+
+

जाँदाजाँदै पर्यटन बोर्ड सीईओ रेग्मीको अर्को बदमासी

कुनै पनि प्रवर्द्धनका काम गर्न कुन कार्यविधिबाट कति रकम खर्च गर्ने भन्ने टुंग्याउन पर्यटन बोर्ड सञ्चालक समितिको अनुमति लिनुपर्ने हुन्छ । तर, सीईओ रेग्मीले नियम लत्याएका छन् ।

सुशील भट्टराई सुशील भट्टराई
२०८० माघ १२ गते २०:१५
डा. धनञ्जय रेग्मी/फाइल तस्वीर

१२ माघ, काठमाडौं ।  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले कार्यकाल सकिने बेला अर्को बेथितिको काम गरेका छन् ।

राष्ट्रिय पर्यटन संस्था पर्यटन बोर्ड सीईओ रेग्मीले सञ्चालक समितिलाई ‘बाइपास’ गरी विनाअनुमति १ करोड रुपैयाँबराबरको प्रवर्द्धनको काम गर्न एकल निर्णय गरेका हुन् ।

यो काममा सीईओ रेग्मीले उत्तरी छिमेकी चीनको नयाँ वर्ष मनाउने भन्दै स्वविवेकमा १ करोड रुपैयाँ छुट्ट्याएर कार्यक्रम कार्यान्वयन समितिसमेत बनाएका छन् ।

सीईओ रेग्मीको चार वर्षे कार्यकाल माघ १४ मा सकिँदै छ । रेग्मीले काठमाडौंस्थित चिनियाँ दूतावासको आवश्यक समन्वय तथा सहकार्यमा गर्ने भनिएको ‘ज्वाइन्ट प्रमोसन/डेस्टिनेसन प्रमोसन’ कार्यक्रमको बजेट नै तितरवितर पारेका हुन् ।

सम्बद्ध स्रोतका अनुसार पर्यटन बोर्डमा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रममा अन्तरमहाशाखा सम्मिलित समूहबाट कार्यान्वयन गर्ने गरी चिनियाँ दूतावाससँगको आवश्यक समन्वय तथा सहकार्यमा ज्वाइन्ट प्रमोसन/डेस्टिनेसन प्रमोसनको काम गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

पर्यटन बोर्डले चिनियाँ दूतावाससँग समन्वय गर्न तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन हुँदै परराष्ट्र मन्त्रालय पुग्नुपर्छ ।

स्रोतका अनुसार ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको बजेट संयुक्त प्रवर्द्धन वा गन्तव्य प्रवर्द्धनका काममा खर्च गर्ने उद्देश्य छ । तर, सीईओ रेग्मीले उक्त बजेटको ठूलो हिस्सा चिनियाँ नयाँ वर्षका कार्यक्रम काठमाडौंलगायत स्थानमा मनाउन खर्च गर्ने प्रक्रियालाई मूर्तरूप दिन लागेका छन् ।

यसरी कुनै पनि प्रवर्द्धनका काम गर्न कुन कार्यविधिबाट कति रकम खर्च गर्ने भन्ने टुंग्याउन पर्यटन बोर्ड सञ्चालक समितिको अनुमति लिनुपर्ने हुन्छ ।

‘तर, सीईओ रेग्मीले सञ्चालक समितिलाई पत्तो नदिई उक्त बजेटबाट १ करोड रुपैयाँ आफैं छुट्ट्याएर चिनियाँ नयाँ वर्षका कार्यक्रम गर्न बजेट कार्यान्वयन समिति बनाएका छन्,’ पर्यटन बोर्डका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यो पर्यटन बोर्डको उद्देश्यविपरीत हो । यसमा रेग्मीको नितान्त व्यक्तिगत स्वार्थ देखिएको प्रष्ट छ ।’

पर्यटन बोर्डले उक्त बजेटअनुसार चिनियाँ दूतावाससँगको समन्वय र सहकार्यमा निकट भविष्यमा गर्न लागेका प्रवर्द्धन कार्यक्रमहरू सञ्चालक समितिले अनुमोदन गरिसकेको छ ।

तर, सीईओ रेग्मीले भने एक कदम अगाडि बढेर तिनै कार्यक्रम बाइपास गरी सोही बजेटको ठूलो हिस्सा आफूखुसी तजबिजमा खर्च गर्न लागेका हुन् ।

