+
+
मध्यपहाडी लोकमार्गको बदनामी :

दशकदेखि सरकार–ठेकेदार लुकामारी, जनतालाई सकस

अमृत सुवेदी विकास मरहट्टा अमृत सुवेदी, विकास मरहट्टा
२०८० पुष १५ गते २०:४१

१५ पुस, गोरखा । पछिल्लो समय शहरीकरण बढेको गोरखा नगरपालिकाको छेपेटारबाट दरौं‌दी नदी तरेर पालुङटार नगरपालिका प्रवेश गरेपछि गाडी धुलोको मुस्लोभित्रै हराउँछ ।

घर, गोठ र रूख–बिरुवा समेत धुलोले ढाकिएको छ । धुलो उडाउँदै गाडी हुँइकिंदा धुलो मुखभित्रै छिर्छ ।

मध्यपहाडी लोकमार्गको पालुङटार खण्डमा पर्ने सातदोबाटे बजारकी चमेलीमाया श्रेष्ठ प्रार्थना गर्छिन्, ‘हे भगवान् अरू केही चाहिंदैन, यो धुलोबाट मुक्ति देऊ !’

सातदोबाटे बजारमै भेटिइन्, लक्ष्मी श्रेष्ठ । जसले सातदोबाटे बजारमा सानो चिया, खाजा पसल चलाइरहेकी छन् । मध्यपहाडी लोकमार्गकै कारण उनको खुसी हरण भएको छ । एकातिर धुलो–हिलोले ‘निदहराम’ गराइदिएको छ, अर्कोतिर त्यही सानो चिया पसलमा डेढ/दुई लाख रुपैयाँ डुबेको छ । पेटी ठेक्का लिने र मजदुरहरूले खाएको उधारो दुई लाख रुपैयाँ पुगिसकेको छ । उधारो तिर्न आग्रह गर्दा जवाफ दिन्छन्– ‘मेन ठेकेदारले दिएपछि दिन्छु ।’

स्थानीय राजदल कुमालका अनुसार यसरी धुलो खान सुरु गरेको २०४३ सालतिरबाटै हो । मध्यपहाडी लोकमार्ग भनेर रेखांकन भएपछि पनि काम हुन सकेन । ‘यति दुःख भोगियो कि भनेर साध्य नै छैन’ कुमाल पीडा पोख्छन्, ‘यहाँको धुलोले गर्दा ७० वर्ष बाँचिन्थ्यो भने ४५ वर्ष पनि बाँच्न सकिन्न जस्तो भइसक्यो ।’ यही बाटो भएर धेरै नेता भोट माग्न आए, राज्यको नेतृत्व गर्न पुगे, तर पालुङटारवासी भने हिउँदमा धुलो र बर्खामा हिलोले आजित छन् ।

सुरुमा बाटो बनाइदेऊ भनेर आन्दोलन गरेका स्थानीय अहिले ठेकेदार खोज्दै हारगुहार गरिरहेका छन् । ‘ठेकेदारले पैसा नै दिएन । कति ज्यामी रोएर गए, कति व्यापारीहरूको पनि पैसा डुबेको छ’ व्यापारीहरूको मात्र डेढ करोड रुपैयाँ उठ्न बाँकी रहेको भन्दै स्थानीय व्यापारी नुयनप्रसाद श्रेष्ठ भन्छन्, ‘मेरै ठूलो रकम डुबेको छ । रासनपानी खाए, पैसा सरकारले दिएपछि दिन्छु भन्छन् ।’

यहाँका बासिन्दाले भोट हालेर जिताएका जनप्रतिनिधि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए पनि गाउँलेले नियति बदल्न भने सकेका छैनन् ।

गण्डकीको नीति तथा योजना आयोग उपाध्यक्ष डा. कृष्ण देवकोटा, प्रदेशका सभामुख कृष्ण धिताल, सामाजिक विकासमन्त्री सुशीला सिम्खडा, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेदेखि केन्द्र सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ गोरखाकै हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि गोरखा क्षेत्र नम्बर २ बाटै चुनाव जितेका हुन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई गोरखाकै हुन् । तर मध्यपहाडी राजमार्गको गोरखाको अवस्थाले भने उनीहरूलाई गिज्याइरहेको छ ।

