+
+
अन्तर्वार्ता :

‘कहिले प्रधानमन्त्री बन्ने पालो आउँछ भन्नेमा मेरो ध्यान छैन’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते २०:४५

१८ पुस, काठमाडौं । प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले एक वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गर्यो भन्ने तथ्यलाई नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नजिकैबाट नियालिरहेका छन् । किनभने जारी सत्ता गठबन्धनका शीर्ष तीन नेताहरू शेरबहादुर देउवा, प्रचण्ड र उनीबीचको समझदारी अनुसार दोस्रो वर्ष पूरा हुँदा प्रधानमन्त्री बन्ने पालो नेपालको आउनेछ ।

उसो त नेपालमा यस्ता ‘भद्र समझदारी’ प्रायशः पालना हुँदैनन् । उसमाथि २७५ सिटको प्रतिनिधिसभामा केवल १० सिट मात्रै भएको दलका अध्यक्ष नेपालले प्रधानमन्त्री बन्ने नैतिक शक्ति कति राख्छन् भन्नेमै प्रश्न छ । तैपनि प्रचण्डले सुरुको दुई वर्ष, माधवकुमार नेपालले डेढ वर्ष, शेरबहादुर देउवाले त्यसपछिको बाँकी डेढ वर्ष सत्ता आलोपालो गर्ने भद्र समझदारी त बनेकै छ ।

त्यो सहमति कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने आशंका सुरु भएका छन् । गठबन्धनकै उपेन्द्र यादवले आफू समेत प्रधानमन्त्री बन्न पाउनुपर्ने भन्दै चाहना राखेका छन् । यादवलाई आम चुनाव हारे पनि उपचुनाव जिताउन आफूहरूले ठाउँ छाडिदिएको भन्दै त्यसैमा चित्त बुझाउन अरू नेताले अडान लिइरहेका छन् । यस्तोमा भावी सत्तायात्रा कत्तिको सहज ढंगमा अगाडि जाला ? वा राजनीति अर्कै मोडतर्फ अघि बढ्ला ?

यिनै प्रश्नहरूमा आधारित रहेर नेता माधवकुमार नेपालसँग अनलाइनखबरको स्टुडियोमा बसन्त बस्नेतले यो अन्तर्वार्ता गरेका छन् ।

प्रचण्ड नेतृत्वमा सरकार बनेको एक वर्ष पुग्यो । तपाईंहरूले पनि लेखाजोखा गरिराख्नुभएको होला, होइन ?

एक वर्ष पुग्यो कि सवा वर्ष पुग्यो भन्नेमा हाम्रो ध्यान छैन । देशले के पायो, जनताले के पाए भन्नेमा ध्यान छ । किनभने हामी जनताको पार्टी । जनताको निम्ति काम गर्ने पार्टी । जनता सन्तुष्ट छन् भने हामी पनि सन्तुष्ट हुन्छौं । देशको भलो नै जनताको भलो ।

तपाईंको उत्तरबाटै प्रश्न निकालुँ, जनता यो एक वर्षमा सन्तुष्ट भए त ?

अपेक्षा गरिएजति सन्तुष्ट छैनन् । तर देशमा केही पनि भएन भन्ने भाष्य अतिवादी किसिमको छ ।

यो बीचमा के के राम्रा भए, केकेमा सरकार चुक्यो ?

मूल कुरा के रहेछ भने हामीले रोजगारी कत्तिको विकास गर्यौं ? देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्यौं कि सकेनौं ? समस्या तीन ठाउँमा छन् । दूरदर्शी दृष्टिकोणको अभाव छ । हामी कसैमा पनि दूरदर्शिता र समग्र चिन्तन भएको भए, लगानी र प्रतिफल पाउनुपर्छ भन्ने मान्यता भएको भए यस्तो हुन्थेन । अन्तर्राष्ट्रिय विमानस्थल कहाँ बनाउने भन्ने फैसला पहिल्यै हुन्थ्यो । आवश्यकताको परिपूर्ति कहाँ हुन्छ भनेर सोच्नुपर्ने होइन ? हचुवापाराले सोच्ने प्रवृत्ति सबैतिर छ । म एउटा प्रधानमन्त्रीलाई मात्रै दोष दिन चाहन्नँ । कहाँ राजमार्ग बनाउने, विस्तार गर्ने पहिल्यै सोच्नुपर्दैन ?

तपाईं त अहिलेको सरकारको साझेदार मात्रै होइन, यसभन्दा अगाडिका थुप्रै सरकारहरूमा कहिले नेतृत्व भएर, कहिले सहभागी भएर त्यहीं हुनुहुन्थ्यो नि ! यी यावत् समस्या उत्पन्न हुनुको पछाडि तपाईं समेत जिम्मेवार हो नि, होइन ?

यी सबै विषयलाई स्पष्ट गर्नका लागि मेरो यो सालको अन्तिममा एउटा किताब आउँदैछ । मेरा विभिन्न बेलाका प्रस्ताव, प्रतिवेदन, माग लगायत विषय त्यसमा हुनेछन् । मैले बसेर योजना बनाएपछि मात्रै अघि बढौं भनेर तिथिमिति फेहरिस्त आउँदैछ । सम्पादनको अन्तिम चरणमा छ । मैले प्रधानमन्त्रीजीलाई अहिले भनेको छु : तपाईं प्रधानमन्त्री, म प्रधानमन्त्री भइसकेको मान्छे । अरू नेता र विज्ञ पनि छन् । यस्ता व्यक्तिलाई राखेर छलफल गरौं । हामी देश बनाउने कुरा गरिरहेका छौं । के गर्दा देश बन्छ त ? यसबारे ४० वटा जति त किताबै मसँग होलान् ।

ती किताबको सार के रहेछ त ?

