 
																			२८ माघ, काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले दिपेश पुनसँग बयान लिएको छ ।
सिंहदरबारमा रहेको आयोगले आइतबार अखिल क्रान्तिकारीका महासचिव पुनसँग बयान लिएको हो । उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा समेत हुन् ।
६१ किलो सुन तस्करी प्रकरणका आरोपी बेल्जियन नागरिक दावा छिरिङसँग उनको सम्पर्क देखिएपछि सुन जाँचबुझ आयोगले पुनसँग बयान लिएको समितिका एक जना सदस्यले बताए । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि उनीसँग बयान लिएको थियो ।
सीआईबीसँगको बयानमा पुनले दावासँग चिनजान भएपनि उनले गर्ने कारोबारसँग कुनै सम्बन्ध नभएको जिकिर गरेका थिए । ‘कहिलेकाहीँ फोन सम्पर्क पनि हुने गरेको थियो, तर हामीबीच कुने कारोबार छैन’, उनले भनेका छन्, ‘उनले गरेको कुनै पनि अपराधिक काम कारबाहीमा मेरो संलग्नता छैन ।’
दावाकी श्रीमती अमला रोका मगर आफ्नो गाउँको भएकाले चिनजान भएको उनले बताएका थिए । ‘निज शहीद परिवारको भएको साथै माओवादी पार्टीको रोल्पा काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष भएकाले सम्पर्क र भेटघाट भएर चिनजान भएको हो’, उनले भनेका छन्, ‘दावा छिरिङसँग सामाजिक सञ्जालमा आए अनुसारको मेरो कुनै कारोबार छैन ।’
सुन जाँचबुझ आयोगसँगको बयानमा पनि उनले सोही प्रकृतिको बयान दिएको एक सदस्यले बताए ।
आयोगले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, उनका छोरा राहुल, व्यवसायी भीमकान्त भण्डारी लगायतसँग पनि बयान लिइसकेको छ ।
६१ किलो सुन प्रकरणका आरोपी जीवन चलाउनेको विषयमा केन्द्रीय रहेर प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोकी निर्देशक किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय दुर्गा दाहाल र रुगम कुँवरसँग पनि आयोगले बयान लिएको छ ।
सरकारले गरेको सुनसम्बन्धी अनुसन्धानमा चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले लामो समयसम्म संसद् अवरोध गरेपछि छानबिन समिति बनाउने निर्णय भएको थियो । त्यसक्रममा सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा समिति बनाएको थियो ।
समितिले भेपमार्फत भएको सुन तस्करी, ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन तस्करी लगायतका मामलामा छानबिन गरिरहेको छ ।
ती घटनाहरुमा जोडिएका विभिन्न व्यक्तिहरुसँग फेरि बयान, सोधपुछ र स्थलगत अध्ययन गरेर गरेर तथ्य संकलन गर्ने काम भइरहेको समितिका एक सदस्यले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4