+
+

पार्टी फुटाए, विधान बदले, अझै दोहोरिन चाहन्छन् माधव–झलनाथ

आफूले उत्पादन गरेका कार्यकर्ता नै पार्टी हाँक्न योग्य भइसक्दा पनि माधव र झलनाथ पद छाड्ने मुडमा छैनन् । अझै पनि आफू नै योग्य भएको दलिल पेश गर्दै उनीहरु नेतृत्वको भित्री दौडमा छन् ।

दिपेश शाही दिपेश शाही
२०८० माघ १७ गते ११:२५

१७ माघ, काठमाडौं । रामकुमारी झाँक्री पाँच वर्षकी छँदा झलनाथ खनाल नेकपा (माले) का महासचिव चुनिएका थिए । ०३९ सालमा मालेको केन्द्रीय समिति सदस्यबाट एकैपटक महासचिव हुँदै गर्दा खनालले तत्कालिन मालेका चार जना पोलिटब्यूरो सदस्यमध्ये एक माधव कुमार नेपाललाई समेत उछिनेका थिए ।

महासचिव सीपी मैनालीसँगै पोलिटब्यूरोमा रहेका नेपाल, जीवराज आश्रित र मोदनाथ प्रश्रितलाई उछिनेर खनाल पार्टीको महासचिव बनेका थिए । त्यसको ४० वर्षपछि आज माधव नेपाल अध्यक्ष र खनाल सम्मानित नेता रहेको पार्टी एकीकृत समाजवादीमा रामकुमारी झाँक्री सचिव भइसकेकी छन् ।

लोकतान्त्रिक गणतन्त्र ल्याउन ०६२/६३ मा चलेको जनआन्दोलनकी ‘पोस्टर गर्ल’ मानिएकी झाँक्री एकीकृत समाजवादीभित्र नेपाल र खनाल दुवै नेतालाई सिधासिधा चुनौती पेस गर्ने एक मात्रै शक्तिशाली नेतृ हुन् । तर उनले जतिसुकै चुनौती दिए पनि शीर्ष नेताहरुले आफनो पद छाड्ने कुनै संकेत छैन । किनभने अहिले पनि नेपाल र खनाल दुवै नेता, दुई वर्षअघि एमाले विभाजन गरेर बनेको पार्टी एकीकृत समाजवादीको नेतृत्व हत्याउने दौडमा छन् ।

नेपाल र खनाल दुवैलाई बुझेका राजनीतिक विश्लेषक नारायण ढकाल सत्ताको लालसाले उनीहरू फेरि पनि पार्टीको सत्ता (नेतृत्व) छाड्न चाहिरहेका छैनन् । ‘पार्टीको सत्तामा रहिरहनु भनेको भोलि राज्यको सत्तामा पनि जाने सम्भावना कायम रहनु हो । माधव नेपालमा फेरि पनि प्रधानमन्त्री हुने लोभ स्पष्ट देखिन्छ । झलनाथजीमा पनि त्यो लालसा देखिन्छ’, विश्लेषक ढकाल भन्छन्, ‘यो नेपाली राजनीतिको आधारभूत विशेषता जस्तो भइसक्यो, अरूलाई बाटो नदिने र सधैँ आफू मात्रै नेतृत्वमा रहने । यिनीहरू पनि अवपाद देखिएनन् ।’

अन्यथा एमालेसँग गरेको पार्टी विभाजनको पुष्टि गर्न नसकेको अवस्थामा नेतृत्व चयनमा उदारता देखाउनुको सट्टा आफू अनुकूल बनाउन खोज्नुको औचित्य नदेखिने ढकालको बुझाइ छ ।

एकीकृत समाजवादी पार्टी गठनमा महत्वपूर्ण भूमिका खेलेका र त्यसपछि हाल पदाधिकारी तहमा रहेको दोस्रो तहका कुनै पनि नेताले नेतृत्वमा हस्तक्षेप गर्ने आँट गरेको देखिँदैन । बरु झाँक्री स्वयं आज पार्टीभित्र बोलेको सुनुवाइ हुनु त टाढैको कुरा बोल्न समेत नपाइने अवस्था रहेको गुनासो गर्दै हिँड्नु पर्ने बाध्यतामा छिन् ।

