+

कम्मर दुखिरहन्छ ? यी योगासन लाभदायक हुनसक्छ (भिडियो)

२०८० फागुन  ९ गते ७:०० २०८० फागुन ९ गते ७:००
Shares
कम्मर दुखिरहन्छ ? यी योगासन लाभदायक हुनसक्छ (भिडियो)

कम्मर दुख्ने समस्याले जुनसुकै उमेरका व्यक्तिलाई सताइरहेको हुन्छ । यद्यपि ३० वर्षमाथिका व्यक्ति यो समस्याबाट अझ बढी पीडित भएको पाइन्छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार करिब ७० देखि ८५ प्रतिशत मानिसमा कम्मर दुखाइको समस्या हुन्छ ।

कम्मर दुखाइको एक मात्र कारण छैन । शारीरिक निष्क्रियता, बसाइको पोजिसन नमिल्नु, मोटोपन, एउटै पोस्चरमा लामो समय बसेर काम गर्नु, भारी सामान उचाल्नु, हड्डी कमजोर हुनु, निहुरिएर बसिरहनु, शरीरमा क्याल्सियम र भिटामिन डीको कमी हुनु, दुर्घटनामा परी मेरुदण्ड भाँच्चिनु जस्ता कारणले कम्मर दुख्छ ।

कम्मर दुखेमा सहेर बस्ने र अति गाह्रो भए पेन किलर खाने धेरैको बानी छ । नतिजास्वरुप यसले ठूलो रुप लिन्छ । कुनै पनि दुखाइ निवारक औषधिले केही घण्टाको लागि मात्र राहत दिनसक्छ ।

यस्तोमा कम्मर दुखाइबाट राहत मिल्ने एउटा विकल्प हो, योग ।

दिनको १५ मिनेट दिएर केही योगासन गरेमा कम्मर तथा मांसपेशीहरूमा दबाब कम हुन्छ, साथै शरीरभरि रक्त सञ्चार राम्रो भई अक्सिजन पुग्छ ।

कम्मर दुखाइबाट राहत पाउन कस्त योगासन ?

बालासन

कम्मर दुखाइका लागि बालासनबाट योगको सुरुवात गर्न सकिन्छ । यस आसनका लागि पहिले घुँडा टेकेर म्याटमा बज्रासनमा आरामसँग बस्नुपर्छ । श्वासप्रश्वास सामान्य अवस्थामा राखेर कम्मरलाई सिधा राख्नुपर्छ ।

अब अगाडि हेर्दै गहिरो सास लिएर शरीरको माथिल्लो भागलाई अगाडितिर झुकाउने र दुवै हात अगाडि राखी टाउकोको अगाडि जमिन छुने प्रयास गर्नुपर्छ । यसमा ध्यान दिनुपर्ने कुरा के छ भने घुँडा धेरै फाटनु पर्दैन । घुँडाको लम्बाइ जति छ, त्यति फाट्नु उचित हुन्छ । हत्केलालाई काँधको सिधा तल राख्नुपर्छ ।

माजरी आसन

माजरी आसनलाई अंग्रेजीमा क्याट काउ पोज पनि भनिन्छ । सर्वप्रथम श्वास लिंदै पेटलाई तल लैजानुपर्छ । यस क्रममा कुहिनोलाई खुम्च्याउनु हुँदैन ।

शरीरलाई अलिकति अगाडि ल्याएर काँधलाई पछाडितिर धकेलेर माथि हेर्ने र श्वास छोड्दै पेटलाई हल्कासँग खुम्चाएर जति सकिन्छ त्यति माथि आफूलाई खिच्नुपर्छ । काँधलाई फराकिलो भएको महसुस गर्नुपर्छ । यस क्रममा चिउँडोलाई आफ्नो छातीतर्फ धकेल्ने प्रयास गर्नुपर्छ ।

माजरी आसनले मेरुदण्ड र पिठ्युको मांसपेशीहरूलाई लचिलो बनाउँछ । यसले पिठ्यूका साथै गर्धनको दुखाइमा पनि राहत दिन्छ । यो आसन तीन पटकसम्म गर्नु राम्रो हुन्छ ।

ताडासन

दुवै खुट्टालाई जोडेर दुवै हातलाई शरीरको दुवैतर्फ राखी सतर्क अवस्थामा उभिने र दुवै हातका औंलाहरूलाई कैंची पारी एकापसमा कसेर हत्केलाले नाइटोमा छुने गरी राख्नुपर्छ । अब बिस्तारै श्वास लिंदै हातलाई माथि उठाउँदै टाउकाको माथि पारी खुट्टाको पञ्जाले टेकेर सम्पूर्ण शरीरलाई तनक्क तन्काउनुपर्छ ।

