+
+

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि के-के छ मापदण्ड ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १४:२९

२३ माघ, काठमाडौं । आगामी १८ फागुनमा रिक्त हुने पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिका लागि सरकारले आवेदन माग गरेको छ । उपकुलपति प्रा.डा.यादव कोइरालाको कार्यकाल सकिनुअघि आह्वान गरिएको सूचनामा स्नातकोत्तर पास गरेकाहरुले पनि आवेदन दिन सक्नेछन् ।

उपकुलपति छनोट तथा सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० सार्वजनिक गर्दै स्नातकोत्तर तह मात्रै उत्तीर्ण गरेकाले पनि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

कार्यविधिमा उल्लेख मापदण्ड अनुसार इच्छुक आवेदकले कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र प्राध्यापक पदमा नियुक्त भई अनुभव हासिल गरेको भए उपकुलपतिको लागि योग्य हुनेछ ।

इच्छुक व्यक्ति दरखास्त दिनुभन्दा तत्काल अघि कुनै राजनीतिक दलको सदस्य रहेको हुन नहुने पनि कार्यविधिमा उल्लेख छ । कार्यविधिले उपकुलपति छनोटका लागि आवेदकलाई दिइने अंकभार पनि तोकेको छ ।

मापदण्डमा प्राध्यापक पदको कार्य अनुभवलाई १० अंकभार तोकिएको छ । प्राध्यापक पदमा काम गरेको प्रति वर्ष दुई अंकको दरले अधिकतम १० अंक दिइने तर वर्ष दिनभन्दा कम अवधिको गणना नहुने उल्लेख छ । विद्यावारिधि उपाधि प्राप्त गरेकालाई ५ अंकभार, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभवलाई प्रति वर्ष एक अंकका दरले बढीमा चार वर्षको लागि अधिकतम ४ अंकभार तोकिएको छ ।

जर्नलमा प्रकाशित लेख बापत आकांक्षी उम्मेदवारले १० अंक पाउनेछन् । एकल लेखकको रुपमा प्रकाशित लेखलाई बढीमा चार, प्रति लेखवापत २.५ अंकाभारका दरले १० अंक पाउनेछन् । संयुक्त लेखकको रुपमा लेखिएको लेख भए बढीमा चार वटा लेखको लागि प्रति लेख वापत २.५ अंकमा लेखक संख्याले भाग गरी हुन आएको जम्मा अंक पाउनेछन् ।

प्राज्ञिक अनुसन्धानमूलक परियोजनाहरु सम्पन्न गरे बापत ६ अंक पाउनेछन् । प्राज्ञिक अनुसन्धानमूलक परियोजना सम्पन्न गरे वापत (दुई वटासम्म मात्र गणना हुने), प्रमुख अनुसन्धानकर्ता भए प्रति परियोजना तीन अंकका दरले अधिकतम ६ अंक, अनुसन्धान टोली सदस्यका रुपमा काम गरेको प्रति परियोजना कुल तीन अंकमा दामासाहीले हुन आउने अंक प्राप्त गर्नेछन् ।

पूर्वाञ्चल विश्वविद्यालय सम्बन्धी सोचपत्र र पूर्वाञ्चल विश्वविद्यालयको चार वर्षे व्यवसायिक कार्यायोजना वापत ३० अंक पाउनेछन् ।

सोचपत्रको लागि १० अंक, पूर्वाञ्चल विश्वविद्यालयको गुणस्तर अभिवृद्धि र प्रभावकारिताको २ अंक, पूर्वाञ्चल विश्वविद्यालयको सम्पत्तिको आर्जन, उपयोग र आत्मनिर्भरताको २ अंक आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको सुदृढीकरण २ अंक, पूर्वाञ्चल विश्वविद्यालयलाई प्राज्ञिक रुपमा सबल सक्षम र प्रभावकारी बनाइ उत्कृष्ट रुपमा विकास २ अंक तोकिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको चार वर्षे व्यवसायिक कार्ययोजनाको २० अंक, पूर्वाञ्चल विश्वविद्यालयको विद्यमान अवस्था ३ अंक र विद्यामान अवस्थामा देखिएका समस्या सहितको ‘स्वट’ विश्लेषणको लागि ५ अंक पाउनेछन् ।

त्यस्तैगरी विश्वविद्यालयको अन्य विश्वविद्यालयसँगको अन्तरसम्बन्धको विश्लेषणको ३ अंक, पूर्वाञ्चल विश्वविद्यालयको रणनीतिक सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान ४ अंक, पूर्वाञ्चल विश्वविद्यालयको समग्र सुधार कार्ययोजना सहितको विवरणको लागि ५ अंक पाउनेछन् ।

उच्च शिक्षा सम्बन्धी ज्ञान, पूर्वाञ्चल विश्वविद्यालय सुधारको कार्ययोजना र कार्यान्वयनमा स्पष्टता ७ अंक, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अनुभव तथा अभ्याससँग सामान्जस्यता र विश्लेषण क्षमता ६ अंक, नवप्रवर्तन, तार्किक क्षमता र वस्तुनिष्ठताको लागि ७ अंक गरी प्रस्तुतीको लागि २० अंक तोकिएको छ ।

अन्र्तवार्ता वापत १५ अंक छ । जसमा अन्र्तवार्ताकारहरुले प्रदान गरेको अंकको औसत अंक कायम गरी प्राप्ताङ्क कायम हुने, अन्र्तवार्ताकारले अंक प्रदान गर्दा यस वापतको जम्मा अंकको ७० प्रतिशत भन्दा बढी र ३५ प्रतिशत भन्दा कम अंक दिँदा कारण खुलाउनुपर्नेछ ।

कार्यविधिले तोके बमोजिम कायम हुन आएको अंक र मूल्याङ्कनको औसत अंकको आधारमा जम्मा प्राप्ताङ्क कायम गरी उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारको अल्पसूची (सर्टलिस्ट) प्रकाशन हुनेछ ।

अल्पसूची प्रकाशन गर्दा जम्मा आवेदकको एकतिहाइ वा १५ जना मध्ये जुन कम हुन्छ सोही संख्यामा उम्मेदवारलाई अल्पसूचीमा राख्नसकिनेछ ।

अल्पसूचीमा रहेका उम्मेदवारलाई तीन दिनको सार्वजनिक सूचना प्रकाशन गरी प्रस्तुतिकरण र अन्र्तवार्ताका लागि आमन्त्रण गरिनेछ । समितिले छनोट तथा सिफारिस गर्नको लागि उपसमिति गठन गरेर सहयोग लिन सक्ने कार्यविधिले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?