+
+

अम्बरबहादुर विष्ट : संघीयताको विरोध गर्दागर्दै सभामुख

हरि अधिकारी हरि अधिकारी
२०८० पुष २४ गते १३:५७

२४ पुस, विराटनगर । २०७९ पुस २६ गते कोशी प्रदेशको दोस्रो प्रदेश सभाको पहिलो अधिवेशनको दोस्रो बैठकमा पहिलो पटक सम्बोधन गरेका राप्रपाका समानुपातिक सांसद अम्बरबहादुर विष्टले प्रदेश संरचना खारेजीको विषय उठाए ।

‘यो प्रदेश राखीराख्नु उपयुक्त हन्छ कि खारेज गर्न उपयुक्त हुन्छ भन्ने छलफलको विषय छ,’ उनले भनेका थिए, ‘देशलाई ठूलो आर्थिक भार भएर भोलि हामी इथोपिया जस्तो हुने अवस्थामा त पुग्दैनौं ?’ उनले त्यसयताका प्रदेश सभा बैठकमा पनि प्रदेश संरचना बोझ भएको बताउन छाडेनन् । सार्वजनिक कार्यक्रममा पनि प्रदेश संरचनाको विरोध गरिरहे ।

संघीयता र प्रदेश संरचनाको विरोध गर्दागर्दै विष्ट सर्वसम्मत रुपमा सभामुखको कुर्सीमा पुग्दैछन् । ७० वर्षीय विष्ट सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको समर्थनमा कोशी प्रदेशको सभामुख बन्दैछन् । यसअघि नै बागमती प्रदेशमा राप्रपाका भुवन पाठक सभामुख छन् ।

तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनयता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुख पदका लागि आज दिउँसो निर्वाचन हुँदैछ । सत्ता गठबन्धनको समर्थनमा सभामुखको उम्मेदवार बनेका विष्टलाई एमालेले पनि समर्थन गरेपछि विष्ट सभामुखमा निर्विरोध छन् ।

सत्ता गठबन्धन दलका नेताले राप्रपा संसदीय दलका नेता भक्ति सिटौलालाई सभामुख बनाउन चाहेका थिए । तर सिटौलाले विष्टको नाम दिए । उनीप्रति सत्ता गठबन्धनका नेताहरु पनि तयार भए । गत निर्वाचनपछि कोशी प्रदेशमा राप्रपासँग नजिक भएको एमालेको पनि साथ पाएपछि विष्ट सर्वसम्मत सभामुख हुने वातावरण बन्यो । कोशीमा सबैभन्दा ठूलो दल नेकपा एमालेकी सिर्जना दनुवार उपसभामुख छिन् ।

सत्ता गठबन्धनको बाध्यता

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक छ । वर्तमान सरकार जोगाउन सभामुख पद नेकपा एमाले वा राप्रपामध्ये कुनै एउटालाई बुझाउनु पर्ने बाध्यता गठबन्धनलाई थियो । किनकी गठबन्धन दलसँग ४७ सांसद मात्रै छन्, जुन टुप्लुक्क बहुमत हो । एमालेसँग चिढिएको गठबन्धन दलले सरकार जोगाउनका लागि राप्रपालाई सभामुख दियो ।

अब राप्रपासमेत गरेर आफूहरुसँग ५३ प्रदेश सभा सदस्य हुने सत्ता गठबन्धनका नेताहरुको हिसाब छ । कोशी प्रदेश सभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक सांसद छन् । प्रतिपक्षमा रहेको नेकपा एमालेसँग ४० सिट छ ।

सभामुखमा निर्विरोध हुन लागेका विष्टले संविधानले दिएको परिधि भित्र रहेर काम गर्ने बताए । ‘संविधानको परिधिभित्र रहेर भूमिका निर्वाह गर्छु,’ उनले भने, ‘पार्टीको जिम्मेवारीबाट अलग हुन्छु ।’

वाम राजनीतिबाट राप्रपातिर

संघीयता विरोधी नेता विष्ट २०२८ सालतिर झापामा वाम राजनीतिमा थिए । अखिलको राजनीति गरेका उनी २०३३ सालमा जुरोपानी गाउँ पञ्चायत वडा नम्बर ५ को वडाध्यक्ष भए । २०३२ मा पञ्चायत प्रवेश गरेका उनी जुरोपानी (हाल गौरादह) का उपप्रधानपञ्च पनि भएका थिए । उपप्रधानपञ्चपछि उनी जिल्ला पञ्चायतको सदस्य बने ।

२०४६ को परिवर्तनपछि गठित पूर्वपञ्चहरुको दल राप्रपामा लागे उनी । राप्रपा झापाको आठ वर्ष पार्टी अध्यक्ष भएका उनी अहिले पार्टी केन्द्रीय सदस्य हुन् ।

संघीयता विरोधी उनले प्रदेशको असहज अंक गणितका कारण सभामुखको जिम्मेवारी पाएका हुन् । तत्कालीन सभामुख बाबुराम गौतमले १६ साउनमा राजीनामा दिएपछि उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्दै आएकी थिइन् । औपचारिकता पूरा गरेपछि अब विष्टले प्रदेश सभा बैठकको अध्यक्षता गर्ने छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?