+
+

प्रचण्डलाई ओलीको प्रश्न : ७० वर्ष लागिसक्नुभयो, कहिले सच्चिनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १८:०७

६ फागुन, सुखड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।

आइतबार घोडाघोडीको सुखडमा एमालेको कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको धारणा राखेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारलाई निकम्माको संज्ञा दिएका ओलीले बलियाका पक्षमा मात्र काम गरिरहेको आरोप लगाएका हुन् ।

‘अहिलेको यो निकम्मा सरकार हो । यसले केही पनि काम गर्न सक्दैन’, ओलीले भने, ‘यो गरिबलाई हेप्ने, न्याय नदिने, बलियाका पक्षको सरकार हो । क्वीन्टलका क्वीन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न सक्दैन सरकार निरीह छ ।’

ओलीले सुन तस्करीमा संलग्नलाई कारवाही गर्न खोज्दा आफ्नै मान्छे भेटेपछि छाडिदिने गरेको आरोप समेत लगाए । प्रधानमन्त्रीले बिना काम एक वर्ष बिताएको भन्दै ओलीले भाषणमा सच्चिन्छु भन्ने तर सच्चिने कहिले हो भनेर प्रश्न गरे ।

‘यो सरकारले एक वर्ष काम नगरी बितायो । प्रधानमन्त्रीले एउटा पनि राम्रो काम देखाउन सक्नुभएको छैन । उहाँ भाषणमा हामी काम गर्छौ, सच्चिन्छौं भन्नुहुन्छ’, ओलीले भने, ‘तर ७० वर्ष पुग्न लाग्नुभयो अहिलेसम्म नसच्चिएको मान्छे कहिले सच्चिने हो ?’

राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रता कमजोर भएपनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै उनले देशमा सुशासन नै नभएको उल्लेख गरे ।

आफ्नो कार्यकालमा गरेका कामहरू अहिलेको सरकारले निरन्तरता नदिएको, वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न नसकिएको उनले बताए ।

ओलीले अधिवेशनबाट सक्षम र योग्य व्यक्तिलाई चयन गर्न प्रतिनिधिलाई आग्रह समेत गरे । उनले सर्वसम्मत वा लोकतान्त्रिक विधिबाट सक्षम नेतृत्व चयन गर्न र महाधिवेशन नलम्ब्याउन पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?