+
+

एमालेमा चिन्ता : शुद्धीकरण नगरे जनताबाट अलग हुने खतरा

वर्ष–२०८१ भर एमालेले शुद्धिकरण र सुदृढीकरण अभियान चलाउने

उपाध्यक्ष विष्णु पौडेलले पेश गरेको प्रतिवेदनमा नेता–कार्यकर्ताहरुमा देखिएको जीवनशैली, आर्थिक र यौन आचरणले पार्टी जनताबाट अलग हुने खतरा रहेको उल्लेख छ ।

सइन्द्र राई सइन्द्र राई
२०८० फागुन ८ गते २२:०७

८ फागुन, काठमाडौं । नेकपा एमालेले आगामी वर्ष २०८१ भर पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने तयारी थालेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले अलग–अलग प्रतिवेदन पेश गर्दै आगामी वर्षको कार्यक्रमबारे प्रस्ताव ल्याएका हुन् ।

महासचिव पोखरेलले गत वर्षको आमचुनाव सम्पन्न भएपछि पार्टीले गरेका गतिविधिहरुको समीक्षा प्रतिवेदन पेश गरेका छन् । उनको प्रतिवेदनमा दुई महिने मिसन ग्रासरुट अभियान, मध्य पहाडी संकल्प यात्रा र पार्टी पुनर्गठनको गतिविधिहरु समावेश गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेल र उपाध्यक्ष पौडेलले भने आगामी वर्ष पार्टीले सञ्चालन गर्ने शुद्धीकरण र सुदृढीकरण अभियानका लागि केन्द्रीय सदस्यहरुको राय लिनेगरी प्रस्ताव प्रतिवेदन ल्याएका छन् ।

‘शुद्धीकरण/सुदृढीकरण सम्बन्ध’ शीर्षकको संक्षिप्त लिखित प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रीय सदस्यहरुलाई आफ्नो राय राख्न मार्गदर्शनको आधार प्रस्तुत गरेका छन् ।

उपाध्यक्ष पौडेलले भने पार्टीभित्र देखिएका समस्याहरु समेत प्रस्तुत गरेका छन् । ‘जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती’ शीर्षकको प्रतिवेदनमा पौडेलले मुख्यगरी पार्टीभित्र देखिएको चार समस्या उल्लेख गरेका छन् ।

पहिलो समस्याका रुपमा उपाध्यक्ष पौडेलले पार्टीभित्र ‘दक्षिणपन्थी अराजकतावाद’ देखिएको उल्लेख गरेका छन् । विशेषगरी अधिवेशन सम्पन्न गर्ने क्रममा देखिएको प्रवृत्तिलाई पौडेलले यस्तो समस्यासँग तुलना गरेका छन् । जबकी चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनले यस्तो प्रवृत्तिविरुद्ध लड्ने संकल्प गरेको पौडेलले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उपाध्यक्ष पौडेलले भद्दा कमिटी प्रणालीलाई दोस्रो समस्या भनेका छन् । पाँचौ महाधिवेशन पश्चात् एमाले जनतामा आधारित कार्यकर्ताहरुको पार्टी भएपनि अहिले सदस्यहरुले आफू सदस्य भएको थाहा नपाउने र संगठनहरु बैठक नै बस्न नसक्ने अवस्थामा रहेको उल्लेख गरेका छन् ।

‘… सबै तहका पार्टी कमिटी तुलनात्मक रुपमा ठूला अकारका छन् र हाम्रा सामू तिनको प्रभावकारी व्यवस्थापन र परिचालनको समेत चुनौती थपिएको छ’, पौडेलले लेखका छन् । चितवनको दशौं महाधिवेशन संक्रमणकालीन अवस्थामा सम्पन्न भएकाले त्यसैले भद्दा पार्टी संरचना निर्माण गर्ने छुट दिएको पौडेलले तर्क गरेका छन् ।

तर भद्दा कमिटी प्रणालीलाई व्यवस्थित गरेर जानेबारे केन्द्रीय सदस्यहरुको राय मागिएको छ । ‘ठूला आकारका कमिटीलाई कसरी प्रभावकारी बनाउने ? कमिटीको बैठक बस्ने, बैठकले निर्णय गर्ने र ती निर्णय कार्यान्व्यन हुने अवस्था कसरी सुनिश्चित गर्ने ?’, उपाध्यक्ष पौडेलले केन्द्रीय सदस्यहरुसँग राय मागेका छन् ।

