१० माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सन् २०१६ मा जापानको आइची नागोयामा हुने २०औं एसियाली खेलकुद (एसियाड) लाई मध्यनजर गर्दै मिसन एसियाड २०२६ सुरु गर्ने भएको छ ।
२०औं एसियाडमा नेपालको सहभागितालाई विग भन्दा प्रभावकारी बनाउने उद्देश्यसहित पहिलो चरणमा ५ खेलको प्रशिक्षण यही माघ १५ गतेदेखि सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बताए ।
पहिलो चरणमा राखेपलले कराते तेक्वान्दो बक्सिङ जुडो र उसुको प्रशिक्षक सुरु गर्नेछ । ‘आगामी एसियाली खेलकुदका लागि पहिलो चरणमा कराते, तेक्वान्दो, बक्सिङ, जुडो र उसुको प्रशिक्षण सुरु गर्छौं । यसो भनिरहँदा अरु खेललाई नजरअन्दाज गर्न पक्कै खोजिएको होइन । बाँकीको पनि क्रमैसँग तयारी थाल्नेछौं,’ घिसिङले भने ।
सदस्य सचिव घिसिङले विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीसँगको छलफलपछि पाँच खेलको तयारी प्रशिक्षण सुरु गर्ने र बाँकी खेलको पनि क्रमैसँग तयारी थाल्ने बताएका हुन् ।
यसअघि नेपालले सधैं ठूलो प्रतियोगितामा अन्तिम समयमा मात्रै तयारी गर्ने गरेको थियो । जसले गर्दा नेपालको नतिजा र खेलाडीको प्रदर्शन पनि सोचे जस्तो हुन सकेको थिएन ।
असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाडमा नेपालले करातेमा एक रजत र महिला कबड्डी टिमले कास्य जितेको थियो । नेपालले विभिन्न २९ खेलमा २५३ खेलाडी सहभागी गराएकोमा २ पदक मात्र जित्न सफल भएको थियो । जसमा करातेले एसियाडमा इतिहासमै पहिलो पटक रजत जित्दा महिला कबड्डी टिमले एसियाडको डेब्युमै कांस्य जितेको थियो ।
विगतमा नेपाल मार्सल आर्ट्स खेलहरुमा बलियो रहेपनि पछिल्लो समय अन्य देशले यसमा प्रगति गर्दा नेपालको स्तर भने उस्तै रह्यो । नेपालको सफल खेलको रुपमा रहेको तेक्वान्दोले २००६ को दोहा एसियाडपछि एसियाडमा पदक जित्न सकेको छैन । यस्तै बक्सिङले सन् २०१० मा पछिल्लो कांस्य जितेको थियो ।
करातेबाट भने नेपालले २०१४ मा कांस्य जितेको थियो भने अहिले १९औं एसियाडमा रजत जितेको थियो ।
ठूला प्रतियोगितामा खेल्न जाँदा सहभागिता मात्र जनाउने वा पदक जित्ने लक्ष्य पनि राख्ने भन्ने विषयमै बहस हुनुपर्ने सवाल उठिरहेको बेला सदस्य सचिवले यो कमद चालेका हुन् ।
उनले छोटो समयमको तयारीबाट ठूलो आशा गर्नभन्दा पनि लामो समय तयारी गर्दै स्वर्ण जित्ने लक्ष्य राख्ने बताए । उनले भने, ‘विगतमा हुने छोटो अवधिको प्रशिक्षणको अन्त्य गर्न जरुरी छ । तयारी छोटो गर्ने अनि खेलाडीबाट उत्कृष्ट नतिजा अपेक्षा गर्नु न्यानोचित होइन । २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसाथ तयारी अगाडि बढाउने योजनमा छौं ।’
नेपालले सात दशकभन्दा लामो एसियाड इतिहासमा अहिलेसम्म स्वर्ण जित्न सकेको छैन । नेपालले अहिलेसम्म तीन रजतसहित कुल २६ पदक जितेको छ ।
सन् १९९८ मा तेक्वान्दोकी सबिता राजभण्डारी, २०१८ मा प्याराग्लाइडिङ टिम र २०२३ मा करातेकी एरिकाले रजत जितेका थिए ।
सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो एसियाडदेखि नै भाग लिन थालेको नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औं एसियाडमा पहिलो पटक पदक जितेको थियो । त्यो बेला नेपालले तेक्वान्दो र बक्सिङमा ४-४ पदक जितेको थियो । संख्याको हिसावले नेपालले एसियाडको एकै संस्करणमा जितेको त्यो सबैभ्नदा धेरै पदक हो ।
पछिल्लो पटक सन् २०१० देखि २०१८ मा सम्म नेपालले हरेक एसियाडमा १-१ पदक जितेकोमा यस पटक १९औं मा त्यो संख्या बढाएर दुई पुर्याउन सफल भएको हो ।
राखेप सदस्य सचिव घिसिङले विभिन्न संघका पदाधिकारीसँगको छलफद्यमा अब विद्यालय स्तरबाटै खेलकुदलाई अनिवार्य विषयको रुपमा समावेश गर्नुपर्नेमा पनि जोड दिए ।
उनले कक्षा ४ देखि विद्यालयमा खेलकुदलाई अनिवार्य विषयका रुपमा समावेश गर्नु पर्ने, प्रतियोगिताका समयमा खेलाडीको परीक्षा जुध्दा वैकल्पिक उपायको खोजीका लागि सम्बन्धित निकायमा पहल गर्ने, प्रतियोगिता सञ्चालन गर्दा बिमा अनिवार्य गर्नु पर्ने विषयमा छलफल गरेका थिए ।
यस्तै राष्ट्रिय खेल संघले सञ्चालन गरेका र आगामी दिनमा सञ्चालन गर्ने विभिन्न गतिविधिलगायतका विषयमा कसरी प्रभावकारी बनाउन सकिन्छ भने संघहरुसँग छलफल भएको थियो ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4