+
+

गण्डकी विश्वविद्यालयमा एउटै व्यक्ति सबै संकायको डिन

विश्वविद्यालयको स्पष्टीकरणः हामीले चलाएको संकाय होइन, कार्यक्रम हो

विकास रोकामगर विकास रोकामगर
२०८० पुष २० गते १२:१९
डिन डा. कपिल अधिकारी । फोटो : गण्डकी विश्वविद्यालयको फेसबुक

२० पुस, पोखरा । गण्डकी विश्वविद्यालयले एउटै व्यक्तिलाई ५ वटा संकायको डिनको जिम्मेवारी दिएको छ । गण्डकी विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन डा. कपिल अधिकारीलाई त्यहाँ पढाइ हुने सबै संकायको प्रमुख (डिन)को जिम्मेवारी दिइएको छ ।

डिन अधिकारी विश्वविद्यालयको ‘संगठन तथा शैक्षिक प्रशासन नियमावली, २०७७’ विपरीत सबै संकायको डिनका रुपमा कार्यरत छन् । जबकि, गण्डकी विश्वविद्यालयको ऐन २०७६ को दफा ९ अनुसार प्रत्येक संकायको एक जना डिन हुनपर्ने स्पष्ट कानुनी व्यवस्था छ ।

गण्डकी विश्वविद्यालय (जियु) मा खेलकुद व्यवस्थापन (बीएसएम), सूचना प्रविधि (बीआइटी), फार्मेसी (बीफर्मा), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल (बीएलएलबी) विषयमा अध्यापन हुँदै आएको छ ।

उल्लेखित ५ वटै संकायको डिनको जिम्मवारी डा.अधिकारीलाई एकलौटी रुपमा दिइएको भन्दै छानविनका लागि अख्तियारमा २ पटक उजुरी पनि परेको छ । उनको नियुक्तिबारे प्रश्न उठाउँदै भदौ १७ गते एकजनाले अख्तियारमा उजुरी दिएका थिए । त्यसपछि कात्तिक २३ गते ५ जनाले छानविनका लागि उजुरी दिएका छन् ।

विश्वविद्यालयको नियमविपरीत एउटै व्यक्ति सबै संकायको डिनका रुपमा रहँदा विश्वविद्यालयको स्तरमात्रै नभएर विद्यार्थीका पढाइमासमेत असर गर्ने उजुरीकर्ताले उल्लेख गरेका छन् । ‘उहाँ विशेषतः विज्ञान तथा प्रविधि संकायको डिन हुनुहुन्छ । तर, उहाँले अरु सबै संकायको डिनको रुपमा काम गर्न सक्नुहुन्न, पाउनुहुन्न पनि’, विश्वविद्यालय स्रोतले अनलाइनखबरलाई भन्यो, ‘फरक विषयको डिनले अर्को विषयको गाम्भीर्यता कसरी बुझ्न सक्दैन ।’

उक्त विद्यालयमा अध्ययनरत एकजना विद्यार्थीका अनुसार आफूहरु फरक–फरक विषयमा अध्ययन गर्दै आए पनि ‘संकाय’मा भने विज्ञान तथा प्रविधि लेख्नु परिरहेको छ । ‘म व्यवस्थापन संकायमा पढ्छु । तर, परीक्षामा संकायमा अर्को लेख्नुपर्छ’, ती विद्यार्थीले भने, ‘किन यस्तो भएको हो थाहा छैन ।’

त्यहाँ अध्ययनरत अन्य विद्यार्थीका अनुसार कानुन संकाय, व्यवस्थापन संकायअन्तर्गत बीबीए पढे पनि परीक्षामा भने संकायतर्फ ‘विज्ञान तथा प्रविधि’ लेख्नुपर्ने हुन्छ । ‘अहिले विद्यार्थीले पढ्लान् । पास पनि होलान् । तर, ल र बीबीएललाई कसरी विज्ञानमा राख्न सकिन्छ ?’ विश्वविद्यालय स्रोतको प्रश्न छ, ‘भोलि यहाँबाट उत्तीर्ण हुने विद्यार्थीको प्रमाणपत्र अन्य ठाउँमा अमान्य भयो भने को जिम्मेवारी हुन्छ ?’

विश्वविद्यालयले भने आफूहरुले पढाइरहेको विषय संकाय नभई एउटै संकायअन्तर्गतको फरक–फरक कार्यक्रममात्रै भएको स्पष्टीकरण दिएको छ । विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले विश्वविद्यालयमा पढाइ हुने ‘कार्यक्रम’का लागि छुट्टै डिन आवश्यक नपर्ने प्रष्टीकरण दिए ।

गण्डकी विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासन नियमावलीको नियमावली २०७७ को परिच्छेद १७ को नियम ४६ ले डिनको योग्यता, अनुभव र कार्यकालको व्यवस्था गरेको छ । उक्त नियमावलीको नियम (४६)१ मा सम्बन्धित संकायको प्राध्यापक वा सह–प्राध्यापकमध्येबाट एकजना डिन नियुक्त हुने व्यवस्था छ । तर, विश्वविद्यालयले भने उक्त कानुनी व्यवस्थाको बेवास्ता गर्दै डिन नियुक्त गरेको उजुरीकर्ताले दाबी गरेका छन् ।