ती सबै किताबको सारमा त म पुगेको छैन । मेरो आफ्नो सारचाहिं के छ भनेः मूल समस्या भ्रष्टाचार हो । भ्रष्टाचार नहटेसम्म हाम्रा क्रियाकलाप स्वच्छ भावनाबाट अघि बढ्दैनन् । योजना त बनाइन्छ, तर त्यसको कार्यान्वयनमा भन्दा पनि लाग्ने पैसा र कमिशन उठाउन मानिसहरू लागिसकेपछि त्यहाँ मुख्यगरी पैसा र कमिशनले नै तानिरहेको हुन्छ ।

यस्तो समस्याबारे तपाईंले प्रधानमन्त्रीलाई भन्नुभएको छ ?

मैले उहाँलाई भनेको छुः मन्त्रीहरूलाई पैसाको लालचबाट मुक्त गरौं । त्यसो गर्नेलाई दण्डित गरौं । प्रणाली नै बसालौं ।

प्रधानमन्त्रीले के जवाफ दिनुभयो ?

उहाँले म तयार छु, लागिपर्छु भन्नुभयो ।

तर केही गर्न खोजे पनि गठबन्धनले नै दिन्न होला !

छैन । मेरो, हाम्रो पार्टीबाट कुनै अवरोध हुँदैन । गठबन्धनले पनि त्यस्तो गर्ने सम्भावना छैन ।

सरकारलाई के भन्न चाहनुहुन्छ ?

के–के गर्दा यो सरकारलाई लोकप्रिय बनाउन सकिन्छ भन्ने गम्भीरताका साथ सोच्नुपर्छ । जनताका गुनासा र विज्ञका सुझाव सुन्नुहोस् ।

प्रचण्डको कार्यशैली कस्तो छ ?

उहाँ मान्छे मिलनसार हुनुहुन्छ । कुराहरू सुन्नुहुन्छ, तर उहाँ फित्ता काट्ने कुरामा कुदिरहनुहुन्छ । राज्य सञ्चालनमा बढी समय दिनुपर्छ । प्रत्येक दिन मन्त्रालयहरूको रिपोर्ट लिने अनि विभाग, संस्थानको विषयमा छलफल गर्नुपर्छ । कलेजमा कसरी पढाइरहेको छ भन्नेबारेमा अद्यावधिक हुनुपर्छ ।

अस्तिको साता बालकुमारी घटना भयो, जहाँ कोरिया जान चाहने युवाहरूको निशानामा तपाईंकै पार्टीबाट सरकारमा गएका मन्त्री समेत पर्नुभयो । नेपालमा रोजगारी दिन नसके पनि कम्तीमा विदेश जान पाऊँ सरकार भन्दा पनि सरकारको गोलीबाट युवा मारिने अवस्था कसरी सिर्जना भयो ?

अत्यन्त दुःखद् घटना भयो । त्यो अवस्थासम्म पुग्नै हुँदैनथ्यो । अदालतले १८ जनाकै फैसला गर्यो भने पनि फैसलामै पुनर्विचार गर्ने अवस्था बनेको रहेछ । पछि सबैले पाउने अवस्था त बन्यो । निर्णय गर्ने बेलामै संवेदनशीलता सोचिदिएको भए यस्तो हुँदैनथ्यो । अफिसमा पनि व्यवहार गर्ने कुरामै त्रुटि भयो । अफिसमा भेट्न आउनेहरूलाई सम्झाउने चलन नै छैन । कर्मचारी र अरूमा पनि यस्तो बानी छैन । सहयोग माग्न आएका मान्छेहरूलाई सान्त्वनाको बोली बोल्नुपर्छ नि ! प्रहरी पनि मुस्कान सहितको सेवा दिने नारामै रह्यो । चिन्तन ठिक होला, तर व्यवहार उल्टो भयो ।

बालकुमारी घटनाले के संकेत गर्छ ?

बालकुमारी घटनाले के संकेत गर्यो भने, सरकार जिम्मेवार ढंगले चल्न जान्नुपर्छ । जनताले पनि आक्रोश होइन संयम अपनाउनुपर्छ । गोली चलाउने घटना कुनै पनि हालतमा उचित ठहर्याउन सकिंदैन ।

तपाईंले आफ्नो पार्टीबाट गएका मन्त्रीलाई पनि सम्झाउनुभयो होला नि ?

उहाँ त्यहाँ (प्रदर्शनस्थलमा) जानका लागि गएकै होइन । हाम्रो पार्टीको बैठक त्यसैको सामुन्ने थियो । बैठक हुँदाहुँदै उहाँ काममा निस्कनुभएछ । उहाँले बुझेर बाटो छल्नुपर्थ्यो । नबुझिकन ह्वात्त जाँदा पर्नुभयो । उहाँको सरोकारवाला मन्त्रालय नभए पनि कामले निस्कँदा पर्नुभयो ।

जनता चाहे रोजगारीका लागि, चाहे युवाको स्वाभाविक आक्रोशलाई नो नट् अगेन भन्दै उठिरहेका छन्, कसरी हेर्नुभएको छ ?

