+
+
किताब ७ :

‘मानिस सामान्य हुनु नै असामान्य हो’

उपन्यास लेख्दा जम्मा २६ वर्षकी भएकी स्याली रुनीको शीर्षकले मलाई यिनका सामान्य मानिस को रहेछन् भन्ने उत्सुकता पढ्न नथाल्दै जगाएको थियो।

विष्णु सापकोटा विष्णु सापकोटा
२०८० फागुन ५ गते १९:३९

पुस महिनाको सुरुतिरदेखि मैले आख्यान पढ्न छाडेको थिएँ। यो ब्रह्माण्डमा हुने हरेक घटनाका पछाडि कुनै कारण हुन्छन् कि हुँदैनन्, अहिले त्यता नलागौं। तर मन अमिलो पारेर नै गरेको किन नहोस्, मैले अब केही समय उपन्यास पढ्दै पढ्दिनँ भनेर निर्णय गर्नुको पछाडि कारण थियो।

कारण के थियो भने, मंसिरको दोस्रो साता मेरो उपन्यास काठमाडौंमा सार्वजनिक भएको थियो। वर्षौंदेखि मूल रुपमा गैर-आख्यान अर्थात् राजनीतिक विषयमा लेखिराखेको मेरो ‘बाहिरी परिचय’का कारण कतिपयले मलाई ‘तपाइँले पुस्तक पनि गैर-आख्यान नै लेख्नुहुन्छ कि भन्ने अपेक्षा गरेका थियौं’ भने। उनीहरू धेरैको एउटा बुझाइ के पनि रहेछ भने राजनीतिक विषयमा लेख्नेहरूले पढ्न पनि गैर-आख्यान मात्र पढ्छन्। तर मेरो ‘केस’ उल्टो जस्तो थियो।

नेपालको राजनीतिमाथि टिप्पणी गर्नका लागि धेरै मात्रामा गहन गैर-आख्यान पढ्नुपर्ने मलाई आवश्यकता नै लाग्दैन। किनकि नेपाली राजनीतिक पात्रका प्रवृत्ति पढ्न-बुझ्न र त्यसबारे लेख्न बरु पढ्नुपर्ने आख्यान र मनोविज्ञान हो। कस्ता-कस्ता पात्र कुन-कुन सामाजिक-मानसिक पृष्ठभूमिमा राजनीतिमा लागेका थिए र अहिले कसरी उनीहरू यो आयतनको सांस्कृतिक पतनको नेतृत्व गर्ने विकृत मनोवृत्तिमा पुगेका छन् भनेर बुझ्न गैर-आख्यानले धेरै सहयोग गर्दैन। नेपालको इतिहास बुझ्न दुई-चार वटा गतिला किताब पढे पुगिहाल्यो।

‘नर्मल पिपुल’ पढेर सक्ने बेलासम्म म फेरि पनि उपन्यासको शक्ति माथि आफ्नो पुरानो विश्वासमै फिर्ता भइसकेको थिएँ। त्यो के भने– सामाजिक रूपमा अन्तरक्रिया गर्दा कुनै मानिसलाई भित्रबाट चिनिन्छ जस्तो मलाई लाग्दै लाग्दैन।

राजनीतिक परिवर्तनसँगै लेखिन थालेका हाम्रो इतिहासका पुनर्लेखनका केही किताब र व्याख्याहरू पढ्न बरु अलिक रोचक र महत्वपूर्ण होला। त्यो बाहेक फाट्टफुट्ट वर्ष, दुई वर्षमा निस्कने एक-दुईवटा बाहेक पढ्नुपर्ने खालका मौलिक गैर-आख्यान त नेपालमा उपलब्ध नै कति हुन्छन् र ? अर्थात्, म भने बढ्ता आख्यान र दर्शन पढ्ने तर लेख्न चाहिं गैर-आख्यान लेख्नेमध्येको थिएँ।

