+
+
साहू महाजनको नयाँ खेल :

वडामा दर्ता भइरहेको छ मिटरब्याजी कपाली तमसुक

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० माघ ८ गते १४:०३
तमसुक दर्ता गर्न पुगेका साहु र ऋणीसँग जनकपुरधाम उपमहानरगपालिका-९ का वडाध्यक्ष परमेश्वर साह ।

८ माघ, जनकपुर । आइतबार मध्यान्ह जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ को कार्यालयमा भीडभाड थियो । वडाध्यक्ष परमेश्वर साहको टेबुल अगाडि कपाली तमसुक दर्तामा तोक लगाउन साहु र ऋणीहरु लाइनमा छन् ।

त्यही क्रममा साहु शालिग्राम यादव र ऋणी सागिर साफीको तमसुक दर्तासम्बन्धी निवेदन वडाध्यक्षको हातमा पर्‍यो । दुबै पक्षको सहीछाप (औंठाछाप) गरिसकेको दर्ता निवेदनमा १ लाख ५ हजार रुपैयाँ लेनदेन भएको उल्लेख थियो ।

वडाध्यक्ष साहले ऋणी सागिरलाई सोधे, ‘कति रुपैयाँ ऋण लिनुभएको छ ?’

साफीले ३५ हजार लिएको बताए ।

वडाध्यक्ष साहले फेरि सोधे, १ लाख ५ हजारको तमसुक दर्ता निवेदनमा किन सहीछाप गर्नुभयो ?

साफीले आफू लेखपढ नगरेको र तमसुकमा कति लेखेको छ आफूलाई जानकारी नभएको बताए । साहु शालिग्रामले भने १ लाख ५ हजार लिएको स्वीकार गर्न ऋणी साफीलाई दबाब दिए, साफीले भने मानेनन् । आफूले ३५ हजार रुपैयाँ मात्र ऋण लिएको तर तीन गुना बढाएर तमसुक बनाएको भन्दै उनले असन्तुष्टि जनाए ।

तमसुकको ब्यहोरा र ऋणीको बयानमा फरक परेपछि वडाध्यक्ष साहले दर्ता निवेदनमा तोक लगाएनन् । ‘ऋणीले १ लाख ५ हजार मूलधन लिएको स्वीकारे दर्ता गर्छु, नभए ३५ हजार उल्लेख गरेर ल्याउनुस्’ वडाध्यक्षले दुबैलाई फर्काए ।

****

सरस्वती टोल सरिता देवी ठाकुर (ऋणी) र मनोज तिवारी (साहु) पनि तमसुक दर्ताका लागि वडा कार्यालयमा पुगेका थिए । तर ऋण लिएको रकममा फरक फरक दाबी आएपछि दर्ता हुन सकेन । सरिताले आफूले ५ लाख मात्र ऋण लिएको बताएकी छन् । छोराछोरीलाई पढाउन पटकपटक गरेर पाँच लाख रुपैयाँ लिएकामा साहु तिवारीले पाँचवटा तमसुक बनाएर १५ लाख लिएको उल्लेख गरेका छन् ।

साहु तिवारीले भने १५ लाख ऋण लगेकाले कपाती तमसुक दर्ता गरिदिन आग्रह गरे । ऋणी सरिताले वडाध्यक्षसमक्ष आफू ५ लाख मात्र लिएको बताइन् । कागजात १५ लाख उल्लेख भएकाले वडाध्यक्षले दर्ता गर्न मानेनन् । वडाध्यक्ष साहले ऋणीलाई सहमत गरेर ल्याए दर्ता गरिदिने त्यसबाहेक अन्यथा गर्न नसकिने बताए । साहु तिवारीले दबाव दिए, ‘म तमसुक दर्ता गराएर देखाइदिन्छु ।’

