+
+
सडक दुर्घटना :

ड्राइभरले अनुशासन गुमाउँदा सडक बन्दैछन् मृत्युमार्ग

साना सवारीलाई हेपेर चलाउने टिप्परलाई यमराज भन्दै कारुणिक व्यंग्य समेत हुने गरेको छ । बस र ट्रकले साँघुरो, घुम्तीमा ओभरटेक गर्दा, तीव्र गतिमा सवारी हाँक्दा ठूला दुर्घटना भइरहेका छन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० माघ १० गते १०:११

९ माघ, काठमाडौं । २० असारमा इटहरीमा टिप्परको ठक्करबाट आमा-छोरी नै बिते । स्कुटरमा जाँदै गरेका इटहरी उपमहानगर-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीलाई धरानबाट पूर्वतर्फ जाँदै गरेको टिप्परले ठक्कर दियो । कान्छाराम कन्स्ट्रक्सनको टिप्परको लापरबाहीले दुई जनाको ज्यान गएपछि केही समय इटहरी तनावग्रस्त बनेको थियो ।

त्यसैको १० दिन अगाडि मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलमा भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश ०३-००१ ख ८५१ नम्बरको टिप्परले ठक्कर दिंदा स्कुटरमा सवार हेटौंडा-१ जरुवाटोल बस्ने वर्ष २५ का अमित कपाडीको निधन भयो ।

सडकमा गुड्ने साना सवारी साधनलाई कुल्चिने ठूला सवारीको कारण वर्षेनि हजारौंले ज्यान गुमाउनु परेको छ । त्यसो त साना सवारीलाई हेपेर चलाउने टिप्परलाई यमराज भन्दै कारुणिक व्यंग्य समेत सुरु भइसकेको छ । टिप्पर मात्रै नभई बस र ट्रकले साँघुरो, घुम्तीमा ओभरटेक गर्दा, तीव्र गतिमा सवारी हाँक्दा ठूला दुर्घटना भइरहेका छन् ।

एक महिना अगाडि, ४ पुसमा बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भयो, २७ घाइते भए । दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, हेटौंडाका बस चालक ४० वर्षीय हरिशमशेर र अर्का एक पुरुषको ज्यान गयो ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौैंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक पुलमा जुधेका थिए । उक्त दुर्घटनाको कारण पनि तीव्र गति नै थियो ।

२० वैशाखमा तनहुँको बन्दीपुर गाउँपालिका-५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिंदा ९ जना घाइते भए । दुर्घटनामा घाइते हुनेमा धेरै बालबालिका रहेका थिए । उक्त दुर्घटना ना४ख १९७३ नम्बरको ट्रकले विद्यालय जान तयार भएका बालबालिका जम्मा भएको घरलाई ठक्कर दिंंदा भएको थियो । उच्च गतिमा ट्रक चालकले मोड्न नसक्दा घरमा छिरेर भएको दुर्घटनाको कारण केही समय उक्त क्षेत्रको सडक अवरुद्ध गरेर स्थानीयले आन्दोलन समेत गरे ।

ठूला सवारी चालकहरू अनुशासनको पालना नगर्ने मात्रै होइन, जथाभावी रोकेर राख्दा दुर्घटना हुने घटना पनि थुप्रै छन् । एक उदाहरण हो, ११ साउन २०७९ मा ललितपुरको एकान्तकुनामा टिप्परसँग ठोक्किएर भएको मोटरसाइकल दुर्घटना ।

मूल सडकमा रोकिराखेको बा ३ ख ५७७ नम्बरको टिप्परमा बागमती प्रदेश ०२-०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक खोटाङ घर भई ललितपुरको ठेचो बस्ने २३ वर्षीय ठगेन्द्र राईको मृत्यु भएको थियो भने, एक जना घाइते भएका थिए ।

नेपाल प्रहरीले राखेको तथ्यांक अनुसार वैशाख २०८० देखि असोज मसान्तसम्म दुर्घटनाको संख्या र त्यसले गरेको मानवीय क्षतिले नै सडक सुरक्षाको अवस्था उजागर गर्छ ।

६ महिनामा झण्डै २० हजार सवारी दुर्घटना

नेपालको सवारी दुर्घटनाको ग्राफ हेर्ने हो भने भयावह हुने देखिन्छ । प्रहरी अभिलेख हेर्दा २०८० को वैशाखदेखि असोजसम्मको दुर्घटनाको संख्या नै करिब २० हजार छ । नेपाल प्रहरीको तथ्यांक अनुसार असोजसम्म १९ हजार ९५८ सवारी दुर्घटना भएका छन् जसमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १० हजार ५५४ भएको छ ।

मधेश प्रदेशमा ४ हजार ४२५, कोशी प्रदेशमा २ हजार ४५१, बागमतीमा ९१४, कणर्ालीमा ५८५, लुम्बिनीमा ६५२, गण्डकीमा २३१ र सुदूरपश्चिममा १३ वटा दुर्घटना भएको देखिन्छ । ६ महिनामा ट्रक, ट्याङ्कर दुर्घटनाको संख्या १ हजार ३० वटा रहेको छ भने यस्तै २६८ वटा टिप्पर दुर्घटना भएको देखिन्छ ।

