+
+

म त ठूलो भइसकें, कहाँ बालबालिकाका पुस्तक पढ्ने !

विज्ञानले विकासमा जति नै ठूलै फड्को मारेको भए तापनि शारीरिक रूपमा अहिले हामी ‘टाइम ट्राभल’ गरेर बाल्यकालमा फर्किन सक्दैनौं । तर मानसिक रूपमा भने हकुना मटाटाकै स्थितिमा फर्किन एउटा सजिलो उपाय छ । त्यो हो, बालसाहित्यका पुस्तकहरू पढ्ने ।

अनुराधा अनुराधा
२०८० माघ २७ गते १९:४८

‘अब त म ठूलो भइसके नि ! म कहाँ बालबालिकाको पुस्तक पढ्छु त ? भोलि साथीभाइसित भेट्दा वा किनेर ल्याएका पुस्तकहरूको फोटो सामाजिक सञ्जालमा राख्दा मैले पारिजात र मुराकामी, देवकोटा, हरारी र भरजिनिया वोल्फ जस्ता लेखकहरूका भारीभरकम विषय बोकेका मोटा मोटा पुस्तकहरूबारे ठूला ठूला गफ दिनुपर्छ । कहाँ बच्चा जस्तो चित्रै चित्रले भरिएका कल्पनामा आधारित भूत, मुसा र जादुको कुरा गर्नु ?’

हुनसक्छ तपाईंलाई पनि बेलाबखत यस्तो लाग्दो हो । यस्तो लाग्नुमा तपाईंको खासै दोष पनि छैन ।

कुरा के भने नि, हामी वयस्कहरू बालबालिकाभन्दा धेरै परिपक्व छौं भन्ने कुरामा विश्वास गर्दछौं र त्यसलाई सधैं आफ्नो व्यवहारद्वारा प्रमाणित गर्नेतर्फ लागिपरेका हुन्छौं । हामीले हरेक क्रियाकलापलाई ‘परिपक्व’ र ‘अपरिपक्व’को नजरले हेर्छौं र सोही अनुसार मूल्याङ्कन गर्दछौं ।

त्यसैको नतिजास्वरूप हामीले ती बाल्यकालका प्रायः सबैजसो गुणहरूलाई अब ‘अपरिपक्व’ को संज्ञा दिएका छौं । निष्फिक्री भएर हाँस्नु, लुकेर साथीलाई तर्साउनु, पानीमा रुझ्नु वा जिब्रो निकालेर साथीलाई जिस्क्याउनु जस्ता तिनै ‘अपरिपक्व’ कुराहरूको सूचीमध्येको एउटा कुरा कतै वयस्कले बालपुस्तक पढ्दैनन् र पढ्नुहुँदैन भन्ने त होइन ?

घर, कार्यालय र अन्य स्थानमा आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गर्दै गर्दा, आफ्ना खुसीहरू भुलेर अरूलाई खुसी पार्ने प्रयास गर्दै गर्दा हामी सामाजिक सम्मान र परिपक्वताको खोल ओढ्न थाल्छौं र बालापनका आफ्ना ती निस्वार्थ र निश्चल विशेषता र गुणहरूलाई दबाउन पुग्दछौं ।

नत्र किन एकातिर हामी पठन संस्कृतिको विकास हुनुलाई परिपक्वताको सङ्केत मानेर हाम्रा बालबालिकालाई बालपुस्तक पढ्न प्रोत्साहन गर्दछौं भने अर्कोतिर बालसाहित्यका पुस्तकलाई आफ्नो बौद्धिकताभन्दा तलको विषय मानेर प्राथमिकताभित्र पार्दैनौं र आफैं चाहिं पढ्दैनौं ?

२०१७ सालमा गरिएको एउटा अनुसन्धानले पुरुषहरू ३९ वर्ष र महिलाहरू ३५ वर्ष पार गरेपछि ‘नीरसताको शिखर’मा पुग्दछन् भन्ने प्रमाणित गरेको छ । वैज्ञानिकहरूका आधारमा यसो हुनुका विभिन्न कारणमध्ये एक प्रमुख कारण मानसिक तनाव पनि हो । तनावरहित हुन विश्व प्रसिद्ध एनिमेटेड फिल्म ‘लायन किङ’ मा भएको एउटा गीतले समस्याबाट मुक्त हुने दर्शन सिकाउँछ– हकुना मटाटा अर्थात् ‘चिन्ता नगर्नुस्’ ।

