+
+

ओलीको प्रश्न : सेरेमोनियल रामचन्द्रजी हुँदै हुनुहुन्छ, राजाले चाहिं के गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १५:४९

१६ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्रको बहस आवश्यक नै नभएको बताएका छन् ।

४८औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले जन्मँदै शासक हुने सिद्धान्त पाखण्डी भएको बताए । राजतन्त्र सामन्तवादको अवशेष भएको भन्दै उनले यदि कहीं छ भने राजनीतिक कारणले सम्झौता भएर रहेको हुनसक्ने बताए ।

नेपालमा पनि २०५८ सालमा भएको दरबार हत्याकाण्डकै बेला राजतन्त्र सकिएको टिप्पणी गरे । ‘दरबार हत्याकाण्डकै बेला सकिएको हो । हामीले त्यतिबेला उपयुक्त कदम नचाल्ने कमजोरी गरेको हुनाले अलिक दिन डमी राजतन्त्र चल्यो’ ओलीले भने, ‘त्यसले तमासा देखायो, अनि हटाउनुपर्‍यो । संविधानसभाले निर्णय गर्‍यो ।’

उनले अगाडि भने, ‘कुनै प्रोगेसिभ कुरा बाइमिस्टेक गएको भए फर्काउँथ्यौं होला, तर त्यो त अढाइ सय वर्षसम्म जनतालाई चुसेर गरिब बनाउने अनि त्यसलाई फेरि ल्याउने भन्ने कहीँ हुन्छ ? राजनीतिक, दार्शनिक सैद्धान्तिक, वैचारिक कुनै पनि हिसाबले हुँदैन ।’

उनले राजा चाहिन्छ भन्नेहरुलाई प्रश्न गरे । एकथरी मान्छेहरुले राजतन्त्र भयो भने राष्ट्रियता बलियो हुन्छ भन्ने गरेको भन्दै एमाले अध्यक्ष ओलीले प्रश्न गरे, ‘सिक्किम राजा सहितको स्वतन्त्र देश थियो । राजा हुँदा देश बच्दोरहेछ ?’

कस्तो राजा ल्याउन खोजेको, दलहरुलाई जेलमा हाल्ने एकदम तानाशाह राजा बनाउन खोजेको भन्दा पनि होइन भन्ने गरेको ओलीले सुनाए । ‘संवैधानिक राजा बनाउन खोजेको भन्छन्’, ओलीले भने, ‘सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त । अनि के गर्छ त त्यो राजाले चाहिं ?’

‘ट्वाल्ल हेर्ने बाहेक त केही गर्ने त होइन सेरेमोनियल राजाले । अनि त्यहाँ लगेर राख्नेबित्तिकै के हुन्छ त’, राजातन्त्र फर्काउने बहस नै फाल्तु भएको ओलीले बताएका छन् ।

एमाले अध्यक्ष ओलीले लोकतन्त्रको रक्षाका लगि दलहरु एक रहेको बताएका छन् । ‘हाम्रो कपाल त्यत्तिकै फुलेको हैन र, हामी राजतन्त्र फर्किन दिंदैनौं’ ओलीले भने, ‘हामी तनाशाह आउन दिंदैनौं, यो त खुलमखुला छ ।’

शान्ति, सुशासन र विकासका मुद्दासँगै राष्ट्रियताका मुद्दामा पनि दलहरु एक हुनुपर्ने बताए । मिचिएको जमिन फिर्ता ल्याउनुपर्ने भन्दै ओलीले भने, ‘भारत हाम्रो मित्र हो, मित्र भनेपछि हामीले कुरा गर्न सक्नुपर्छ । आफ्नो मर्का खुलेर भन्नुपर्छ, यो मर्का पार्न पाइँदैन भन्न सक्नुपर्छ । अनि, अलिक यो अनकम्फर्टेबल ढंगले कुरा गर्छ, हामी कम्फर्टेबल हुने कम्पिटिसन नगरौं न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?