+
+

दुर्घटनाका घाइतेले पाउँदैनन् समयमा उपचार, काठमाडौं आउनैपर्ने बाध्यता

दुर्घटनाका घाइतेलाई ४ घण्टाभित्र अस्पताल पुर्‍याउन सके बचाउने सम्भावना ६० प्रतिशतले बढ्छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० माघ १७ गते १७:३८
पहिरोमा घाइते भएकाहरूको उद्धार गर्दै सुरक्षाकर्मी । फाइल तस्वीर

१७ माघ, काठमाडौं । २५ असोजमा मोटरसाइकल दुर्घटनामा परेका गुल्मीका १८ वर्षीय रविन रानालाई परिवारका सदस्यले तत्काल बुटवलस्थित चौराह अस्पताल पुर्‍याए । त्यस रात त्यहीं उपचार गराएका उनको अवस्था जटिल बन्दै गएपछि अस्पतालले ललितपुरको बी एण्ड बी अस्पतालमा रेफर गरिदियो ।

घाँटीको हड्डी सरेर नसा च्यापिएका उनलाई त्यहाँका चिकित्सकले पनि उपचार गर्न नसक्ने भन्दै राष्ट्रिय ट्रमा सेन्टरमा लैजान सुझाव दिए । दुर्घटनाको तीन दिनपछि ट्रमा सेन्टरमा ल्याइएका रानाको मुटु र फोक्सोमा पनि इन्फेक्सन सुरु भइसकेको थियो । ट्रमा सेन्टरका चिकित्सक कुलदीप मंगल जोशीका अनुसार अप्रेशन गर्न ढिला भएका कारण फोक्सोमा पानी र रगत जमिसकेको थियो ।

‘घटना भएको एकदिन भित्रमा अप्रेशन गर्न सकिएको भए जटिलता देखिने थिएन’ डा. जोशीले अनलाइनखबरसँग भने, ‘चौराह, बी एण्ड बी हुँदै ट्रमा सेन्टरमा ल्याइपुर्‍याउँदा ढिलो भएकाले अप्रेशन गर्न सम्भव भएन ।’

तत्काल ट्रमा केयर भएको अस्पतालमा पुर्‍याउन सकिएको भए सायद आईसीयूमा राख्नुपर्ने अवस्था नआउने डा. जोशीको भनाइ छ । ‘राजमार्गमा कुनै ट्रमा सेन्टर छैनन् । बिरामीको आफन्तले पनि समयमै कहाँ लैजानुपर्ने सही सुझाव पनि पाउनुभएन । समयमै उपचार पाएको भए सायद उहाँ यो अवस्थामा पुग्नुहुँदैनथ्यो’, डा. जोशीले भने ।

राना तीन महिनादेखि ट्रमा सेन्टरको आईसीयूमा छन् । निमोनिया र पिसाबमा संक्रमण भइरहन्छ । मुटुले आफैं काम गर्न सकेको छैन । चिकित्सकका अनुसार अप्रेशन गर्न बिरामीको स्वास्थ्य अवस्था सामान्य हुनुपर्नेछ । अप्रेशन गरे पनि उनको हात–खुट्टा चल्ने सम्भावना कम रहेको चिकित्सकहरू बताउँछन् ।

ट्रमा सेन्टरको पाँचौं तलाको बेड नम्बर ५४९ मा सर्लाहीका ४५ वर्षीय ज्ञानु राय पीडाले छट्पटाइरहेका छन् । ६ माघमा घाँस काट्ने क्रममा बाँसको झ्याङबाट लड्दा उनको ढाडको दुईवटा हड्डी अगाडि सर्‍यो । नसा तन्कियो । बेहोश अवस्थामा नजिकैको मलंगवा अस्पताल लगियो । प्राथमिक उपचारपछि चिकित्सकले काठमाडौं लैजान सुझाव दिए । परिवारका सदस्यले त्यसै दिन मध्यरातमा ट्रमा सेन्टरमा ल्याइपुर्‍याए ।