गोरखामा मध्यपहाडी लोकमार्गको सडक बन्न सुरु भएको झण्डै दशक भइसक्यो तर कुनै पनि खण्डको काम पूरा भएको छैन । अझै समस्या र सास्ती उस्तै छ । सबैभन्दा बढी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको पालुङटारमा समस्या छ । पालुङटार नगरपालिकाको पनि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकै वडामा समस्या देखिएको छ ।

मध्यपहाडी लोकमार्गको रेखांकन सकिएर पनि सुरुमा कामै अगाडि बढेन । ठेक्का लगाइसकेपछि पनि कहिले ठेकेदार भाग्ने, कहिले म्याद थप नगरेर सरकार पन्छिने गर्दा मध्यपहाडीको गोरखा खण्डका नागरिकले सास्ती खेपे ।

पटक–पटक म्याद गुज्रिंदा पनि समयमै काम नहुँदा स्थानीयले प्रशासन घेरे, मन्त्री गुहारे, धर्ना बसे, प्रदर्शन गरे तर धुलो र हिलोले अझै सास फेर्नै गाह्रो भइरहेको पीडा मध्यपहाडी लोकमार्ग गोरखा खण्डका नागरिकले गुनासो गरेका छन् ।

ठेकेदार–सरकार लुकामारी

मध्यपहाडी मार्गको गोरखा खण्डमा कहिले सरकारी निकायबीचकै समन्वय र बेलैमा निकास नदिंदा काम रोकियो भने कहिले ठेकेदारकै बदमासीले काम हुन सकेन । पालुङटार खण्डको अन्नपूर्ण वन क्षेत्रका कारण करिब तीन वर्ष कामै हुन सकेन ।

मसानेठाँटीदेखि पालुङटार नगरपालिकासम्मको १६ किलोमिटर खण्ड अहिले सबैभन्दा बढी दुर्दशामा छ । ३ वर्षमा काम सक्ने गरी २०७७ असार २६ मा हिमडुङ प्यासिफिक जेभीसँग सम्झौता भएको थियो । हालसम्म कामको प्रगति २८ प्रतिशत मात्र छ ।

यसअघि कामै नगरी समय गुजारेको ठेकेदार कम्पनीले अहिले सरकारले म्याद नथपिदिएको बहानामा मजदुरी गर्नेहरूलाई पैसा दिएको छैन । काम भने गराइरहेको छ ।

म्याद थपको प्रक्रिया अगाडि बढे पनि निर्णय भइनसकेको मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटार गोरखाका इन्जिनियर एवं सूचना अधिकारी विदुर सुवेदीले जानकारी दिए । ‘दोस्रो म्याद थप भएर पनि सकिइसक्यो, तर काम सम्पन्न भएन’, उनले भने, ‘यो खण्डमा करिब ८–९ सय रूख कटान गर्नुपर्ने थियो, चैतपछि सबै रूख कटान पनि भइसक्यो तर कामको गति अघि बढेको छैन ।’

आठौं पटक म्याद थपियो, प्रगति निराशाजनक

पटक–पटक म्याद थपे पनि काम नगर्ने ठेकेदारहरूको प्रवृत्ति मध्यपहाडीको गोरखा खण्डमा पनि देखिएको छ । आठौं पटकसम्म म्याद थपेर पनि काम नसक्ने यहीं देखिएको छ ।

मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखामा ६३ किलोमिटर पर्छ । हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको छ ।

आरूघाट-ओख्ले खण्डको १३ किलोमिटर सडक कालोपत्रेका लागि आठौं पटक म्याद थप भइसक्यो । रसुवा/इलाइट/सूर्य जेभीले २ वर्षमा काम सक्ने भनेर २०७१ पुस ३ गते सम्झौता गरेको हो । ठेक्का सम्झौता रकम २५ करोड ४२ लाख छ ।

काम सुरु भएको करिब एक दशकमा ८६ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ । ‘अन्तिम पटक थप भएको म्याद अनुसार २०८० असारभित्र काम सक्नुपर्ने थियो तर सकेन’ सुवेदीले भने, ‘म्याद थपको प्रक्रिया अघि बढेको छ ।’

आरूघाट बजार क्षेत्रमा ५०० मिटर डीपीआर अनुसार एलाइनमेन्ट क्लियर हुन नसक्दा पनि समस्या भएको छ । पालिकासँग आवश्यक समन्वय गरेर सहजीकरण गरिदिन आग्रह गरिएको उनले बताए ।