अब हकुना मटाटाकै स्थितिमा पुग्न त उही बाल्यकालमै फर्किनुपर्ला र विज्ञानले विकासमा जति नै ठूलै फड्को मारेको भए तापनि शारीरिक रूपमा अहिले हामी ‘टाइम ट्राभल’ गरेर बाल्यकालमा फर्किन सक्दैनौं । तर मानसिक रूपमा भने हकुना मटाटाकै स्थितिमा फर्किन एउटा सजिलो उपाय छ । त्यो हो, बालसाहित्यका पुस्तकहरू पढ्ने ।

केही वर्षअघि लेखक तथा शिक्षाविद् क्याथरिन रुन्डेलले वयस्क पाठकहरूका लागि लेखेको रमाइलो र प्रेरक निबन्ध ‘वृद्ध र धेरै ज्ञानी हुँदाहुँदै पनि तपाईंले बाल पुस्तकहरू किन पढ्नुपर्छ ?’ मा लेखेका शब्दहरू सापट लिएर भन्नुपर्दा— ‘बालबालिकाका पुस्तकहरूले एकखालको आशा जगाउँछन् ।

ती कथाहरूले ‘हेर, बहादुरी भनेको यस्तो हुन्छ, उदार हुनु भनेको यस्तो हो, संसार ठूलो छ, आशा गर्नु जरूरी छ, बहादुर र बुद्धिमान हुँदा फरक पर्छ, समानुभूतिले असर पार्दछ, प्रेमले अर्थ राख्दछ’ भन्ने कुरा सिकाउँछन् । यी कुराहरूले साँच्चिकै फरक पार्दछ वा पार्दैन, मलाई थाहा छैन । तर म विश्वास गर्दछु कि यी सबै कुराहरूले अवश्य फरक पार्दछन् ।’

उमेरसँगै हाम्रो जीवनका भोगाइहरूले नै हामीमा नीरसता र निराशा बढाउँदै लैजान्छ । घर, कार्यालय र अन्य स्थानमा आफूलाई विभिन्न भूमिकामा प्रस्तुत गर्दै गर्दा, आफ्ना खुसीहरू भुलेर अरूलाई खुसी पार्ने प्रयास गर्दै गर्दा हामी सामाजिक सम्मान र परिपक्वताको खोल ओढ्न थाल्छौं र बालापनका आफ्ना ती निस्वार्थ र निश्चल विशेषता र गुणहरूलाई दबाउन पुग्दछौं । यी सबै त्यस्ता कुराहरू हुन् जसबाट हाम्रो विश्वास उठिसकेको छ । नतिजास्वरूप, हामी आफूभित्र भएका प्रेम, विश्वास, चञ्चलता र सरलता जस्ता अद्भुत गुणहरूलाई डर, अविश्वास, पूर्वाग्रह, शंका र स्वार्थमा प्रतिस्थापन गर्दै जान्छौं ।

वयस्क भएर हामीले हरेक कुरालाई जटिलता र पूर्वाग्रहको चस्माले हेर्ने गर्छौं भने बालबालिकामा भएको गुण भनेकै पूर्वाग्रह विना खुला विचार र सरल मनले सबै कुरा स्वीकार्न सक्नु हो । अनि परिपक्व को रहेछ त ? झिनामसिना कुराहरूमा अल्झेर एकअर्कासित ईष्र्या र रिस गरेर वर्षौं भित्रभित्रै जलेर बिताउने हामी वयस्क वा सजिलै आफ्ना गल्ती स्वीकार्ने अनि अरूको गल्तीलाई पनि माफी दिएर हकुना मटाटा भन्दै अघि बढ्ने बालबालिका ?

