+
+

कृष्ण सिटौलाले रोजेको सजिलो बाटो

हरि अधिकारी हरि अधिकारी
२०८० पुष २२ गते २१:१७

२२ पुस, विराटनगर । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभाको उम्मेदवार बन्ने निश्चित भएपछि विराटनगर लागेका छन् ।

सत्ता गठबन्धनबीच भागबण्डाको सकस चलिरहँदै सिटौला कोशी प्रदेशबाट अन्य कोटातर्फ उम्मेदवार बन्ने निश्चित जस्तो थियो । नभन्दै, कोशीमा अन्य तर्फको कोटा कांग्रेसले लिएपछि सिटौला टिकट लिएर राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दर्ता गर्न आइतबार विराटनगर लागे ।

नेताहरुका अनुसार, सिटौला राष्ट्रियसभाको सदस्य मात्रै बन्दै छैनन् । आगामी २० फागुनमा हालका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाको कार्यकाल सकिँदैछ र उक्त पदमा सिटौला जाने तयारी छ ।

राष्ट्रिय राजनीति र कांग्रेसभित्र उनको प्रभावशाली पृष्ठभूमिका कारणले पनि सिटौला राष्ट्रियसभाको अध्यक्ष बन्दैछन् भन्ने अनुमान बलियो छ । किनकि पूर्व गृहमन्त्री समेत भइसकेका सिटौला कांग्रेसको १३ औं महाधिवेशनमा पार्टी सभापतिकै उम्मेदवार थिए ।

शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच सभापति पदका लागि प्यानलसहित भएको प्रतिस्पर्धामा सिटौलाले अहिलेका महामन्त्री गगन थापासहित युवाहरुको सानो टिम बनाएर तेस्रो धार निर्माण गरेका थिए । तर सिटौलासहित उनको प्यानलका उम्मेदवार सबै पराजित भए ।

त्यो चुनावमा सिटौलाले सभापति जित्न नसकेपनि देउवालाई पार्टी नेतृत्वमा लैजान महत्वपूर्ण भूमिका खेले । पहिलो चरणमा ५० प्रतिशत कटाएर कोही पनि सभापति निर्वाचित हुन नसक्दा सिटौलाले देउवालाई दोस्रो चरणको चुनावमा साथ दिए । त्यसबापत आफ्ना मान्छे पार्टीका विभिन्न पदमा मनोनीत गरे ।

२०७८ को १४ औं महाधिवेशनमा सिटौलाले सभापतिमा प्रतिस्पर्धा गरेनन् । तर आफ्ना तर्फबाट प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार देउवाको प्यानलबाट बनाउन सफल भए । यद्यपि पार्टीभित्र सिटौलाको प्रभाव विस्तारै घटिरहेको छ ।

तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको बलियो साथ पाएरै सिटौलाले पार्टी सभापतिका उम्मेदवारसम्मको राजनीतिक यात्रा तय गरेका थिए ।

२०६२/०६३ सालको दोस्रो जनआन्दोलनपछि बनेको सर्वदलीय अन्तरिम सरकारका गृहमन्त्री रहँदा सिटौला राष्ट्रिय राजनीतिका महत्वपूर्ण नेता थिए ।

राजतन्त्रको विदा गर्ने तयारीसहितको त्यो शक्तिशाली सरकारको नेतृत्व गिरिजाले गर्दा उनको विश्वास पात्र भएर सिटौलाले गृह प्रशासन हाँकेका थिए । यद्यपि आफैंले गराएको २०६४ सालको पहिलो संविधानसभा चुनावमा सिटौला झापा तत्कालीन नेकपा माओवादीका पूर्णसिं राजवंशीसँग पराजित भए ।

त्यो पराजयले सिटौलालाई निकै ठूलो राजनीतिक क्षति पुग्यो । किनकी झापा कांग्रेसको सभापति हुँदै राष्ट्रिय राजनीतिको केन्द्रमा पुगिसकेका सिटौलाले त्यो चुनाव जिते थप शक्तिशाली बन्ने अवसर पाउँथे । त्यसको कारण फेरिन पनि जीवनको उत्तारार्धमा रहेका गिरिजाप्रसाद कोइरालाको विश्वास सिटौलामा कायम रहनु थियो ।

