+
+

आहारारा पोखरा गोल्डकपमा आज मच्छिन्द्र र जावलाखेल भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते ६:४९

११ माघ, पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणमा आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच हुँदैछ । खेल साढे २ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

आहाराराको २३औं संस्करणसम्म आइपुग्दा दुवै टिम उपाधिविहीन छन् । मच्छिन्द्रले ५ र जावलाखेल युथ क्लबले तीन पटक भाग लिएका छन् । तर, कुनै पनि संस्करणमा दुवै टिम भिडेका थिएनन् ।

आहारारामा मच्छिन्द्रको यो छैंटौं सहभागिता हो । अघिल्लो संस्करणमा प्रिक्वार्टर फाइनलमै चर्च ब्वाइजसँग मच्छिन्द्र ३-१ ले पराजित हुँदै बाहिरिएको थियो ।

जावलाखेलको आहारारामा यो चौंथो सहभागिता हो । २०६८ मा भएको दशौं आहारारा गोल्डकपमा पहिलोपटक सहभागी भएको जावलाखेलले डेब्यु प्रतियोगितामै फाइनलसम्म पुगेको थियो ।

तर, फाइनलमा मनाङमर्स्याङ्दी क्लबसँग २-० अन्तरले पराजित हुँदै इतिहास कायम गर्न चुक्यो ।

११औं आहारारा गोल्डकपमा पनि जावलाखेल सेमिफाइनलसम्म पुगेको थियो । उक्त संस्करणको सेमिफाइनलमा थ्रीस्टारसँग २–१ ले पराजित भएको थियो ।

१२औं संस्करण पनि सहभागी भएको जावलाखेल प्रिक्वार्टरमै संकटा क्लबसँग १-० ले पराजित हुँदै बाहिरिएपछि भने आहारारा गोल्डकपमा सहभागी हुन छोडेको थियो ।

आहारारामा जावलाखेल एक दशकपछि फर्किएको हो । यसपटक जावलाखेलले नरेश थापाको प्रशिक्षणमा टोलीलाई मैदान प्रवेश गराउँदैछ ।

जावलाखेलको टोलीमा राष्ट्रिय टोलीका छिरिङ लामा, सुदीप गुरुङसहित समावेश छन् । विश्वकप एसिया छनोटको प्रारम्भिक छनोटमा परेका आशिष देउला पनि जावलाखेलबाटै खेल्दैछन् ।

त्यस्तै, मच्छिन्द्रले पनि २ जना विदेशी खेलाडीसहित अधिकांश राष्ट्रिय टोलीका अनुभवी खेलाडीलाई मैदान उतार्दैछ । मच्छिन्द्रबाट यसपटक राष्ट्रिय टिमका सनिष श्रेष्ठ, आशिष चौधरी, उत्सव राई, छिरिङ लामा, मनिष डाँगी खेल्दैछन् । मच्छिन्द्रको प्रशिक्षक सन्तोष न्यौपाने छन् ।

सेसेहाङ लिम्बु, विमल घर्तिमगरसमेत पनि मच्छिन्द्रबाटै खेल्दैछन् ।सेसेहाङ हालैमात्र विभागीय आर्मी छोडेर मच्छिन्द्रमा अनुबन्ध भएका हुन् । त्यस्तै, सनिष श्रेष्ठ विभागीय टिम एपीएफबाट आएका हुन् भने आशिष चौधरी चर्च ब्वाइजबाट आएका हुन् ।

आजको खेल जित्ने टिम क्वार्टर फाइनलमा प्रवेश गर्नेछ र माघ १५ गते मनाङमर्स्याङ्दीसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ ।

यसअघि प्रिक्वार्टरका २ खेल भइसकेका छन् । जसमध्ये पहिलो खेलमा आयोजक सहारा क्लबलाई २–१ ले हराउँदै थ्रीस्टार क्लब र राइजिङ स्टार क्लबलाई १–० ले हराउँदै विभागीय टिम नेपाली आर्मी क्लबले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरिसकेका छन् ।

खेलको अनलाइनखबर डटकमबाट लाइभ अपडेट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?