१४ हजार घाइते, एक हजारभन्दा बढीको गयो ज्यान

६ महिनाको मात्रै सवारी दुर्घटना हेर्ने हो भने हजारौंको ज्यान गएको छ भने १०औं हजार घाइते भएका छन् । ६ महिनामा भएको सवारी दुर्घटनामा १ हजार ४० जनाले ज्यान गुमाए, जसमा २५० जना महिला र ६९१ जना पुरुष रहेका छन् । यस्तै ९९ जना बालबालिकाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा घाइते हुनेको संख्या पनि डरलाग्दो रहेको प्रहरीको तथ्यांक देखिन्छ । बालबालिका बाहेक मात्रै ६ महिनामा १४ हजार २९५ घाइते भएका छन् । जसमा पुरुष घाइतेको संख्या १० हजार ६४० र महिला ३ हजार ६५५ जना रहेका छन् । यस्तै १ हजार ९५३ जना बालबालिका वैशाखदेखि असोज मसान्तसम्म घाइते भएका छन् ।

मुख्य कुरा अनुशासन तर लाइसेन्स प्रक्रियादेखि नै त्रुटि

ठूला, मझौला तथा साना सवारी साधनले हुने दुर्घटनामा सवारी चालकको अनुशासन जोडिने गरेको छ । २०७४ मा निर्वाचित भएको प्रतिनिधि सभा सदस्यहरूले सवारी दुर्घटनाबारे संसद्मै कुरा उठाएपछि प्र्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमिति नै बनाएको थियो । उपसमितिले २०७७ सालमा बुझाएको प्रतिवेदनमा पनि सबैभन्दा धेरै सवारी दुर्घटना अनुशासन मिच्नेबाटै भएको देखिएको छ ।

यसरी सवारी दुर्घटना हुने कारणमा सबैभन्दा धेरै चालकको लापरबाही ४३.७ प्रतिशत देखिएको छ भने, सवारीको अति तीव्र गति १८.७ प्रतिशत र ओभरटेकिङ ९.८ प्रतिशतले देखिएको छ । पैदलयात्रुको लापरबाहीले ९.५, मादक पदार्थ सेवनको कारणले ६.२ प्रतिशत देखाएको छ ।

ट्राफिक प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक -एसएसपी) जगतमान श्रेष्ठले नेपालमा सवारी चालक अनुमतिपत्र दिंदादेखि नै त्रुटि भएको बताए । ‘अहिले धेरै दुर्घटना सवारी चालककै कारण भएको देखिन्छ तर त्यो कसरी भयो भन्ने हेर्न जरूरी छ । लाइसेन्स दिने बेला ट्रायल मात्रै पास गरे हुन्छ, न रोड टेस्ट हुन्छ, न अन्य ज्ञानको बारेमा भनिन्छ’, श्रेष्ठले भने ।

सवारी साधनको ज्ञान, सडक सुरक्षा सम्बन्धी जानकारी, सवारी चालकलाई हुने कारबाहीबारे पूर्ण जानकारी नभई लाइसेन्स दिन नहुने बताए । ‘हाम्रा सवारी चालकहरूलाई अनुशासन किन मान्नुपर्छ भन्ने कुरा सिकाउन नसक्दा दुर्घटना बढेको सत्य हो । तर यसको जिम्मेवारी सरकारले पनि लिनुपर्छ’, काठमाडौं महानगरका ट्राफिक सल्लाहकार समेत रहेका श्रेष्ठले भने । उनले दुर्घटनापछि हुने पारिवारिक समस्या, त्यसको समाजशास्त्र पनि चालकलाई बुझाउनुपर्ने तर्क गरे ।

सवारी चालकहरूको लागि सरकारले विशेष कक्षा सञ्चालन गर्ने, सवारी सुरक्षाको विषयमा जानकारी गराउने, कारबाही हुँदा सवारी चालकले व्यहोर्ने क्षतिबारे ज्ञान दिने आवश्यकता अनुसार भौतिक पूर्वाधार सुधार गर्दा अनुशासनको धेरै पालना हुने बताए ।

कारबाहीबाट रु.१ अर्ब असुली

समितिले दिएको प्रतिवेदन जस्तै पछिल्लो अवस्थामा पनि सवारी चालकको अनुशासनहीनतालाई प्रहरीले गरेको कारबाहीले पनि पुष्टि गर्छ । प्रहरीले देशभरि वैशाखदेखि असोज मसान्तसम्म ३ लाख ६३ हजार ६१ ठूला सवारी साधनलाई कारबाही गरेको देखिन्छ । २ लाख ६१ हजार ८८५ मझौला सवारी कारबाहीमा परेका छन् भने ६ महिनामा कारबाहीमा पर्ने साना सवारीको संख्या ६ लाख ८० हजार ११४ वटा रहेका छन् । नेपाल प्रहरीले सवारी कारबाहीबाट ६ महिनामा ९९ करोड ५८ लाख ४६ हजार १९७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले सवारी चालकहरूको अनुशासनको कुरामा निरन्तर सचेतना गराइरहेको बताए । ‘हामीले सवारी चालकहरूको अनुशासनको लागि सचेतना कक्ष, प्रशिक्षण नेपालभरि चलाइरहेका छौं । मापसे, लेनक्रस जस्ता लापरबाहीमा चिट मात्रै काट्दैनौं अनिवार्य सचेतना कक्षा पनि चलाउँछौं’, ढकालले भने । उनले यातायात व्यवसायीहरूले पनि चालकहरूलाई अनुशासित बनाउने काम गरिरहेको बताए । ‘अनुशासन उल्लंघनको तत्काल कारबाही हुन्छ, अर्को चोटि नदोहोरियोस् भनेर सचेतना पनि दिइरहेका छौं’, उनले भने ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?