+
+

बहराइनमा पूरा भएको अभिषेकको सपना

२५ वर्षको हुँदा राष्ट्रिय टिममा परेका अभिषेकले अब लगातार राष्ट्रिय टिममा रहिरहने योजना रहेको सुनाए ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० चैत १९ गते १८:४१

१९ चैत, काठमाडौं । अन्तिम समयमा रोहित चन्द जान नसकेपछि मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बहराइन जाने नेपाली टोलीमा अभिषेक लिम्बुलाई समावेश गरेका थिए ।

विश्वकप छनोट अन्तर्गत बहराइन विरुद्ध हुने खेलका लागि ३३ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा भने अभिषेक थिएनन् ।

बाबुको निधनका कारण रोहित बहराइन जान नसकेपछि नेपाली टिममा अभिषेकले स्थान पाए र ८ चैतमा बहराइनविरुद्धको विश्वकप छनोटको खेलमा डेब्यू गरे ।

रिफास्थित बहराइन नेसनल स्टेडियममा भएको खेलमा अभिषेकलले पहिलो रोजाइमै डेब्यु गरे । ‘राष्ट्रिय टिममा डेब्यु गर्दा मेरो लागि ‘ड्रिम कम ट्रयु’ जस्तै भयो । देशको झण्डा लगाएर खेल्न पाउनु गर्वको क्षण थियो’, खेलपछि अभिषेकले अनलाइनखबरसँग भने ।

एनआरटी क्लबबाट झापा गोल्डकप खेल्न झापा गएका उनलाई प्रशिक्षक एनेसले राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाएपछि उनी काठमाडौं फर्किएका थिए । त्यसअघि गत फागुनमा भएको केपी ओली कप फुटबलमा राम्रो प्रदर्शन गरेपछि अभिषेक मुख्य प्रशिक्षक एनेसको नजरमा परेका थिए ।

अभिषेकले १३ चैतमा बहराइन विरुद्धको दोस्रो खेल पनि पहिलो रोजाइमै खेले । दुवै खेलमा उनले पूरा समय मैदानमा बिताएका थिए ।

‘म खेल्न पाएँ भने शतप्रतिशत नै दिन्छु भनेर प्रशिक्षण गरिरहेको थिएँ । मलाई विश्वास गरेर नै उहाँ (मुख्य प्रशिक्षक एनेस) ले अवसर दिनुभयो’, अभिषेकले भने ।

बहराइन जानुअघि मलेसिया विरुद्ध अभ्यास खेलमा पनि उनले पहिलो रोजाइमा खेल्ने अवसर पाएका थिए । अभ्यास खेल भएकाले उक्त खेलको अफिसियल मान्यता थिएन । तर मलेसियासँग खेलेपछि बहराइन विरुद्ध खेल्ने उनको सम्भावना बढेको थियो । ‘मैले पहिलो खेल नै बहराइन जस्तो ठूलो टिमसँग खेल्न पाएँ । एकदमै खुशी र गर्व महसुस गरेको छु’, अभिषेकले भने ।

अभिषेकले अनन्त तामाङ र छिरिङ लामासँगै सेन्टर ब्याक पोजिसनमा खेलेका थिए । नेपालले बहराइन विरुद्धको दुवै खेलमा हार बेहोरे पनि अभिषेक लगायत ५ नयाँ खेलाडीले डेब्यु गर्ने अवसर पाए । पहिलो खेलमा अभिषेकसँगै सौभाग्य राई, समिर तामाङ र सन्जिव विष्टले डेब्यु गरेका थिए । दोस्रो खेलमा विशाल बस्नेतले डेब्यु गरे ।

‘राष्ट्रिय टिममा आएपछि विदेशी प्रशिक्षक अनुभवी खेलाडीहरुबाट धेरै कुराहरु सिक्ने मौका पाइरहेको छु । कसरी बस्ने कसरी लिड गर्ने देखि विपक्षीलाई कसरी ट्याकल गर्ने भनेर सिकिरहेको छु’, अभिषेकले भने ।

