+
+

ब्राजिल फुटबलकै पर्याय जगालो

जगालोलाई ब्राजिली फुटबलको पर्याय पनि मानिन्छ । खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने उनी पहिलो थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १०:४७
Photo Credit : Getty Image

रियो डे जेनेरियो । ब्राजिल भनेपछि त्यसै पनि फुटबल अगाडि आउँछ । विश्व फुटबलको सबैभन्दा सफल देश हो, ब्राजिल । ब्राजिलको परिचय नै फुटबल पनि भनिन्छ । ब्राजिलले सबैभन्दा बढी पाँचपल्ट विश्वकप जितेको छ ।

ब्राजिली फुटबलका कथा सुन्नुपर्छ, ती अविश्वसनीय र अद्वितीय रहने गर्छन् । तिनै कथाका एक सर्वाधिक महत्वपूर्ण व्यक्तिको शनिबार निधन भयो र उनी थिए, मारियो जगालो ।

ब्राजिलले चारपल्ट विश्वकप जित्दा जगालो त्यससँग जोडिन्छन् । यत्तिकैले पनि देखाउँछ, उनको ब्राजिली फुटबलमा योगदान ।

अझ जगालोलाई ब्राजिली फुटबलको पर्याय पनि मानिन्छ । पछिल्लो केही समययता जगालो विरामी थिए । निधन हुँदा उनी ९२ वर्षका थिए । खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने उनी पहिलो थिए ।

ब्राजिलले सन् १९५८ मा पहिलो पल्ट विश्वकप जितेको थियो । त्यसको चार वर्षपछि ब्राजिलले फेरि उपाधि जित्यो । दुवै अवसरमा जगालो टिमका प्रमुख खेलाडी थिए । सन् १९७० मा विश्वकप जितेको ब्राजिली टिमका उनी प्रशिक्षक थिए ।

पेलेको नेतृत्वमा रहेको त्यस टिमलाई विश्व फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट मानिन्छ । यत्तिको बलियो टिम विश्व फुटबलमा बनेकै छैन भनिन्छ । यसरी ब्राजिलले तेस्रो पल्ट विश्वकप जित्दा उनी प्रशिक्षक थिए, यसैक्रममा खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने दुर्लभ उपलब्धि हात पारे । सन् १९९४ मा ब्राजिलले फेरि विश्वकप जित्यो र त्यति बेला उनी टिमका सहायक प्रशिक्षक थिए ।

जगालोले मुख्य प्रशिक्षक कार्लोस अल्बर्टोको सहायक भएर काम गरेका थिए । अहिले उनको निधनमा पूरा ब्राजिल स्तब्ध छ र त्यहाँ तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ ।

मारियो जगालो (बीचमा) । तस्वीर : एपी

वास्तवमै उनी ब्राजिलमा अत्याधिक लोकप्रिय छन् र यसको कारण हो, फुटबललाई ब्राजिलको राष्ट्रिय भावनासँग जोडेर हेर्ने उनको दृष्टिकोण । अझ उनको व्यक्तित्व नै थियो, फुटबल भनेपछि ब्राजिल कोहीसँग पनि झुक्नै हुन्न भन्ने । खासमा उनी आम फुटबल खेलाडीभन्दा धेरै अर्थमा फरक थिए ।

१३ नम्बरको संयोग

त्यसैले उनले सबैभन्दा पहिले १३ नम्बर जर्सी लगाएर खेल्ने निर्णय गरे र त्यसमा कायम पनि रहे । त्यति मात्र होइन, उनले १३ तारिख आफ्नो विवाहका लागि दिन रोजे । अनि सबैखाले फुटबल गतिविधिबाट सन्यास लिनका लागि उनले रोजेको दिन थियो, सन् २०१३ को जुलाई १३ ।

अरूले अशुभ ठान्ने १३ नम्बर उनलाई भने शुभ लाग्थ्यो र उनी यस अंकसँग आफ्नो जीवनमा भाग्यले प्रवेश गरेको विश्वास पनि गर्थे ।

संयोग नै मान्नु पर्छ, उनको पहिलो रोजाइ भने फुटबल थिएन् । सन् १९३१ मा उनको जन्म भएको थियो । सुरुमा उनी पाइलट हुन चाहन्थे, तर सकेनन् । उनको आँखा केही कमजोर थियो । त्यसैले व्यवस्थापन विषय लिएर पढे, अनि शोखले फुटबल खेल्न सुरु गरे ।

एउटा महत्वपूर्ण तथ्य के थियो भने उनको जमानामा ब्राजिलमा फुटबल त्यस्तो थिएन, जस्तो अहिले छ । फुटबललाई राम्रो पेशा मानिदैनथ्यो । उनलाई फुटबल खेल्न परिवारबाटै रोक थियो ।

तर उनको भाग्यमा फुटबल लेखिएको थियो, त्यो भएर छाड्यो । मिडफिल्डरका रूपमा उनले खेल्न सुरु गरे र त्यही भूमिकामा रहे पनि । तर अलिकति फरक ढंगले । उनी लेफ्ट विङको जिम्मेवारीमा रमे ।

पेले र जगालो

पेलेसँग जगालो । तस्वीर : एपी

सन् १९५८ को विश्वकप उनको लागि पनि पहिलो थियो । पेले त्यति बेला १७ वर्षका थिए । जगालो भने २७ वर्षका । त्यसैले पनि उनी भन्थे, ‘मैले कहिले पनि पेलेसँग खेलिनँ । तर पेलेले मसँग खेलेको हो ।’ खेल जीवन सकिएपछि उनी प्रशिक्षक भए र पेलेलाई आफ्नो टिमबाट खेलाए ।

फुटबलका सबैखाले गतिविधिबाट सन्यास लिए पनि उनी कुनै न कुनै रूपमा फरक भूमिकामा सार्वजनिक रूपमा देखा परिरहे । यसको एउटा कारण त उनी ब्राजिली समाजमा अति धेरै लोकप्रिय रहनु नै हो । ब्राजिली फुटबलमा उनलाई जोडेर उखान नै छ र त्यो खुबै प्रयोगमा पनि हुन्छ ।

अरूले मन नपराइएको स्थितिमा पनि कोही जित्छ भने त्यति बेला जगालोको नाम लिइन्छ । उनको निधनसँगै ब्राजिली फुटबलको इतिहासकै एक अध्याय सकिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?