पर्यटन बोर्ड र चिनियाँ दूतावासको मुख्य आयोजना तथा विभिन्न स्थानीय सरका तथा संघसंस्थासँगको सहकार्य तथा समन्वयमा २९ पुसदेखि २९ माघ २०८० सम्म काठमाडौंका विभिन्न स्थानमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा कार्यक्रमहरू गर्न ३ करोड ५० लाख रुपैयाँ बजेट बोर्डले विनियोजन गरेको छ ।

त्यसअन्तर्गत युनान ट्रान्सनेसनल स्प्रिङ फेस्टिभल, ल्यान्टर्न फेस्टिभल, चाइनिज न्यु इयर परेड, चाइनिज न्यु इयर कप–नेपाल चाइना फ्रेन्डसिप फुटबल म्याचलगायत कार्यक्रम आयोजन गर्न लागिएको छ ।

यी कार्यक्रम आयोजना गर्न चिनियाँ दूतावासले नै प्रस्ताव गरेको हो । उसैको सहकार्य र समन्वयमा कार्यक्रम आयोजना गर्न पर्यटन बोर्डले बजेट विनियोजन गरेको हो ।

स्रोतका अनुसार काठमाडौंमा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सव आयोजना गर्न सीईओ रेग्मीले १ करोड रुपैयाँको सीमाभित्र रही कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न भन्दै कार्यक्रम कार्यान्वयन कार्यदल पनि गठन गरेका छन् ।

सीईओ रेग्मीले बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमको संयोजकत्वमा गठन गरेको ११ सदस्यीय चिनियाँ नयाँ वर्ष कार्यक्रम कार्यान्वयन कार्यदलमा प्रबन्धक रानु शाह तथा अधिकृतहरू रविन रेग्मी, सीताराम दाहाल, सागर उपाध्याय, सुशीलाकुमारी बराल, रोशनी पौडेल, कविन्द्र भट्ट, सिद्धार्थ विश्वकर्मा, युवराज गुरुङ र सिर्जना नेपाली सदस्य छन् ।

अचम्म के छ भने विगतमा पर्यटन बोर्ड सहभागी भइरहेका अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा सहभागिता जनाउनुअघि नै कार्यविधि नभएको भन्दै सीईओ रेग्मीले पन्छाउँदै आएका थिए ।

तर, रेग्मीले सञ्चालक समितिले निर्णय नै नगरेको कार्यक्रममा आफूखुसी बजेट छुट्ट्याइ कार्यक्रम आयोजना गर्न तत्परता देखाउनुमा पुनः सीईओका रूपमा दोहोरिन खाजेको छनक देखिएको ती अधिकारीको भनाइ छ ।

विगतमा सीईओ रेग्मीकै दबाबमा पर्यटन बोर्डले पोखरामा चिनियाँ चासोको ड्रागन बोट रेसलगायत कार्यक्रम गरिसकेको छ ।

सीईओ रेग्मीको बदनाम विगत

पर्यटन बोर्ड सीईओ रेग्मी कार्यभार सम्हालेदेखि नै विवादमा पर्दै आएका छन् । यसअघि पर्यटन बोर्ड सहभागी अन्तर्राष्ट्रिय पर्यटन मेला ‘डब्लूटीएम’ मा सरिक भएर फर्कने क्रममा नियमविपरीत ६ बोतल मदिरा ल्याएपछि भन्सार कर्मचारीले रोक्दा हातपात गरेका थिए ।

उक्त घटनामा बोर्ड र सरकारले गठन गरेको छानबिन समितिबाट रेग्मी दोषी ठहर भए पनि लगत्तै सरकार र पर्यटनमन्त्री परिवर्तन हुन पुग्दा उनी जोगिएका थिए ।

रेग्मीले पर्यटन मन्त्रालयका कर्मचारीदेखि बोर्ड सञ्चालक समितिमा निजी क्षेत्रबाट सहभागी सदस्यस्यहरूलाई बोर्डको खर्चमा विदेश भ्रमण गराएर आफूविरुद्धका छानबिन प्रतिवेदन गुपचुप पार्न सफल हुने गरेको सम्बद्ध स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार सीईओ रेग्मीले माउन्टेन कन्फ्रेन्स र पाटा एड्भेन्चर मार्टमा भएका खर्च भुक्तानी गर्न दबाब दिइरहेका छन् ।

‘पहिले सिईओ सरले आफैं पैसा तिरौंला, माउन्टेन कन्फ्रेन्स र पाटा मार्टमा सहयोगमात्र गरिदिनू भन्नुभएपछि हामीले कार्यक्रममा सहयोग गरिदिएका थियौं,’ बोर्डका कर्मचारीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर, अहिले खर्च रकम भुक्तानी गर्न एकदम दबाब दिइरहनुभएको छ । नियमविपरीत भएका कार्यक्रमको भुक्तानी कसरी भुक्तानी गर्ने ?’

