+
+

हुटहुटीले व्यवसायी बनेकी सिना

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० माघ १५ गते १७:०३

काठमाडौं । भनिन्छ नि, सपना यस्तो देख्नु, जुन विपनामा परिणत होस् । जसले सपना देखेर त्यसलाई सार्थक तुल्याउन मिहिनेत गर्छ, उही सफल हुन्छ । यो जुनसुकै पेशामा हुने कुरा हो । अनि व्यवसाय सानो होस् वा ठूलो, त्यसलाई सफल बनाउन कतिविधि मिहिनेत गर्नुपर्छ भन्ने यसैका भुक्तभोगीलाई थाहा हुन्छ ।

व्यवसाय गरिछाड्ने सपनाबीच त्यसलाई विपनामा परिणत गर्न सफलमध्ये एक उदाहरण हुन्, सिना खत्री ।

वीरगञ्जमा जन्मिएर उतै बाल्यकाल बिताएकी सिना स्कुल सकेपछि काठमाडौं आइन् । बैंकमा जागिर खाने सोचका साथ व्यवस्थापनमा १२ कक्षा सकिन् । व्यवस्थापनमै स्नातक गरेर एउटा बैंकमा प्रशिक्षार्थीका रूपमा काम गरिन् । तर बैंकमा उनलाई खासै रुचि जागेन । दोहोर्‍याएर बैंकमै काम गर्ने रहर पनि जागेन ।

त्यसपछि उनी पुगिन् एउटा म्यानपावर कम्पनीमा काम गर्न । त्यसका सञ्चालक ठूला व्यवसायी थिए । उनीसँगको संगतले सिनाको जीवनको लक्ष्य नै बदलियो । त्यहाँ काम गर्न थालेपछि उनले व्यवसायबारे नजिकबाट बुझिन् । उनको दिमागमा पर्‍यो– ‘राम्रो आम्दानी र राम्रो लाइफस्टाइल बनाउन जागिर खाएर हुँदैन, व्यवसाय नै गर्नुपर्छ ।’

म्यानपावरमा काम गर्दा उनको तलब राम्रै थियो । केही व्यवसाय सुरु गर्ने सोचका साथ उनी तलब बचत गरिरहेकी थिइन् । त्यहाँ दुई वर्ष काम गरेपछि उनी फेरि हिमालयन बिल्डर्स पुगिन् ।

त्यसपछि झन् ‘व्यवसाय गर्नैपर्छ’ भन्ने हुटहुटी बढ्यो । किनकि त्यहाँ उनका सहकर्मी प्रायः सबैको ‘साइड बिजनेस’ थियो । अब भने उनलाई जसरी पनि केही व्यवसाय सुरु गर्नु थियो । अनि सिनाले मिल्ने साथी वाल्मीकि यादवलाई व्यवसाय गर्न मन भएको सुनाइन् । तर के व्यवसाय गर्ने भन्ने दुविधामा रहेको पनि बताइन् ।

उनका साथीले प्रोटिनको व्यवसाय गर्ने सल्लाह दिए । त्यसबारे बुझ्दै जाँदा प्रोटिनको व्यवसाय सुरु गर्न नै ५० लाखदेखि एक करोड रुपैयाँसम्म लगानी चाहिने रहेछ । त्यो उनको बुता बाहिरको हुन पुग्यो ।

सिनाका साथी वाल्मीकिले भने, ‘मेरो एकजना प्रोटिन व्यवसायी साथी छ, ऊसँग एकपटक भेट न त ।’

अनि उनी ती व्यवसायीलाई भेट्न गइन् । ती व्यवसायीले सिनालाई व्यवसाय सुरु गर्न सहयोग गर्ने वचन दिए । उनलाई पहिलेदेखि नै फिटनेसमा ध्यान दिने मान्छे मनपर्थ्यो । त्यसमा पनि फिटनेससम्बन्धी व्यवसाय सुरु गर्ने मौका गुमाउन उनले चाहिनन् । सिनाले ती प्रोटिन व्यवसायीलाई १० लाख रुपैयाँ बराबरको मात्र सामान दिन अनुरोध गरिन् । र, सुरु भयो सिनाको व्यावसायिक यात्रा ।

संयोग के भयो भने उनी नेपालमा प्रोटिन व्यवसाय गर्ने पहिलो महिला हुन पुगिन् । प्रोटिन व्यवसाय सुरु गरे पनि उनले आफ्नो जागिर भने छाडिनन् । दुवैतिर समय दिइन् ।