नेपाल र खनालले नेतृत्व गर्दाका बखत एमालेमा रहेर लामो समय राजनीति गरेका वाम विश्लेषक झलक सुवेदी उनीहरू अहिले रहेको स्थानबाट राष्ट्रिय राजनीतिको एजेन्डा सेटिङ गर्न सक्ने सम्भावना नरहेको बताउँछन् । ‘नेपाल र खनाल अहिले जहाँ छन् त्यहाँबाट राष्ट्रिय राजनीतिको एजेन्डा सेटिङ गर्न सक्दैनन्’, उनी भन्छन्, ‘माधवले पहिले १५ वर्ष निरन्तर पार्टीको नेतृत्व गरे । अहिले पनि दुई वर्षभन्दा बढी भइसक्यो । खनालले पनि ०३९ सालदेखि पटकपटक पार्टीको नेतृत्व गरिसकेका छन् । दुवैले पार्टीको नेतृत्व मात्रै होइन, प्रधानमन्त्री भएर देशको समेत नेतृत्व गरिसके । अब उनीहरूसँग त्यस्तो कुनै विचार र भिजन छैन जुन परीक्षण हुन बाँकी होस् ।’

सुवेदीका नजरमा उनीहरूले योभन्दा बढी जे खोजिरहेका छन् त्यो भनेको पार्टीका अरू कार्यकर्ताको राजनीतिक भविष्यमाथिको बेइमानी मात्रै हो ।

फेरि पनि नेतृत्व लिन दौड

दुई वर्षअघि विशाल पार्टी एमाले विभाजन गरेर एकीकृत समाजवादी गठनका बेला निर्वाचन आयोगको आँगनमा रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालको हात समातेर भीड छिचोलिरहेको दृश्यले चर्चा बटुलेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आलोचनाको लहर चलिरहँदा नेपालले नयाँ पार्टी गठनका लागि लिएको आँट आफँैमा प्रशंसनीय थियो । त्यसमा झाँक्रीजस्ता युवा पुस्ताका नेताले दिएको ढाडस बलियो जग थियो । खनाल त्यतिबेला स्वास्थ्य उपचारका लागि भारतको दिल्लीमा थिए । उनले उतैबाट वारेसनामा गरेर पार्टी विभाजनका लागि निर्वाचन आयोगमा आफ्नो मत राखेका थिए ।

पार्टी विभाजनको दुई वर्षपछि एकीकृत समाजवादी नवगठित पार्टीको पहिलो महाधिवेशनको तयारीमा छ । नेतृत्वको लागि मुख्य दुई नेता नेपाल र खनालबीच रस्साकस्सी चलिरहेको छ । घोषणा भइसकेको महाधिवेशनका लागि प्रस्तावित विधान यीनै दुई नेतालाई नेतृत्वदायी भूमिका रहेको चालिस वर्षपछि पुनः भारी बोकाउने गरी तयार भएको छ ।

एकीकृत समाजवादीले आगामी जेठमा पार्टीको राष्ट्रिय महाधिवेशन घोषणा गरेको छ, त्यसअघि विधान अधिवेशन पनि गर्ने भएको छ । त्यसैको तयारी स्वरुप विभिन्न तहका बैठकहरू धमाधम गरिरहेको एकीकृत समाजवादीले गत पुस पहिलो साता बसेको सचिवालय बैठकबाट पार्टीको विधानमा ७० वर्षे उमेर हदलाई हटाउने प्रस्ताव अगाडि सारेको छ । सोमबार पार्टीको केन्द्रीय परिषद् बैठक सम्पन्न हुँदासम्म विधानमा राखिएको उक्त प्रस्तावमाथि कुनै पनि नेताले फरक मत राख्न सकेका छैनन् ।

विश्लेषक सुवेदीका भनाइमा राजनीतिक दलभित्रको परम्परागत संरचनाले सक्छु भन्ने नेतालाई पनि अघि बढ्ने आँट आइरहेको छैन ।

तर नेपाल र खनाल भने पार्टीको विधानलाई आफू अनुकुल हुने गरी निरन्तर अघि बढिरहेका छन् ।

त्यसको एउटा रोचक उदाहरण हो, महाधिवेशनका लागि तय भएको मिति । यसअघि एकीकृत समाजवादीले माघ तेस्रो हप्तामा पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको थियो । तर, अध्यक्ष नेपाल र सम्मानित नेता खनालको उमेर ७० वर्षमुनि र माथि हुँदा महाधिवेशनको मिति नै जेठमा सरेको हो ।