जुनसुकै उमेरका पनि योग्य वा अयोग्य हुन्छन् । युवा हुनेबित्तिकै योग्य भइहालिने पनि होइन । एउटा क्षेत्रमा असफल मान्छे अर्को क्षेत्रमा सफल पनि हुन्छ । मान्छे कसैलाई पनि अपमान गर्न हुँदैन । समस्या पुस्तासँग सम्बन्धित होइन । नयाँ पुस्ता नै भ्रष्ट पर्न थाल्यो भने के गर्ने ? सिस्टम बसाल्ने कुरा गर्नुपर्छ । सोर्सफोर्सको सिस्टम बन्द गरेर गुणलाई ध्यान दिनुपर्छ । नयाँ पुस्तालाई काबिल र प्रोत्साहित गराउँदै जानुपर्छ ।

तपाईं आफैं २२२३ वर्षको उमेरयता नेतृत्वमै हुनुहुन्छ । सरकारमा जाँदा पनि युवा नै हुनुहुन्थ्यो । अरू दलका नेता पनि युवाकालदेखि बुढेसकालसम्म उही हुनुहुन्छ । बदलाव खोइ ?

एउटै मान्छे निरन्तर त होइन । संसारका कतिपय देशमा ९० वर्षसम्मै नेतृत्वमा हुन्छन् । कुरा शारीरिक, मानसिक स्वस्थता छ कि छैन, विकल्प छ कि छैन ? नत्र नयाँले चुनौती दिए भयो नि ! मसँग पनि नयाँले चुनौती दिएका थिए । तर उमेरले होइन, पैसाले । समर्पणको भावना हुनुपर्यो । योगदान हुनुपर्यो ।

तपाईंहरू महाधिवेशनमा जानुअघि उमेरहदमा खुब छलफल गर्नुभयो । तपाईंकै पार्टीभित्र छटपटी रहेछ होइन ?

होइन, मलाई त छटपटी छैन । मलाई त जहिले पनि मान्छेहरूको भीडभाडमा बसिरहनुभन्दा आनन्दले संस्मरण लेखेर, किताब लेखेर, अरूले लेखेका पुस्तकहरू पढेर, देशदर्शन गरेर, संसार घुमेर रिल्याक्स गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

त्यो दिन त कहिले आउला ? तपाईंहरू आफैंले बनाएको संरचनाले फुत्किन दिन्न ?

यो पार्टीभित्र अरूले सजिलैसँग कुर्सी कहिल्यै पनि छाडेनन् । मै हुँ त्यो व्यक्ति । नेपालको राजनीतिमा चुनाव हारेपछि राजीनामा दिने कोही छन् ? मैले दिएको छु । मै हुँ, जसले राजीनामा दियो ।

यसबारे त तपार्इंले धेरैपल्ट भनिसक्नुभयो । तपाईं नै हारे पनि प्रधानमन्त्री बन्नुभयो । त्यसतर्फ जानु साटो तपाईंको पार्टीभित्र माधवकुमार नेपाल वा झलनाथ खनालको विकल्प हुन सक्छ भन्ने नेता भेटिन्छन् ?

राम्रै हो, ठिकै छ । अनेक विकल्प छ भने आए हुन्छ । के फरक पर्छ र !

तर तपाईंहरूले सुखद् रूपमा लिनुभएको छैन नि उनीहरूलाई ?

किन छैन ? राम्रो काम गरेर देखाउनुपर्यो । इमानदार हुनुपर्यो । धेरै क्वालिटी चाहिन्छ । सक्षम हुनुपर्यो । पार्टीलाई कुन दिशामा लैजाने भन्ने सोच हुनुपर्यो ।

तपाईंको पार्टीको भविष्य छ ? भर्खरै खुलेको पार्टी भए पनि त्यसभन्दा अझै कान्छा पार्टी बनेर अरू आए । जनसमर्थनको कोणबाट हेर्ने हो भने उनीहरू छिटो अघि बढ्दैछन् । उनीहरूलाई समेत पछाडि पार्नसक्ने अवस्था देखिन्न । जनआकर्षणमा अरूभन्दा अब्बल हुने ठाउँ त देखिएको छैन नि ?

सजिलो त छैन । २०३२ सालमा को–अर्डिनेशन केन्द्र बनाएकै भोलिपल्टदेखि नै म नयाँ पार्टीको मिसनमा कुद्न थालेको हो । तुरुन्तै भइहाल्दैन । समय लाग्छ । लगातार पाँच वर्ष धनुषा र जनकपुर अञ्चलमा बसेको थिएँ । पार्टीका संगठन जिल्ला–जिल्लामा विस्तार गर्ने मान्छे मै हुँ । किनभने मेरो कार्यक्षेत्र बदलियो ।

अहिले त मान्छेको सोचाइ नै बदलियो नि ?

जतिसुकै बदलिए पनि जनता त उही हुन् । दलीय सिस्टम त चाहिन्छ नै ! जनभावना बुझ्नका लागि नजिक जाने गर्नुपर्छ । राजधानीमा बाबुसाहेब बनेर खुट्टा हल्लाएर हुन्छ र !

