+
+

संसदको बजेट बढाउन सभामुखले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते ११:४२
सभामुख देवराज घिमिरे । फाइल फोटो

१० माघ, काठमाडौं । संघीय संसदका पदाधिकारीहरु संसदको बजेट अपर्याप्त रहेको निष्कर्षमा पुगेका छन् । यही निष्कर्षसहित सभामुख देवराज घिमिरेसहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई सामूहिक भेटेर बजेटको आकार बढाउन आग्रह गर्ने भएका छन् ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट्ने मिति र समय भने तय भइसकेको छैन, तर भेट्नका लागि समय मिलाउने प्रयास भइराखेको छ ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार गत आर्थिक वर्षमा एक अर्ब ८२ करोड बजेट माग गरेकोमा सरकारले एक अर्ब २२ करोड मात्र दिएको थियो । आगामी आर्थिक वर्षका लागि एक अर्ब ८७ करोड बजेट आवश्यक पर्ने संसद सचिवालयको आकलन छ । बजेट सिलिङको तयारी भइरहेकाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर बजेटको आकार बढाउन आग्रह गर्न लागिएको हो ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा मंगलबार सभामुख घिमिरेसहित राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको छलफल थियो । उक्त छलफलमा संसदको बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई संयुक्त रुपमा भेटेर आग्रह गर्ने सहमति भएको थियो । ‘सहमति अनुसार सभामुखले समय मिलाउनुहुन्छ । त्यसपछि सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसहित प्रधानमन्त्रीलाई अर्थमन्त्रीलाई एकसाथ भेट्छौं । गत वर्षभन्दा बजेट बढाउन आग्रह गर्छौं,’ जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले भने ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे बजेट अभाव भएको भनी संसदले काम कम गर्ने अवस्था आउन नहुने बताउँछन् । कर्मचारीहरुको अतिरिक्त काम गर्दाको समयको सम्बन्धमा समेत सरकारले सम्बोधन गर्नुपर्ने विषय रहेको उनको भनाइ छ ।

‘संसदका कर्मचारीहरुले अतिरिक्त काम गरेबापत्त केही नपाउने अवस्था छ । यहीकारण बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्रै कर्मचारीले काम गर्ने भन्ने हुँदैन । संसदका कामकारबाही आवश्यकता अनुसार कार्यालय समय भन्दा थप हुन सक्छ । यसका लागि लचिलो भएर सरकारले अतिरिक्त सेवा सुविधाका लागि निर्णय दिनुपर्छ ।’

सभामुखसँगको छलफलमा एमालेका सचेतक महेश बर्तौलाले दशैं भत्ताको विषय समेत उठाएका थिए । सांसदहरुको दशैं भत्ता कटौती भएसँगै सांसद सचिवालयमा काम गर्ने कर्मचारीहरुको पनि दशैं भत्ता कटौती भएको छ । ‘सांसदले नपाउने कुरामा म केही भन्दिनँ । तर, कर्मचारीको के दोष ?’ बर्तौलाले भनेका छन्, ‘कुनै कर्मचारीले दशैं भत्ता पाउने, कुनै कर्मचारीले नपाउने अवस्था रहनु उचित होइन ।’

यिनै समग्र विषयमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महतसँग एकसाथ भेटेर छलफल गर्ने सहमति संसदका पदाधिकारीहरुका बीचमा भएको हो । त्यसअनुसार भेटका लागि सभामुख घिमिरेले समन्वय गरिरहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?