पालुङटारदेखि लमजुङको पाउँदीढिकसम्मको १६ किलोमिटर खण्ड कालोपत्रेका लागि पाँचौं पटक म्याद थप भइसकेको छ । तर काम सम्पन्न भएको छैन । बज्रगुरु कञ्चनजंघा शंखरमाली जेभीसँग २०७२ सालमा ठेक्का सम्झौता भएको हो । ‘पाँच पटक म्याद थप भयो काम लगभग सम्पन्न हुन लागेको छ, यो खण्ड अन्तर्गत गोरखातर्फ ६ किलोमिटर पर्छ’, सूचना अधिकारी सुवेदीले भने ।

ओख्ले-कोयाभन्ज्याङ-घ्याम्पेसाल-निवेल खण्डको १६ किलोमिटर सडक कालोपत्रेका लागि पनि पाँचौं पटक म्याद थप भइसक्यो । तर अहिलेसम्म भौतिक प्रगति ७२ प्रतिशत मात्र छ । तीन वर्षमा काम सक्ने गरी एम.पी./एस.सी.एफ/ई.सी.सी जेभीसँग २०७२ माघ १० मा ठेक्का सम्झौता भएको हो ।

‘अन्तिम पटक थप भएको म्याद पनि सकिइसक्यो, म्याद थपको प्रक्रिया अघि बढेको छ तर निर्णय भएर आएको छैन’, कार्यालयका सूचना अधिकारी सुवेदीले भने ।

घ्याम्पेसाल क्षेत्रको एक सय मिटर खण्डमा रूख कटान हुन नसक्दा केही ढिलाइ भए पनि ठेकेदारको लापरबाहीले काम सम्पन्न हुनसकेको छैन । यो खण्ड कालोपत्रेका लागि ३२ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।

निवेल नयाँसाँघुदेखि मसानेठाँटीसम्मको १२ किलोमिटर सडकखण्डको काम भने सम्पन्न भइसकेको छ ।

मसानेठाँटीदेखि पालुङटार नगरपालिकासम्म १६ किलोमिटर खण्डको काम सुस्त हुँदा स्थानीय आजित छन् । एकातिर ठेकेदारले रासनपानीदेखि चिया, भट्टीसम्म उधारो खाइदिएको छ अर्कोतिर धुलोले भान्सासम्मै सास्ती दिइरहेको छ ।

‘घर हेरिसाध्य छैन । रूख–पात माटै भइरहेको छ । कपडा धोएर सुकाउन सकिंदैन । खाना पकाएर राख्दा पनि धुलैधुलो हुन्छ’ स्थानीय रस्सा कुमालले सुनाइन्, ‘धुलोकै कारण सास फेर्न समेत गाह्रो हुन्छ । प्रार्थना गर्छु छिटो यो सडक बनोस् !’

ठेकेदार खोजेर काम लगायो, वनले रोक्छ : मुख्यमन्त्री पाण्डे

मध्यपहाडी मार्गको गोरखा खण्ड निर्माणमा विलम्ब हुँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि टाउकोदुखाइ बनेको छ । विभिन्न बहाना बनाएर ठेकेदारले काम गर्दैनन्, फकाएर काममा लगाउँदा वनले रोक्ने गरेको उनको अनुभव छ ।

अन्नपूर्ण वन क्षेत्रमा समस्या देखिंदा वनकै कारणले पनि काम रोकिएको अघिल्लो महिनामा भएको भौतिक पूर्वाधारको समीक्षा बैठकमै मुख्यमन्त्री पाण्डेले बताए ।

‘रूख काट्न पाइएन यहाँभन्दा अगाडि काम गर्न सकिंदैन भनेर ठेकेदार हिंड्यो । बल्ल बल्ल ठेकेदार खोजेर ल्यायौं र यो जंगलमा छोड अहिले त्योभन्दा अगाडि बढ भन्यौं’ उनले भने, ‘अलिकति अगाडि गएर फेरि वनले रोकिदियो भनेर फोन आयो ।’ वनका कारणले बेलैमा रूख काट्न नपाउँदा पनि बाटो समयमा नबनेको गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले बताए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?