+
+

फेसबुकका २० वर्ष : चार कुरा जसमार्फत् संसार बदल्यो फेसबुकले

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १२:००

काठमाडौं । यहाँ रहेको तस्वीर हेर्नुहोस् । त्यतिबेला फेसबुक यस्तो देखिन्थ्यो र त्यसबेला यसको नाम थियो ‘द फेसबुक’ । यो २० वर्ष पुरानो कुरा हो जब मार्क जुकरबर्गले आफ्ना केही साथीहरुसँग मिलेर यसलाई सार्वजनिक गरेका थिए ।

विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफर्म फेसबुकलाई त्यसबेलादेखि अहिलेसम्म दर्जनौंपटक रि–डिजाइन गरिसकिएको छ ।

तर यसको उद्देश्य उही हो, मानिसहरुलाई अनलाइनमा जोड्नु वा उनीहरुको बीच सम्पर्क स्थापित गराउनु अनि विज्ञापनका माध्यमबाट पैसा कमाउनु ।

फेसबुकको सुरुवात भएको २० वर्ष भएको छ । आउनुहोस् फेसबुकसँग सम्बन्धित चारवटा महत्वपूर्ण तथ्यबारे जानौँ, जसको माध्यमबाट फेसबुकले संसार बदलेको छ ।

१. फेसबुकले बदल्यो सोसल मिडियाको खेल

फेसबुक सुरु हुनुअघि माइस्पेस जस्ता सोसल नेटवर्कहरु अस्तित्वमा थिए । तर मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक लन्च गरेसँगै यसले गति पक्रियो र यस्तो खालका अनलाइन साइटले कस्तो खालको दबदबा बनाउन सक्छन् भन्ने सावित गर्यो ।

एकवर्ष भन्दा कम समयमै फेसबुकका प्रयोगकर्ताको संख्या १० लाख पुगेका थिए । त्यस्तै चार वर्ष भित्रमा यसले माइस्पेसलाई पछाडि पार्यो । यो प्रगतिका पछाडि फेसबुकका विभिन्न खालका क्षमताहरुको भूमिका थियो, जस्तो कि तस्वीरमा मानिसलाई ट्याग गर्ने विकल्प दिनु ।

नाइट आउटका बेला डिजिटल क्यामेरा साथमा हुनु, कैयन् तस्वीरमा आफ्ना साथीहरुलाई ट्याग गर्नु जस्ता कामहरु सन् २००० को दशकको अन्तिम वर्षहरुमा किशोर–किशोरीहरुको जीवनको अभिन्न हिस्सा बनेको थियो । सुरुवाती प्रयोगकर्तालाई यसले लगातार फिड परिवर्तन गर्न पनि लोभ्याउँथ्यो ।

सन् २०१२ को सुरुवातमै फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको थियो सन् २०२१ को अन्तिम महिनामा चाहिँ पहिलोपटक फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ९२ करोडसम्म गिरावट आयो । यदि त्यसलाई छाड्ने हो भने फेसबुकका प्रयोगकर्ता लगातार बढिरहेका छन् ।

जुन देशहरु कनेक्टिभिटीको मामिलामा पछाडि छन्, त्यहाँसमेत फेसबुकले आफ्नो पाइला राखेको छ र निःशुल्क इन्टरनेटको अफर दिएको छ । यी कम्पनी फेसबुक प्रयोगकर्ताको संख्या लगातार वृद्धि गराउनमा सफल रहे । सन् २०२३ को अन्त्यमा फेसबुकले आफ्ना दैनिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको जानकारी दिएको थियो ।

यद्यपि युवाहरुबीच फेसबुक पहिलोजस्तो लोकप्रिय छैन तथापि यो अहिले पनि विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्क साइट हो र अनलाइन सोसल एक्टिभिटीको नयाँ युगको ढोका खोलेको छ ।

कतिपय मानिसहरु फेसबुक र यसका प्रतिस्पर्धी अन्य सोसल प्लाटफर्महरुलाई कनेक्टिभिटी ससक्त बनाउने औजारको रुपमा हेर्दछन् भने अन्य मानिसहरु यस्ता प्लाटफर्महरु मानिसलाई लतको सिकार बनाइदिने विध्वंशक एजेन्ट मान्दछन् ।

