+
+

विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव, राम मन्दिरमा पुर्याइन्छ कोसेली

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते ९:२१

२९ मंसिर, जनकपुरधाम ।  विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट कोसेली लिएर साधुसन्तहरु जनकपुरकै राम मन्दिरमा पुगेर तिल्कोत्सव मनाइन्छ ।

तिल्कोत्सवलाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनु अघि बेहुली पक्ष दहीचुरा, खिरपुरी, विभिन्न मिठाई, फलफूल, लत्ताकपडासहित बेहुला अर्थात बरको घरमा पुगेर दिन्छन् । त्यसलाई भार (कोसेली) भन्छन् । भार पुर्याएपछि बेहुला र बेहुली पक्षबीच टिकाटालो हुन्छ ।

मैथिली परम्पराको यही विधि पूरा गर्न जानकी मन्दिरबाट साधुसन्तहरु बाजागाजासहित कोसेली लिएर जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् । त्यसको नेतृत्व सीताको बुवा अर्थात् राजा जनकको भूमिका जानकी मन्दिरका महन्तले पूरा गर्दछन् । रामको बुबा अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने परम्परा छ ।

प्रत्येक वर्षक कम्तिमा १०१ भार (कोसेली) राम मन्दिरमा लैजाने गरेकोमा यस वर्ष करिब ४ सय भार लगिने जानकी मन्दिरका सहमहन्त रामरोशन दासले जानकारी दिए ।

राम मन्दिरमा भार पुगेपछि तिल्कोत्सवको कार्यक्रम भव्य रुपमा हुने गर्दछ । त्यहाँ महिलाहरुले मैथिली भाषाका थरी–थरी लोक गीतले छोरी जानकीको पक्षबाट पुगेका साधुसन्तलाई स्वागत गर्ने चलन छ । यसरी सम्धी मिलन र तिल्कोत्सव सम्पन्न हुन्छ ।

भोलि पाँचौ दिन शनिबार मटकोर तथा आइतबार सीता–रामको विवाह र सोमबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुने छ ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन बिहीबार जानकी मन्दिरमा धनुष यज्ञ मनाइएको थियो । धनुष यज्ञ अवलोकन गर्न बिहीबार बेलुकी जानकी मन्दिरमा सयौंको संख्यामा साधुसन्त तथा दर्शनार्थी भेला भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?