नोस्टाल्जिया अर्थात् अतीतको वा विगतको सम्झनाले हामीलाई केही क्षण खुसी प्रदान गर्दछ किनभने अतीतले हामीलाई हाम्रो स्वयम्को असली रूपसित मेल गराउँछ र हामी कस्तो थियौं र अहिले परिवर्तन भएर कस्ता भएका छौं भन्ने कुराको बोध गराउँछ ।

त्यसैले त हामीलाई पीङमा चचहुइ गर्ने, खोलामा हामफाल्ने, रूखमा चढेर अम्बा टिपेर टोक्ने र गुच्चा खेल्ने कुरा सम्झँदैमा रोमाञ्चक बनाउँछ अनि बाल्यकालमा बिताएको गाउँको घर पुग्दा वा स्कुलको कुनै साथी भेट्दा आँखा रसाउने गर्छ ।

बाल्यकालमा हामी कति निष्फिक्री हुने गर्दथ्यौं, हामीसँग कति धेरै ‘के’, ‘किन’ र ‘कसरी’ जस्ता कहिल्यै नसकिने प्रश्नहरू हुने गर्दथे । तर आजकल हामीसित त्यस्ता प्रश्नहरू हुँदैनन् र भए तापनि अधिकांश अनुत्तरित नै रहन्छन् । प्रश्न गर्दा नजानेको र अपरिपक्वको संज्ञा पाइने डर र त्योभन्दा बढी परिपक्व र बुद्धिमानको मुखौटाभित्र लुकेका हामी प्रश्न नै गर्दैनौं । फलस्वरूप, बाल्यकालमा धेरै रोचक र रोमाञ्चक लाग्ने कुराहरू अब उमेर बढ्दै जाँदा सामान्य जस्ता लाग्दछन् ।

हामीमा भएका जिज्ञासाहरू विस्तारै घट्दै जान्छन् । भनेपछि, हामीले बाल पुस्तक पढ्न त झनै जरूरी पो रहेछ । तर हामी व्यसकलाई बाल कथा पढ्नबाट रोक्ने प्रमुख कारण त्यसमा भएको विषयवस्तु नै होइन त ? केही बालकथामा भएका विषयवस्तुका उदाहरण हेरौं है त !

  • ‘द हार्ट एन्ड द बोटल’ आफ्नो प्यारो हजुरबुवाको मृत्यु पछिको पीडासँग जुध्दै गरेकी पात्रको कथा हो ।
  • ‘सानी पोची’ कथामा परिवारको दबाबमा आएर आफ्ना इच्छाहरूलाई मार्नुको सट्टा आफूलाई खुसी दिने काम गर्ने साहसिली पात्रको कथा हो ।
  • ‘मेरो रातो कथा’ ले महिनावारी सम्बन्धी समाजमा भएका रुढिवादी विचारधाराहरूलाई समाप्त पार्ने जमर्को गर्दछ ।
  • ‘धुमधामको घुमघाम’ कथा नेपालको सांस्कृतिक र भौगोलिक विविधता र त्यहाँ पाइने जीवजन्तुको जानकारीले भरिपूर्ण छ ।

ल हेर्नुस् त, बालबालिकाका कथाका विषयवस्तु वास्तवमा कति जटिल र महत्वपूर्ण हुँदा रहेछन् । यी बाहेक बालकथाहरूले समावेशीकरण, पहिचान र जलवायु परिवर्तन जस्ता विषयवस्तुलाई पनि समेटेका हुन्छन् । तपाईंलाई लाग्न सक्छ कि कम सङ्ख्यामा हुने वाक्य र सरल शब्दहरूले कसरी यस्ता जटिल विषयबारे बुझाउन सकिन्छ ? एकदम सही कुरा ।

बालपुस्तकको सबैभन्दा बलियो पक्ष भनेकै त्यसमा प्रयोग हुने सरल भाषा र प्रस्तुति हो । आफ्नो भनाइलाई प्रभावकारी बनाउन तपाईंले लामा, कठिन शब्द र वाक्यहरू लेख्नुपर्दैन । त्यही कारण ‘द काइट रनर’ र ‘थाउजन्ड स्प्लेन्डिड सन’ जस्ता पुस्तकहरूका अन्तर्राष्ट्रिय बेस्ट सेलिंग लेखक खालिद होसेनीले सिरियन शरणार्थी संकटको प्रतिक्रियाको रूपमा लेखिएको कृति ‘सी प्रेयर’ लाई बाल कथाको पुस्तक जस्तो गरी एक दुइटा मात्र वाक्यहरू र चित्रै चित्रले भरिएका पानाहरूको रूपमा प्रकाशित गरे कि ?