पर्यटन बोर्डले विभिन्न होटल, वायुसेवा कम्पनी लगायतलाई करिब ५ करोड भुक्तानी गर्न बाँकी छ भने सीईओ रेग्मीले निजी व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०२२ मा काठमाडौं र २०२३ मा पोखरामा आयोजना गरेको माउन्टेन कन्फ्रेन्सको ९० लाख रुपैयाँ भुक्तानी बाँकी रहेको स्रोतले जानकारी दियो ।

‘कानुनअनुसार माउन्टेन कन्फ्रेन्स गर्न मिल्थेन । हामीले पटक–पटक सीईओ सरलाई भने पनि उहाँले कार्यक्रम गर्नमात्र सघाउनू, भुक्तानी मेरो व्यक्तिगत जिम्मेवारी भयो भनेर भन्नुभयो तर अहिले भुक्तानी गर्न दबाब दिइरहनुभएको छ,’ बोर्डका एक कर्मचारीले भने, ‘उहाँले गरेको कार्यक्रमको भुक्तानी नगरी कर्मचारी कसैको पनि २०७९ सालको वार्षिक कार्यसम्पादन मुल्यांकन गरिदिनुभएको छैन । यो नेतृत्वमा बस्नेहरूले गर्ने एक किसिमको भ्रष्टाचार हो ।’

पर्यटन बोर्डमा कसरी हुन्छ सीईओ नियुक्ति ?

पर्यटन बोर्डमा सीईओ ‘नेपाल पर्यटन बोर्ड ऐन, २०५३’ को दफा १४ अनुसार नियुक्त हुने गर्छ । यो दफाअनुसार सीईओ बोर्डको प्रशासकीय प्रमुखका रूपमा रहने र उसको नियुक्ति तोकिएको प्रक्रियाअनुसार हुन्छ ।

स्नातकोत्तर उत्तीर्ण गरी पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको व्यक्ति सीईओ पदमा नियुक्त हुने र पुनः एकपटकका लागि प्रक्रियाअनुसार चार वर्षका लागि नियुक्त हुने व्यवस्था ऐनमा छ ।

पर्यटन बोर्ड सिईओ नियुक्त व्यक्तिले पर्यटन विकास र प्रवर्द्धनका काममा दत्तचित्त भएर लागोस् र बोर्डको सार्वजनिक सम्पत्ति प्रयोग आफ्नो निजी स्वार्थमा गर्न नसकोस् भन्ने कानुनी मनसाय स्पष्ट छ ।

‘नेपाल पर्यटन बोर्ड नियमावली, २०५५’ को नियम ९ (२) मा ‘बोर्डको कार्यकारी प्रमुख (सीईओ) मा नियुक्त भएको व्यक्ति कुनै सरकारी, गैरसरकारी वा अन्य कुनै व्यवसायमा संलग्न रहेको भए निजले त्यस्तो सेवा वा व्यवसायबाट अवकास लिनुपर्ने छ र यसरी अवकास नलिए त्यस्तो नियुक्ति स्वतः बदर हुनेछ’ भन्ने उल्लेख छ ।

सीईओ हुँदाहुँदै रेग्मी निजी कम्पनीका मालिक

तर, सीईओ रेग्मी भने विनियमाली विपरीत नर्थफेस रिसोर्ट प्रालिको सञ्चालक अध्यक्ष रहेको १९ पुस २०७७ मा छानबिनपछि पत्ता लागेको थियो । बोर्ड सीइओ भएको एक वर्षपछि रेग्मी नर्थफेस रिसोर्टको सेयर बेचबिखनमा संलग्न भएको जानकारी पर्यटन मन्त्रालयमा सप्रमाण पुगे पनि उनी जोगिएका थिए ।

स्रोतका अनुसार रेग्मीले पर्यटन बोर्ड सीईओ पदमा आवेदन दिँदा आवश्यक अनुभवमा द हिमालयन रिसर्च एक्सपिडिसन प्रालिका सञ्चालक अध्यक्ष रहेको विवरण पेश गरेका थिए । उनको कम्पनी ३१ भदौ २०६६ मा दर्ता भएको थियो । उनी अहिले पनि सोही कम्पनीका सञ्चालक अध्यक्ष नै छन् ।

लेखकको बारेमा
सुशील भट्टराई

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका भट्टराई अनलाइनखबरको आर्थिक ब्युरो संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?