खनालको उमेर पहिले नै ७० वर्ष कटिसकेको छ भने नेपाल आगामी फागुनमा त्यो उमेर कटाउँदै छन् । माघमा महाधिवेशन हुँदा र उमेर हद कायम रहँदा खनाल अध्यक्षको प्रतिस्पर्धामा नेपालसँग मैदान बाहिर पर्थे । त्यसलाई रोक्न राष्ट्रिय सभाको निर्वाचन र तयारीको अभाव देखाउँदै नेपाल र खनाल दुवै अध्यक्षका लागि प्रतिस्पर्धा गर्न पाउने गरी महाधिवेशनको मिति जेठमा पु¥याइएको लुकेको छैन ।

राजनीतिमा उमेरको हद कति स्वाभाविक भन्ने प्रश्नले स्थान पाइरहेका बेला एकीकृत समाजवादीमा पनि यो प्रश्नले स्थान पायो र अब करिब सकिसकेको छ भन्दा हुन्छ । जसको केन्द्रमा आजभन्दा ४८ वर्षअघि २०३२ सालमा गठन भएको आजको एमाले र एकीकृत समाजवादीको जग मानिने तत्कालीन कोर्डिनेसन केन्द्र (कोके) का संस्थापकहरू नेपाल र खनालको नेतृत्व चाहनाले काम गरेको छ ।

एकीकृत समाजवादी गठन भएको दुई वर्षमा नै पार्टी टिक्छ कि टिक्दैन भन्ने आशंका व्याप्त छ । पार्टीमा दोस्रो तहका भनिएका नेताहरू नेतृत्वका लागि दावी गर्नु त धेरै टाढाको सपनाजस्तो ठानिरहेका छन् । यद्यपि, त्यो पार्टीको विधान होइन, नेतृत्वको व्यवहार बलियो कारण बनेको देखिन्छ ।

भर्खरै गठन भएको पार्टीमा झगडा गरेर कमजोर बनाउन कसैलाई आँट छैन । तर नयाँलाई स्थान दिने र स्थापित गर्नेमा मुख्य नेताहरूको पनि चासो छैन ।

राजनीतिक विश्लेषक ढकाल एमालेसँगको विभाजनको पुष्टि गर्ने एकीकृत समाजवादीको नेतृत्वलाई गाह्रो भइरहेको बताउँछन् । ‘विद्रोह गर्ने भनेपछि विचार, सिद्धान्त, संघर्ष र संगठन सबै कुरामा विद्रोह होला । यो पार्टी जसरी बन्यो त्यसको पुष्टि गर्नुपर्ने होला’, उनी भन्छन्, ‘त्यो देखिएन ।’

निरन्तर नेतृत्वमा रहेको विगत

अहिलेका कम्युनिस्ट पार्टीहरू एमाले र एकीकृत समाजवादीको विरासत २०३२ सालमा स्थापना भएको अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन केन्द्र (कोके) हो । कोकेका स्थापना गर्ने नेताहरूमा झलनाथ खनाल र माधव नेपालसँगै सीपी मैनाली, अमृत बोहोरा, मणिलाल राई, रामचन्द्र यादव, मुकुन्द न्यौपाने र गोविन्द न्यौपाने पनि थिए । त्यतिबेला केपी ओली भने जेलमा थिए ।

कोके पछि नेकपा (माले) मा परिणत भयो । कोकेको २०३५ पुस ११–१७ मा सम्पन्न भएको पहिलो सम्मेलनबाट नेकपा माले बनेको थियो । मालेको पहिलो केन्द्रीय कमिटीको महासचिव सीपी मैनाली बने । मालेको १० सदस्यीय कमिटीमा मैनालीपछि माधव नेपालसँगै रत्नकुमार वान्तवा, मदन भण्डारी, ईश्वर पोखरेल, मकुन्द न्यौपाने, अमृत बोहोरा, जीवराज आश्रित, प्रदीप नेपाल र मोदनाथ प्रश्रित थिए । कोकेबाट माले बन्दा झलनाथ खनाल भने जेलमा थिए । जेलबाट छुटेपछि मात्रै उनलाई केन्द्रीय कमिटीमा ल्याइएको थियो ।