काठमाडौं ग्रिनल्याण्डनमा एक वर्षअघि सिनाले प्रोटिन व्यवसाय गर्न स्टोर खोलिन् । दराज अनलाइन सपिङ प्लाटफर्ममा दर्ता गरिन् ।

प्रोटिन व्यवसाय सुरु त गरिन् । तर नेपालमा अमेरिकी र अस्ट्रेलियन प्रोटिन मात्र राम्रो हुन्छ भन्ने सोच रहेछ । यस्तोमा सिनाले प्रोटिन राम्रो गुणस्तरको भयो भने भारतीय पनि रुचाइन्छ भन्ने स्थापित गरिन् ।

‘दराजबाट एकदमै राम्रो बिक्री हुन थाल्यो । ग्राहकले पनि राम्रो प्रतिक्रिया दिए,’ उत्साहित हुँदै सिना सुनाउँछिन् ।

उनले सोचेकै थिइनन् प्रोटिन व्यवसाय यति राम्रो होला भनेर । एक वर्ष पूरा नहुँदै उनको व्यवसायले राम्रो गति लियो । नाफा पनि राम्रै भइरहेको थियो । प्रोटिन व्यवसायसँगै अरू पनि केही गर्न सकिन्छ कि भनेर उनी घोत्लिरहन्थिन् ।

प्रोटिनसँगै थालिन् ब्याग व्यवसाय

सिनाको त्यो सोच पूरा गर्न प्रोटिन व्यवसायमा जस्तै अर्को साथीको सहयोग मिल्यो । उनको पोखराका एक साथीले ब्याग व्यवसाय गरिरहेकी थिइन् । तिनले सिनालाई पनि ब्याग व्यवसाय सुरु गर्न सल्लाह दिइरहेकी थिइन् । तर उनले खासै ध्यान दिइरहेकी थिइनन् ।

एक दिन ती साथीले केही ब्यागको फोटो पठाइन् । सिनालाई ब्याग एकदमै मनपर्‍यो, अरूभन्दा फरक लाग्यो । त्यसपछि उनले ब्याग व्यवसायमा हात हालिन् ।

‘नेपालमा बन्ने ब्याग पनि भारतीय कालिगढहरूले नै तयार गर्ने हो तर डिजाइन मात्र हामीले दिने हो,’ सिना थप्छिन्, ‘त्यसैले यता धेरै लगानीमा कारखाना सुरु गर्नुभन्दा आफ्नो डिजाइन दिएर भारतबाटै सामान आयात गर्ने सोच बनाएँ ।’

त्यसपछि उनले आकर्षक डिजाइनका मेटल ब्याग व्यवसाय सुरु गरिन् । ‘५० हजार लगानीमा ब्याग व्यवसाय थालें । त्यसलाई पनि ग्राहकले असाध्यै रुचाए,’ उनी भन्छिन् ।

एकैपटक २० देखि २५ थान अर्डर आउन थालेपछि उनको ऊर्जा झन् बढ्यो । प्रोटिन र ब्याग व्यवसायबाट महिनाको करिब दुई लाख रुपैयाँसम्म नाफा हुन थाल्यो ।

दुई व्यवसाय सिना एक्लै सम्हाल्छिन् । जागिर त छँदैछ । ‘अफिसबाट साँझ ५ बजे छुटेर सामान लिन ट्रान्सपोर्ट कार्यालय पुग्थें । स्कुटरमा अगाडि-पछाडि सामानको ठूलो भारी बाँधेर आउँदा सबैले मलाई हेर्थे,’ व्यवसाय सुरु गर्दाका दुःख सम्झिन्छिन्, ‘अनि म मनमनै सोच्थें, मैले गरेको मिहिनेत खेर जाँदैन, मेरो पनि दिन आउँछ ।’

अहिले धेरै युवा नेपालमा केही गर्न सकिंदैन भनेर विदेशिइरहेका छन् । तर मिहिनेत गर्‍यो भने नेपालमा गर्न नसकिने केही नरहेको सिनाको अनुभव छ ।

‘नेपालमा व्यवसाय गर्न इच्छुकका लागि धेरै अवसर छन् । बजार अध्ययन गरेर योजनाबद्ध ढंगले अघि बढ्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ,’ सिना भन्छिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?