तपाईंहरूले भर्खरै मेचीमहाकाली यात्रामा थुप्रै जनचासोका एजेन्डा उठाउनुभयो । तर जतिसुकै राम्रा मुद्दा भए पनि नागरिकहरूमा किन अपील गर्न सक्नुभएन ?

किन कम भयो भन्ने कारण खोज्नुपर्छ । तर कतिपय जिल्लामा १० हजार भन्दा बढी मान्छे पार्टीमा प्रवेश पनि गरे । कुनै जिल्लामा संगठन बलियो हुन्छ, कुनैमा कमजोर । कुनै बेला एउटा प्रदेशमा लहर चल्छ, कुनै बेला अर्को प्रदेशमा । यो त भोग्दै आएको, देख्दै आएको कुरा पर्यो । तर हामी अझै व्यापक विस्तार गर्छौं ।

एमाले र तपाईंको दल उस्तै छन् । तपाईं त्यहीं हुनुहुन्थ्यो अस्तिसम्म । राजनीतिको बजारमा उस्तैउस्तै खालका उत्पादन भएकाले एमालेभन्दा भिन्न नभएको उस्तै पार्टीलाई किन छान्ने भन्ने पो पर्यो कि ?

नेपालको राजनीतिमा कम्युनिस्ट पार्टीले नै समाजवादको झण्डा बुलन्द गर्यो । देश र लोकतन्त्रको रक्षा गर्दै जनताको जीवन समृद्ध पार्न कम्युनिस्ट पार्टीले नै सक्छ भन्ने मनोविज्ञान जनतामा छ । यो मनोविज्ञान भत्काउन खोजिंदैछ । म त्यसैले आफ्नो पार्टीलाई मात्रै होइन, सिंगै कम्युनिस्ट आन्दोलनलाई हेरिरहेको छु । देशभक्तिपूर्ण आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई पनि हेरिरहेको छु ।

तपाईं नै फेरि समाजवादी मोर्चाको संयोजक किन बन्नुभयो ? यो त पालैपालो हुने व्यवस्था भएको मोर्चा होइन र ?

हामीले फेरौं भनेर प्रस्ताव राखेको । अहिले तपाईं नै बस्नुहोस्, फेर्नुपर्दैन भन्ने जवाफ आयो ।

तपाईंलाई मोर्चा संयोजक बनाइराखेर प्रचण्ड प्रधानमन्त्री बनिराख्न खोज्नुभएको त होइन नि ?

केटाकेटीलाई चकलेट खुवाएर फकाए जस्तो होइन । म त केटाकेटी होइन । नाति–पनाति भइसके मेरा ।

तपाईंले विगतमा कोअर्डिनेशन केन्द्रको पहल लिए जस्तो समाजवादी मोर्चा हुँदै कुनै पहल लिन खोजिराख्नुभएको हो ?

हेर्नुस्, मान्छे आउने–जाने सिलसिला चलिरहन्छ । धेरै मान्छे समेट्दै गए सशक्त हुँदै जान्छ । हामी सबैलाई स्वागत गर्छौं । हाम्रो पार्टीमा एकताबद्ध हुन चाहे झन् राम्रो । विचार मिल्नुपर्यो ।

तपाईंहरू नयाँ पार्टीको पहल गर्न गइराख्नुभएको छैन ?

छैन । किनभने, जबसम्म विचार मिल्दैन, दृष्टिकोण मिल्दैन, धारणाहरू मिल्दैन, संगठन लगायत विषयवस्तुमा कुरा मिल्दैन, तबसम्म एकठाउँमा हुन सकिन्न ।

विगतमा त तपाईं एमालेमा हुँदा माओवादीसँग एकता गरेर नेकपा नै बनिसकेको मान्छे । अब माओवादीसँग एकता गर्न के समस्या होला र ?

माओवादीसँग एकता गर्दाखेरि अझै राम्रोसँग छलफल भएन । तैपनि, एकता भयो बहुत राम्रो भयो । ऐतिहासिक अवसर नेपालको कम्युनिस्ट आन्दोलनले प्राप्त गरेको थियो । नेपालको कम्युनिस्ट आन्दोलनले यस्ता दुईवटा अवसर प्राप्त गर्यो । एउटा २०५१ सालमा र अर्को २०७४ सालमा ।

पहिलो अवसरको हामीले भरमग्दुर जनताको पक्षमा काम गर्यौं । जनता अहिले पनि त्यसलाई स्मरण गर्छन् । २०७४ सालको झण्डै दुईतिहाइ पुगेको अवसरको सदुपयोग भएन । यहाँ सामूहिकता हरायो । व्यक्तिवाद हावी भएर गयो । कम्युनिस्ट पार्टीको मूल संगठनात्मक सिद्धान्त नै कुल्चिने काम नेतृत्वबाट भयो । त्यो सबैले गर्दा कसरी व्यवस्थापन गर्ने, गर्नुपर्दो रहेछ । किनभने, संगठन चलाउने कुरा सजिलो हुँदैन ।

संगठन चलाउने कुरा सजिलो छैन भनेरै हो कि क्या हो केपी ओलीले तपाईंलाई सम्झिरहन खोजे जस्तो लाग्छ । संसद्को एउटा समितिमा तपाईं र ओलीसँगै बसेको तस्वीर फेसबुकमा राख्नुभएको थियो । याद गर्नुभयो ?

