+
+

कामको खोजीमा मुलुक छाड्दैछन् दिनहुँ २ हजार नेपाली

चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

अच्युत पुरी अच्युत पुरी
२०८० फागुन २ गते २०:५५

२ फागुन, काठमाडौं । कामको खोजीमा दिनहुँ करिब २ हजार नेपालीले मुलुक छाड्ने गरेका छन् ।

वैदेशिक रोजगारी विभागका अनुसार काम खोज्दै दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुक छाडिरहेका छन् । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार साउन–माघसम्म प्रतिमहिना ५७ हजार ९ सय ३६ नेपालीले रोजगारीका लागि मुलुक छाडेका छन् । यसलाई दैनिक हिसाब गर्दा १ हजार ९ सय ३१ नेपालीले देश छाडिरहेको देखिएको हो ।

सात महिनामा देश छाड्ने नेपालीको संख्या गत आव २०७९/८० को यसै अवधिको तुलनामा भने केही कम छ । गत वर्ष माघ मसान्तसम्म ४ लाख ७८ हजार ८ सय ३० जना कामको खोजीमा विदेशिएका थिए ।

यस वर्ष ७३ हजार २ सय ७८ ले श्रम स्वीकृति लिएका छन् । गत वर्ष यसै अवधिमा दैनिक २ हजार २ सय ८० नेपालीले देश छाडिरहेको तथ्यांकले देखाएको छ ।

यस वर्ष सुरुवाती महिनामा विदेश जाने नेपालीको संख्या केही कम भए पनि चाडबाडपछि भने विदेशिनेको संख्या बढ्न थालेको थियो । यो आँकडा मंसिरपछि भने केही कम हुन थालेको छ ।

मंसिरमा ७१ हजार २ सय ७६ ले श्रम स्वीकृति लिएकोमा माघमा ६२ हजार १ सय ४७ मा झरेको छ । गत वर्ष भने कीर्तिमानी संख्यामा नेपाली विदेशिएका थिए । यसरी विदेशिनेको संख्यामा यो वर्ष भने केही ‘ब्रेक’ लागेको देखिएको छ ।

माघमा विदेशिनेमध्ये ६ हजार १ सय ७४ महिला र ५५ हजार ९ सय ७३ पुरुष छन् । गत महिना ३९ हजार ४२ ले नयाँ श्रम स्वीकृति पाएका छन् । ‘जीटूजी’ सम्झौता भएका देश जाने नेपाली माघना १ हजार ४ सय ९४ थिए ।

यूएई जानेको लर्को

गत वर्ष मलेसियामा नेपालीको लर्को लागेको थियो । यसापालि भने युनाइटेड अरब इमिरेट्स (यूएई) प्रमुख गन्तव्य बनेको छ ।

साउनदेखि माघसम्म १ लाख १ हजार ७ सय ७८ नेपाली कामको खोजीमा यूएई पुगेका छन् । यूएईलाई गन्तव्य बनाएर युरोप र अमेरिकी देश जाने क्रम बढेका कारण पछिल्लो समय यूएईमा नेपालीको बढी आकर्षण देखिएको व्यवसायी बताउँछन् ।

अर्कातर्फ, कोभिड महामारी कम भएपछि मागसमेत क्रमशः बढ्न थालेसँगै खाडी देशमा नेपालीको संख्या बढिरहेको जनाइएको छ । माघमा मात्र यूएईमा १७ हजार ६ज सय २ नेपाली पुगेका छन् । साउनमा ११ हजार ८ सय ७८, भदौ ११ हजार ७ सय ९, असोज १३ हजार ९ सय ५, मंसिर १२ हजार ४ सय ८५ र पुसमा १७ हजार ८ सय १४ जना नेपाली यूएई पुगेका थिए ।

माघमा यूएईपछि साउदी अरब जाने नेपालीको संख्या धेरै छ । साउदीमा १२ हजार २ सय ७६ श्रम स्वीकृति जारी भएको छ । उक्त महिना कतारका लागि १२ हजार १ सय ६४ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

मलेसियाको रोजगारी भने ह्वात्तै घटेको छ । गत महिना मलेसियामा मात्र ६ हजार ७ सय ९५ जनाको श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

त्यस्तै कुवेतमा ३ हजार २ सय ५३, कोरिया १ हजार ६ सय ६०, रोमानिया १ हजार ३ सय ९७, जापान १ हजार २ सय ८०, इजरायल ७२, बेलायत २ सय ६, अमेरिका ३८ र पोल्यान्डमा १ सय ९७ नेपाली श्रम स्वीकृति लिएर गएको देखिएको छ ।

तराईबाट विदेशिन्छन् धेरै नेपाली

माघको तथ्यांक अनुसार सबैभन्दा धेरै तराई–मधेश भेगबाट नेपाली कामको खोजीमा विदेशिएका छन् ।

धनुषाबाट ३ हजार १ सय ४७, झापा २ जहार ९ सय ९१, मोरङ २ हजार ५ सय ७८, सिरहा २ हजार ५ सय ७२, रुपन्देही १ हजार ९ यस ५१, महोत्तरी २ हजार २ सय ७९, मुस्ताङ १५ र मनाङबाट १६ जना विदेशिएका छन् ।

अदक्ष कामदार कति ?

माघमा सबैभन्दा धेरै नेपाली काम सिकेर गएको देखिएको छ । तर, ११ हजार ९ सय ७८ नेपालीले भने अदक्ष रूपमै श्रम स्वीकृति लिएको देखिन्छ ।

४५ हजार ६ सय ४८ नेपालीले काम सिकेर गएको देखिएको छ । माघमा सेमिस्किल्ड नेपालीको संख्या ४ हजार ३ सय २७ छ । प्रोफेसनल र हाइस्किल्ड नेपालीको संख्या क्रमशः १ सय ४० र ५४ मात्र रहेको तथ्यांक छ ।

रेमिट्यान्समा भने कीर्तिमान

यस वर्ष विदेशबाट नेपालीले पठाइरहेको रेमिट्यान्समा भने हरेक महिना कीर्तिमान बनिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस वर्ष पुस मसान्तसम्म औसत १ खर्बमाथि रेमिट्यान्स आइरहेको छ ।

पुस मसान्तसम्म ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अनुसार मासिक १ खर्ब २२ अर्ब रुपैयाँ भित्रिएको छ । यो वर्ष आएको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत धेरै हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?