
१८ माघ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजस्व वृद्धि र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको बताए ।
अर्थमन्त्री डा. महतले महासंघको भूमिकाको प्रशंसा गर्दै भने, ‘निर्यात व्यवसायी साथिहरुको समर्पण र परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र निर्यात क्षमता बिस्तार गर्न महत्वपूर्ण योगदान रहदै आएको छ ।
मन्त्री महतले निर्यात व्यवसायी महासंघ नेपालले उठान गरेका माग जायज रहेको भन्दै सरकारले चाहदाचाहदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसकिएको र निकट भविश्यमा निर्यातकर्तालाई सहुलियत उपलब्ध गराईने बताए ।
उनले भारतसँगको व्यापार सम्झौताबाट फाईदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको बताए । उनले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको भन्दै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने समेत बताए । डा. महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया 4