ए, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा होला । राम्रै कुरा हो । किनभने, मान्छेको बीचमा सबभन्दा पहिले मूल कुरा हुन्छ, सम्बन्ध सुमधुर हुनुपर्छ । सम्बन्ध सुमधुर भएपछि व्यावहारिकतामा नजिक भइन्छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक भए पनि तपाईंहरू दुई जनाको सम्बन्ध बारे रोचक चर्चा भयो !

राम्रो कुरा हो । मान्छेलाई मिलुन्, समझदारी विकास गरून्, देशको विकास गरून्, त्यसका प्रति चिन्ता गरून् भनेर कसैले पनि त्यो सद्भाव राख्यो भने त्यसलाई धन्यवाद दिनुपर्छ ।

हिजोआज फोन भएको छ ओलीसँग ? किनभने, यो पार्टीलाई एमालेसँग मिलाउन जति सहज छ, अरूसँग मिलाउन त धेरै कुरा मिलाउनुपर्छ । एमालेसँग त तपाईंहरूको माथिको मूल नै एउटै हो । किनभने, एमाले बनाएकै तपाईंहरूले हो । त्यो सहज हुन्छ भन्ने कत्तिको लाग्छ ?

परिस्थिति र परिबन्दले गर्दा हामी अलग हुनुपर्यो । यसका पछाडि अनेक कारण रहेका छन् । सबैले ममः गर्नुपर्यो । आफ्नो तर्फबाट भएका त्रुटिहरूलाई स्वीकार गर्नुपर्यो । ती त्रुटि अब दोहोर्याउनु हुँदोरहेनछ भन्ने कुराको निष्कर्षमा पुग्नुपर्यो ।

तपाईंलाई पनि मैले केही बढ्ता बोले हुँला, केही बिझाएँ हुँला भन्ने परेको छैन ?

त्यस्तो केही भएको छ भने मलाई भनिदिए हुन्छ ।

म महासचिव हुँदासम्म केपी ओलीले गरे, उनी अध्यक्ष हुँदा मैले पनि यसो केही सहयोग गर्नुपर्ने भन्ने त्यस्तो केही छैन ?

त्यही त हेर्नुपर्यो । मैले कहाँ, के सहयोग गरिनँ । त्यो सबै कुरा हेर्नुपर्यो । तथ्य, प्रमाणहरू त ल्याउनुपर्यो । तथ्य प्रमाणको आधारमा त्यसलाई पुष्टि गर्नुपर्यो । मबाट त्यस्तो कुनै त्रुटि भएको छ भने म स्वीकार गर्न र सुधार गर्न तयार छु ।

तपाईंहरूको मन माझामाझ गराउन कसैले प्रयास नै गरेन जस्तो लाग्यो । एकीकृत समाजवादी र एमालेको दोस्रो तहमा निकै कुशल वार्ताकारहरू छन् त, उनीहरूले गरेनन् ?

कसैले सकेनन् । किन सकेनन् भन्ने उनीहरूले नै राम्रो ढंगले समीक्षा गरुन् ।

उत्तर र दक्षिणको हाम्रोमा धेरै कुरा गर्छन् भन्छन् । तपाईंहरू पनि बाह्य शक्ति खुब भन्नुहुन्छ । तिनले पो उचाले कि ?

अब दक्षिण र उत्तरले यहाँ के भूमिका खेल्नु ? भनौं न, म आफू खत्तम हुने, नराम्रो बानी मैले विकास गर्ने, दोष मैले अरूलाई दिएर हुन्छ ? जेसुकै नराम्रो बानी होस्, खाने–पिउनेदेखि लिएर घर–व्यवहारसम्म मेरो बानी बिग्रिंदै जाने, दोष मैले अरूलाई दिएर हुन्छ ?

तपाईं अति सक्रिय नेताको परिचय बनाएको मानिस, हिजोआज चाहिं शिथिल हुनुभएको हो ?

हामी जो अनुभव प्राप्त गरेका व्यक्तिको आफ्नै महत्व छ । यसलाई पनि कसैले नजरअन्दाज नगरुन् । हामी त अनेक परीक्षामा उत्तीर्ण भएका व्यक्ति हौं । उत्कृष्ट पनि भएका व्यक्ति हौं । निकै ठूलो चुनौतीको सामना गरेर आएका व्यक्ति हौं ।

व्यक्तिगत हिसाबमा यातना भोग्नेदेखि, मानसिक यातनासम्म सबै भोग्दै आएका व्यक्ति हौं । जस्तासुकै व्यक्तिसँग व्यवहार गर्दै आएका हौं । देश र विदेशका ठूला–ठूला भनिएका व्यक्तिसँग व्यवहार गरेर आएका व्यक्ति हौं । निकै शक्तिशाली भनिएका व्यक्ति र पार्टीसँग व्यवहार गरेर आएका हौं । हामी कमजोर भएकै पार्टीलाई शक्तिशाली बनाएर नेपाली राजनीतिकै उचाइमा पुर्याएका व्यक्ति हौं । त्यसो हुनाले पनि यसको आफ्नो महत्वको पक्ष छ ।

यसका बाबजुद पनि हामीले समयको प्रवाहलाई बुझ्न सक्नुपर्छ । चाहना र मागलाई बुझ्न सक्नुपर्छ । सबै राम्रा कुरालाई ग्रहण गर्न सक्नुपर्छ ।

तपाईंहरूले बनाएको समाजवादी मोर्चाको गन्तव्य कहाँसम्म हो ? सत्ता गठबन्धनलाई टेको दिन बनाएको बलियो पिलर हो कि यसको कुनै राजनीतिक कार्यक्रम पनि छ ?

