्बीमाको लाभ दुई कम्पनी नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीले मात्रै पाउनेछन् । कानुनतः बिजेनस सुनिश्चित भएकाले आगामी दिनमा बीमा कम्पनीहरुको बिजनेस बढेअनुसार पुनर्बीमा कम्पनीहरुको पनि बिजनेस बढ्नेछ ।

कम्पनीको वित्तीय स्थिति र रेटिङ :

आईपीओबाट रकम संकलनपछि कम्पनीको कुल सेयर पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । त्यसमा ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ सर्वसाधारण समूहमा आईपीओ जारी गरेर संकलन भइरहेको छ । बाँकी ७० प्रतिशत सेयर संस्थापक समूहको छ ।

गत असार मसान्तसम्म कम्पनीको बीमा कोषको आकार ३५ करोड ८१ लाख रुपैयाँ छ भने महाविपत्ति कोषमा ३ करोड ७१ लाख रुपैयाँ छ । असार मसान्तसम्म सञ्चित नाफा ४४ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ४८ करोड कुल प्रिमियम आम्दानी गरेको छ भने प्रिमियम हस्तान्तरण ५ करोड ३९ लाख हुँदा खुद प्रिमियम आम्दानी ३ अर्ब ४३ करोड छ । गत आर्थिक वर्ष कम्पनीले ४४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ छ ।

इक्रा नेपालले कम्पनीलाई ‘ए माइनस’ (ए को तल्लोस्तर) रेटिङ प्रदान गरेको छ । इक्राले कम्पनीको दायित्व वहन गर्ने क्षमतालाई आधार मान्दै बलियोदेखि कमजोरसम्म क्रमशः एएए देखि डीसम्मको रेटिङ प्रदान गर्दछ । एएए ले सबैभन्दा मजबुत जनाउँछ भने ‘प्लस, माइनस’ले सो समूहको तुलनात्मक स्थिति जनाउँछ । तसर्थ कम्पनीले पाएको ए माइनस रेटिङले समयमै वित्तीय दायित्व वहन गर्न सक्ने बलियो स्थिति नै जनाउँछ ।

सरकारी स्वामित्वको कम्पनीसँग प्रतिस्पर्धा :

नेपालमा रहेका दुईवटा पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सबीच व्यवसायिक प्रतिस्पर्धा हुनेछ । नेपाल पुनर्बीमा कम्पनी ४४ प्रतिशत सरकारको सेयर हिस्सा रहेको सरकारी बहुस्वामित्वको कम्पनी हो भने हिमालयन निजी क्षेत्रको बहुस्वामित्वमा सञ्चालित कम्पनी हो । यद्यपि हिमालयनमा पनि सरकारी स्वामित्वका कम्पनीहरुको पनि राम्रै सेयर हिस्सा छ ।

नेपाल रिइन्स्योरेन्स कम्पनी साढे ३ वर्षअघि सेयर बजारमा सूचीकृत भएको कम्पनी हो । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६३५ रुपैयाँ हाराहारीमा छ । तसर्थ हिमालयन रिइन्स्योरेन्सले पनि दोस्रो बजारमा सोसरहको मूल्य कायम राख्नसक्ने सम्भावना हुनेछ ।

नेपाल रिइन्स्योरेन्स कम्पनीले अहिलेसम्म गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय रिपोर्ट नै निकालेको छैन । न त बिजनेस नै बढाउन सकेको छ । सरकारी स्वामित्वको यो कम्पनीको सुशासन, कार्यप्रणाली कमजोर देखिएकै संस्थापक सेयर खरिद गरेका कतिपय कम्पनी धमाधम सेयर लिलामी बिक्री गर्दै बाहिरिरहेका छन् । सरकारी कम्पनीको कमजोर सुशासनले पनि निजी क्षेत्रको हिमालयनलाई व्यवसायिक प्रतिस्पर्धामा सहजता हुन सक्नेछ ।

सञ्चालक तथा संस्थापक सेयरधनी :

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छा यस कम्पनीका अध्यक्ष हुन् । उनले कम्पनीको २० लाख कित्ता सेयर होल्ड गरेका छन् भने उनले आफ्ना अरु कम्पनीमार्फत सेयर लगानी गरेका छन् ।

त्यस्तै अर्का सञ्चालक साहिल अग्रवालले आफ्नो नाममा ३२ लाख कित्ता सेयर होल्ड गरेका छन् । अग्रवालका अरु विभिन्न कम्पनीमार्फत पनि सेयर लगानी भएको छ । अमित मोर, साक्षी बंसल (गुप्ता) र सुभासकुमार झुनझुनवाला (स्वतन्त्र) कम्पनीका सञ्चालक छन् । मोरले ६ लाख ५ हजार, बंसलले ४ लाख कित्ता सेयर होल्ड गरेका छन् ।

हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै सेयर अम्बर प्रोभेस्टमेन्ट कम्पनीको नाममा ६७ लाख ८५ हजार कित्ता छ । कम्पनीका अरु ठूला सेयरधनीमा राष्ट्रिय वाणिज्य बैंक (५० लाख कित्ता), नेपाल बैंक (५० लाख कित्ता), इन्फिनिटी होल्डिङ्स (४५ लाख कित्ता), जगदम्बा मोटर्स (३२ लाख कित्ता), विकास दुगड (२२ लाख कित्ता), जगदम्बा स्टिल (२२ लाख कित्ता) छन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल हुन् । नायब प्रमुख कार्यकारी अधिकृत मुकेशकुमार कपुर, कार्यकारी निर्देशकहरुमा मनिषकुमार र दिपककुमार श्रेष्ठ छन् ।

आईपीओ भर्ने कि नभर्ने ?

२ करोड ४९ लाख कित्ता सेयर खुल्ने भएकाले भर्नेजति सबैलाई आईपीओ पर्ने सम्भावना छ । आईपीओमा आवेदन दिएका सबैलाई पुगेसम्म १० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने धितोपत्र बाँडफाँट निर्देशिकामा उल्लेख छ । जसका कारण २४ लाख ९० हजारलाई १० कित्ताका दरले सेयर दिन पुग्छ । तर, आवेदकको संख्या २४ लाख नपुग्ने भएकाले कतिपयले यस कम्पनीको २० वा ३० कित्तासम्म सेयर पाउन सक्नेछन् ।

यस कम्पनीको तुलना उस्तै प्रकृतिको अर्को नेपाल पुनर्बीमा कम्पनीसँग हुन्छ । बजार उच्च अंकमा पुगेका बेला नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार रुपैयाँसम्म पुगेको थियो । हाल भने यस कम्पनीको मूल्य प्रतिकित्ता ६३५ रुपैयाँ हाराहारीमा छ । तसर्थ २०६ रुपैयाँमा आईपीओ भरेर बजारमा सोभन्दा माथिको मूल्यमा बेचेर पुँजीगत लाभ लिन सकिन्छ ।

तर धेरै चुक्ता पुँजी भएको र हालका लागि बिजनेसको आकार सानो भएकाले कम्पनीले केही वर्षका लागि ठूलो लाभांश दिन सक्ने अवस्था देखिँदैन । सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीले पनि विगतका दुई वर्षमा ५–५ प्रतिशतभन्दा बढी लाभांश दिन सकेको छैन । तर, भविष्यमा हिमालयन रिइन्स्योरेन्सले आफ्नो आम्दानीलाई सही रुपमा लगानी गरी उच्च नाफा कमाउँदै जान सकेमा लाभांश बढ्नेछ ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?