गैर-आख्यान लेखिराखेको मेरो जब आफ्नै उपन्यास निस्क्यो, म त थाहै नपाई दुई-तीन हप्ताभित्र आख्यानको प्रवक्ता जस्तो हुन पुगेको रहेछु। ‘किन आख्यान नै लेख्नुभयो ?’ भन्ने विभिन्न अन्तर्वार्ताका प्रश्नलाई जवाफ दिने क्रममा आख्यानको रक्षार्थ यति डुबेछु कि मानौं मैले लेखेको उपन्यास नै दुनियाँको अन्तिम हो। त्यसपछि भित्रभित्र लाग्न थाल्यो, मैले आख्यान पढ्न रुचाउँछु पो भन्न खोजेको त।

गैर-आख्यान नरुचाउने भनेको पनि त हैन। फेरि गैर-आख्यान भनेको शुष्क राजनीतिक गद्य र ‘रिसाइकल’ गरेर लेखिने इतिहासको पाठ मात्र भन्ने पनि त हैन। अरुन्धती रोयका राजनीतिक निबन्ध कुनै आख्यान भन्दा कम काव्यिक कहाँ छन् र ? सलमान रुस्दीका गैर-आख्यान कुन साहित्य भन्दा कम नीरस हुन्छन् र ?

यस्तै यस्तै गैर-आख्यानात्मक अपराधबोधका भावनाले मनमा घर गरेको झोंकमा मैले एउटा काव्यिक न्याय गर्ने मन गरें र त्यो न्याय सम्पादन खातिर केही समय बरु आख्यान नै नपढ्ने निर्णय गरें।

त्यसै बीच युवल नोहा हरारीलाई ‘स्यापिएन्स’ लेख्न उत्प्रेरित गर्ने जेरेड डायमंडको क्लासिक किताब ‘गन्स, जर्म्स अँड स्टील’ र रिचर्ड डाकिन्सको ‘दी ब्लाइन्ड वाचमेकर’ पढ्न थालें। प्रतिष्ठित वैज्ञानिकहरूका बहुचर्चित यी पुस्तकहरू पढ्नै पर्ने मध्येका त हुन् नै। यिनीहरूले पस्कने तथ्य र तर्क पनि शक्तिशाली र सुन्दर छन्। तर जति नै संकल्प गरे पनि तीन साता जति भएपछि मेरो अन्तरमन यी पुस्तकहरूमा मात्र बस्न सक्दै सकेन। (अन्तरमन भन्ने केवल मनको एक भ्रम हो भनेर मैले नै पहिले लेखेको बिर्सेको चाहिं छैन !)

हुनत म अझै केही समयको लागि पठनमा ‘एन्टी-आख्यान’ नै हुनुपर्ने थियो होला तर ममाथि मेरो ‘अथेन्टिक सेल्फ’ (यदि त्यस्तो केही हुन्छ भने) हावी भएर होला मैले एक जना युवा आइरिस लेखिका स्याली रूनीको ‘नर्मल पिपुल’ भन्ने उपन्यास पढ्न सुरु नगर्न सक्दै सकिनँ।

‘नर्मल’लाई मैले ‘सामान्य’ भनेको छु। यद्यपि ‘नर्मल’ भने पनि या ‘सामान्य’, शब्दका अर्थहरूको आफ्नै राजनीति हुन्छ। कसको ‘सामान्य’? कसको लागि ‘सामान्य’? हरेक युगका आफ्नै सामान्यहरू हुन्छन्। हरेक समाजका, हरेक वर्गका, हरेक लिंगका हुन्छन्।

कसैका लागि क्रान्तिमा लाग्नु सामान्य हुन्छ, कसैका लागि क्रान्तिको व्यापार गर्नु। कसैका लागि सतही जीवन बाँच्नु सामान्य हुन्छ। कसैका लागि असह्य। नेपालमा राजनीति गर्नु भनेको भ्रष्टाचार गर्नु हो भन्ने पनि त आखिर एक ‘सामान्य’ नै भइसकेको छ।