२०४६ सालमा हामीले मोर्चा बनाएका थियौं । त्यस मोर्चाको मूल उद्देश्य पञ्चायती व्यवस्थालाई ढाल्ने र लोकतन्त्रको स्थापना गर्ने । त्यो भएपछि त्यसको उपादेयता सकियो । २०६२/६३ सालमा पनि हामीले सातदलीय मोर्चा बनाएका थियौं । त्यसको उद्देश्य, राजतन्त्रलाई ढाल्ने, संविधानसभाको निर्वाचन गराएर संविधानको निर्माण गर्ने र देशलाई संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ।

अब नयाँ परिस्थिति उत्पन्न भयो । समाजवादको उद्देश्यलाई केन्द्रविन्दुमा राख्ने, समाजवादको यात्रामा अघि बढ्ने । समाजवादको यात्रामा अघि बढ्नका लागि हामीले के–के गर्ने भन्ने बारेमा एउटा नेपाली विशेषताको समाजवादको पूरा खाका हामी तयार पार्न गइरहेका छौं ।

त्यसका लागि के गर्ने भन्ने बारेमा प्रत्येक पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको घोषणापत्रमा, सरकार सञ्चालन गर्दाको नीति तथा कार्यक्रममा र विभिन्न पार्टीका दस्तावेजमा उल्लेख गर्दै आएका पनि छौं ।

ती सबैलाई अब एकठाउँमा राख्ने सन्दर्भमा अस्ति हामीले मेची–महाकाली यात्रा प्रारम्भ गर्दाखेरि समाजवादको हाम्रा मान्यताको केही व्याख्या हामीले त्यहाँ गरेका छौं । नेपालको अर्थतन्त्रलाई कसरी बलियो बनाउने हो, देशका समस्या के हुन्, त्यसको सम्बोधन कसरी गर्ने हो भन्ने बारेमा धेरै होइन हामीले आठ पृष्ठको एउटा पर्चा बाहिर ल्याएका छौं ।

त्यहाँ तपाईंहरूले थुप्रै कुरा लेखेको देखिन्छ । तर आफ्नो पार्टी सरकारमा छ, प्रधानमन्त्री आफूले बनाएको हो । मन्त्रीहरू पठाएको छ । राज्य संयन्त्रमा आफ्नै मान्छे छन् । अनि फेरि सामान्यतः प्रतिपक्षीको मानिने सडकमा आउँदा मिल्ने भन्ने छ नि ?

अहिलेको जुन परिपाटी छ, त्यो हामीले सोचे जस्तो छैन । संरचना त पुरानै छ, फेरि । हाम्रो ब्यूरोक्रेसी पुरानो छ । कर्मचारीतन्त्रमा कुनै रूपान्तरण भएको छ ? नेताहरूको चरित्रमा पनि ठूलो समस्या छ । व्यवस्था त हामीले बदल्यौं । त्यो व्यवस्था बदले अनुरूप हामीले आफूलाई बदल्न सकेका छौं ?

हामीमा त्यही किसिमको त्याग, तपस्या र बलिदानको भावना जुन हिजो थियो त्यो कायम छ ? कि हामीमा पनि भ्रष्टीकरणको रोग लागिसकेको छ ? हामीमा पनि व्यक्तिवादको रोग लागिसकेको छ । हामीमा पनि स्वार्थले जरो गाडिसकेको छ । आफ्नो स्वार्थबाहेक दुनियाँमा कसैलाई नदेख्ने, वास्ता नगर्ने प्रवृत्ति व्याप्त भएको छैन ? जनताको पीडाले तपाईंको मन रुन्छ कि रुँदैन ?

यो परिस्थिति रोक्न तपाईंहरूलाई केले रोकेको छ ?

जब मिटरब्याजीहरूको समस्या हामीले देख्यौं, हामी मिटरब्याजी पीडित भएको ठाउँमा पुग्यौं । म पुगें । सरकारको ध्यानाकर्षण गर्ने त कोही चाहियो नि ! के प्रतिपक्षले मात्रै गर्छ ? के सत्ता पक्षमा भएका, जनतासँग जोडिएका जनप्रतिनिधिहरूको दायित्वभित्र यो पर्दैन ? अनि उनीहरूले सडकमा आवाज उठाए भनेर, त्यहाँ भाषण गरे भनेर, जुलुस निकाले भनेर … !

जुलुस भनेको ध्वंसात्मक मात्रै हुँदैन । सरकारको ध्यानाकर्षित गर्नुपर्ने हुन्छ । जसरी सानो बच्चाले भोक लाग्यो भने कराउँछ, चिच्याउँछ । आमाको ध्यानाकर्षित भएपछि भोक लाग्यो भनेपछि दूध खुवाउँछिन् वा केही खुवाउने कुरामा उनको ध्यान जान्छ ।

त्यस्तै जनताले पनि आफ्नो अभिभावक सरकारलाई आफ्नो आवाज उठाउन खोज्छन् भने हामी जनताको प्रतिनिधि भएको नाताले जाने कुरा के गलत हुन्छ ?

