+
+

कोप-२८ दुबईमा जे देखियो, सुनियो

नेपालले उठाएको पर्वतीय क्षेत्रको मुद्दाले कोपको दस्तावेजमा प्रवेश पाएको छ । जहाँसम्म जलवायु परिवर्तन सम्बन्धी वैदेशिक रकम नेपाल ल्याउने कुरा छ, त्यो भीरमौरीको मह काढ्नु जत्तिकै कठिन छ ।

मिलन मनुवा दाहाल मिलन मनुवा दाहाल
२०८० पुष ११ गते १२:०४

संयुक्त राष्ट्रसंघ (यूएन)को जलवायु परिवर्तन सम्मेलनको २८औं संस्करण अर्थात् कोप-२८ दुबईमा हालै सम्पन्न भएको छ । अघिल्लो कोप-२७ इजिप्टको शार्म इल शेखमा पहिलोपल्ट सहभागी हुने अवसर मिले पनि मैले दुई दिन मात्र कार्यक्रममा बिताएको थिएँ । यसपालि कोप-२८ मा भने कार्यक्रमको सुरुदेखि अन्त्यसम्म सहभागी हुने मेरो पूर्वतयारी थियो । मेरो साथमा थिए, मिडियाकर्मी तथा अभियन्ता नेत्र कार्की ।

आयोजक राष्ट्र यूएईको भूमिमा, हामी मध्यरातमा ओर्लेर हवाईअड्डाबाट बाहिर निस्कँदा, २०२३ नोभेम्बर ३० तारिखको बिहान झिसमिसे उज्यालो हुँदैथियो । कोप-२८ को पहिलो दिन नोभेम्बर ३० मा सहभागीको नाम दर्ता बाहेक अन्य कार्यक्रम थिएन । तैपनि, हामी कार्यक्रमस्थल एक्सपो सिटी पुग्न हतारियौं । दुबई शहरको मुख्य केन्द्रबाट मेट्रो रेल चढेर जाँदा करिब १ घण्टामा एक्सपो सिटी पुगिन्छ ।

दुबईमा नोभेम्बर, डिसेम्बर महिना मौसम ठिक्क न्यानो रहन्छ । नाम दर्ताको औपचारिकता सकेर कार्यक्रमस्थल प्रवेश गरी सबैतिर एकसरो घुमियो । कोप कार्यक्रमस्थललाई ग्रीन र ब्लू जोनमा छुट्याइन्छ । त्यसैले एक्सपो सिटीलाई अस्थायी पर्खालले दुई भागमा बाँडिएको थियो ।

कोपको महिमा

पृथ्वीको तापक्रम बढ्दै जाँदा विश्वभर जलवायु परिवर्तनका असरहरू १९९० को दशकबाट टड्कारो रूपमा देखा पर्न थाल्यो । जलवायु परिवर्तनबाट आर्थिक, सामाजिक, राजनीतिक, प्राकृतिक, मानव स्वास्थ्य, जैविक विविधता, धनी-गरिब, गाउँ-शहर, हिमाल-पर्वत, समुद्री किनार कुनै यस्तो क्षेत्र, स्थान बाँकी रहेन, जुन जलवायु परिवर्तनबाट प्रभावित नभएको होस् ! जलवायु परिवर्तन वर्तमान विश्वको प्रमुख मुद्दा बन्न पुगेको छ । त्यसैले यूएन अन्तर्गत संसारकै सबैभन्दा महत्वको विश्व वाषिर्क शिखर सम्मेलन बनेको छ, कोप ।

कोपको अर्थ कन्फेरेन्स अफ पार्टी अर्थात् सदस्य राष्ट्रहरूको सरकारी प्ाक्ष सहभागी हुने कार्यक्रम हो । तर यूएनले गैरसरकारी संस्था, नागरिक समाज, निजी कम्पनी, प्राज्ञिक संस्था, युवा, महिला, आदिवासी लगायतको बृहत् सहभागितालाई खुला गर्दै लग्यो । इजिप्टको कोप-२७ मा विश्वभरिबाट ४३ हजार जना सहभागी भएका थिए । आयोजकका अनुसार यसपाली कोप-२८ मा १९६ देशहरूबाट कुल ८३ हजार ८८४ सहभागी भएका थिए ।

