+
+

विमानस्थलमा अध्यागमन र प्रहरी आमनेसामने

भिजिट भिसाको अनुसन्धानबाट बढ्यो दुरी

गौरव पोखरेल गौरव पोखरेल
२०८० माघ १२ गते २२:१२

१२ माघ, काठमाडौं । शुक्रबार मध्याह्न १२ः०५ बजे अध्यागमन अधिकृत छायाँलाल मोक्तान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चरबाट एराइभलतिर जाँदै थिए । वाक थ्रू (एक्स–रे) गेट पास गरेका आएका उनलाई ड्यूटीमा खटिएका प्रहरी जवानले शरीर खानतलासी लिन खोजे, मेटल डिटेक्टरले जाँच्न खोजे ।

मोक्तानले आफू अध्यागमन अधिकृत भएको र ‘केही अघि मात्रै चेक भएको’ बताए । अनि आफ्नो सामान लिएर निस्किन खोजे ।

विमानस्थलका एसएसपी दिप शमशेर राणाका अनुसार, प्रहरीले जाँच्न खोजेपछि अध्यागमन अधिकृत मोक्तानले अपशब्द बोल्दै दुर्व्यवहार गरे ।

त्यसक्रममा अध्यागमन अधिकृत र प्रहरी जवानबीच भनाभन र धकेलाधकेल भयो । त्यहीबेला त्यहाँ खटिएका असई आइपुगे ।

उनले आफूमाथि कुटपिट भएको भन्दै मोक्तानले विमानस्थल अध्यागमन कार्यालयलाई जानकारी गराए । त्यसपछि प्रमुख अध्यागमन अधिकृत गोगन हमाल क्लोज सर्किट (सीसी) क्यामराको फुटेज हेर्न प्रहरी कहाँ पुगे ।

फुटेजमा फुटेजमा असईले अध्यागमन अधिकृतलाई कुटेको देखेपछि हमालले भने, ‘प्रहरीले अत्ति नै गरेछ नि !’

अध्यागमनका अधिकृतहरुका अनुसार त्यति भन्नासाथ प्रहरी जवान फेरि प्रतिवाद गर्दै हातपात गर्न अघि सरे । त्यसक्रममा हमाललाई पनि उनले लात्ता हानेको अध्यागमनका अधिकृतहरु बताउँछन् ।

प्रहरी चाहिँ ‘कर्मचारीहरुको हुल भएका बेला प्रहरीले एकोहोरो कुटेको भन्ने’ गलत भएको बताउँछन् ।

‘बर्दीमा भएको व्यक्ति अनुशासित हुनुपर्थ्यो, त्यहाँ गल्ती भयो । तर प्रहरीलाई पनि अपशब्द बोल्दै धकेलेपछि घटना भएको हो’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत् एक अधिकृतले भने, ‘हाम्रा सई सा’बको पनि गालामा चोट लागेको रहेछ ।’

एसएसपी राणा यो क्षेत्रमा खटिएको प्रहरीले जोकोहीलाई पनि खनतलासी गर्ने दाबी गर्छन् । अध्यागमनका अधिकृतहरु भने कर्मचारी देखेपछि प्रहरीले झन् दुःख दिने गरेको आरोप लगाउँछन् ।

गृह मन्त्रालयले भने शुक्रबारको घटनाबारे छानबिन गर्न सह–सचिव थानेश्वर गौतमको नेतृत्वमा समिति बनाएको छ ।

हेर्नुस् भिडियो 

गृह पुगेर पनि नटुंगिएको विवाद

गृह मन्त्रालय मातहत रहेर विमानस्थलमा खटिने दुई निकायका अधिकारी धकेलाधकेल र कुटपिटको तहमा उत्रिनुअघि लामो पृष्ठभूमि रहेको जानकारहरु बताउँछन् । उनीहरुका अनुसार लामो समयदेखि उनीहरुबीच रहेको असमझदारी र बेमेल शुक्रबारको घटनामा पोखिएको हो ।

प्रहरी अधिकृतहरुका अनुसार, भिजिट भिसाका नाममा मानव तस्करी भएको घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमन विभागका कर्मचारीहरु तान्न थालेपछि विवाद सुरु भएको थियो ।

विमानस्थलबाट पछ्याउँदै निस्किएको खादा पोशाकको टोलीले १८ मंसिरमा अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्दा कार्यालयले उनको साथबाट ६६ जना युवाको सूची फेला पारेको थियो, जो नरवीर पक्राउ पर्नु केही दिनअघि भिजिट भिसामा खाडी मुलुक गएका थिए ।