अघि सत्ता आलोपालोको प्रसंग उठ्दै थियो । तपाईंहरूले सरकारको पहिलो चरणलाई प्रचण्डले नेतृत्व गर्ने, दोस्रो चरणलाई माधवकुमार नेपालले नेतृत्व गर्ने र तेस्रो चरणमा शेरबहादुर देउवाले चलाउने सहमति गर्नुभएको थियो । अब त्यस अनुसार तपाईंको सरकार चलाउने पालो कहिले आउँदैछ ?

त्यो समय आउँछ, आउँदैन, कहिले आउँछ भन्ने कुरामा मेरो ध्यान छैन । मेरो ध्यान अहिलेको सरकार, प्रधानमन्त्रीजीको मुख्यतः ध्यान जानुपर्छ । सरकारले ध्यान दिनुपर्छ । यसका सन्दर्भमा आज हामी बसेका थियौं । हाम्रै पार्टीका दुई जना मन्त्रीलाई पनि बोलाएको थिएँ । र, हामीले तपाईंहरू आफ्नो अहिलेसम्मको ९ महिनाको कामको प्रतिवेदन दिनुस् भन्यौं । त्यसको हामी बसेर पहिले समीक्षा गर्छौं ।

सँगसँगै अरूलाई पनि मैले खास क्षेत्रका निम्ति छुट्टै बसौं भनेको छु । कृषि क्षेत्रका निम्ति छुट्टै बसौं । भौतिक पूर्वाधार क्षेत्रका निम्ति छुट्टै बसौं । त्यसमा पहिले पनि मन्त्री भइसकेका, यस क्षेत्रमा अलिकति अध्ययन भएका, ज्ञान भएका वा चासो राखेका अनि विज्ञलाई पनि राखेर अलग–अलग छलफल गरौं । त्यसले गर्दा आफ्नो कामलाई उत्कृष्ट ढंगले गर्न सकिन्छ । उच्च प्रशंसा प्राप्त गर्न सकिन्छ । अरूलाई दोष र धारे हात लगाउनु भन्दा पहिले हामी राम्रो काम गरौं ।

मन्त्रीहरूले के भन्नुभयो ?

उहाँहरू सहमत हुनुभयो । एउटा अर्को कुरा पनि छ । उहाँहरूले गर्न चाहनुहुन्छ, त्यसलाई अर्कोको सपोर्ट भएन भने हुँदैन ।

अर्को भनेको अर्को मन्त्रालयको ?

राम्रो कर्मचारी पठाइएन भने अनि काम हुनसक्छ ? त्यसैगरी बजेटको व्यवस्थापन भएन भने काम हुनसक्छ ? कामले उच्चतम प्राथमिकता प्राप्त गरेन भने काम गतिका साथ अघि बढ्न सक्छ ?

उदाहरणका निम्ति नेपालको कृषि क्षेत्र फाउण्डेसन हो र यो आधारशिला हो भन्ने कुरालाई स्वीकार गर्न हामी तयार छौं कि छैनौं ? स्वीकार गर्न तयार छौं भने त्यो अर्थ मन्त्रालयले नेपाली वस्तु उत्पादन हुँदाहुँदै विदेशी वस्तुलाई यहाँ सस्तो मूल्यमा नेपालमा आयात गर्न दिने कि नदिने ?

मेरो फेरि उही प्रश्न, तपाईंहरूको सहमति त्यस्तो के छ र तपाईंको प्रधानमन्त्री हुने पालो कहिले आउँछ ?

पालो आउने, प्रधानमन्त्री बन्ने कुरा ठूलो होइन । प्रधानमन्त्री बनेर, त्यहाँको चुनौती सामना गरेर आएको मान्छे हुँ । आफ्नो कार्यकालप्रति मलाई गौरवबोध छ । मेरो कार्यकालमा भएका कामको ५२ वटा बुँदा सरर्र पढेर म तपाईंलाई सुनाउन सक्छु । गेम चेञ्जिङ प्रोजेक्टको रूपमा निजगढ विमानस्थल अघि बढाइयो । २४ घण्टाको हुटहुटी छ मेरो ।

त्यो हुटहुटी कार्यान्वयन गर्ने दिन आउला नि !

संसद्को समितिमा हुँदा स्वयं त्यो बेलाका प्रधानमन्त्रीलाई मैले हेलिकप्टरमा लिएर गएको थिएँ । प्रचण्डजी, रामचन्द्र पौडेलजीलाई लिएर गएको हो । तपाईंहरू १० जनाको कुरामा लाग्नुहुन्छ, यथार्थ हेर्नुहोस् भनेर गएको हुँ । देखेपछि भन्नुभयो, जंगल त सबै सखाप पो भइसकेको रहेछ । जंगल नै नभएको ठाउँमा जंगल छ, सखाप हुनेभयो भनेका छन् ।

जेहोस्, तपाईंहरूको आलोपालो प्रधानमन्त्रीको सहमति बारे छिरिक्कै कोही नबोल्ने भन्ने निकै कडा सल्लाह रहेछ !

