+
+

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अझै थालिएन, निमित्तसमेत नदिँदा काम प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १९:०९

२७ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त भएको एक साता पुग्दासमेत सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु गरेको छैन । तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल २० पुसमा समाप्त भएसँगै बोर्डमा कसैलाई निमित्तको जिम्मेवारी पनि दिइएको छैन । यसले बोर्डको दैनिक कामकारबाही नै प्रभावित बनेको छ ।

धितोपत्र जस्तो संवेदनशील बजारको नियमन गर्ने बोर्डको कार्यकारी भूमिका हुने अध्यक्षको कार्यकाल सकिनु अगाडि नै नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउनुपर्नेमा हालसम्म त्यो पनि सुरु भएको छैन । नयाँ अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्ले सिफारिस समिति बनाउनुपर्छ, त्यसका लागि अर्थ मन्त्रालयले समिति गठनको प्रस्ताव पठाउनुपर्छ । तर, मन्त्रालयमा यो प्रक्रिया नै सुरु नभएको हो ।

‘अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि सिफारिस गर्नका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति रहने धितोपत्र सम्बन्धी ऐनमा व्यवस्था छ ।

समितिले अध्यक्षको नाम सिफारिस गर्न आवश्यक कार्यविधि आफैं बनाउनसक्ने व्यवस्था ऐनमा छ । अध्यक्षको नाम सिफारिस गर्दा योग्यता पुगेका तीन जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । त्यसका लागि विगतमा सिफारिस समितिले अध्यक्षका लागि आवेदन नै माग्ने गरेको छ । यो प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा तीन जनाको सिफारिस गरेपछि त्यसमध्येबाट मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गर्ने प्रावधान छ ।

धितोपत्र सम्बन्धी ऐनले नै धितोपत्र बोर्डको सञ्चालक समिति बैठक महिनामा कम्तीमा १ पटक बस्नुपर्ने र सञ्चालक समिति बैठक अध्यक्षले बोलाउनुपर्ने व्यवस्था गरेको छ । अध्यक्ष नियुक्तिका लागि हालसम्म सिफारिस समिति नै गठन नभएको र त्यसपछि मात्रै प्रक्रिया बढ्ने अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए ।

निमित्त कसलाई दिने भन्नेमा मन्त्रालयमा अलमल

बोर्डको निमित्तको जिम्मेवारी कसलाई दिने भन्नेमा अर्थ मन्त्रालयमा नै अन्योल देखिएको छ ।
धितोपत्र बोर्डमा ४ जना कार्यकारी निर्देशक छन् । त्यसमध्ये सबैभन्दा वरिष्ठ डा. नवराज अधिकारी हुन् । त्यसपछिको वरीयतामा क्रमशः विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र कृष्णराज पोख्रेल छन् । रमेश हमाल अध्यक्ष हुँदा बिदा बस्नुपरेको खण्डमा निमित्तको जिम्मेवारी दोस्रो वरीयताका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई दिने गरेका थिए । तर, अहिले अध्यक्ष रिक्त हुँदा निमित्तको जिम्मेवारी पाउनेले बोर्ड बैैठक आह्वान र सञ्चालनको समेत जिम्मेवारी पाउने भएकाले निमित्तको जिम्मेवारी कसले पाउने भन्नेमा विवाद देखिएको स्रोतको दाबी छ ।

विगतमा वरिष्ठ कार्यकारी निर्देशकलाई तोकेर नै सञ्चालक समिति बैठक समेत राख्न सक्नेगरी निमित्तको जिम्मेवारी प्रदान भएकाले अहिले पनि सोही अनुसारको जिम्मेवारी आफूले पाउनुपर्ने भन्दै वरिष्ठ कार्यकारी निर्देशक डा. नवराज अधिकारीको लबिइङ रहेको स्रोतको दाबी छ ।

तर, अर्थ मन्त्रालयका अधिकारीहरु आचार्यलाई निमित्त दिनुपर्ने पक्षमा रहेको स्रोतको भनाइ छ ।
अध्यक्षबाट हमाल बिदा भएसँगै निमित्त समेत नतोकिँदा बोर्डमा अहिले दैनिक प्रशासनिक कामसमेत अवरुद्ध भइरहेको छ ।

‘अध्यक्ष रिक्त भएसँगै निमित्तको जिम्मेवारी नतोकिँदा अहिले कार्यालयमा आएर हाजिर गर्ने काम मात्रै भएको छ,’ बोर्डका एक कर्मचारीले भने, ‘तोक लगाउने काम समेत प्रभावित भएको छ । कर्मचारीलाई तलब खुवाउने लगायत सबै काम प्रभावित हुन्छ ।’

पूँजी बजारको नियामक निकाय एक सातायता नेतृत्वविहीन हुँदा जिम्मेवार पक्षको रुपमा रहेको अर्थ मन्त्रालय मौन छ । अर्थ मन्त्रालयले हमाल बिदा भएसँगै २० पुसमै कसैलाई निमित्तको जिम्मेवारी सुम्पिनुपर्ने थियो । अर्थ मन्त्रालयले बोर्डका कुनै वरिष्ठ कर्मचारीलाई कार्यकारी अधिकार प्रयोग गर्न जिम्मेवारी दिन सक्छ ।

तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना धितोपत्र भित्री कारोबारमा संलग्न रहेको भन्दै सरकारले जाँचबुझ समिति गठन गरेपछि निलम्बन हुँदा निमित्तको जिम्मेवारी वरिष्ठ कार्यकारी निर्देशक निरज गिरिलाई दिइएको थियो ।

अर्थमन्त्री डा. प्रकाशशरण महत भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुन भारत भ्रमणमा रहेकाले बोर्डमा निमित्तको जिम्मेवारी तोक्न ढिलाइ भएको अर्थ मन्त्रालयका प्रवक्ता शर्माले बताए ।

धितोपत्र सम्बन्धी ऐन र नियमावलीमा अध्यक्षको अनुपस्थितिमा कसले कार्यकारी अधिकार लिने भन्ने व्यवस्था छैन ।

कार्यकारी अधिकार अध्यक्षमा रहेकाले अन्य कर्मचारीले त्यसको परिपूर्ति गर्न सक्दैनन् । यद्यपि अर्थ मन्त्रालयले वरिष्ठ कुनै कर्मचारीलाई कार्यकारी अधिकार प्रयोगको जिम्मेवारी दिनसक्छ । यसको प्रयोग २०६८ र निवर्तमान अध्यक्ष रमेशकुमार हमाल आउनुअघि भएको थियो । त्यतिबेला वरिष्ठ कार्यकारी निर्देशकलाई नै निमित्तको जिम्मेवारी तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?