यही अवस्थामा शरीरलाई सन्तुलित राख्नुपर्छ । बिस्तारै श्वास छोड्दै हातलाई तल ल्याई पूरै पैतालाले जमिनलाई छुने गरी पहिलेकै अवस्थामा फर्किनुपर्छ । यसलाई पनि तीन पटकसम्म दोहोर्‍याउनुपर्छ ।

धनुरासन

यो आसन गर्नका लागि सबैभन्दा पहिला दायाँ खुट्टालाई खुम्चाउने र त्यसपछि बायाँ खुट्टालाई खुम्चाउनुपर्छ । त्यसपछि हल्का आफ्नो टाउकोलाई उठाएर दायाँ हातले दायाँ खुट्टा र बायाँ हातले बायाँ खुट्टा समाउनुपर्छ । यो अवस्थामा घाँटी र काँधलाई सिधा राखेर अगाडि हेर्नुपर्छ ।

त्यसपछि हिपलाई खुम्चाएर हल्कासँग श्वास लिंदै दुवै खुट्टालाई सहज तरिकाले उचाल्दै अगाडि हेर्ने र श्वास छोड्दै खुट्टा भुईंमा छोड्ने र सास लिंदै पुन: खुट्टा उचाल्नुपर्छ । यसलाई पनि तीन पटक नै अभ्यास गर्नुपर्छ ।

भुजंगासन

सर्वप्रथम पेट टेकेर सुत्ने र आफ्नो हात आफ्नो छातीको छेउमा राखी निधार म्याटमा टेकाउनुपर्छ । अब लामो गहिरो सास लिंदै शरीर माथि उठाउनुपर्छ । नाइटोलाई म्याट नजिक राख्ने प्रयास गर्नुपर्छ । आफ्नो आँखा खुला राखी बिस्तारै घाँटी पछाडि सार्नुपर्छ । अब श्वास छोड्दै पहिलो स्थितिमा फर्कनुपर्छ । यस आसनमा कम्मर  तथा घाँटीको तनावले दुखाइ कम गर्ने काम गर्छ ।

ष्ट्रासन

उष्ट्रासनका लागि सबैभन्दा पहिले घुँडाको सहारा लिएर योगा म्याटमा बस्नुपर्छ । अब मेरुदण्डलाई पछाडि झुकाउँदा दुवै हातलाई खुट्टामा राखेर कुर्कुच्चा समाउने र हिपलाई अगाडि ठेल्नुपर्छ । यस्तोमा पाँचदेखि दश पटक गहिरो सास लिने र त्यसपछि बिस्तारै सामान्य अवस्थामा आउनुपर्छ । घाँटीमा अत्यधिक दबाब हुनु हुँदैन र कम्मरदेखि घुँडासम्मको भाग सिधा रहनुपर्छ ।

उष्ट्रासनले पनि पेटको बोसो घटाउन सहयोग गर्छ । उष्ट्रासनपछि पुन: बालासन गर्न सकिन्छ । यसले अन्य आसनबाट बढिरहेको रक्त सञ्चारलाई एक लयमा ल्याई आराम दिन्छ ।

कसले गर्न मिल्छ ? कुन समयमा गर्ने ?

यी आसन दैनिक बिहानको खालीपेटमा गर्नु उपयुक्त हुन्छ । बिहान शरीरमा ऊर्जा पनि हुन्छ । र, खाली पेट पनि हुने भएकोले यसको नतिजा राम्रो हुन्छ । माथि उल्लेखित आसन सकिन्छ भने सबै गर्नु राम्रो हुन्छ । यदि सम्भव हुँदैन भने दैनिक दुई-तीन आसन गर्नाले पनि दुखाइमा राहत मिल्न सक्छ ।

यी योगासन जुनसुकै उमेरकाले गर्न सकिन्छ । योग गर्ने क्रममा कठिनाइ भइरहेको छ भने सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

कम्मर दुखाइ योगासन सन्ध्या नेपाल
सन्ध्या नेपाल
लेखक
सन्ध्या नेपाल
योग प्रशिक्षक

नेपाल काठमाडौंको पेप्सीकोलास्थित यानया योगा स्टुडियोकी सञ्चालक हुन् । उनले देश तथा विदेशमा योग प्रशिक्षण दिंदै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?