धेरै पदमुखी नबनौं, पदमुखी भन्दा पनि काममुखी बनौं । भएको सरकारलाई सफल बनाउने काममा भूमिका खेलौं । सरकार राम्रोसँग चल्यो भने भोलि मेरो पालो आयो भने पनि त्यसलाई निरन्तरता दिन सकिन्छ । कसै कसैको धारणा छ, राजनीतिक अस्थिरताले समस्या ल्यायो । गलत नीतिले काम गरेको हो ।

प्रसंग बदलौं, कम्युनिस्ट नाम बदलौं भन्ने छलफल चलिरहेको छ विभिन्न कोणबाट । तपाईं के सोच्नुहुन्छ आजभोलि ?

कम्युनिस्ट पार्टी नेपालमा जनताको विषयमा लोकप्रिय पार्टी हो, नाम आफैंमा लोकप्रिय छ भन्ने मान्यता राख्छु । आज आएर कसैले नाम फेर्नुस् भन्यो भने तपाईंको पहिचान रहन्छ ? यो निराशावादीहरूको कुरा हो । कम्युनिस्ट आन्दोलनप्रति गौरवबोध गर्न नसक्ने कमजोर मानसिकता भएकाहरूको कुरा हो, म त्यस्तो कुराको विरोधमा छु ।

२०५१ सालमा म सरकारमा परराष्ट्रमन्त्री भएँ । कतिपय विदेशीलाई मैले ‘आर यु रेडी टु चेञ्ज योर नेम ?’ भनेर सोधें । उनीहरू हाँसे । यसले तपाईंको पहिचान देखाउ । माधवकुमार नेपालको नाम फेरेर श्यामप्रसाद बनाएर कति समय लाग्छ पहिचान गर्न ? चरित्र सँगै जाला । पहिचान हो । नाम परिस्थितिको आधारमा हुन्छ । सिद्धान्त र दर्शन एउटै हो । मार्क्सवादको दर्शन त त्याग्न सकिंदैन । मार्क्सवादी दर्शनका आधारमा अँगालेको सिद्धान्त र विचार छ । त्यसैले जनताको बहुदलीय जनवादको आधारमा समाज र राजनीतिक दलहरूको पनि लोकतन्त्रीकरणको मान्यता अघि सारेका छौं । यसमा अधिनायकवादको गन्ध नआओस् ।

एकीकृत समाजवादीको गन्तव्य कता हो ?

हामी हाम्रो पार्टीलाई बलियो बनाउन चाहन्छौं । छुट्टै पहिचान स्थापना गर्न चाहन्छौं । हाम्रो पार्टीसँग मिलेर जानेहरूसँग एकताबद्ध हुन्छ भने हामी त्यसको निम्ति खुला हुन्छौं । काम र विषयमा सहकार्य गर्ने, मोर्चा बनाउने र सहकार्य गर्ने अनि सबै कुरा मिलेमा पार्टी एकीकरण गरेर सहकार्य गर्न सकिन्छ । जब नजिक हुँदै गइन्छ, विचारमा मेल हुँदै जान्छ तब अलग रहने औचित्य रहँदैन, एकता हुने परिस्थिति आउँछ । परिपक्वता भनेको त्यही त हो ।

केपी ओलीसँग तपाईंको तिक्तताको विन्दु पार भइसक्यो, हो ?

राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । त्यसो भएको हुनाले म कसैसँग स्थायी शत्रुता मोल्न चाहँदिनँ । कसैले उचित ढंगले व्यवहार गर्दैन भने म कसैलाई टेर्दा पनि टेर्दिनँ । म अलि स्वाभिमानी प्रकृतिको छु । म आफू र अरूको स्वाभिमानप्रति संवेदनशील छु । कसैको भावनामा चोट पुर्याउन सक्दिनँ । अरूलाई पनि खबरदारी गर्छु । मन्त्रीहरूलाई पनि मिठो बोल्नुस्, मिठो व्यवहार गर्नुस्, हतार भए पनि हात मिलाएर हेलो भन्नुस् भन्छु ।

ओलीलाई तपाईं पेलाहा, अनुदार भन्नुहुन्छ । तर आफ्नो पार्टीमा तपाईं पनि हैकमवादी नै हुनुहुन्छ भन्ने गुनासो नेताहरू गर्छन् नि ?

को छ त्यस्तो भन्ने देखाउनुहोस् । त्यस्तो भएको भए हाम्रो पार्टीको सचिवालयको १७औं बैठक बसिसकेको छ, हैकमवाद भएको भए यति लामो बैठक त नहुनुपर्ने । म सामूहिकतामा विश्वास गर्छु । कमिटी प्रणालीमा विश्वास गर्छु ।

उसोभए तपाईंको कार्यशैलीसँग भित्रभित्रै छट्पटिएर कोही पुरानो घर एमालेमा फर्किनेवाला त छैनन् ?

यो पार्टीमा बसेर खोइरो खन्ने काम कसैले गर्छ भने, पार्टीको बदख्वाईं गर्छ भने, घर भत्काउने काममा जुट्छ भने त्यो मान्छे शंकास्पद हो । जसलाई यो पार्टीमा भविष्य छैन जस्तो लाग्छ, त्यस्तालाई टाटा बाईबाई गर्न तयार छु ।

त्यस्ता कोही छन् ?

हुनसक्छन् । कुन ठूलो कुरा भयो ? तपाईंले देख्नुभएन ? २०३२ सालमा कति जना थिए ? २०४६ सालमा कति थिए ?

फोटो/भिडियो : आर्यन धिमाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?