सत्तारुढ नेकपा माओवादी निकट ट्रेण्ड युनियनमा समेत रहेका खड्का पक्राउ परेपछि अध्यागमनमा अधिकृतहरुको भागभाग चलेको अधिकृतहरु बताउँछन् । अनुसन्धान भइरहँदा काज सरुवा मिलाएर अर्का अधिकृत नाराबहादुर कुँवर उम्किए । पछि बुबाको निधन भएर अन्तिम संस्कारमा सहभागी भएका उनलाई प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा अघि बढाएको थियो ।

नरवीरको नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहसँग पनि सम्बन्ध देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुुसन्धानका क्रममा उनले ५० हजार रुपैयाँ लिएर पीडितलाई दुबई पठाएको खुलेको थियो । त्यो रकम उनले आफ्नो बहिनी भावनाको नेपाल बैंकमा रहेको खाताबाटै लिएका थिए ।

नरवीर खड्का, अध्यागमन अधिकृत ।

आफैं पक्राउ परेपछि नरवीरले प्रहरी बयानमा अरुको पनि पोल खोल्न थाले । भिजिट भिसामा जानेका लागि भनेर बनाइएको सहजिकरण समितिमार्फत विचौलियाका मान्छेलाई विदेश पठाउने गरिएको उनले बयान दिए । प्रहरीका एक उच्च अधिकृतका अनुसार, नरवीरको साथबाट प्रहरीले दुई वटा डायरीमा पनि फेला पारेको थियो, जसमा अध्यागमनका अरु कर्मचारीलाई रकम दिइएको विवरण उल्लेख छ ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार, अध्यागमनमा तीन सिफ्टमा १४० कर्मचारी काम गर्ने र सबैसम्म रकम पुग्ने उनले बयान दिएका थिए । ‘नरवीरले यसमा विभागसम्मकै सेटिङ हुने बताएका थिए, गम्भीर रुपमा छानबिन हुँदो यसको लहरो निकैमाथिसम्म पुग्ने देखिएको थियो’, स्रोतले भन्यो, ‘उनको बयानपछि धेरै कर्मचारीहरुको भागाभाग भएको थियो ।’

प्रहरीले अध्यागमन अधिकृतहरुमाथि निगरानी बढाउन थालेपछि १८ पुसमा विमानस्थल अध्यागमनका कर्मचारीहरुले काम रोके

प्रहरीले विमानस्थलको मुख्यद्वारमा कहिले मानवबेचबिखन ब्यूरो त कहिले अन्य युनिटबाट समानान्तर गतिविधि गर्दा अध्यागमन बदनाम भएको भन्दै उनीहरुले माथिल्लो निकायमा ज्ञापन–पत्र समेत बुझाएका थिए । त्यसक्रममा कर्मचारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष प्रहरीले दुःख दिएको गुनासो समेत गरे ।

गृहमन्त्री श्रेष्ठले प्रहरी प्रमुख वसन्तबहादुर कुँवर, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौर र काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीसँग छुट्टाछुट्टै छलफल समेत गरे ।

त्यहीबीच प्रहरीले गृहमन्त्रीसमक्ष यो अनुसन्धान अघि बढ्दा कहाँसम्म पुथ्यो र सेटिङमा को को संलग्न थिए भन्नेबारे ब्रिफिङ गर्‍यो । मन्त्रालय स्रोतका अनुसार, त्यसबेला प्रहरीले अध्यागमनका कर्मचारीको मिलेमतोमा दैनिक एक करोड रुपैयाँसम्म संकलन गरेको विवरण भेटिएको जानकारी गराइएको थियो ।

‘पुरुष भए ३० देखि ३५ हजार र महिला भए ५० हजार रुपैयाँसम्म लिने गरेको विवरण प्रहरीले देखाएको थियो’, स्रोतले भन्यो, ‘संलग्न कर्मचारीहरुको सूची पनि प्रहरीले ल्याएको थियो ।’ प्रहरीले नरवीरको बयानको भिडियो समेत खिचिसकेको थियो, जसमा अन्य कर्मचारीको मिलेमतोबारे उल्लेख थियो ।

अनि थप प्रतिवादी नबनाई रायसहित जिल्ला सरकारी वकिलको कार्यालय पठाइएको प्रतिवेदन फर्कायो । थप ९ अध्यागमन अधिकृतमाथि अनुसन्धान गर्न निर्देशन आयो । अहिले उनीहरुविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार, भिजिट भिसामा जानेका लागि कडाइ गर्न भन्दै २०७८ सालमा गृह मन्त्रालयले १७ बुँदे निर्देशन जारी गरेको थियो । त्यसमा भिजिट भिसामा जानलाई कक्षा १२ को औपचारिक शिक्षा हुनुपर्ने, वार्षिक न्यूनतम ५ लाख रुपैयाँ कर योग्य आय हुनुपर्ने लगायतका प्रावधानहरु थिए ।