२. निजी डेटालाई मूल्यवान बनायो तर गोपनीयतामा पुरायो दखल

हामीलाई मन पर्ने र नपर्ने कुरा बारेको हाम्रा जानकारीहरु जुटाउनु निकै फाइदाजनक हुन्छ भन्ने कुरा फेसबुकले सावित गर्यो । अहिले फेसबुकको मातृ कम्पनी मेटा वास्तवमा एडभरटाइजिङ जाएन्ट अर्थात् विज्ञापनको दुनियाको बादशाह जस्तो हैसियत बनाएको छ ।

मेटा तथा गुगल जस्ता कम्पनीहरुले अहिले विश्वभरमा विज्ञापनमा हुने खर्चको सबैभन्दा ठूलो हिस्सा ओगट्छन् ।

मेटाका अनुसार सन् २०२३ को तेश्रो त्रैमासिकमा ३४ अर्ब डलर भन्दा धेरै रकम कमाएको छ । यसमा साढे ११ अर्ब डलरभन्दा धेरै मुनाफा भयो । आम्दानीको अधिकांस हिस्सा लक्षित विज्ञापनबाट आएको थियो । तर डेटा एकत्रित गर्ने कुरा कसरी दुरुपयोग हुनसक्छ भन्ने कुरा पनि फेसबुकले देखाएको छ ।

मेटामाथि निजी डाटाको गलत प्रयोग गरेको आरोपमा कैयन् पटक जरिवाना लागिसकेको छ ।

सार्वजनिक रुपमा सबैभन्दा धेरै चर्चा भएको घटना सन् २०१४ को क्याम्ब्रिज एनालिटिका काण्ड थियो । फेसबुकले यो काण्ड मिलाउनका लागि ७२ करोड डलरभन्दा धेरै क्षतिपूर्ति तिर्न तयार भएको थियो ।

सन् २०२२ मा फेसबुकले युरोपेली युनियनको तर्फबाट लगाइएको साढे २६ करोड युरो जरिवाना तिरेको थियो । उक्त जरिवाना फेसबुकको साइटबाट निजी डेटा एकत्रित गरेको आरोप लागेको थियो ।

गत वर्ष मेटा कम्पनीमाथि आइरिस डेटा सुरक्षण आयोगले कीर्तिमानी १ अर्ब २० करोड युरो जरिवाना लाग्यो । उक्त जरिवाना युरोपेली प्रयोगकर्ताहरुका डेटालाई क्षेत्राधिकारभन्दा बाहिर स्थानान्तरण गरेको आरोपमा लगाइएको थियो । फेसबुकले जरिवानाको विरुद्धमा अपिल गरेको छ ।

३. फेसबुकले गर्यो इन्टरनेटको राजनीतिकरण

फेसबुकले लक्षित विज्ञापनको सुविधा दिन्छ । यो विश्वभरमा चुनाव प्रचारप्रसारको प्रमुख प्लाटफर्म बनेको छ ।

उदाहरणका लागि सन् २०२० मा जब अमेरिकी राष्ट्रपति चुनावमा केवल पाँच महिना बाँकी थियो तब तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको टिमले फेसबुक विज्ञापनमा ४ करोड डलरभन्दा धेरै रकम खर्च गरेको थियो । यो तथ्यांक स्टेटिस्टा रिसर्चले जारी गरेको थियो ।

फेसबुकले भुईंतहको राजनीतिलाई परिवर्तन गर्न भूमिका पनि खेलेको छ । यी समूहहरुलाई एकजुट बनाउने, अभियान चलाउन तथा वैश्विक स्तरमा कदम उठाउनेसँग सम्बन्धित योजनाहरु बनाउने सुविधा पनि फेसबुकले दिन्छ ।

अरब स्प्रिङ्ग अर्थात् अरब क्रान्तिका बेला विरोध प्रदर्शन गर्ने तथा ठाउँ–ठाउँमा भएका घटनाहरुको खबर प्रसारण गर्नमा फेसबुक र ट्वीटरको भूमिका अहम् रहन गयो ।

तर केही नतिजालाई लिएर फेसबुकको राजनीतिक प्रयोगको आलोचना पनि हुने गर्छ । मानव अधिकारमा फेसबुकले पार्ने असर यसमा सामेल छ ।

सन् २०१८ मा फेसबुकले संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा सहमति प्रकट गरेको थियो । उक्त रिपोर्ट अनुसार म्यान्मारमा रोहिंग्या समुदायका मानिसहरुका विरुद्धमा हिंसाका लागि उक्साउने कार्यमा फेसबुक प्लाटफर्मको दुरुपयोगलाई रोक्न फेसबुक असमर्थ भएको थियो ।

