१४ माघ< काठमाडौं । बागमती प्रदेशकी सारिका धमला र एनआरएनएकी परिका बतासले दोस्रो गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा भएको महिला ६० केजीमा सारिकाले एपीएफकी सुमित्रा नगरकोटी तथा ५१ केजीमा परिकाले गण्डकी प्रदेशकी मनीषा पुलामी मगरलाई फाइनलमा पराजित गरे । महिला ५५ केजी फाइनलमा लुम्बिनी प्रदेशकी सुष्मा चौधरीले लुम्बिनीकै दिब्यानीसिंह राठोरलाई हराउँदै स्वर्ण जितिन् ।
पुरुष ५० केजीमा लुम्बिनीका अनिश बुढा मगरले बागमतीका अक्षकुमार पन्त, ५५ केजीमा मधेश प्रदेशका सविन वाइबाले गण्डकीका जसबहादुर गुरुङ, ६० केजीमा गण्डकीका रोहित कायातले बागमतीका गौतम थिङ, ६५ केजीमा एपीएफका पेम्बा छिरिङ तामाङले गण्डकीका आयुश गुरुङ, ७० केजीमा मधेशका विकास कुस्ताले बागमतीका निर्पेश ढुंगाना र ७५ केजीमा बागमतीका निर्जल कार्कीले सुदूरपश्चिम प्रदेशका हिक्मत साउदलाई पाखा लगाउँदै पहिलो भए ।
नेपाल राष्ट्रिय मुवाँथाइ संघ र अल फाइट सिस्टम अर्गनाइजेसनद्वारा संयुक्त आयोजित तीनदिने प्रतियोगितामा १०० खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
प्रतिक्रिया 4