अहिले एमाले भद्दा पार्टी संरचनाबाट मात्रै नभएर दोहोरो इन्चार्जको अप्ठ्यारोमा समेत थिचिएको व्याख्या पौडेलको प्रतिवेदनमा छ । ‘एउटा कमिटीका लागि सो भन्दा माथिल्लो कमिटीबाट खटिएका इन्चार्जहरुको संख्या धेरै हुने (उदाहरणका लागि पालिका तहमा जिल्ला, प्रदेश र केन्द्रबाट अलगअलग इन्चार्ज खटिनुभएको छ) र उहाँहरुको बीचमा मतान्तर हुने र कमिटीको कामकारवाही प्रभावित हुने अवस्था छ’, पौडेलले प्रतिवेदनमा लेखेका छन् ।

‘हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन र सामाजिक नैतिकताको सीमा अनुकुल हुनुपर्छ, हामी जनताले उचित नठान्ने काम कारबाहीबाट जोगिनुपर्छ’, उपाध्यक्ष विष्णु पौडेलले प्रतिवेदनमा भनेका छन् ।

पार्टीभित्र देखिएको अर्को ठूलो समस्या गुटबन्दी भएको उपाध्यक्ष पौडेलको बुझाइ छ । गुटबन्दीले पार्टी कमजोर बनाउने निष्कर्ष सहित उनले भनेका छन्, ‘पार्टी र गुट विपरीतधर्मी तत्व हुन् । पार्टी बलियो हुँदा गुट कमजोर हुन्छ, गुट बलियो हुँदा पार्टी कमजोर हुन्छ । हामीले गुटबन्दी समाप्त पार्ने र पार्टीलाई बलियो बनाउने संकल्प गर्नुपर्छ ।’

सँगै उपाध्यक्ष पौडेलले पार्टीभित्र आफ्नो विचार र विश्लेषण प्रस्तुत गर्ने स्वतन्त्रताबारे पनि आवश्यक ध्यान दिनुपर्ने तर्क गरेका छन् । तर विधि र मर्यादा ख्याल गर्नुपर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पार्टीभित्र देखिएका समस्याहरुको समाधान केन्द्रीय सदस्यहरुसँगै मागिएको प्रतिवेदनको अन्त्यमा भने नेता तथा कार्यकर्ताहरुको जीवनशैली र आचरणको समस्या उल्लेख गरिएको छ । चिन्ताकै रुपमा प्रस्तुत यो समस्याबारे उपाध्यक्ष पौडेलले लामै व्याख्या गरेका छन् ।

‘हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन र सामाजिक नैतिकताको सीमा अनुकुल हुनुपर्छ’ प्रतिवेदनमा भनिएको छ, ‘हामी जनताले उचित नठान्ने काम कारबाहीबाट जोगिनुपर्छ । तर पार्टीभित्र प्रचलित कानुन, सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिले अनुचित क्रियाकलाप देखा पर्न थालेका छन् ।’

यो समस्याले पार्टी नै खतरामा रहेको बुझाउन पौडेलले जनतामा आधारित कार्यकर्ताहरुको पार्टीबारे व्याख्या गरेका छन् । पाँचौं महाधिवेशन भन्दा अगाडि एमाले कार्यकर्तामा आधारित पार्टी भएपनि जनताको बहुदलीय जनवादले जनतामा आधारित बनाएको सन्दर्भ पौडेलले प्रतिवेदनमा समावेश गरेका छन् ।

त्यो भनेको जनताको मन जितेर पार्टी निर्माण हुने सैद्धान्तिक आधार प्रस्तुत गरेका छन् । तर अहिले नेता–कार्यकर्ताहरुमा देखिएको जीवनशैली, आर्थिक र यौन आचरणले पार्टी जनताबाट अलग हुने खतरा देखिएको उपाध्यक्ष पौडेलको विश्लेषण छ ।

‘आर्थिक आँचचरण र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने प्रवृत्ति हुर्किदै छन् । यस्तो प्रवृत्तिले नेता, कार्यकर्ता र समग्र पार्टी जनताबाट अलग गर्न खतरा पैदा भएको छ’, पौडेलले सावधान गराएका छन् ।

यसरी पार्टीभित्र देखिएको संगठनात्मक, राजनीतिक र सैद्धान्तिक समस्या हल गर्ने आगामी वर्ष २०८१ भर शुद्धीकरण र सृदृढीकरण अभियान सञ्चालन गरिने जानकारी उपाध्यक्ष पौडेलले दिएका छन् । त्यसका लागि जारी केन्द्रीय कमिटीमा नेताहरुले दिएको सुझाव समेटेर स्थायी कमिटीले शुद्धीकरण र सुदृढीकरण कार्यक्रम तयार पारिने प्रतिवेदनमा भनिएको छ ।

‘बैठकमा प्रस्तुत सबै प्रतिवेदनको सारांश आगामी वर्ष एमालेले पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने भन्ने हो’ केन्द्रीय सदस्य विष्णु रिजालले भने ।

मंगलबारको बैठकमा पेश भएका प्रतिवेदनमाथि बुधबारदेखि छलफल हुनेछ । त्यसका लागि ९ वटा समूह बनाइएको छ ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?