मेटाले जब आफ्नो प्रतिस्पर्धी कम्पनीलाई खरीद गर्न पाउँदैन, त्यसबेला उसले कैयन् पटक ती कम्पनीमाथि आफ्नो नक्कल गरेको आरोप समेत लगाउने गरेको छ ताकि उसले आफ्नो दबदबा कायम राख्न सकोस् । तर वास्तवमा उसले चाहिँ अन्य प्लाटफर्मका विभिन्न फिचरहरुको नक्कल गरिरहेको हुन्छ ।

४. फेसबुकको माध्यमबाट मेटाको दबदबा

फेसबुकका अनगिन्ती सफलताहरुका माध्यमबाट मार्क जुकरबर्गले सोसल नेटवर्क बनाए र प्रविधिको साम्राज्य खडा गरेका छन् । प्रयोगकर्ताको संख्या र त्यसबाट प्राप्त शक्ति अतुलनीय छ ।

उदीयमान कम्पनीहरु, उदाहरणका लागि ह्वाट्सएप, इन्स्टाग्राम तथा अकुलसलाई फेसबुकले खरीद गर्यो । ती सबैलाई आफू मातहत ल्याएसँगै सन् २०२२ मा फेसबुकले आफ्नो कम्पनीको नाम नै बदल्यो र ‘मेटा’ बन्यो ।

मेटाका अनुसार अहिले ३ अर्बभन्दा धेरै मानिसहरुले हरेक दिन उसको कम्तिमा पनि एउटा प्रडक्ट प्रयोग गर्दछन् ।

मेटाले जब आफ्नो प्रतिस्पर्धी कम्पनीलाई खरीद गर्न पाउँदैन, त्यसबेला उसले कैयन् पटक ती कम्पनीमाथि आफ्नो नक्कल गरेको आरोप समेत लगाउने गरेको छ ताकि उसले आफ्नो दबदबा कायम राख्न सकोस् । तर वास्तवमा उसले चाहिँ अन्य प्लाटफर्मका विभिन्न फिचरहरुको नक्कल गरिरहेको हुन्छ ।

फेसबुक तथा इन्स्टाग्रामको डिस्एपियरिङ स्टोरिजको फिचर स्नापच्याटको एउटा अहम् फिचर जस्तै हो ।

इन्स्टाग्राम रिल्स मेटाको तर्फबाट भिडियो शेयरिंग एप टिकटकलाई दिइएको जवाफ हो । त्यस्तै मेटाको थ्रेड्सले एक्स (साविक ट्वीटर) को विकल्प बन्ने प्रयास गरेको थियो ।

अहिले रणनीतिको भूमिका निकै महत्वपूर्ण बनेको छ । बढ्दो प्रतिस्पर्धा तथा निगरानी निकायहरुको कडाईमा भैरहेको बढोत्तरीले यस्तो परिस्थितिको सिर्जना भएको हो ।

सन् २०२२ मा मेटाले घाटा सहेर पनि जिआईएफ निर्माता जिफी बिक्री गर्न बाध्य भयो । बेलायतको नियामक निकायले बजारमा यसको आवश्यकता भन्दा धेरै दबदबाबाट त्रसित हुँदै यसका सेवाहरुमाथि मेटालाई स्वामित्व राख्नबाट रोक लगायो ।

अबको २० वर्षमा के होला ?

फेसबुकको उभार तथा लगातार यसको दबदबा कायम राख्नुले मार्क जुकरबर्गको क्षमता प्रदर्शित हुन्छ र यसले फेसबुकलाई निरन्तर प्रासंगित बनाइराख्न सफल भएको छ ।

तथापि अबको दुई दशकसम्म पनि यसलाई सबैभन्दा लोकप्रिय सोसल नेटवर्क प्लाटफर्मको रुपमा कायमै राख्नु चुनौतिको पहाड सावित हुनसक्छ ।

मेटाले अहिले मेटाभर्सको अवधारणा वरिपरि व्यवसाय सिर्जना गर्ने कडा प्रयास गरिरहेको छ, र यसमा ऊ एप्पल जस्ता प्रतिस्पर्धी कम्पनीहरु भन्दा अगाडि बढ्ने कोसिसमा छ ।

मेटाका लागि आर्टिफिसियल इन्टेलिजेन्स पनि ठूलो प्राथमिकताको रुपमा रहेको छ ।

अर्थात् अहिले फेसबुकको आधारभूत जगबाट मेटा कम्पनी टाढिँदै गरेको अवस्थामा विश्वभर रहेको यो सोसल मिडिया नेटवर्क फेसबुकको भविष्य कस्तो होला त्यो हेर्नु रोचक हुनेछ ।

– बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?