कोप-२८ मा आठ विभिन्न विषय र ४ क्रसकटिङ्ग विषयहरू तोकी प्रस्तुति तथा छलफल चलाइएको थियो । प्लेनरी हल र दर्जनौं मिटिङ्ग हलहरूमा कार्यक्रमहरू समानान्तर रूपमा सञ्चालन भएका थिए । विभिन्न राष्ट्र र सयौं संस्थाहरूले आ-आफ्ना पेभेलियनमा कार्यक्रमहरू गरेका थिए । करिब दुई हप्ता चलेको कोप-२८ लाई सहभागी सङ्ख्या र विषय-विविधताको आधारमा ज्ञान, अनुभव, विचार आदानप्रदानको कुम्भमेला भन्न सकिन्थ्यो ।

वास्तवमा नेपाल जस्तो विकासशीलले आफ्ना कुरा राख्ने, सफ्ट पावर प्रयोग गर्ने, साथै सफ्ट पावर हासिल गर्ने अन्तर्राष्ट्रिय मञ्च पनि हो, कोप । यता नेपालमा पूर्व प्रधानमन्त्रीहरू सत्ता लिप्साको दाउमा रहेको बेला, उता कोपमा अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री माल्कोम टर्नबुल हाइड्रोजन सम्बन्धी साइड इभेन्टमा भेटिएका थिए । नेत्रजी र मैले हाम्रो बुद्धिले भ्याएसम्म नेपालको जलविद्युत् र हाइड्रोजन बारे टर्नबुलसँग छलफल गर्‍यौं । नेपालले आगामी वैशाखमा गर्ने लगानी सम्मेलनमा टर्नबुललाई निम्तो गर्न सक्छ ।

त्यस्तै अर्को दृष्टान्त, ब्राजिलको पेभेलियनमा कृषि मन्त्री र सांसदसँग भलाकुसारी गर्ने मौका मिल्यो । ब्राजिलको राजदूतावास काठमाडौंमा छ, तर त्यसले केही गतिविधि गर्दैन, नेपाली राजदूतावास ब्राजिलमा छ, त्यो के गरेर बसेको छ, यसतर्फ ध्यान दिनुहोला, हाम्रो अनुरोध ब्राजिलका मन्त्री र सांसदलाई थियो । यसले कति काम गर्छ थाहा छैन, तर यो पनि सफ्ट पावर त हो नि !

कोप-२८ का ती १२ दिन

डिसेम्बर १ र २ तारिख उद्घाटन सत्र कार्यक्रम रहेको थियो । राष्ट्र/सरकार प्रमुखहरूको सम्बोधन धारावाहिक रूपमा चलिरहृयो । अमेरिका, चीन, रूस, जापान जस्ता धनी मुलुकका सरकारप्रमुख भने देखा परेनन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनक उपस्थित थिएनन् भने राजा चाल्र्सले घतलाग्दो भाषण गरेका थिए । भारतीय प्रधानमन्त्री मोदी पहिलो दिनै भाषण ठोकेर फर्किहाले ।

नेपालका प्रधानमन्त्रीको पालो दोस्रो दिनमा थियो । मुख्य हलमा दोस्रो दिन नेपालको पालो कहिले आउला भन्दै अरू देशका राष्ट्र/सरकार प्रमुखहरूको सम्बोधन सुन्दै बस्यौं । एक जनालाई बोल्ने ५ मिनेट समय दिइन्थ्यो । नेपालमा बुढाखाडा शीर्षस्थ नेताहरू खेपेका हामीलाई कम उमेरका राष्ट्रपति/प्रधानमन्त्रीहरू आँखै अगाडि देख्दा अचम्म लाग्थ्यो ।

कार्यक्रमस्थलबाट बाहिरिंदै गर्दा क्यामेरामेनहरूले मोडल जस्तो देखिने महिलालाई पछ्याएको नजिकैबाट मैले देखेको थिएँ । तिनी त इटालीकी प्रधानमन्त्री जिअर्जिया मेलोनी पो रहिछन् Û लिखित कागज नहेरी भाषण पनि दमदार दिइन् । त्यसो त लाटभियाकी प्रधानमन्त्री पनि कम थिइनन् ।

होली सि भन्ने नामै नसुनेको देशको राष्ट्रपतिले सम्बोधन गरेपछि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालो आयो । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधन जलवायु न्यायको अपिलसहित ओजपूर्ण थियो ।