उपन्यास लेख्दा जम्मा २६ वर्षकी भएकी स्याली रुनीको शीर्षकले मलाई यिनका सामान्य मानिस को रहेछन् भन्ने उत्सुकता पढ्न नथाल्दै जगाएको थियो। तर त्योभन्दा पनि आयरल्याण्डको राजधानी डब्लिनको सेटिङका औपन्यासिक यात्रामा लाग्ने बित्तिकै मलाई आफ्नो जीवनमा धेरै प्रभाव पारेका ‘मोडर्निस्ट’ साहित्यका हस्ती आइरिस लेखक जेम्स जोयसको सम्झना तीव्र बनेको थियो। मन परेका पुस्तक मैले विस्तारै पढ्छु। किनकि पढ्दै, रोकिंदै, पछाडि फर्कंदै, घोत्लिंदै, कल्पिंदै र फेरि हातको किताबका पन्नामा फर्कनु नै मेरो लागि पठनको केन्द्रीय सौन्दर्य हो।

बाँचिरहेको जीवनलाई अझ गहिराइमा अनुभूति गर्न सकियोस्, समय अझ बढी ‘इन्टेन्स्’ बनोस्, पढ्दा घरी–घरी आफैं काँपियोस्, घरी आफैंसँग सम्हालिइयोस्– तब न पढ्नुको अर्थ। यी आइरिस लेखिकाको ‘नर्मल पीपल’ सुरु गर्दै गर्दा मैले बेलाबेला यिनका पुर्खा जेम्स जोयसको जीवन र दर्शन चिन्तन गरें। उनको ‘अ पोट्रेट अफ यान् आर्टिस्ट याज् अ योङ् म्यान’ सम्झेर आफ्नो बाल्यकालतर्फ फर्कें।

जोयसको मास्टर पीस उपन्यास ‘यूलिसस’ले प्रतिनिधित्व गर्ने ‘यथार्थ’ सम्झें। कति ‘सानो’ घटनामा कति ‘ठूलो’ उपन्यास लेख्न सकिन्छ भनेर सोच्दासोच्दै कति असत्यलाई ‘सत्य’ ठान्दै हुर्केको आफ्नो विगत सम्झें, कति ‘सत्य’लाई असत्य भन्दै लुकाएँ भनेर आफू २६ वर्ष हुँदाको ‘सेल्फ’लाई सम्झें। २६ वर्षमै संसारबाट बिदा भएका कवि जोन किट्सलाई सम्झें।

मलाई कथा अन्त्य भएको मन पर्दैन। सक्ने हतार गरेर मैले उपन्यास पढ्न सक्दिनँ। ‘नर्मल पिपुल’ मैले विस्तारै पढें।

धनी घरकी विक्षिप्त छोरी मेरियन र उनकी हाउसमेडको छोरा, स्कुलको सहपाठी कोनेलको कथा हो ‘नर्मल पिपुल’। धनी, पूँजीवादी मुलुकहरूको मूलधारले मार्क्सवादलाई यति ‘अछूत’ बनाएको छ कि वर्गको विमर्श गर्‍यो भने मार्क्सवादी भइने बात लाग्ला भनेर मानिसहरू यो विषयमा धेरै प्रवेश नै गर्दैनन्।

जबकि तपाइँ मार्क्सवादी हुनुहोस् कि गैर, मानव समाजको इतिहास त कार्ल मार्क्सले भन्नु भन्दा पहिले पनि वर्गीय थियो र मार्क्सवाद वादको रूपमा विलुप्त नै भएछ भने पनि दुनियाँमा वर्ग त सायद रहने नै छन्। यदि स्याली रूनी नेपाली लेखक हुन्थिन् भने सायद अहिले बहस भइरहेको हुँदो हो उनको एक मार्क्सवादी सर्जकका रूपमा। र सायद एकथरी मार्क्सवादीहरू कुर्लिरहेका हुन्थे होला– रूनी खासमा संशोधनवादी हुन् भनेर।

