+
+

राष्ट्रियसभा निर्वाचन : कांग्रेसका प्रदेश समितिले सबै आकांक्षीको नाम केन्द्रमा पठाइदिने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते २०:१९

९ पुस, काठमाडौं । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ । राजनीतिक दलहरु अहिले उम्मेदवार छनोटको चरणमा छन् ।

राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदमा चुनाव हुन लागेको छ । राष्ट्रियसभा सदस्य प्रदेशस्तरमा हुने चुनावबाट निर्वाचित हुन्छन् र यसपटकको चुनावमा सातमध्ये कुनै प्रदेशमा ३ र कुनैमा २ पदका लागि चुनाव हुँदैछ ।

२९ मंसिरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० पुसभित्र तीन जनाको नाम सिफारिस गर्न प्रदेश समितिहरुलाई निर्देशन दिएको छ । प्रदेशले पनि जिल्ला कार्यसमितिलाई तीन जनाको नाम सिफारिस पत्राचार गरेको छ ।

कार्यसम्पादन दिएको समय एक दिन बाँकी रहँदासम्म कुनै पनि प्रदेशले उम्मेदवारको सूची केन्द्रीय कार्यालयमा नपठाएका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रदेश समितिले कांग्रेसमा जिल्लाबाट सिफारिस भएर आएका नाममध्येबाट तीन जनाको नाम केन्द्रीय कार्यालयमा पठाउनुपर्ने हो । तर जिल्ला समितिले पठाएका नामका अतिरिक्त प्रदेशले योग्य ठहराएका व्यक्ति र जिल्लाले पूर्वाग्रह राखेर नाम नपठाएको बहानामा अन्य व्यक्तिको नाम पनि प्रदेश समितिहरुले केन्द्रम पठाउने तयारी गरेका छन् ।

कांग्रेसको विधान अनुसार तल्लो तहले बढीमा तीन जनाको नाम मात्र उम्मेदवारमा सिफारिस गर्नुपर्नेछ । तर, आंकाक्षी व्यक्तिको नाम छुटेको अवस्थामा अपजस भोग्नुपर्ने भयले जिल्ला तथा प्रदेशले आकांक्षी सबैको नाम माथिल्लो समितिमा पठाउने विगतदेखिकै प्रचलन बनिसकेको छ ।

कोशी प्रदेश समितिले प्रदेशभित्रका १४ जिल्लाबाट आएका सबै नाम केन्द्रमा पठाउने निर्णय गरिसकेको छ । जबकी कोशीमा जम्मा ३ पदका लागि चुनाव हुँदैछ । त्यो पनि सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने हुनाले कांग्रेसको भागमा कति सिट पर्छ भन्नेसमेत टुंगिएको छैन ।

प्रदेश समितिका अनुसार हालसम्म ९ जिल्लाले आकांक्षीहरुको नाम पठाएका छन् । ‘जिल्ला जिल्लाबाट आएका प्रस्तावित नाममा उहाँहरुको पार्टी र राष्ट्रलाई पुर्‍याएको योगदान हेरिन्छ’, कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले भने, ‘पार्टीको पूर्व र वर्तमान पदलाई आधार मानेर क्रमसंख्याको रुपमा नाम पठाउने निर्णय भएको छ ।’

कोशीबाट केन्द्रीय नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल, महेश आचार्य, सुजाता कोइराला, गुरुराज घिमिरे, तारामान गुरुङ, उमेशजंग रायमाझी लगायत आकांक्षी छन् ।

मधेशका जिल्लाहरुले अहिलेसम्म प्रदेश समितिमा उम्मेदवार आकांक्षीको नाम सिफारिस गरेका छैनन् । प्रदेश सभापति कृष्ण यादवले जिल्लाहरुबाट नाम आइनसकेकाले केन्द्रमा नाम सिफारिस गर्न केही ढिला हुने बताए । मधेशमा राष्ट्रिय सभा सदस्यको दुई पदमा चुनाव हुँदैछ ।

