+
+

दुई महिनादेखि काठमाडौंमा थिए रामबहादुर बम्जन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते २०:०९
पक्राउ परेपछि रामबहादुर बोम्जन । तस्वीरः केन्द्रीय अनुसन्धान ब्यूरो

२४ पुस, काठमाडौं । तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जन कम्तिमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार, मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेपछि उनले प्रहरीसँग दुई महिनादेखि त्यहाँ बस्दै आएको बताएका छन् ।

ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यका अनुसार, विशेष सूचनाका आधारमा बम्जनको हात्तीगौंडामा रहेको घरमा प्रहरी टोली पुगेको थियो । त्यसक्रममा उनलाई घरबाट पक्राउ गरिएको उनले बताइन् ।

स्रोतका अनुसार, बम्जनको श्रीमतीलाई प्रहरीले ट्रयाक गरिरहेको थियो । एक महिनाअघि उनको बच्चा जन्मिएको थाहा पाएपछि खोजीलाई तीब्र पारिएको थियो । त्यही आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेपछि गरिएको प्रारम्भिक सोधपुछमा उनले आफू कहिले सिन्धुली त कहिले मकवानपुरको जंगलमा बस्दै आएको बताएका छन् । पछिल्लो समय दुई महिनायता काठमाडौं आएको उनले बताएको एक अधिकृतले अनलाइनखबरलाई बताए ।

एआईजी बज्राचार्यले बोम्जनलाई केही दिनदेखि ब्यूरोले निगरानीमा राखेको अनलाइनखबरलाई बताइन् । ‘१७/१८ दिनदेखि टोली त्यहाँ खटिइरहेको थियो, प्राविधिक र अन्य पक्षको अनुसन्धान गर्दै जाँदा त्यहाँसम्म पुगेका थियौं’, उनले भनिन्, ‘त्यसक्रममा मंगलबार त्यहाँ छापा मारिएको थियो ।’

त्यसक्रममा प्रहरी देखेपछि बोम्जन दुई तलामाथिबाट हामफालेका थिए । त्यसपछि सीआईबीबाट खटिएको डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले भुइँतलाबाट पक्राउ गरेर ब्यूरोको कार्यालयमा ल्याएको एक प्रहरी अधिकृतले बताए ।

बम्जनले अनुयायी बेपत्ता पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । उजुरी पर्नुभन्दा ३ वर्षअघि बम्जनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरुको भनाइ थियो ।

तर, त्यसयता उनी सम्पर्कविहीन रहेको परिवारले दाबी गरेको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ ।

उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान थियो । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै उजुरी समेत परेको थियो ।

प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको आशंका गरिएको थियो । करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो ।

सीआईबीको टोलीले ३ असार २०७७ मा सिन्धुलीको कमलामाई नगरपालिका–९, पैरेस्थित बम्जन आश्रममा छापा मारेको थियो । त्यसबेला बम्जन त्यहाँ रहेको सूचना पाएपछि काठमाडौंस्थित सीआईबीबाट एसपी बेलबहादुर पाण्डे नेतृत्वको टोली सिन्धुली पुगेको थियो । तर, प्रहरी खाली हात फर्किनु परेको थियो ।

बोम्जनको सिन्धुलीस्थित आश्रम । फाइल तस्वीर ।

डेढ वर्षदेखि फेरि भइरहेको थियो खोजी

यसअघि २०७५ मा प्रहरी अनुसन्धान तीब्र भइरहेका बेला बम्जनको बोधी श्रवण धर्म संघमा आवद्ध पूर्वराज्यमन्त्री मणि लामासहितका व्यक्तिहरुले तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेर ज्ञापन पत्र बुझाएका थिए ।

लामा लगायतले प्रचण्डलाई एउटा ज्ञापन-पत्रसमेत बुझाएका थिए, जसमा बम्जनको प्रसङ्ग उठाएर सञ्चार माध्यमले साम्प्रदायिक हिंसा भड्काउन खोजेको पनि आरोप लगाइएको थियो । गृहमन्त्री बादललाई पनि सोहीअनुरुप ब्रिफिङ गरिएको थियो ।

त्यसपछि धार्मिक विषय भएकाले बलियो प्रमाणबिना बम्जनविरुद्धको कारबाहीलाई अघि नबढाउन प्रहरीले निर्देशन पाएको थियो । त्यसयता जोगिँदै आएका बम्जन पाँच वर्षपछि पक्राउ परेका छन् ।

ब्यूरोका एक अधिकृतका अनुसार, डेढ वर्षयता सीआईबीले फेरि बम्जनबारे खोजी थालेको थियो । ‘पछिल्लो समय केही लिड प्राप्त भयो, त्यसलाई फलो गर्दै जाँदा उनी पक्राउ परे’, स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?