रूनीको ‘नर्मल पिपुल’ले समाजलाई त्यही व्यंग्य गरेको छ कि, जे कुरा सामान्य नहुनुपर्थ्यो त्यो नै सामान्य भएको छ।

२०११ को जनवरीमा सुरु भएर २०१५ को फेब्रुअरीमा अन्त्य भएको मेरियन र कोनेलको कथा हाईस्कुलबाट सुरु भएर ट्रिनिटी कलेजको प्राज्ञिक यात्रासँगै टुङ्गिन्छ र उपन्यास २०१८ मा प्रकाशित भएको हो। स्याली रूनी आफैं ट्रिनिटी कलेजमा पढेकी हुनाले पनि यस ‘क्याम्पस नोवेल’का पात्र र वर्णनहरू पढ्दा लेखिका कुन चाहिं पात्र मार्फत पोखिएकी होलिन् भन्ने उत्सुकता आफैंमा पठन अनुभूतिको एक मीठो हिस्सा बन्न जान्छ।

मानिसको ‘साइकी’ वा उसको मनोवैज्ञानिक बनोटलाई कति धेरै मात्रामा उसको आर्थिक वर्गले आकार दिएको हुन्छ भन्ने यथार्थलाई रूनीले एक उतारचढावपूर्ण प्रेमको लयात्मक कथामा गुन्गुनाएकी छन्। बाहिरबाट हेर्दा भर्खरका युवाको जीवन कति सरल जस्तो देखिन्छ। तर ती कलिला केटा र केटीले भावनात्मक रूपमा खाएका अगणित ठेस सतहमा अदृश्य हुन्छन्।

आफू हुनुको आभासमाथि आफ्नै शंका, बाहिर देखाउनुपर्ने आत्मविश्वास र वास्तविकतामा आफूले बाँचेको संसारबीच नभेटिने तादात्म्य, त्यो सबै बीच मेरियन र कोनेलले एक–अर्कोमा पाउने भावनात्मक शरणको अविच्छिन्न श्रृंखला भने मार्क्सवादीहरूले स्वीकृत गर्ने प्रेम भन्दा फरक काव्यिक कोटिको छ।

प्रसिद्ध फ्रान्सेली लेखिका, दार्शनिक सिमोन दी बुवाको ‘दी सेकेन्ड सेक्स’बाट गणना गर्ने हो भने पनि पश्चिमा नारीवादको प्राज्ञिक इतिहासले सात दशक नाघिसकेको छ। पश्चिमा समाज एक्काइसौं शताब्दीको तेस्रो दशकमा आइपुग्दा एउटी बीस वर्षको आसपासकी युवतीले कति स्वतन्त्र अनुभव गर्न सकेकी छ ? उसका केटा साथीहरूले बुझ्ने महिला समानता र नारी स्वयंले बाँच्नु परिरहेको ‘असमान समानता’ कति फरक छन् ? कसरी अहिलेसम्म पनि पितृसत्ता बाहिरी समाजमा मात्र होइन, आफ्नै बाबु-दाइ र तथाकथित प्रेमी मार्फत प्रस्फुटित भइराख्दो रहेछ भनेर एक युवा महिला उपन्यासकारले चित्रण गरेको युरोपेली समाज पढ्दा उदेक लाग्ने प्रसंग अनेक छन्।