बालपुस्तकहरूले आशा, डर, असफलता, प्रेम र मित्रता जस्ता विषयवस्तुदेखि लिएर लैङ्गिकता, व्यक्तिवाद, मानसिक र शारीरिक आघात जस्ता जटिल तर महत्वपूर्ण अवधारणाहरूको उठान गर्ने र सजिलो भाषामा बुझाउने काम गर्दछन् ।

त्यस्तै, ठूलाका लागि लेख्ने अर्का विश्व प्रसिद्ध लेखक यूभाल नोआह हरारीले किन त ‘अन्स्टोप्पेबल अस’ मार्फत प्राइमेटको रूपबाट प्रमुख प्रजाति बन्न पुगेका र ग्रहहरूको अस्तित्वको लागि खतरा बनेका हामी मानिसका जटिल र ठूला विषय बालबालिकाका लागि भनेर कथाको रूपमा लेखे ?

यहाँ बुझ्न जरूरी कुरा के हो भने, बालसाहित्यका लक्षित पाठकहरू बालबालिका मात्र हुन् भन्ने होइन । सुन्दा अपत्यारिलो लाग्न सक्छ तर वयस्कका लागि लेखिएका लामा–लामा कथाहरूले पार्न नसक्ने प्रभाव बालसाहित्यका पुस्तकहरूले पाठकहरूमा सजिलै पार्न सक्छन् र संसारप्रति हेर्ने दृष्टिकोण बदल्नुका साथै एउटा आकार दिन पनि मद्दत गर्दछन् ।

बालकथाको विशेषता त्यति मात्र कहाँ हो र ! गजबको वर्णनात्मक शैलीमा लेखिएका संसारभित्र र बाहिरका वास्तविक तथा काल्पनिक कथाहरू, अनौठा र रमाइला पात्रहरूसँगको परिचय, अब के होला भन्ने कौतूहलले दिमागै रन्फनाएर शरीर जिरिङ्ग पार्ने रहस्यमयी प्लट ट्विस्टहरू, गाला दुख्ने र पेट फुट्ने गरी हँसाउने संवादहरू, थाहै नपाई नयाँ कुराहरूको अनुभूति गराउने घटनाहरू अनि ती लेखिएका अक्षरहरूले समेट्न नसकेका कुराहरूलाई सुन्दर तरिकाले कोरिएका रङ्गीन चित्रहरूसँग साक्षात्कार गराउनु पनि हो ।

त्यसो हो भने एउटा वयस्कको निम्ति लेखिएको र बालबालिकाको लागि लेखिएको कथामा के फरक छ त ? वयस्कहरूको लागि लेखिएका कथाहरू बालकथाहरू भन्दा यो अर्थमा फरक छन् कि वयस्कका कथाहरूमा भएका त्यस्ता समस्याहरू बोकेका विषयवस्तुहरूसित हामीले रिलेट त गर्न सक्छौं तर ती समस्याहरूको कुनै समाधान नभेट्न पनि सक्छौं ।

कथाको अन्त्य हुँदासम्म पाठक झनै धेरै अन्योल र अनुत्तरित प्रश्नहरूको थुप्रोको बोझले दबिन सक्छ । तर बालकथाहरूले यी जीवनका जटिल विषयहरूसँग कसरी जुध्ने र सकारात्मक तरिकाले कसरी अघि बढ्ने भन्ने कुराको समाधान पनि दिन्छ र सबैभन्दा जरूरी कुरा त्यो समाधान कथामा पात्र आफूले खोजेको हुन्छ ।

त्यस्तो हुनुको कारण बालबालिकाले सानै उमेरदेखि जीवन सङ्घर्षशील छ तर ती सङ्घर्षहरूसित जुध्न सक्ने शक्ति हामीभित्रै निहित छ भन्ने कुरा बुझाउनु हो । साथै दया, माया र क्षमा जस्ता गुणहरूले नै संसारमा सुख र शान्ति ल्याउँछ भन्ने कुरा सिकाउनु पनि हो ।

समय बित्दै जाँदा अझै पनि कतिपय बालकथाहरू नैतिकताबाट प्रेरित नभएका होइनन् तर तिनको प्रस्तुतीकरणमा भने पक्कै पनि परिवर्तन आएको छ । विषयवस्तु, लेखनशैली र पात्रहरू अत्यधिक मात्रामा परिमार्जन भएर आएका छन् ।

विषयवस्तुका आधारमा नै हेर्ने हो भने पनि बालपुस्तकहरूले आशा, डर, असफलता, प्रेम र मित्रता जस्ता विषयवस्तुदेखि लिएर लैङ्गिकता, व्यक्तिवाद, मानसिक र शारीरिक आघात जस्ता जटिल तर महत्वपूर्ण अवधारणाहरूको उठान गर्ने र सजिलो भाषामा बुझाउने काम गर्दछन् ।