राष्ट्र/सरकार प्रमुखहरू आफ्नो सम्बोधन सकिएपछि अरूको सुनेर नबस्ने, हलबाट बाहिरिने रहेछन् । हाम्रा प्रधानमन्त्री आफ्नो दलबल सहित बाहिरिए । म र नेत्रजी पनि बाहिरियौं ।

भोलिपल्ट डिसेम्बर ३ को बिहान साढे १० बजे मिटिङ रुम नं. ६ मा नेपालका प्रधानमन्त्रीले सञ्चालन गर्ने पर्वतीय देशहरूको समस्या बारे विशेष कार्यक्रम थियो । आधा घण्टाको उक्त छोटोमिठो कार्यक्रम साँच्चै प्रभावकारी रहृयो ।

महासचिव गुटेरेस आफैं उपस्थित भइदिएर नेपालको सो कार्यक्रमले महत्व पाएको थियो । नेपाल लगायत पर्वतीय देशहरूले जलवायु परिवर्तनको मार खेपिरहेकोले जलवायु न्याय पाउनुपर्छ भन्ने कार्यक्रमको मुख्य सार थियो । हाम्रा प्रधानमन्त्रीले गजब क्षमता प्रदर्शन गर्दै कार्यक्रम सञ्चालन गरे । नेपालका प्रधानमन्त्रीको त्यो प्रस्तुति देखेर हामीले पनि गर्व गर्‍यौं ।

प्रत्येक दिन एउटा विषयमा केन्दि्रत थियो । अन्तिमका दुई दिनहरू भने वार्ताको निष्कर्ष र समापनको लागि छुट्याइएको थियो । हरेक दिन बिहान ९-१० बजेदेखि साँझ ५-६ बजेसम्म अनेकौं बैठक र साइड इभेन्टहरू चलिरहेका हुन्थे । कोप-२८ लाई सिकाइ र सम्पर्क बिस्तारको लागि अधिकतम उपयोग गर्नुपर्छ भन्ने अठोट गरेका थियौं । त्यसै अनुसार हामीले कोप-२८ मा सक्रिय र अर्थपूर्ण सहभागिता जनाउने सक्दो प्रयास गर्‍यौं ।

एउटा साइड इभेन्टमा सहभागी हुँदा अर्को छुट्ने भएकोले नेपालसँग सरोकार भएका देशहरू र संस्थाका पेभिलियनलाई हामीले छनौट गर्‍यौं । नेपालको पेभिलियन र इनर्जी थिमको बिल्डिङ नं. ८८ मा पनि हामी घरीघरी पुगिरहन्थ्यौं । दिनभरी एक्सपो सिटीमा यता र उता हिंडेर बेलुकी खुट्टा बेस्सरी दुख्थ्यो ।

कोप-२८ को उपलब्धि

जलवायु परिवर्तनको जड कारण खनिज इन्धनको प्रयोग हो । धनी राष्ट्रहरू प्रदूषण गरिरहने, जलवायु परिवर्तनको असर बापत क्षतिपूर्ति कोषमा पैसा दिन्छु, अनुकूलन योजना बनाउ भन्ने, तर छलछाम गर्दै चलिरहेको थियो ।

झण्डै ३० वर्षको प्रयासपछि पहिलोपल्ट कोइला, तेल र ग्याँस लगायत खनिज इन्धनको प्रयोगलाई घटाउँदै लैजाने सहमति भएको छ । कोप-२८ को यो सबैभन्दा ठूलो उपलब्धि हो । त्यसैगरी जलवायु असरले नोक्सानी बापत क्षतिपूर्ति कोष कार्यान्वयनमा आउँछ कि भन्ने संकेत देखिएको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलन सम्बन्धी विश्वव्यापी लक्ष्य हासिल गर्न अमेरिकी डलर ७२५ मिलियन भन्दा बढी रकम प्रदान गर्ने धनी देशहरूबाट प्रतिबद्धता जनाइएको छ । जसमध्ये आयोजक राष्ट्र यूएई एक्लैले १०० मिलियन दिने घोषणा गरेको छ ।

कोपको दस्तावेजमा सन् २०३० सम्ममा नवीकरणीय ऊर्जालाई तीन गुणा वृद्धि गर्ने र ऊर्जा प्रभावकारिता दोब्बरले बढाउने संकल्प गरिएको छ ।