वर्गीय आधारमा आफूभन्दा कमजोर पृष्ठभूमिको प्रेमी नै किन नहोस्, आफ्नो प्रेम मार्फत उसले महिलामाथि अधिकार जमाएकै हुन्छ। प्रेमको नाममा आफूले गरेको आत्मसमर्पण कतै पितृसत्तासामु एउटी केटीले गरेको आत्मसमर्पण त हैन भनेर रूनीले मनोवैज्ञानिक सूक्ष्मतामा कथालाई बुनेकी छन्। त्यससँगै, ‘हुनेखाने’ वर्गका परिवार कसरी भित्रैदेखि भत्केका हुन्छन् जबकि काम नगरी खान नपुग्नेहरूका परिवारका सदस्यहरूको मायामा अझै पनि केही पवित्रता जीवितै छ भनेर मेरियन र कोनेलका परिवारबीच औपन्यासिक पक्षले वर्गीय पक्षधरता प्रष्टसँग लिएको छ।

‘नर्मल पिपुल’ पढेर सक्ने बेलासम्म म फेरि पनि उपन्यासको शक्ति माथि आफ्नो पुरानो विश्वासमै फिर्ता भइसकेको थिएँ। त्यो के भने– सामाजिक रूपमा अन्तरक्रिया गर्दा कुनै मानिसलाई भित्रबाट चिनिन्छ जस्तो मलाई लाग्दै लाग्दैन। धेरै मान्छे त आफैंले आफैंलाई पढ्न तयार नै हुन सक्दैनन्। आफू अहिले जे जस्तो छु, त्यस्तो ‘साइकी’को निर्माणमा आफू हुर्केको कुन वातावरणको कस्तो प्रभाव छ भनेर केलाउनै सक्दैनन्।

आफ्ना जस्ता स्वभावहरू छन्, ती किन त्यस्ता छन् र किन ती अर्का खाले छैनन् भनेर बुझ्नै सक्दैनन्। बुझ्न खोज्दा कहिलेकाहीं आफैंसँग डर लाग्न पनि सक्छ। आफैंले आफूलाई आफैंसँग विनिर्माण गर्न त सजिलो हुँदैन भने गफ गरेकै भरमा, अलि अलि साथी भएकै भरमा एउटा मानिसले अर्कोलाई कति नै चिनेको हुन्छ र ?

हामी मानिसहरूले काल्पनिक कथाहरू मन पराउने नै यस कारण होला कि त्यहाँका पात्रलाई हामीले दिल खोलेर चिन्न पाउँछौं। ती पात्र मार्फत हामीले लाज नमानी आफैंलाई चियाउन पाउँछौं। कहिले विगतको आफूलाई, कहिले आगतको। आफूले आफैंसँग एक्लै हुँदा पनि गर्न नसकिने संवाद हामीले पात्र मार्फत गर्न पाउँछौं। पात्रसँग गरिने ती संवाद हामीले आफैंसँग गरेका मनोवाद हुन्। ‘नर्मल पिपुल’ पढ्दा मैले फेरि पटक–पटक मनोवाद गरें।

अन्त्यमा, कतिपय मनोवैज्ञानिकहरू भन्छन्– ‘नर्मल’ हुनु भनेको नै एक ‘मिथ’ हो। कोही पनि मानिस ‘नर्मल’ हुँदैन। तर पनि पूँजीवादको दौड भनौं कि समग्र समाजको अपेक्षा, अहिले जे कुरालाई ‘नर्मल’ मानिन्छ त्यो नै ‘याब्नर्मल’ छ। रूनीको ‘नर्मल पिपुल’ले समाजलाई त्यही व्यंग्य गरेको छ कि, जे कुरा सामान्य नहुनुपर्थ्यो त्यो नै सामान्य भएको छ। र त्यस्तो किन भएको छ होला भने– हामी बाँच्ने यो उत्तर-उत्तर आधुनिक भने पनि या ‘लेट-हाइ-क्यापिटलिज्म’— अहिलेको समयमा सामान्य हुनु स्वयम् नै असामान्य भएको छ। त्यसैले, कहिलेकाहीं केही सामान्य अनुभव गरिरहन मात्र भए पनि आख्यान नै पढ्नु परिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?