सीपीसहित माधव नेपाल, जीवराज र मोदनाथ चार सदस्य पोलिटब्यूरोमा थिए ।

महासचिव सीपी मैनालीले २०३९ सालमा जेलमा रहेका राधाकृष्ण (आर.के.) मैनालीलाई पत्र लेखेको भन्दै सूचना लिक हुनसक्ने अनुमान नगरेको कारण देखाएर पार्टीको कारवाहीमा परे । सीपी मैनाली कारबाहीमा परेपछि जेलबाट निस्केर केन्द्रीय समितिमा अटेका झलनाथ खनाल महासचिव बने । त्यतिबेला माधव नेपाल र जीवराज आश्रितलाई उछिन्दै केन्द्रीय सदस्य मात्र रहेका खनाल महासचिव बनेका थिए । नेपाल र मैनाली बीचको शक्ति संघर्षका कारण खनालले उक्त अवसर पाएका थिए ।

एमालेमा जनताको बहुदलीय जनवाद (जबज) को अवधारणा अगाडि सार्ने नेता मदन भण्डारी झलनाथ खनाल महासचिव भएकै बेला २०४१ सालमा पोलिटब्यूरो सदस्य बनेका थिए ।

तत्कालीन मार्क्सवादी र मालेबीच २०४७ पुस २२ गते भएको एकतापछि नेकपा (एमाले) घोषणा भयो । एकतापछि मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव चुनिए । त्यसको दुई वर्षपछि २०४९ माघ १४–२० मा पाँचौँ महाधिवेशन भयो ।

भण्डारीले ल्याएको जबज महाधिवेशनबाट पारित भएपछि सीपी मैनाली, झलनाथ खनाल, मोहनचन्द्र अधिकारीलगायत नेता उनको विरोधमा थिए । कतिसम्म भने महाधिवेशनको केन्द्रीय समिति र नेतृत्व चयनमा समेत मैनाली र खनालले भाग लिएनन् । उनीहरूले बहिस्कार गरेकै कारण चुनावी प्रक्रिया रद्द गरेर एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको थियो भने अधिकारी अध्यक्ष र भण्डारी महासचिवमा दोहोरिएका थिए ।

तर मदन भण्डारी महासचिव निर्वाचित भएको चार महिनामा नै दासढुंगा जिप दुर्घटनामा उनको मृत्यु भयो । मदनको मृत्यु भएपछि २०५० जेठ ९ गते एमाले केन्द्रीय कमिटीको बैठकबाट माधव नेपाल एमालेको सर्वसम्मत महासचिव भएका थिए । माधव नेपाल त्यसपछि निरन्तर १५ वर्षसम्म पार्टीको नेतृत्वमा रहे ।

केपी ओली त्यतिबेला मात्रै पार्टीको पोलिटब्यूरो सदस्य बनेका हुन् । जेलबाट २०४४ सालमा छुटेपछि ओली तत्कालीन मालेको केन्द्रीय सदस्य र लुम्बिनी अञ्चलको इन्चार्ज भएका थिए । त्यसपछि २०४७ सालमा स्थापना भएको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष भएका ओली पहिलोपटक एमालेको पोलिटब्यूरोमा माधव महासचिव बनेपछि मात्रै पुगेका थिए ।

कोकेका आठ जना संस्थापक र माले गठन भएपछिका तीन जनाको ‘ट्रोइका’ पोलिटब्यूरोमा सीपी मैनाली र जीवराज आश्रितसँगै रहेका माधव नेपाल मदन भण्डारीको मृत्युपछि नेतृत्वमा तहमा पुगेका थिए । त्यसअघि माधव नेपाल मुख्य नेतृत्वमा पुग्न नसके पनि शीर्ष तहको नेता सधैँ प्रभावशाली भूमिका रहेका थिए ।

माधव नेपाल महासचिव भएपछि २०५१ सालको आमनिर्वाचनमा एमाले पहिलो ठूलो पार्टी भयो । ठूलो पार्टी भएर पनि एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनाउनु पर्यो । उक्त सरकारमा महासचिव माधव नेपाल पहिलोपटक उपप्रधानमन्त्री भए भने शक्तिशाली मानिने रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिए । एमालेले नेतृत्व गरेको त्यो नौ महिने सरकारको कार्यकाल लोकप्रिय रह्यो । त्यसको ‘मास्टर माइन्ड’ माधव नेपाललाई मानिन्छ ।