****

आइतबार नै जनकपुरका शौरभ साह (साहु) बाट दीपेन्द्रकुमार यादवले १५ लाख रुपैयाँ लिएको तमसुक वडा कार्यालयमा दर्ता भयो । तमसुक दर्ता निवेदनमा उल्लेख भएको रकम साहु र ऋणी दुबैले स्वीकार गरेपछि वडाध्यक्ष साहले दर्ता प्रमाणीकरण गरिदिए ।

ऋणी यादवका अनुसार लिएको ऋणभन्दा तीन गुणा बढी रकम राखेर कपाली तमसुक गरिएको थियो । व्यवहारिक रुपमा समस्या समाधान गर्ने गरी त्यही रकम स्वीकार गरेर तमसुक बनाएको ऋणी यादवले बताए ।

वडाध्यक्ष साह पनि ऋणी स्वयंले स्वीकारेकाले जति गुणाको कपाली तमसुक भएपनि दर्ता गरेको बताउँछन् । ‘लेनदेन उनीहरुले गरेका हुन् । हामी कहाँ आएर स्वीकार गर्छन् भने दर्ता नगरे के गर्नू ?’ वडाध्यक्ष साहले भने ।

****

अहिले तराई मधेशका धेरै वडा कार्यलयमा कपाली तमसुक दर्ता तथा प्रमाणीकरणको काम चलिरहेको छ ।

मिटरब्याज समस्या समाधानका लागि सरकारले गत साउनमा मुलुकी देवानी संहितामा संशोधन गर्दै ५० हजार रुपैयाँ भन्दा बढी लेनदेनको कागजात ६ महिनाभित्र वडा कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो । यसअनुसार तमसुक दर्ताको म्याद यही माघ ११ गतेसम्म छ । त्यसैले अहिले साहु महाजन ऋणीलाई लिएर वा ऋणीबिना नै तमसुक दर्ताका लागि वडा कार्यालय पुगिरहेका छन् ।

तर यसले मिटरब्याजले नै वैधानिकता पाउने हो होइन भन्ने चिन्ता बढाएको छ ।

किनकी गाउँघरमा ऋण दिँदा साहुले वास्तविक अंकमा बढाएर तमसुक बनाउने गरेको धेरै उदाहरण भेटिएको छ । ऋणीले बेइमानी गरे अदालतमा लेनदेन मुद्दा हालेर असुल उपर गर्नुपर्छ भनेर तीन गुणासम्म बढी रकम उल्लेख भएको तमसुकमा सहीछाप गराएका छन् । ऋणीलाई देखाउन तमसुकको तल्लो भागमा वास्तविक मूलधन उल्लेख गर्ने गर्छन् । तर त्यसलाई सजिलै च्यात्न मिल्ने गरी लेखिएको छ ।

त्यही च्यातेर तीन गुणाबढी रकम असुल गर्ने, ऋणीको सम्पत्ति हड्पने क्रम बढेपछि मिटरब्याज समस्या देशब्यापी रुपमा चर्किएको थियो । तर साहूहरुले वडा कार्यालयमा तीन गुणा रकम उल्लेख भएको तमसुक नै दर्ता गराउने प्रयास गरेको पाइन्छ ।

मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवान पनि धेरै जसो वडा कार्यालयहरुमा ऋणीकै सहमति वा असहमतिमा प्रक्रिया पुर्‍याएर ऋण लिएको रकमभन्दा तीन गुणासम्म बढी उल्लेख गरिएको कपाली तमसुक दर्ता भइरहेको बताउँँछन् ।

कतिपय अवस्थामा ऋणीले आफूले ऋण लिएको रकम र तमसुकमा उल्लेख भएको रकममा परेको फरक थाहै पाउँदैनन् । कतिपय ऋणीले दबाबमा सहमति जनाउने गरेका छन्, अस्वीकार गर्नेहरु निकै न्युन देखिएका छन् । तमसुकमा उल्लिखित रकममा साहु र ऋणीले सहमति जनाएमा वडा कार्यालयमा सहजै दर्ता हुन्छ ।