कोप-२८ को उपलब्धिबारे कटु आलोचनाहरू पनि सुनिएको छ । हरेक वर्ष संसारभरिबाट हजारौं मानिस भेला भएर कोप गरिरहँदा कति कार्बन उत्सर्जन हुन्छ ? त्यसको हेक्का छ भन्ने प्रश्न उठेको छ ।
किशोरी अवस्थामा नै जलवायु परिवर्तनको मुद्दा उठाएर चर्चित बनेकी स्वीडेनकी ग्रेटा थुनवर्गले कोप-२८ को उपलब्धि ऐतिहासिक जीत नभएको, दस्तावेजहरूमा थुप्रै छिद्रहरू रहेको टिप्पणी गरेकी छन् । त्यसैगरी कतिपय आलोचकहरूले कोपको उपलब्धि भनिएका सहमतिका दस्तावेजलाई गञ्जागोल दस्तावेज भनेका छन् ।

मेरो व्यक्तिगत विचारमा कोप-२८ ले विगतको भन्दा एक कदम अगाडि बढेर उपलब्धि हासिल गरेको छ ।

कोप-२८ बाट नेपालले के पायो

नेपालले पहिलोपल्ट कोपमा आफ्नो पेभिलियन राखेको थियो । यद्यपि उक्त पेभिलियन आयोजक राष्ट्रले सित्तै उपलब्ध गराएको थियो । जसको पैसा तिर्नु परेको भए ९० हजार डलर पर्ने सुनियो । नेपाली पेभिलियनमा दर्जनौं शीर्षकमा कार्यक्रमहरू १० दिनसम्म सञ्चालन भएको थियो । यद्यपि धेरैजसो कार्यक्रमहरू गैससका आफ्ना गतिविधि र प्रगति विवरण बारे हल्काफुल्का प्रस्तुति थिए । जसले नेपालको जलवायु परिवर्तनका खास सवालहरू, निराकरणका उपाय र जलवायु परिवर्तनको महत्वपूर्ण पाटो ऊर्जा क्षेत्रलाई समेटेको थिएन ।

कोप-२८ को पूर्वसन्ध्यामा महासचिव गुटेरेसले नेपाल भ्रमण गरेका थिए । गुटेरेसले सम्बोधनमा नेपालको उल्लेख गरे, नेपाललाई विशेष महत्व दिए । यसलाई पनि नेपालको उपलब्धि मान्नुपर्छ ।

यूएनको विवरण अनुसार नेपालबाट ३१० जना सहभागी भएका थिए । जसमा प्रधानमन्त्री, चार मन्त्री र दश सांसद समेत समावेश छन् । कतिपय नेपाली अन्य देश र विदेशी संस्थाबाट सहभागीको रूपमा कोप-२८ मा भेटिएका थिए । जसमध्ये रेडक्रसका प्रमुख जगन चापागाईं उल्लेखनीय व्यक्ति हुन् ।

नेपालीहरू विदेशमा कार्यक्रममा सहभागी हुने भनेको घुम्न जाने हो भन्ने मान्यता छ । तर पनि कोप जस्तो अन्तर्राष्ट्रिय मञ्चमा सङ्ख्यात्मक उपस्थितिले महत्व राख्छ । कोप-२८ मा जो जति सहभागी भए केही न केही सिकेर आए, तिनीहरूले आफ्नो कार्यक्षेत्र र समुदायमा उपयोग गर्लान् भन्ने आशा गरौं ।

कोप-२८ मा जुनस्तरमा नेपालले सहभागिता जनायो, त्यो आफैंमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि बढाउने काम भयो । यो मुख्य उपलब्धि हो । अर्को महत्वपूर्ण कुरा नेपालले उठाएको पर्वतीय क्षेत्रको मुद्दाले कोपको दस्तावेजमा प्रवेश पाएको छ । जहाँसम्म जलवायु परिवर्तन सम्बन्धी वैदेशिक रकम नेपाल ल्याउने कुरा छ, त्यो भीरमौरीको मह काढ्नु जत्तिकै कठिन छ । कोप-२८ दुई हप्ता चलेर सकियो, घर फर्केर वर्षभरि बाँकी समय हामी के गर्छौं, त्यसले नेपालको वास्तविक उपलब्धि देखाउनेछ ।

लेखकको बारेमा
मिलन मनुवा दाहाल

भ्रमणमा रुचि भएका मिलन मनुवा दाहाल प्रकृति र समाजबारे अध्ययन गर्न र लेख्न मन पराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?