+
+

गौरीटार रंगशालामा १० वर्षपछि फर्किएको उत्सव

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८० माघ २२ गते १८:१८

२२ माघ, हेटौंडा । केन्द्रीय खेलकुद प्रतिष्ठानको रुपमा झण्डै १५ वर्षअघि शिलान्यास गरिएको हेटौंडाको गौरीटार रंगशाला एक हप्तायता उल्लासमय छ । १६ माघदेखि यहाँ शहीद स्मृति गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।

‘म १० वर्ष अगाडि यही मैदानमा फुटबल हेरेको सम्झिन्छु । त्यतिबेला माटोको ढिस्कोमा बसेर हेरेको थिएँ । अहिलेको प्रतियोगितामा स्वयंसेवक भएर सहयोग गरिरहेको छु’, गौरीटारका बासिन्दा जगदिश न्यौपानेले भने ।

यो रंगशालामा २०७० सालमा महिलाहरुको राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बलको टिमलाई हराउँदै नेपाल प्रहरीले उपाधि जितेको थियो । त्यसयता यो रंगशालामा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता हुन सकेको थिएन ।

हेटौंडा उपमहानगरपालिका–६ गौरीटारस्थित रंगशाला वरपर चौघडा, हटिया, हर्नामाडी, कमाने, फायरलाइन आदि बाक्लो बस्ती छ । हिजोआज शहीद स्मृति गोल्ड कप हेर्न दैनिक तीन हजार हाराहारी दर्शक आउने गरेको गोल्डकपको व्यवस्थापन सम्हालिरहेको न्यू डाँफे फुटबल क्लबले जनाएको छ । उनीहरु निर्माणाधीन प्याराफिटमा बसेर खेलको मज्जा लिइरहेका छन् ।

गोल्डकपमा आयोजकसहित आठवटा ए डिभिजन क्लब, एउटा विदेशी, दुईवटा मोफसलका गरी १२ वटा टिम सहभागी छन् । आइतबार मकवानपुर र बागमती युवा क्लबबीचको खेल हुँदा ५ हजार दर्शकले हेरेको न्यू डाँफेका अध्यक्ष तथा गोल्डकप व्यवस्थापन संयोजक आलोक स्याङ्तानले जानकारी दिए ।

हेटौंडामा हुने फुटबल प्रतियोगिता अघिल्ला वर्षहरुमा हेटौंडा उपमहानगरपालिका–४, स्थित फरेष्ट्रि क्याम्पसको चौरमा हुने गरेको थियो । पछिल्लो समय हेटौंडा उपमहानगरपालिका–५ स्थित पिप्ले क्याम्प मिनी रंगशालामा पनि प्रतियोगिताहरु भए ।

तर यसपटक सुविधा सम्पन्न र रंगशाला गौरीटारको प्रचारप्रसार गर्न गौरीटार रंगशालामा फुटबल प्रतियोगिता आयोजना गरेको जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ –एन्फा) का केन्द्रीय सदस्य टीकाराम लामाले जानकारी दिए ।

२८ जेठ २०६६ सालमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले गौरीटार रंगशालामा केन्द्रीय खेलकुद प्रतिष्ठान निर्माणको शिलान्यास गरेका थिए । त्यतिबेला पाँच वर्षमा निर्माण सक्ने भने पनि बजेट न्यून मात्र पाउँदा रंगशालाको वरपर पर्खाल लगाउने र खेलाडीको छात्राबास मात्र बनेको थियो ।

२०७४ मा प्रदेश सरकार गठन भएपछि बागमतीका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले रंगशाला निर्माणको काम अघि बढाएका थिए । प्रदेशले हरेक वर्ष बजेट छुट्याए पनि यो रंगशालाको काम पूरा भएको छैन ।

त्यसो त यहाँ रंगशाला निर्माणको घोषणा गरिएको २०३९ सालमा नै हो । त्यतिबेला हेटौंडामा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता सञ्चालन हुँदा गौरीटारमा सुविधा सम्पन्न रंगशाला बनाउने घोषणा गरिएको थियो ।

१६ वर्ष पुरानो गोल्डकप

१६ वर्षअघि सुरु भएको शहीद स्मृति गोल्डकपको यसवर्ष छैटौं संस्करण चलिरहेको छ । २०६२ /६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडाको वनविज्ञान अध्ययन संस्थानमा पहिलोपटक गोल्डकप गरिएको थियो ।

जिल्ला फुटबल संघले गरेको प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो । त्यसपछि १३ वर्षसम्म यो प्रतियोगिता सञ्चालन हुन सकेन ।

२०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । प्रतियोगिताका लागि २०७७ सालबाट जिल्लाका १० वटा स्थानीय तहबाट निरन्तर सहयोग प्राप्त भएपछि मकवानपुर फुटबल संघले ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामकरण गरी प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

२०७७ सालमा भएको तेस्रो संस्करण र त्यसपछिको चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाँचौं संस्करणको उपाधि भने सशस्त्र प्रहरी बलले जितेको थियो ।

यसवर्ष यो फुटबल प्रतियोगिताका लागि जिल्लाको १० वटै स्थानीय तह र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरेका छन् । यसवर्ष गोल्डकप बिजेताले १५ लाख रुपैयाँ, उपविजेताले १० लाख र सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल पाउनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?