कांग्रेसको बागमती प्रदेश समितिको सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले जिल्लाबाट प्राप्त सबै नाम केन्द्रमा पठाउने निर्णय गरेको छ । ‘जिल्लाबाट नआएर सिधै आएका नाम पनि थपेर पठाउने निर्णय गरियो’, कार्यसम्पादन समितिका एक सदस्यले भने ।

उनका अनुसार बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि शीर्ष तहका कुनै नेताको नाम आएकोछैन । नुवाकोट र मकवानपुर जिल्ला समितिले सोमबार दिउँसोसम्म प्रदेशमा नाम पठाएका छैनन् । प्रदेश कार्यसम्पादन समितिका ती सदस्यका अनुसार बागमतीबाट करिब ६० जना आकांक्षीको नाम केन्द्रीय कार्यालयमा पठाउने तयारी छ ।

गण्डकी प्रदेश समितिले उम्मेदवारको नाम सिफारिस गर्न मंगलबार बैठक बोलाएको छ । उपसभापति कल्पना तिवारीले प्राप्त नामहरुमा छलफल गरेर मंगलबार टुंगो लगाउने बताइन् ।

‘केन्द्रले तीन जनाको नाम पठाउन भनेको छ । तीन जनाको नाम मात्रै टुंगो लगाउन सकिन्न होला । सबैको नाम पठाइदिन पर्ला’, उनले भनिन् ।

लुम्बिनी प्रदेशले पनि जिल्लाबाट प्राप्त सबै नाम केन्द्रमा पठाउने भएको छ । १३० जनाको नाम प्रदेश समितिमा प्राप्त भएको लुम्बिनीका सभापति अमरसिंह पुनले जानकारी दिए । ‘जिल्लाबाट नामहरु मागेको हो । केही साथीहरुले प्रदेश कार्यालयमै नाम दिनुभएको छ’, प्रदेश सभापति पुनले भने ।

राष्ट्रिय सभाका लागि योग्य, हालसम्म अवसर नपाएका, पार्टीमा लामो समय योगदान गरेका, सामाजिक प्रतिष्ठा भएका लगायतको मापदण्ड हेरिने पुनले बताए । ‘नाम सबैको जान्छ, केही व्यक्तिको सबै कुरा खुलाएर सिफारिस गर्छौं’, पुनले भने ।

कर्णाली प्रदेश प्रदेश समितिको सोमबार बसे पनि निर्णय भने हुन सकेको छैन । प्रदेश सभापति ललितजंग शाहीले मंगलबार नाम सिफारिसको निर्णय हुने बताए ।

‘आएका नाम सबै पठाउने कि सेलेक्सन गर्ने सकस छ । गठबन्धनबाट कांग्रेसले कुन क्लष्टर पाउने निर्णय हुन नसक्दा नाम पठाउन अलमल छ’, प्रदेश सभापति शाहीले भने ।

कर्णालीमा राष्ट्रियसभा सदस्यमा अन्य, दलित र महिला क्लस्टरका गरी तीन पदमा चुनाव हुँदैछ । प्रदेश सभापति शाहीले मंगलबार बस्ने बैठकले आकांक्षीहरुको सबै नाम केन्द्रीय कार्यालयमा पठाउने सम्भावना रहेको बताए ।

सुदूरपश्चिमले जिल्लाले पठाउने सबै नाम केन्द्रमा पठाउने सभापति वीरबहादुर बलायरले बताए । आकांक्षा राख्ने सबैको नाम सिफारिस गर्नुमा आर्थिकको कारण पनि रहेको केन्द्रीय तहका एक नेताले बताए । उम्मेदवार हुन इच्छुकले अनिवार्य लेबी तिर्नुपर्छ ।

‘कांग्रेसमा लेबी वर्षौं नतिर्ने बानी छ । पार्टीलाई बुझाउनुपर्ने रकम जम्मा नगरे सिफारिस गर्दिन भन्न सक्छन्’, केन्द्रीय नेता भन्छन्, ‘सिफारिसमा पर्न लेबी तिर्छन् । जिल्ला र प्रदेशको खातामा पैसा जम्मा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?