त्यतिबेला माधव नेपाल कति शक्तिशाली थिए भने उनले नै केपी ओलीलाई गृहमन्त्री बनाएका थिए भने उपमहासचिवको जिम्मेवारी पाएका बामदेव गौतमलाई पाखा लगाएर पार्टीको तेस्रो वरीयता दिलाएको नेताहरू बताउँछन् । पहिलो वरीयतामा अध्यक्ष अधिकारी र दोस्रोमा महासचिव नेपाल नै थिए ।

प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा कृषि र भूमिसुधार तथा व्यवस्था र वन तथा भूसंरक्षणमन्त्री भएका झलनाथ खनाल २०५३ मा गठबन्धन सरकारका सूचना तथा सञ्चारमन्त्री भएका थिए ।

एमालेले २०५४ माघ १२–१८ सम्म नेपालगञ्जमा सम्पन्न गरेको छैटौं महाधिवेशनबाट माधव नेपाल पुनः महासचिव चुनिए । त्यसबेला महाकाली सन्धिको विवादमा फसेको एमाले महाधिवेशनलगत्तै फागुन २१ मा विभाजन भयो । सहाना प्रधान अध्यक्ष र वामदेव गौतम महासचिव रहेर नेकपा माले गठन भयो । पार्टी विभाजन हुँदा पनि २०५६ सालमा भएको आमनिर्वाचनमा फेरि पनि एमाले दोस्रो ठूलो पार्टी भयो । त्यसमा माधव नेपालको भूमिकाले काम गरेको विश्लेषण हुन्छ ।

विभाजनको चार वर्षपछि २०५८ फागुन ४ गते वामदेव गौतम एमालेमा फर्किएर एकता गरे । एकता भएको एक वर्षपछि २०५९ सालमा भएको सातौँ महाधिवेशन भयो । उक्त महाधिवेशनबाट माधव नेपाल पुनः पार्टीको महासचिव बने ।

त्यसपछि २०६१ जेठमा एमाले राजाले गठन गरेको मन्त्रिमण्डलमा सहभागी भयो, तर माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले पूर्णरुपमा सत्ता हातमा लिए । साथै, संकटकाल घोषणा गरेर माधव नेपाललगायत नेताहरूलाई नजरबन्दमा राखे । माधव नेपाल नजरबन्दमा परेपछि एमाले कार्यवाहक महासचिवको जिम्मेवारी झलनाथ खनालले पाए ।

त्यसपछि मुलुकमा ०६२/०६३ सालको आन्दोलन भयो र माओवादी शान्ति प्रक्रियामा आयो । शान्ति प्रक्रिया सुरु भएपछि २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा एमाले महासचिव माधव नेपाल रौतहट र काठमाडौं दुवै ठाउँबाट माओवादी उम्मेदवारसँग पराजित भए ।

निर्वाचनमा एमाले तेस्रो पार्टी बनेपछि माधव नेपालले हारको नैतिक जिम्मेवारी लिएर महासचिव पदबाट राजीनामा दिए । उनको स्थानमा झलनाथ खनाल महासचिव भए ।

माधव नेपालले पार्टी नेतृत्वबाट राजीनामा दिएको एक वर्ष नबित्दै एमालेको आठौँ महाधिवेशन भयो । २०६५ फागुन ५–१४ सम्म बुटवलमा महाधिवेशन भयो, तर माधव नेपालले चुनाव नउठ्ने घोषणा गरे । उक्त महाधिवेशनबाट केपी ओलीलाई पराजित गर्दै झलनाथ खनाल पार्टी अध्यक्ष भए ।

दुई निर्वाचन क्षेत्रबाट हारे पनि माधव नेपाल संविधान सभा सदस्यमा मनोनित गरिए । त्यति नै बेला उनी पहिलो पटक २०६६ जेठ ११ देखि २०६७ माघ २२ सम्म प्रधानमन्त्री भए । माधव नेपालले राजीनामा दिएसँगै २०६७ माघ २३ देखि २०६८ भदौ ११ गतेसम्म झलनाथ खनाल प्रधानमन्त्री बने ।

एमालेले २०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौंमा सम्पन्न गरेको नवौं महाधिवेशनबाट माधव पुनः एमालेको नेतृत्वमा आउन केपी ओलीसँग प्रतिस्पर्धा गरेका थिए । तर पराजित भएपछि उनको नेतृत्वमा पुग्ने चाहनामा ब्रेक लाग्यो । त्यसपछि २०७८ सालमा एमाले विभाजन गरेपछि उनी एकीकृत समाजवादीको अध्यक्ष बन्न पाए ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?