उनको स्वास्थ्य जाँच गरेका चिकित्सक डा. रूपेश मण्डलका अनुसार अस्पताल ल्याइपुर्‍याउँदा रायको हात–खुट्टा चलेको थिएन । कसैले शरीरमा छोएमा उनले थाहा पाउँदैनथे । चिकित्सकहरू यस्तो अवस्थालाई ‘स्पाइनल सक’ भन्छन् । चिकित्सकले अप्रेशन गरे पनि रायको हातखुट्टा चलेको छैन, दिसा–पिसाब गराउन समेत औषधिको सहारा लिनुपर्छ । चिकित्सकका अनुसार रायलाई अब फिजियोथेरापीबाट मात्रै सुधार गर्न सकिन्छ ।

‘उहाँलाई ८ घण्टाभित्रमा औषधि चलाउन सकिएको भए केही सुधार हुनसक्थ्यो । तर टाढाबाट आउनुभएकाले औषधि चलाउन सम्भव भएन’, डा. मण्डलले भने ।

सवारी साधन तथा अन्य दुर्घटनामा चोटपटक लागेका बिरामीको उपचारका लागि हालसम्म जिल्ला र प्रदेशस्तरमा कुनै अस्पताल छैनन् । यसका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता छ ।

ट्रमा सेन्टरको तथ्यांक अनुसार सडक दुर्घटना र अन्य कारणले चोटपटक लागेका बिरामी औसतमा एक दिनपछि मात्रै ट्रमा सुविधा भएको अस्पतालमा आइपुग्छन् । जसका कारण बिरामीको स्वास्थ्यमा जटिलता देखिइसक्छ ।

वीर अस्पतालका वरिष्ठ न्यूरोसर्जन डा. राजीव झाका अनुसार टाउको वा मेरुदण्डमा चोटपटक लागेका बिरामीलाई ४ घण्टाभित्र अस्पताल ल्याएमा बचाउन सक्ने वा जटिलतालाई कम गर्ने सम्भावना धेरै हुन्छ ।

‘चोटपटक लागेका बिरामीले ४ घण्टाभित्रमा उपचार पाउँदा मृत्युबाट बचाउन सकिने वा प्यारालाइसिस हुने सम्भावना कम हुन्छ’ डा. झा भन्छन्, ‘तत्कालै बिरामीलाई उपचार गर्न सकियो भने मृत्युबाट बचाउन सक्ने सम्भावना ६० प्रतिशतले बढेर जान्छ ।’

प्रदेशमा ट्रमा सेन्टर योजनामा मात्र

सरकारले सडक दुर्घटनामा तत्काल नै उपचार पाउन नसक्दा मृत्यु हुने संख्या बढ्दै गएपछि प्रत्येक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने नीति लियो । प्रदेश अन्तर्गत रहने गरी बढी दुर्घटना हुने क्षेत्रको नजिक ट्रमा सेन्टर स्थापना गर्ने योजना सहित २०७७ सालमा ट्रमा सेवा सञ्चालन सम्बन्धी कार्यविधि समेत ल्याएको थियो ।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका अनुसार बर्दघाट नवलपरासी पश्चिममा ५० बेडको ट्रमा सेन्टर निर्माण गर्न स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा गत १६ साउनमा पत्र पठाइएको छ । बहुवर्षीय योजनाका लागि हाल २० करोड रुपैयाँ मागे पनि अर्थ मन्त्रालयले स्वीकृति दिएको छैन ।

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा रूपन्देहीको सैनामैना, नवलपरासीपूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा सम्भाव्यता अध्ययन गरी ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गरिएको थियो । तर ती ठाउँमा अस्पताल निर्माण अघि नबढेको मन्त्रालयका अधिकारी बताउँछन् ।

ठूलो संख्यामा विशेषज्ञ सहितको जनशक्ति आवश्यक पर्ने र अस्पताल निर्माणका लागि ठूलो खर्च हुने भएकाले बजेट वक्तव्यमा उल्लेख गरिएको ठाउँमा ट्रमा सेन्टर निर्माण थालनी हुन नसकेको अधिकारीहरू बताउँछन् ।

मन्त्रालयले हाल १०० शय्या भन्दा माथिका अस्पतालमा १५ शय्याको प्राथमिक ट्रमा युनिट स्थापना गर्ने, १०० शय्याका अस्पतालमा ५ देखि १० शय्याको ट्रमा युनिट थप गरी सञ्चालन गर्ने नीति लिएको छ ।

