+
+
प्रधानमन्त्री कप क्रिकेट :

अविश्वसनीय सूर्य

नमिता दाहाल नमिता दाहाल
२०८० माघ ३ गते २०:१२

३ माघ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा मंगलबार मधेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका सूर्य तामाङले त्यसको भोलिपल्ट पनि उत्तिकै दमदार प्रदर्शन गरे ।

बुधबार त्रिभुवन आर्मी क्लबबिरुद्ध ५ विकेट लिएका सूर्यले प्रतियोगितामा आफ्नो टिम बागमतीलाई महत्वपूर्ण जित दिलाएका छन् । मूलपानी क्रिकेट मैदानमा मंगलबार मधेशलाई १२६ रनको फराकिलो अन्तरले हराएको बागमतीले बुधबार आर्मीलाई ३ विकेटले हराउँदा सूर्य नै चम्किएका थिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा बागमतीले नेपाल पुलिस क्लब र एपीएफविरुद्धको खेलमा पराजय व्यहोर्दा पनि सूर्यको व्यक्तिगत प्रदर्शन भने राम्रो थियो । उनले दुबै खेलमा ३/३ विकेट लिएका थिए । प्रधानमन्त्री कपको चार खेल सकिँदा सूर्यले १७ विकेट लिइसकेका छन् ।

मधेशसँगको खेलमा सुरुको ४ ओभरमा उनले कुनै विकेट लिन सकेका थिएनन् । उनले व्यक्तिगत पाँचौ ओभरको पाँचौ बलमा विशाल पटेलको विकेट लिए । त्यसपछि छैंटौं ओभरमा ४ रन खर्चिएका उनले सातौं ओभर मेडन फालेका थिए । आठौं ओभरको दोस्रो बलमा दोस्रो सफलता पाएका उनले नवौं ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका थिए ।

उनको घातक बलिङका सामु १९१ रनको लक्ष्य पछ्याएको मधेश २९ ओभरमा १०४ रन बनाएर अल आउट हुँदै ८६ रनले पराजित भयो ।

उक्त खेलमा विकेट लिनुपर्ने दबाब महसुस भएको सूर्यले स्वीकार गरेका छन् । ‘मधेशसँगको खेलमा सुरुमा विकेटको लागि सोचेर बलिङ गरिरहेको थिएँ, तर, राम्रो भएको थिएन, पछि रविन (रविन जोशी) दाइ, इशान (इशान पाण्डे) दाइहरुले सम्झाए पछि मैले मेरो स्ट्रेन्थमा फर्किएर बलिङ गर्दा विकेट निस्कियो’, उनले भने ।

सूर्यले मधेशविरुद्धकै प्रदर्शन दोहोर्‍याउँदै बुधबार पनि घातक बलिङ गरेपछि राष्ट्रिय खेलाडी सम्मिलित आर्मी २७.१ ओभरमा ९७ रनमा अल आउट भयो ।

सूर्यले आफ्नो चौथो ओभरको चौथो र पाँचौ बलमा भीम सार्की र कुशल मल्लको विकेट लिए । त्यसपछि व्यक्तिगत पाँचौ ओभरमा बसिर अहमदको तथा, छैटौं ओभरमा सन्दीप रजालीको विकेट लिए ।

सातौं ओभर मेडन फालेका उनले आठौं ओभरमा सहाब आलमको विकेट लिए । सूर्यले विकेट लिएका रजाली बाहेक अरुले राष्ट्रिय टिमबाट खेलिसकेका छन् । ‘मैले आफ्नो प्रोसेसमा बल फलिरहेको थिएँ’, आर्मीसँगको खेल ३ विकेटले जितेपछि सूर्यले भने, ‘त्यही भएर नतिजा निस्कियो ।’

बन्द प्रशिक्षण र अन्तिम १४ भित्र परे पनि सूर्यले राष्ट्रिय टिमबाट डेब्यू गर्न भने पाएका छैनन् । सूर्यको बलिङ औसत थियो । राष्ट्रिय टिमका नियमित सदस्य रहेका सन्दीप लामिछाने र ललित राजवंशी दुई स्पीनरले टिमको आवश्यकता अनुसारको प्रदर्शन गरिरहेकै थिए । त्यसैले उनी बन्द प्रशिक्षणदेखि अन्तिम १४ मा परे पनि खेल्ने अवसर पाएका थिएनन् ।

यो पटक प्रधानमन्त्री कपमा अविश्वसनीय प्रदर्शन गरेसँगै २२ वर्षका सूर्यले राष्ट्रिय टिममा डेब्यूकै ढोका ढकढक्याएका छन् ।

‘पछिल्लो २ वर्ष खेल्न नपाएका सूर्यले मैदानमा कस्तो गर्ला भन्ने प्रशिक्षकलाई थियो होला’, बागमती प्रदेश क्रिकेट संघका सेलेक्टर राजु बस्न्यात भन्छन्, ‘तर सूर्य जुनसुकै प्लेटफर्ममा प्लेइङ–११ मा राम्रो गर्न सक्ने खेलाडी हो ।’

नेपाल क्रिकेट एकेडेमी (एनसीए) मा र एभरेष्ट प्रिमियर लिग (ईपीएल) टिम ललितपुर प्याट्रियट्समा बस्न्यातले नै सूर्यलाई प्रशिक्षण दिएका थिए । सन् २०१८ र २०२१ मा सूर्यले ललितपुरबाट ईपीएल खेलेका थिए ।

गत वर्ष भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर सुपर किंग्सबाट खेलेका सूर्यले ८ खेलमा १२ विकेट लिएका थिए । उनले एसीसी यू–१९ एसिया कप २०१८ मा खेलेका थिए ।

‘सूर्य नेपाली क्रिकेटको लागि निकै भविष्य बोकेको बायाँ हाते स्पिनर हो’, बस्न्यातले अनलाइनखबरसँग भने ‘चोटले २ वर्ष खुलेर खेल्न नपाए पनि उनी पहिलेदेखि नै राम्रो भविष्य बोकेका खेलाडी हुन् ।’

सूर्य आफ्नो प्रतिस्पर्धी आफैं भएको र हरेक खेलमा पहिलाको भन्दा राम्रो गर्नु पर्ने चुनौती आफूलाई रहेको बताउँछन् । यो चुनौती सामना गर्नका लागि आफ्नो काममा फोकस गरेर खेल्ने उनको योजना छ । उनी भन्छन्, ‘मेरो प्रतिस्पर्धा मसँग नै हो । म अब मेरो ध्यान भनेको बाँकी खेलहरु वान गेम एट अ टाइम (एक पटकमा एउटा खेल) गरेर जाने हो ।’

तस्वीरहरू विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?