त्यसैगरी प्रायः वयस्कका लागि लेखिएका पुस्तकहरूमा प्रतिनिधित्वको सन्दर्भमा ठूलो असमानता भएको गुनासो पटक–पटक सुनिन्छ भने बालपुस्तकहरूमा यो समस्या कम देखिन्छ । फेरि कथा सधैं नैतिक शिक्षाले भरिएका वा कुनै ज्ञान दिनैपर्छ भन्ने पनि अनिवार्य छैन । हास्यास्पद र सामान्य खालका कथाहरू पनि चाहिन्छ, पढ्नुपर्दछ ।

यसका अतिरिक्त हामी वयस्क पाठकले निम्न कुराहरूको निम्ति पनि बालपुस्तक पढ्न जरूरी छ ः

  • बालपुस्तक पढ्ने सचेत अभिभावक र शिक्षकहरूलाई बजारमा कस्ता प्रकारका पुस्तकहरू उपलब्ध छन् भनेर बुझ्न मद्दत गर्नुका साथै आफ्ना बालबालिकाका लागि उपयुक्त पुस्तकहरू छनोट गर्न मद्दत पनि गर्दछ ।
  • पुस्तकहरू समाजको ऐना भएकाले बालमनोविज्ञानको दृष्टिकोणले अहिलेका बालबालिकाहरूको जीवनशैली, सोच र उनीहरूको भावनाहरू बुझ्न पनि बालपुस्तकले धेरै सहयोग पुग्दछ ।
  • बच्चा हुने अभिभावकका लागि त झन् आफ्ना बालबालिकासित कथा पढ्दै र रमाउँदै केही समय भावनात्मक रूपमा समय बिताउने सुनौलो मौका पनि हो ।
  •  बालपुस्तकहरूले असल मानव हुनु र जीवन राम्रोसँग जिउनुको अर्थ के हो भन्ने जस्ता आध्यात्मिक प्रश्नहरूको उत्तर सहज रूपमा दिने प्रयास गर्दछ ।
  • अरू कुनै पनि कारण नभए सुन्दर चित्रहरू हेरेर मनोरञ्जन लिनको लागि मात्र भए पनि बालपुस्तक पढ्न सक्नुहुन्छ ।

समग्रमा भन्नुपर्दा, बालकथाले बालबालिका होस् वा अन्य कुनै पनि उमेर समूहको व्यक्ति जस–कसैलाई पनि रमाइलो प्रदान गर्न सक्ने क्षमता बोकेको हुन्छ ।

वयस्क हुनमै व्यस्त भएका हामीहरूलाई बालसाहित्यका पुस्तकहरूले फेरि बाल्यकालको त्यही निष्फिक्री सागरमा सयर गराउने छ, हामीभित्रको त्यो चञ्चले र जिज्ञासु बालापनलाई जगाउनुका साथै हाम्रा थाकेका मस्तिष्कलाई पुनर्ताजगी प्रदान गरी हाम्रो कल्पनाशक्तिमा ऊर्जा भर्ने छ । के थाहा ? तपाईंको जीवनप्रतिका ती अनुत्तरित प्रश्नहरूको उत्तर तिनै बालपुस्तकहरू बीचमै पाउनुहुनेछ कि ?

मलाई आशा छ, अब यति सबै भनिसकेपछि तपाईंले पक्कै पनि कुनै एउटा बालकथाको पुस्तक पढ्नुहुन्छ होला । तर यदि त्यो बाल कथा पढेपछि तपाईंलाई रमाइलो लागेन, माथि भनिएका कुनै पनि कुरासित मेल खाएन र यो अनुराधाले त बेकारका कुरा लेखेको रहेछ भनेर रिस उठेमा दोष जति मलाई होइन तपाईंले पढ्नुभएको त्यो बालकथा लेख्ने लेखकमाथि नै थोपर्दिनुस् ।

किनभने, २०औं शताब्दीका सबैभन्दा प्रभावशाली लेखकहरूमध्ये एक, सी.एस. लुविस भन्छन्, ‘कुनै बालकथाले बालबालिकालाई मात्र रमाइलो प्रदान गर्छ भने बुझ्नुस्, त्यो बालकथा पटक्कै राम्रो छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?