यस्ता अस्पतालमा जनशक्ति, ल्याब, मेशिनरी औजार, एक्सरे लगायत अन्य सेवाहरू एकीकृत रूपमा सञ्चालन गर्न सकिने मन्त्रालयको भनाइ छ । प्रवक्ता डा. प्रकाश बुढाथोकी सातै प्रदेशमा ५० शय्याको ट्रमा सेन्टर बनाउने योजना भए पनि जनशक्ति, उपकरण र आर्थिक भार धान्न कठिन भएको बताउँछन् ।

‘बर्दघाट नवलपरासी पश्चिममा बढी आवश्यकता भएकाले त्यहाँ निर्माण गर्न प्राथमिकता दिएका छौं । तर स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पत्र पठाए पनि कुनै जवाफ आएको छैन’ प्रवक्ता डा. बुढाथोकीले भने, ‘अन्य स्थानमा ट्रमा सेन्टर बनाउने योजना अहिलेको अवस्थामा सम्भव नहुनसक्छ ।’

६७ प्रतिशत बिरामी रातिमा पुग्छन् अस्पताल

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको एक तथ्यांकका अनुसार सडक दुर्घटना वा चोटपटक लागेका ६७ प्रतिशत बिरामी राति ९ बजेपछि अस्पताल पुग्छन् । त्यस्तै २८ प्रतिशत बिरामी दिउँसो ३ देखि राति ९ बजेभित्र र ३५ प्रतिशत बिहान ९ देखि दिउँसो ३ बजेसम्म अस्पताल पुग्छन् । धेरै बिरामी राति मात्र अस्पताल आउनुको कारण अस्पताल टाढा भएकाले हो ।

नेपालमा सडक दुर्घटनामा हरेक वर्ष २ हजार ५०० भन्दा बढीको ज्यान जाने गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा २ हजार ७८९, २०७६÷७७ मा २ हजार २५१, २०७७÷७८ मा २ हजार ५००, २०७८÷७९ मा २ हजार ८८३, २०७९÷८० मा २ हजार ३६८ र २०८० मंसिरसम्ममा ९१६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनका अनुसार दुर्घटनास्थलमा घाइते हुनेलाई सही तरिकाले उद्धार र तत्काल उपचारका लागि पुर्‍याउन सके मृत्यु घटाउन सकिन्छ ।

‘बिरामीलाई जति छिटो अस्पताल ल्याउन सकियो ज्यान बचाउने सम्भावना त्यति नै बढी हुन्छ’ डा. महर्जन भन्छन्, ‘एक त समयमै बिरामी अस्पताल ल्याइपुर्‍याउन मुश्किल छ । ल्याए पनि उद्धारमा सही तरिका अपनाइएको पाइँदैन ।’

शिक्षण अस्पतालको तथ्यांक अनुसार सडक दुर्घटनाका घाइतेमध्ये ४० प्रतिशत एम्बुलेन्समा, ४५ प्रतिशत ट्याक्सीमा र ११ प्रतिशत अन्य सवारी साधनमा ल्याइन्छन् ।

डा. महर्जनका अनुसार मृत्यु हुने प्रमुख कारण सही तरिकाले बिरामीलाई अस्पताल नपुर्‍याउनु हो । दुर्घटनाका बिरामीलाई दुर्घटनास्थलमै प्राथमिक उपचारको खाँचो हुन्छ ।

‘रगत बगिरहेको अवस्थामा बिरामीलाई पहिलो प्राथमिक उपचारको आवश्यकता पर्छ’ डा. महर्जन भन्छन्, ‘दुर्घटनास्थलमा जस्तो अवस्थामा मानिस भेटियो, त्यस्तै अवस्थामा जुनसुकै सवारी साधनमा हालेर अस्पताल पुर्‍याइन्छ । सही संयन्त्र नहुनाले मृत्युको संख्या बढाएको छ ।’

दुर्घटनापछि अस्पताल ल्याउने समय ढिला हुनु तथा जनचेतनाको कमिले पनि घाइतेको मृत्यु हुने जोखिम धेरै हुने ट्रमा सेन्टरका स्पाइन सर्जन डा. समाज गौतम बताउँछन् ।