यद्यपि सिटौलाले हारेको त्यो चुनाव पहिलो थिएन । उनी पञ्चायत अन्त्यपछि २०४८ मा भएको चुनावमै सिटौला पराजित भएका थिए । देशभर कांग्रेसले जित्ने लहर चलेका बेला सिटौला नेकपा एमालेका द्रोणाचार्य क्षेत्रीसँग पराजित भए । त्यो चुनावपछि कांग्रेसले एकल बहुमतको सरकार बनायो ।

तर एमाले सांसद क्षतिको निधन भएपछि २०५० मा उपनिर्वाचन भयो । सिटौला फेरि उम्मेदवार भएर जिते । त्यसबेला सिटौला झापा–१ बाट चुनाव लडेका थिए, अहिले त्यो क्षेत्र झापा–३ बनेको छ ।

गिरिजाप्रसाद कोइराला नेतृत्वकै सरकारले गराएको उपनिर्वाचन जितेपनि २०५१ को मध्यावधिमा सिटौला फेरि पराजित भए ।

उनी एमालेका पुष्प पोखरेलसँग पराजित भए । २०५६ को चुनाव भने त्यही क्षेत्रबाट सिटौलाले जिते । अर्थात् एउटा चुनाव हार्ने र अर्को जित्ने संयोगमा सिटौला २०६४ मा गृहमन्त्री हुँदा पनि जित्न सकेनन् ।

२०७० को दोस्रो संविधानसभा चुनावमा राप्रपाका राजेन्द्र लिङ्देनलाई हराए । राजनीतिक पृष्ठभूमि बलियो भएका सिटौलाले चुनाव जितेपछि संविधानसभामा महत्वपूर्ण जिम्मेवारी पाए । उनी संविधान मस्यौदा समितिका सभापति थिए ।

त्यही संविधानसभाले ३ असोज २०७२ मा संविधान जारी गर्‍यो । तर २०७४ को चुनावमा सिटौला फेरि लिङ्देनसँगै पराजित भए । तत्कालिन वाम गठबन्धनले लिङ्देनलाई समर्थन गरेपछि सिटौलाले चौथोपटक संसदीय पराजय ब्यहोरे ।

गत वर्ष (२०७९ मंसिरमा) पनि एमालेको समर्थन पाएर लिङ्देनले सिटौलालाई नै हराए । यो चुनावमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका पार्टीले साथ दिँदा पनि सिटौलाले जित्न सकेका थिएनन् ।

अर्थात् २०४८ साल यता मुलुकमा सात संसदीय चुनाव हुँदा आठ पटक उम्मेदवार भएर सिटौला पाँच पटक पराजित भए । अहिले राष्ट्रिय राजनीति र कांग्रेसभित्र सिटौलाको प्रभाव लगभग कोशी प्रदेशसभामा सीमित बन्दै गएको छ ।

तर तीनै ७७ वर्षीय सिटौलाले सत्तारुढ नेताहरू मनाएर जित्ने निश्चित रहेको राष्ट्रियसभाको बाटो रोजेका छन् । किनकी कोशीमा एमाले भन्दा सत्ता गठबन्धन एक हजार १८८ मतभारले अगाडि छ । गठबन्धन दलसँग ५ पाँच ४३६ मतभार छ । एमालेको मतभार ४ हजार २४८ छ ।

राष्ट्रियसभाको चुनावमा गोप्य मतदान हुने भएकाले गठबन्धनका नेताहरुले पार्टी निर्णय मानेमा जित निश्चित रहेको कोशीमा सिटौलासँगै माओवादी केन्द्रका चम्पादेवी कार्की उम्मेदवार बन्ने भएकी छन् ।

एमालेले भोजपुरका परशुराम अधिकारी र सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाएको छ । राप्रपाले उद्धव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आगामी ११ माघमा दुई पदका लागि कोशीमा हुने चुनावका लागि भोलि (सोमबार) मनोनयन दर्ता हुँदैछ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?