राष्ट्रिय टिममा अनुभवी खेलाडीहरु कप्तान किरणकुमार लिम्बु अन्जन विष्ट लगायत खेलाडीबाट सिक्ने अवसर पाएको बताए । राष्ट्रिय टिममा परेपछि अभिषेकले किरण र अन्जनसँगको फोटो ‘प्राउड मोमेन्ट’ भनेर पोष्ट गरेका थिए । रोहित चन्दसँगै खेल्ने र सिक्ने अभिषेकको चाहना यस पटक भने पूरा भएन ।

अभिषेकले राष्ट्रिय टिममा डेब्यु गर्नुअघि सन् २०२१ मा ताजकिस्तानमा भएको एएफसी यू-२३ एसियन कप छनोट खेलेका थिए ।

यसरी सुरु भयो करियर

मोरङ लेटाङका अभिषेकले सानोमा गाउँका दाइहरुले खेलेको देखेर फुटबल खेल्न थालेका थिए । उनी फुटबलम लाग्नुमा प्रशिक्षक इन्द्र राईको भूमिका ठूलो छ । स्थानीय स्तरमा खेल्दा उनी मिडफिल्डबाट खेल्थे । तर एकदिन डिफेण्डर नआउँदा उनले डिफेन्सबाट खेले । ‘डिफेन्समै राम्रो भएपछि त्यसमै निरन्तरता दिएँ । अनि सेन्टर ब्याक पोजिसनमै खेल्न थालेँ,’ अभिषेकले भने ।

मोरङमा हुँदा उनले ठूला प्रतियोगिता खेल्ने अवसर पाएनन् । सन् २०१५ मा ललित स्मृति यू-१८ च्याम्पियनसिप खेल्न काठमाडौं आएपछि भने उनको करियरले गति लियो । लेटाङकै फुटबल खेलाडी विनोद लामाको सहयोगमा उनले त्यो अवसर पाएका थिए ।

‘त्यो बेला म मोरङको टिमबाट खेल्न आएको थिएँ । फुटबल खेल्न भनेर पहिलो पटक काठमाडौँ आएको त्यही बेला हो । त्यस बेला हाम्रो टिममा मिक्छेन तामाङ, कैलाश बस्नेत लगायत थिए’, अभिषेकले भने, ‘हामी क्वार्टरफाइनलसम्म पुगेका थियौँ ।’

ललित स्मृति खेलेपछि उनले ब्वाइज युनियन क्लबबाट बी डिभिजन लिग खेल्ने अवसर पाए । त्यस बेला अभिषेक रिजाल, रेजिन सुब्बा लगायत खेलाडी ब्वाइज युनियनमा थिए । ‘बी डिभिजनमा पनि राम्रो अनुभव बटुल्ने मौका पाएँ’, उनले भने ।

दोस्रो संस्करणको ललित स्मृति च्याम्पियनसिपपछि अभिषेकले संकटा क्लबबाट खेले । त्यसबेला दिपेश आले मगर लगायत खेलाडी संकटामा थिए ।

नेपालमा नियमित लिग नहुँदा भने कमाइ नहुने भएकाले आर्थिक रुपमा भने कठिन हुने अभिषेक बताउँछन् ।

त्यसपछि विराट गोल्डकपमा संकटाले जुनियर सेटकै खेलाडीहरुलाई खेलाएपछि अभिषेकले सिनियर टिममा डेब्यु गरे । त्यसबेला संकटा सेमिफाइनलसम्म पुगेको थियो ।

संकटा क्लबबाटै उनले शहीद स्मारक ए डिभिजन लिगमा पनि डेब्यु गरे । २०७५ (२०१८-१९) मा भएको नन रेलिगेसन लिगमा संकटा दोस्रो हुँदा अभिषेक पनि टिमको हिस्सा थिए । ‘त्यस सिजन संकटाले उत्कृष्ट प्रदर्शन गरेको थियो । ‘मेरो लागि पनि धेरै राम्रो अनुभव भयो’, उनले भने ।