जनकपुर उपमहानगरपालिका–९ मा मात्र आइतबारसम्म ऋणी स्वयं उपस्थित भएर ७४ वटा कपाली तमसुक दर्ता भएको छ । जम्मा २ वटामा कपाली तमसुकमा उल्लिखित रकम ऋणीले स्वीकार नगरेको कैफियतमा उल्लेख गरिएको छ ।

साहु र ऋणी दुबैले सहमति जनाएको कपाली तमसुक हुबहु दर्ता तथा प्रमाणीकरण गर्ने गरेको वडाध्यक्ष साह बताउँछन् । उनले भने, ‘तीनगुनाकै भएपनि उनीहरु स्वीकार गर्छन् भने दर्ता गर्नुपर्छ । यदि ऋणीले मूलधन मात्रै स्वीकार्छ भने त्यो कैफियतमा हामी लेख्छौं ।’

अनुपस्थित भएका ऋणीहरुको हकमा केही दिन समय दिएर उपस्थित हुन पत्र पठाउने गरिएको छ । यो वडाले ऋणी उपस्थित नभएका १९३ वटा निवेदनमा सातदिने पत्र काट्ने निर्णय गरेको छ । तर दुई दर्जन भन्दा बढी पत्र आइतबारसम्म वडा कार्यालयमै थिए । ऋणी आए पनि नआए पनि ११ माघभित्र वडाले तमसुक दर्ता गर्ने वडा सचिव आशुतोष कुमार साह बताउँछन् ।

धनुषाको विदेह नगरपालिका–७ मा मंगलबारसम्म २५० वटा कपाली तमसुक साहु र ऋणीको उपस्थितिमा दर्ता भएको छ । तमसुक दर्ताको निवेदन परेको बेला अनुपस्थित ४५ जना ऋणीलाई ७ दिनभित्र वडा कार्यालयमा आउन स्थानीय पत्रिकामा सूचना निकालिएको छ । वडासचिव रामकिशोर यादव भन्छन्, ‘यो समयमा नआए तमसुक दर्ता गरिदिन्छौं ।’

महोत्तरीको भंगहा नगरपालिका–५ मा बिहीबारसम्म २२० कपाली तमसुक दर्ता भएको थियो । वडाध्यक्ष शिवकुमार महतोका अनुसार त्यो दिनसम्म ५९५ जनाले तमसुक दर्ताको लागि निवेदन दिएका छन् । साहु मात्र कपाली तमसुक दर्ता गराउन आउँदा ऋणीलाई वडा कार्यालयमा उपस्थित हुन आग्रह गर्दै चिठी पठाइएको छ । चिठी पठाएको १०–१२ दिनसम्म ऋणी नआए कानुन बमोजिम तमसुक दर्ता गर्ने गरिएको वडाध्यक्ष महतोले बताए ।

कतिपय वडा कार्यालयले भने तमसुक दर्तामा सतर्कता अपनाएको पाइन्छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ का वडा वडासचिव सुनिल गुप्ता कपाली तमसुकको पुछारमा रहेको मूलधन अथवा ऋणीले भनेकै अनुसार मात्र दर्ता गर्ने गरिएको बताउँछन् ।

‘हामी सबै प्रक्रिया पूरा गरेर सावधानीका साथ तमसुक प्रमाणीकरण गरिरहेका छौं’ उनले भने, ‘नभए भोलि झमेला हुन्छ । हामीले पनि अदालतमा उपस्थित भएर जवाफ दिनुपर्ने हुन्छ ।’

धनुषाकै बटेश्वर गाउँपालिका–४ का वडाध्यक्ष निरज कार्की पनि ऋण लिएको रकमको तीन गुणा उल्लेख गरेर कपाली तमसुक बन्ने गरेको विषयमा आफूहरु जानकार रहेको बताउँछन् ।

