+
+

‘अहिले चलिरहेका गाडीको इन्जिन मोडिफाइ गरेर हाइड्रोजनबाट चल्ने बनाउन सकिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १०:३८
काठमाडौंको सडकमा सवारी साधन । फाइल फोटो

१ पुस, काठमाडौं । नेपालमा डिजल/पेट्रोलबाट चलिरहेका गाडीको इन्जिनमा सामान्य सुधार गरेर हाइड्रोजनबाट चलाउन मिल्ने बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्दै आएको रिन्यु जेन रिसोर्सेस नेपाल कम्पनीले काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी सरकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुले डिजल/पेट्रोलको आयातबाट देशको अर्बौं रुपैयाँ विदेशिने र त्यसबाट चल्ने गाडीहरुबाट वातावरण प्रदूषण पनि हुने भएकाले हाइड्रोजन ऊर्जा उत्पादन र प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

यसो गर्दा डिजल/पेट्रोलको आयातबाट देशको अर्बौं रुपैयाँ विदेशिबाट जोगिने र त्यसबाट चल्ने गाडीहरुबाट वातावरण प्रदूषण पनि नहुने भएकाले हाइड्रोजन ऊर्जा उत्पादन र प्रयोग बढाउनुपर्ने उनीहरुको जोड छ ।

कार्यक्रममा रिन्यु जेन रिसोर्सेस नेपालका प्रमुख कार्यकारी अधिकृत डा. प्रमोद टण्डनले एक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा जलविद्युतको प्रशस्त सम्भावना भएकाले त्यसबाट हाइड्रोजन ऊर्जा उत्पादन गरी सवारी साधन, कलकारखाना र भान्सामा खाना पकाउने ग्यासको विकल्पको रुपमा प्रयोग गर्नुपर्ने बताए ।

हाइड्रोजनबाट चल्ने गाडीहरु पेट्रोल डिजेलबाट चल्ने गाडीहरुभन्दा बढी समयसम्म गुड्ने र वातावरण प्रदूषण पनि कम हुने भएकाले यसको उत्पादन तथा प्रयोगमा जोड दिनुपर्ने उनले बताए ।

लण्डनबाट अन्तर्राष्ट्रिय हाइड्रो पोलिटिक्समा पीएचडी गरेका टण्डनका अनुसार हाइड्रोजन सवारी साधनमा दुई तरिकाबाट प्रयोग गर्न सकिन्छ, पहिलो ‘फुएल सेल’ र दोस्रो ‘हाइड्रोजन कम्बसन इन्जिन’ । उनका अनुसार विकसित मुलुकहरुमा सफल परीक्षण भैसकेको र व्यापारिक प्रयोजनमा समेत गैसकेको हाड्रोजन कम्बसन इन्जिन ‘डुअल मोडल’ (हाइड्रोजन र पेट्रोल/डिजल दुवै) वा शतप्रतिशत हाइड्रोजन राखेर चलाउन सकिन्छ । ‘डुअल मोडल’ मा हाइड्रोजन नभएको अवस्थामा शतप्रतिशत पेट्रोल/डिजलबाट पनि सवारी साधन चल्न सक्दछ ।

‘हाइड्रोजन कम्बसन इन्जिनमा शतप्रतिशत हाइड्रोजनको प्रयोगको वातावरणीय फाइदा त छँदै छ, यससँगगै सवारी साधनमा ‘डुअल मोडल’ मा हाइड्रोजनको प्रयोगले माथि उल्लेखित कार्बन उत्सर्जन, हरित गृह ग्यास उत्सर्जन लगायत वातावरण प्रदूषणमा पनि कमी आउँछ,’ डा. टण्डन भन्छन्, ‘नेपालमै व्यापक सम्भाव्यता भएको हाइड्रोजनको प्रयोगमा बढावा दिएर नेपालको परनिर्भरता घटाउन सहयोग पनि मिल्दछ ।’

कार्यक्रममा रिन्यु जेन रेसोर्सेस नेपालका प्रोजेक्ट को–अर्डिनेटर युवराज ढकालले आफूहरुले गरेको प्रारम्भिक अध्ययनबाट समेत १०० किलोवाटको हाइड्रोजन प्लान्टले २०–२५ ओटा ‘डुअल मोडल’ (३०–४० प्रतिशत हाइड्रोजन र ६०–७० प्रतिशत पेट्रोल/डिजल) मा सवारी साधन सन्चालन गर्नसक्ने देखाएको जानकारी दिए । ‘एउटामात्र गाडीको इन्जिन मोडिफाई गर्दा खर्चिलो हुने भए पनि लार्ज स्केलमा जाने हो भने सस्तो पनि पर्छ,’ उनले भने ।

विण्ड इनर्जी नेपालका प्रमुख कार्यकारी अधिकृत कुशल गुरुङले नेपालमा हाइड्रोजन ऊर्जालाई व्यवसायीकरण गर्न नेपाल सरकारले न्यूनतम दरमा बिजुली उत्पादन गराउनुपर्ने बताए । साथै नेपाल विद्युत प्राधिकरणले समेत आफ्नो बजेटको न्यूनतम एक प्रतिशत हाइड्रोजन ऊर्जा उत्पादनमा लाग्ने बिजुलीको लागत न्यूनीकरणका लागि छुट्याएमा नेपालमा उत्पादित हाइड्रोजन ऊर्जाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने बताए ।

त्यसैगरी नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी प्रमुख श्रीराम पोखरेलले नेपालमा हाइड्रोजन ऊर्जा उत्पादनका लागि प्राधिकरणको उच्च तहमा छलफल भइरहेको जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेशको योजना आयोगका पूर्व सदस्य श्याम बस्नेतले हाइड्रोजन ऊर्जाको क्षेत्रमा रिन्यूजेन रिसोर्सेसले गरिरहेको कामको प्रशंसा गर्दै राजनीतिक र प्रशासनिक क्षेत्रमा गर्नुपर्ने पहलका लागि आफूले पूर्ण सहयोग गर्ने वाचा गरे । नवीकरणीय ऊर्जालाई नेपाल सरकारले प्राथमिकता दिई कार्यान्वयनमा ल्याउनुपर्ने उनले बताए ।

कार्यक्रममा अधिवक्ता एवम् जलविद्युत क्षेत्रमा क्रियाशील व्यवसायी रत्नेश्वर शर्माले हाइड्रोजन ऊर्जाको उत्पादन तथा प्रयोगको सन्दर्भमा सरल कानुनी व्यवस्था हुनुपर्ने बताए । नेपालमा नयाँ आयोजनाहरू कार्यान्वयनका सिलसिलामा झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने अनुभव सुनाउँदै उनले कतिपय नीतिगत अभाव एवं अन्योलताका कारण आयोजना कार्यान्वयन गर्दा लगानी नै जोखिममा पर्ने अवस्था देखिएको बताए । यस्ता विषयहरुलाई सम्बोधन गर्न नेपाल सरकार तथा कर्मचारीहरूले समयानुकूल नीति निर्माण गर्दै कार्यान्वयनमा सहजता ल्याइनुपर्ने उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?