त्यसपछि उनले च्यासल युथ क्लबबाट दुई सिजन र खुमलटार युथ क्लबाट एक सिजन ए डिभिजन लिग खेले । २०७६ मा अभिषेकको पहिलो सिजन च्यासल आठौं भएको थियो भने २०७८ मा रेलिगेसनमा पर्‍यो ।

त्यसपछि २०७९ को सिजन अभिषेकले खुमलटारबाट खेले । यो पटक खुमलटार रेलिगेसनमा पर्‍यो । त्यसपछि भने ए डिभिजन लिग भएको छैन ।

लिग नहुँदा खेलाडीहरु विदेशिने क्रम जारी छ । अभिषेक भने लिग नहुँदा भारतको विभिन्न ठाउँमा फुटबल खेल्न गए । फागुनमा काठमाडौंमा भएको केपी ओली कपदेखि भने उनले एनआरटीबाट खेल्न थाले ।

एनआरटीबाट उनले केपी ओली कपसँगै मकवानपुर, बागमती, झापा र इलाम गोल्डकप खेले । उनले एनआरटीबाट इलाम गोल्डकप जिते । ‘एनआरटीबाट खेल्न थालेपछि राम्रो भयो । प्रदर्शन पनि राम्रो भयो । राष्ट्रिय टिमसम्म पनि पुगेँ’, अभिषेकले भने ।

अभिषेकले ब्युटिसियन रच्नी राईसँग पाँच वर्षअघि विवाह गरेका थिए । उनी विवाह गरेपछि आफ्नो भाग्य खुलेको महसुस गर्छन् । ‘श्रीमती मेरो लागि लक्की छिन् । उनको एकदमै धेरै सपोर्ट छ,’ अभिषेकले भने, ‘श्रीमतीको चाहना पनि मैले राष्ट्रिय टिमबाट डेब्यु गरेको हेर्ने थियो । अहिले त्यो चाहना पूरा भएको छ ।’

अबको लक्ष्य

२५ वर्षको हुँदा राष्ट्रिय टिममा परेका अभिषेकले अब लगातार राष्ट्रिय टिममा रहिरहने योजना रहेको सुनाए । ‘करियरको सुरुमा बनाएको एउटा लक्ष्य पूरा भएको छ अझै राष्ट्रिय टिमबाट केही गर्नुपर्छ भन्ने छ । हेर्दै जाउँ कहाँसम्म पुगिन्छ,’ अभिषेकले भने, ‘अझै मिहिनेत गरेर राष्ट्रिय टिममा लगातार खेल्ने र राम्रो प्रदर्शन गर्ने लक्ष्य छ ।’

नेपालमा नियमित लिग नहुँदा भने कमाइ नहुने भएकाले आर्थिक रुपमा भने कठिन हुने अभिषेक बताउँछन् । ‘लिग नहुँदा फुर्सद हुन्छ । आर्थिक पाटोको पनि कुरा आउँछ । त्यस्तो बेला घरको पनि दबाब हुन्छ’, उनी भन्छन् ।

पछिल्लो समय राष्ट्रिय टिममा खेलाडी लगातार विदेशिरहेका छन् । अभिषेकले पनि कुनै समय विदेश जाने प्रयास गरेका थिए । तर अहिले भने तत्काल उनको विदेश जाने सोच छैन ।

अभिषेकले १३ नम्बर जर्सी लगाएर राष्ट्रिय टिममा डेब्यु गरेका थिए । कुनै समय सन्दीप राईले १३ नम्बर जर्सी लगाउँथे । आफूलाई मन पर्ने भएर नै उक्त जर्सी नम्बर लगाएर अभिषेकले सुनाए ।

अन्तर्राष्ट्रिय खेलाडीमा भने उनलाई सर्जियो रामोस र भर्जिसल भान डाइक मन पर्छ । विदेशी खेलाडीहरुको खेल हेरेर पनि धेरै कुरा सिक्ने सकिने उनले बताए । उनी भन्छन्, ‘रामोस एग्रेसिभ खेल्छ । भान डाइकको बडी पोजिसन राम्रो छ । उनको बल होल्ड गर्ने बल पास गर्ने शैली राम्रो छ । लिडरको रुपमा पनि उनी मन पर्छ ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?