डा. गौतमका अनुसार दुर्घटनापछिको दुई घण्टा समय मानिसको ज्यान बचाउनका लागि ज्यादै महत्वपूर्ण हुन्छ । बिरामी ६ घण्टाभित्र अस्पताल आइपुग्दा पनि स्वास्थ्य अवस्था जटिल बन्न पाउँदैन ।

‘अधिकांश मानिसको दुर्घटनापछि अस्पताल ल्याउने समय लामो हुने भएकाले बिरामीको बाटोमा मृत्यु हुन्छ’ डा. गौतम भन्छन्, ‘तत्काल एम्बुलेन्स उपलब्ध नहुनु, अस्पताल टाढा हुनु जस्ता कारणले ज्यान बचाउन मुश्किल हुन्छ ।’

राजमार्गहरूमा ट्रमा सुविधा भएको अस्पताल भएमा दुर्घटनाबाट हुने मृत्यु घटाउन सकिने डा. गौतम बताउँछन् ।

ट्रमा सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको नेपालको एकमात्र केन्द्रीय रिफरल अस्पताल राष्ट्रिय ट्रमा सेन्टरमा गम्भीर खालका बिरामी भर्ना हुने क्रम बढ्दो छ । आर्थिक वर्ष २०७५/७६ मा ४ हजार २४, २०७६/७७ मा ३ हजार ६३४, २०७७/७८ मा ३ हजार ४५९, २०७८/७९ मा ४ हजार २६२ र २०७९/८० मा ५ हजार ४६४ भर्ना भएर उपचार गराएका छन् ।

आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उपचारमा आएकामध्ये घुँडा तथा खुट्टाको समस्या हुने २७ प्रतिशत छन् भने टाउकोमा समस्या हुने १२ प्रतिशत । ५६ प्रतिशत बिरामी भने विभिन्न स्थानबाट लडेका ट्रमाका बिरामी र ३० प्रतिशत हाराहारीमा सडक दुर्घटनामा परेका बिरामी रहेका ट्रमा सेन्टरको तथ्यांक छ ।

दुर्घटनापछि बिरामीलाई कसरी अस्पतालसम्म पुर्‍याउने भन्ने विषयमा समुदायस्तरमा तालिम दिन आवश्यक रहेको विज्ञहरू बताउँछन् । त्यस्तै स्थानीय तहका स्वास्थ्यकर्मीलाई पनि दुर्घटनाका बिरामीलाई मृत्युबाट बचाउन कस्तो प्रक्रिया अपाउनुपर्छ भन्ने विषयमा तालिम दिन आवश्यक हुने उनीहरूको धारणा छ ।

घाइतेलाई घटनास्थलमै प्राथमिक उपचार गरी र अस्पतालसम्म लैजान एम्बुलेन्सको प्रयोग गर्नुपर्ने हुन्छ । एम्बुलेन्स उपलब्ध हुने इमर्जेन्सी टेलिफोन नम्बर ‘१०२’ लाई एक्टिभ गराउन नसक्दा धेरै मानिसको मृत्यु भएको डा. महर्जन बताउँछन् ।

‘दुर्घटना भएको बिरामीलाई अक्सिजनको आवश्यकता पर्न सक्छ । सहज तरिकाले सुताएर ल्याउनुपर्छ’ डा. महर्जन भन्छन्, ‘सुविधासम्पन्न एम्बुलेन्समा हालेर बिरामी ल्याउँदा ७५ प्रतिशतसम्म मृत्युलाई घटाउन सकिन्छ ।’

राजमार्गका अस्पतालमा ट्रमा व्यवस्थापन टीमले मृत्युबाट बचाउन वा हातखुट्टा सुरक्षित राख्न आकस्मिक व्यवस्थापन गर्न सक्छन् । त्यसपछिका आवश्यक अप्रेशनका लागि केन्द्रीय अस्पतालमा रेफर गर्नुपर्ने विज्ञ बताउँछन् ।

‘अहिले राजमार्गमा ठूलो सुविधासम्पन्न ट्रमा सेन्टर खोलेर त्यहीं अप्रेशन गर्न जनशक्ति लगायत हिसाबले पनि सम्भव हुँदैन’ डा. गौतम भन्छन्, ‘अहिले राजमार्गका छेउछाउमा भएका अस्पताललाई ट्रमाका जनशक्ति दिएर गुणस्तरीय सेवा दिने व्यवस्था मिलाउनुपर्छ ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?