उनीहरुले डिनको विज्ञापन आह्वान गर्दा नै नियमावलीविपरीत ‘डिनको योग्यतामा विज्ञान तथा प्रविधि विषयमा विद्यावारिधि गरेको’ उल्लेख गरेको बताएका छन् । विश्वविद्यालयले ०७८ असार २१ गते उक्त सूचना प्रकाशन गरेको थियो ।

‘योग्यतामा पिएचडी गरेको भन्ने एउटा शैक्षिक योग्यतामात्रै हो । तर, कानुनी व्यवस्थामा प्राध्यापक वा सहप्राध्यापक भनेकाले सोहीअनुसार नै माग गर्नुपर्दछ,’ स्रोतले भन्यो, ‘डिनको विज्ञापन नै गैरकानुनी छ ।’

अख्तियारमा परेको उजुरीमा हाल पाँच वटै संकायको डिनमा कार्यरत डा. अधिकारी कुनै पनि विश्वविद्यालयको स्थायी प्राध्यापक वा सहप्राध्यापक नभएकाले पनि उनको नियुक्ति गैरकानुनी हुने उल्लेख छ ।

विश्वविद्यालय उच्च स्रोतका अनुसार प्रत्येक संकायको डिन नियुक्ति गर्दा आफूअनुरुप निर्णय र खटनपटन गराउन नसकिने भएकाले डिन नियुक्त गर्न आनाकानी गरिँदै आइएको छ । ‘पाँच वटै संकायमा पाँच वटै डिन भयो भने हालीमुहाली गर्न मिल्दैन । त्यसमाथि राजनीतिक बाँडफाँटको पनि कुरा आउँछ होला !’ स्रोतले भन्यो, ‘नत्र त एउटैले सबै संकाय हेर्नुपर्ने बाध्यता के थियो र ?’

५ वटा कार्यक्रम हो, संकाय होइन : विश्वविद्यालय

विश्वविद्यालयले भने आफूहरुले पढाइरहेको विषय संकाय नभई एउटै संकायअन्तर्गतको फरक–फरक कार्यक्रममात्रै भएको स्पष्टीकरण दिएको छ । विश्वविद्यालयका उपकुलपति नवराज देवकोटाले विश्वविद्यालयमा पढाइ हुने ‘कार्यक्रम’का लागि छुट्टै डिन आवश्यक नपर्ने प्रष्टीकरण दिए ।

‘पहिले हामीले संकाय र कार्यक्रमबीचको भिन्नता थाहा हुनुपर्यो । गण्डकी विश्वविद्यालयले चलाइरहेको अहिले संकाय होइन, कार्यक्रम हो’, अधिकारीले अनलाइनखबरसँग भने, ‘प्रत्येक कार्यक्रमका लागि छुट्टाछुट्टै डिन नियुक्त गर्न सकिँदैन ।’ उनले नियमावलीमा नभई ऐनका आधारमा एउटै डिन नियुक्त गरेको बताए ।

तर, विश्वविद्यालयमा पढाइ हुने विषयकै आधारमा पनि उनको तर्क मेल खाँदैन । विश्वविद्यालयमा पढाइ हुने ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल (बीएलएलबी) को आफ्नो छुट्टै कानुन संकाय हुन्छ भने ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) व्यवस्थापन संकाय अन्तर्गत पर्दछ ।

संकायबेगर विश्वविद्यालयले कुनै पनि विषयको कार्यक्रम सञ्चालन गर्न मिल्दैन । तर, गण्डकी विश्वविद्यालयले त्यहाँ पढाइ हुने सबै विषयलाई ‘विज्ञान तथा प्रविधि संकाय’अन्तर्गत राखिएको छ । यसले भोलिका दिन विद्यार्थीको प्रमाणपत्र नै अवैध हुन जाने जोखिम बढेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।

उपकुलपति देवकोटाले २६ महिना पहिले नियुक्त भएका डिनमाथि अहिले आएर प्रश्न उठाउनु प्रतिशोधमात्रै भएको आरोप लगाए । ‘उहाँ अयोग्य, गैरकानुनी हो भने पहिले किन प्रश्न उठाइएन, अहिले किन उठाइँदैछ ?’ उनले भने, ‘त्यसमाथि डिनको रुपमा उहाँको कुनै कमजोरी छैन । एकदम राम्रो गरिराख्नु भएको छ ।’

विश्वविद्यालयले पढाइ नै नहुने विषयमा जनशक्ति व्यवस्थापन समितिका सदस्य गेहेन्द्रेश्वर कोइरालाका सहोदर छोरा डा. किसन कोइरालालाई सहप्राध्यापक नियुक्त गरेर पनि गैरकानुनी तरिकाले विधानमै नभएको परीक्षा नियन्त्रक पदको जिम्मेवारी दिइएको यसअघि नै अनलाइनखबरले बाहिर ल्याइसकेको छ ।

गण्डकी विश्वविद्यालय गण्डकी प्रदेशको आफ्नै विश्वविद्यालय हो । सातै प्रदेशभरिमा गण्डकी प्रदेशले सबैभन्दा पहिले विश्वविद्यालय स्थापना गरेको थियो । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक २०७६ पारित भएर विश्वविद्यालय स्थापना भएको थियो ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?