‘मूलधनको तीनदोब्बर तमसकु गाउँघरमा बनाउने गरिन्छ’ वडाध्यक्ष कार्कीले भने, ‘हामी दर्ता रजिस्टरमा ऋणीको समेत मञ्जुरी छ भने तमसुकमा उल्लेख भएको ब्यहोरा अनुसारको रकम दर्ता गर्छौ ।’ तमसुकको पुछारमा मूलधन उल्लेख छ वा छैन हेर्ने गरिएको छ भने ऋणीले रकम जम्मा गरेको बताए त्यसलाई पनि कैफियतमा उल्लेख गर्ने गरिएको छ ।

मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवान पनि धेरै जसो वडा कार्यालयहरुमा ऋणीकै सहमति वा असहमतिमा प्रक्रिया पुर्‍याएर ऋण लिएको रकमभन्दा तीन गुणासम्म बढी उल्लेख गरिएको कपाली तमसुक दर्ता भइरहेको बताउँँछन् ।

‘ऋणी त तल्लो तप्काका नागरिक हुन् । अधिकतम लेखपढ गरेका छैन । जुन चलन तमसुकको चलिरहेका छन्, त्यसमै बेरिएका छन्’ वडाध्यक्षहरुले जिम्मेवार भूमिका निर्वाह नगरेको भन्दै उनले भने, ‘थाहा हुँदाहुँदै पनि तीन गुणाभन्दा बढीको तमसुक दर्ता गरिरहेका छन् ।’

कपाली तमसुक दर्ताका लागि निवदेन दिन साहुसँग वडा कार्यालयमा नपुगेका ऋणीहरुलाई पत्र पठाएर बोलाउने गरिएको छ । तर हुलाकमार्फत पत्र पठाएको १०–१२ दिनमा ऋणी नआए तमसुक कानुन बमोजिम दर्ता गर्ने गरिएको छ । संघर्ष समितिका अध्यक्ष पासवानका अनुसार वडा कार्यालयमा अनुपस्थित ऋणीको हकमा कपाली तमसुकमा साक्षी बसेर हस्ताक्षर गर्नेहरुलाई बुझ्ने हो भने वास्तविक रकम खुल्छ ।

अनुचित लेनदनसम्बन्धी जाँचबुझ आयोगको आग्रहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहरुलाई पठाएको पत्रमा पनि कुनै एउटा पक्ष अनुपस्थित भएर साक्षीहरूलाई बुझ्नु उचित हुने भनिएको छ ।

तर धेरै वडा कार्यालयहरुले त्यसो गरेका छैनन् । प्रायः वडाध्यक्षले ऋणीलाई बोलाउन औपचारिकताका लागि पत्र काट्ने गरेको मिटरब्याज पीडित संघर्ष समितिको दाबी छ । ‘औपचारिकताका लागि ऋणीलाई पत्र पठाउने र प्रक्रिया पूरा गरेर तीन गुणा रकम उल्लेख भएको तमसुक दर्ता गरिरहेका छन्’, अध्यक्ष पासवान भन्छन्, ‘वडाध्यक्षहरुले गरिरहेको तमसुक दर्ताले थप जटिलता निम्त्याउँछ ।’

वडाध्यक्षमाथि पनि कारबाही हुन्छ : आयोग

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की पनि वडाध्यक्षहरु साहुबाट प्रभावित भएको गुनासो आएको बताउँछन् ।

उनका अनुसार वडाध्यक्षहरुले ऋणी आउन नचाहेको भनेर गुनासो गरेका छन् । तर ऋणी आउन नचाहे प्रक्रिया अनुसार उनीहरुले लिएको वास्तविक ऋण पत्ता लगाएर मात्र तमसुक मात्र दर्ता गर्न सुझाव दिइएको छ । ‘ऋणीले आएर कति रकम लिएको भनोस् भनेर नै दर्ता गर्ने व्यवस्था कानुनमा गरिएको छ’, उनले भने, ‘जथाभावी कपाली तमसुक प्रमाणित गरे भने भोलि उनीहरुमाथि कारबाही हुन्छ । जालसाजी मुद्दा लाग्नसक्छ ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?