१४ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३ को उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँज साढे पाँच बजे हुने यो फाइन खेलसँग जोडिएका तथ्यांक यस्ता छन् :
- यो खेल यसपल्टको ४०औं र समग्रमा ६५औं खेल हुनेछ
- यो प्रतियोगिताको इतिहासमा दोस्रो फाइनल मात्रै हो । धनगढी लगातार दोस्रोपल्ट फाइनल खेल्दैछ । ललितपुरका लागि भने यो पहिलो फाइनल अनुभव हुनेछ । वर्ष ०७८ को फाइनलमा काठमाडौं रेजर्सले धनगढीलाई १-० ले हराएको थियो ।
- धनगढीले पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई टाइब्रेकरमा ४-३ ले हराएको थियो । त्यस अगाडिको १२० मिनेटको खेल २-२ को बराबरीमा रहेको थियो । लिग चरणमा धनगढी दोस्रो स्थानमा रहेको थियो ।
- ललितपुरले भने प्ले–अफमा दुई खेल खेलेको थियो । लिग चरणमा चौथो स्थानमा रहेपछि ललितपुरले इलिमिनेटरमा काठमाडौंलाई ३-० ले हराएको थियो भने दोस्रो क्वालिफायरमा पोखरालाई २-१ ले पराजित गरेको थियो ।
- धनगढीका प्रशिक्षक युगलकिशोर राई दोस्रो पल्ट फाइनलको अनुभव बटुल्दै छन् । उनकै नेतृत्वमा धनगढीले पछिल्लो सिजन पनि खेलेको थियो । ललितपुरका प्रशिक्षक इयान एन्ड्र्यु गिलानका लागि यो पहिलो फाइनल अनुभव हुनेछ । उनी आफ्नो टिमलाई एनएसएलको फाइनल पुर्याउने पहिलो विदेशी प्रशिक्षक हुन् ।
- धनगढी र ललितपुरबीच अहिलेसम्म दुई खेल भएका छन् । दुवै खेल बराबरीमा टुंगेको छ । वर्ष ०७८ मा भएको पहिलो खेल १-१ को बराबरीमा टुंगेको थियो । त्यसमा धनगढीले ओलावाले आफिजको गोलले ७२औं मिनेटमा अग्रता लिएको थियो । ललितपुरका लागि रञ्जन विष्टले ७८औं मिनेटमा बराबरी गोल फर्काए ।
- यसपल्टको लिग चरणको खेलमा भने धनगढी र ललितपुरले गोलरहित बराबरी खेलेका थिए ।
- लिग चरणका आठ खेलसमेत गरेर धनगढीले यसपल्ट नौ खेल खेलेको छ । त्यसमा चार जित, चार बराबरी र एक हार रहेका छन् । समग्रमा धनगढीले १७ खेल खेलेको छ । त्यसमा आठ जित, पाँच बराबरी र चार हार रहेका छन् ।
- ललितपुरले यसपल्ट १० खेल खेलेकोमा त्यसमा चार जित, चार बराबरी र दुई हार छन् । ललितपुर प्रतियोगिता काठमाडौंसँगै समग्रमा सबैभन्दा बढी खेल खेलेको टिम हो । उसले अहिलेसम्म १८ खेल खेलेको छ र फाइनल उसको १९औं खेल हुनेछ । अहिलेसम्मका तीन खेलमा सात जित, सात बराबरी र चार हार रहेका छन् ।
प्रतिक्रिया 4