‘त्यसमा भएका कतिपय प्रावधान भिजिट भिसामा जान खोज्नेहरुले पूरा गर्नसक्ने खाल्का थिएनन्, त्यसमै खेलेर कन्सल्टेन्सीहरुमार्फत नक्कली कागजात बनाएर असूली गर्ने धन्दा चलेको थियो’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन् ।

हालै गृहमन्त्रालयले पुरानो निर्देशनलाई खारेज गर्दै अहिले प्रावधानहरु खुकुलो पार्दै ६ बुँदे नयाँ कार्यविधि ल्याएको छ ।

भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले निर्देशिका जारी गरेका बेला अध्यागमन अधिकृत ताराबहादुर कुँवरलाई यो गिरोहलाई सहयोग गर्ने गरी पठाएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

‘कुँवरपछि यो गिरोहको नेतृत्व नरवीरले गरेका रहेछन्, उनीमार्फत माथिल्लो तहसम्मको सूचना पाएका थियौं’, अनुसन्धान अधिकृतहरु भन्छन् । तर, त्यो बीचमा प्रहरी र अध्यागमका अधिकारीहरुले गृह नेतृत्वसमक्ष एकअर्काको पक्ष र विपक्षमा सूचनाहरु दिने काम गरिरहे, अनुसन्धान अलपत्र परिरह्यो ।

प्रहरीले पनि भिजिट भिसाको अनुसन्धान निष्पक्ष रुपमा भइरहेको छ र अगाडि जो आएपनि कानूनी दायरामा आउँछन् भन्ने सन्देश दिने गरी काम गर्न नसकेको मन्त्रालयका एक अधिकारी बताउँछन् । किनकि, यो मामलामा प्रहरीका जवानले प्रतिव्यक्ति १० हजार रुपैयाँ लिएको खुलेको थियो ।

उनीहरु पक्राउ पनि परेका थिए, तर माथिल्लो तहका प्रहरी अधिकृतसम्म अनुसन्धान पुग्न सकेन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन काउन्टर । तस्वीरः आर्यन धिमाल/अनलाइनखबर

विमानस्थल अध्यागनका कर्मचारीहरुको भनाइमा, यो मामलामा विमानस्थलमा खटिएका एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को पनि संलग्नता देखिएको थियो । ‘तर, प्रहरी आफ्ना डीएसपीप्रति नरम देखियो’, अध्यागमनका कर्मचारीहरुको आरोप छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकृतहरु भने प्रमाणले देखिएको भए डीएसपी मात्र नभइ अझै माथिल्लो तहकालाई समेत पक्राउ गर्न समस्या नहुने दाबी गर्छन् ।

भन्सारसँग पनि मिलेको छैन तालमेल

विमानस्थलमा प्रहरीको टसल अध्यागमनसँग मात्र होइन, भन्सारसँग पनि सम्बन्ध सहज छैन । पछिल्लो समय भन्सारमा आफ्नो उपस्थिति हुनुपर्ने भन्दै प्रहरीले लबइङ गरिरहेको थियो ।

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले बुझाएको विमानस्थल सुरक्षा सुदृढीकरणसम्बन्धी प्रतिवेदनमा पनि प्रहरीलाई विमानस्थलको आगमन कक्षतिर राख्नुपर्ने भनिएको थियो ।

प्रहरी उच्च अधिकृतहरुका अनुसार, यो विषयमा गृह प्रशासन पनि सकरात्मक थियो, तर अर्थमन्त्रालयबाट स्वीकृति भएर आउँदा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय भयो ।

‘भन्सारका कर्मचारीहरुलाई प्रहरीभन्दा बरु सशस्त्र खटियोस् भन्ने भयो, त्यसपछि विमानस्थलमा प्रहरी र कर्मचारीबीच टसल बढ्दै गयो’, एक अधिकृत भन्छन् ।

भन्सारलाई बुझाएको कतिपय सामानको कमिसन र लिलामीका विषयमा पनि प्रहरीको असन्तुष्ट छ । प्रहरीले बरामद गरेको कतिपय सुन, चाँदी लगायतका वस्तुको कसिमनवापतको रकम समेत भन्सारले प्रहरीलाई नदिएको कतिपय प्रहरीको आरोप छ ।

जानकारहरुका अनुसार, बरामद भएका चोरीका गाडीको लिलामीको सन्दर्भमा पनि प्रहरी र भन्सारको कुरा मिलेको छैन ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?