+
+

नेपाललाई ६७ अर्ब अनुदान सहयोग दिने बेलायतको घोषणा

बेलायतको दीर्घकालीन रणनीतिक कार्यक्रम ‘यूके डेभलपमेन्ट पोर्टफोलियो’ अन्तर्गत उपलब्ध गराइने उक्त अनुदान सहयोग सन् २०३० भित्र नेपालले पाउने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १३:२७

९ फागुन, काठमाडौं । बेलायतले नेपाललाई आगामी ६ वर्षभित्र ४० करोड पाउन्ड (६६ अर्ब ८० करोड रुपैयाँ) बराबर वित्तीय अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।

बेलायतको दीर्घकालीन रणनीतिक कार्यक्रम ‘यूके डेभलपमेन्ट पोर्टफोलियो’ अन्तर्गत उपलब्ध गराइने उक्त अनुदान सहयोग सन् २०३० भित्र नेपालले पाउने छ ।

बेलायतका अन्तर्राष्ट्रिय विकासमन्त्री एन्ड्रिउ मिचेलले ७–८ फागुनमा गरेको नेपाल भ्रमणपछि बेलायतले नेपालसँग यो ऐतिहासिक साझेदारी गरी एक नयाँ विकास पोर्टफोलियो घोषणा गरेको हो ।

बेलायती घोषणा अनुसार नयाँ अनुदान सहयोग रकम नेपालले जलवायु संकट, विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन, आर्थिक रूपान्तरण गर्न तथा सुशासन र समावेशीकरणमा सहयोग गर्न उपयोग गर्ने छ ।

बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसका अनुसार अनुदान रकमबाट नेपालमा थप १३ हजार ५ सय रोजगारी सिर्जना हुनेछ, जसले थप १ अर्ब अमेरिकी डलरभन्दा बढी परिमाणमा नयाँ लगानी आकर्षित गर्ने छ । यसबाट २०३० भित्र गुणस्तरीय स्वास्थ्य तथा शिक्षा सेवामा नेपालका २० लाखभन्दा बढी महिला तथा किशोरीहरूको पहुँचमा सहयोग पुग्ने छ ।

दुई दिने नेपाल भ्रमणपछि बेलायती विकासमन्त्री मिचेलले यो अनुदान सहयोग रकम घोषणा गरेका हुन् । बेलायतले हालै सार्वजनिक गरेको स्वतेपत्र अनुसार दीर्घकालीन र प्रणालीगत रूपान्तरणमा केन्द्रित हुँदै विश्वव्यापी दिगो र समावेशी विकासमा बेलायतको प्रतिबद्धताअनुसार नेपाललाई नयाँ अनुदान सहयोग घोषणा गरिएको हो ।

‘बेलायत र नेपालबीच घनिष्ठ सम्बन्ध छ जुन नेपालको सबैभन्दा पुरानो साझेदारका रूपमा हाम्रो गहिरो इतिहासले बलियो छ,’ मन्त्री मिचेलले भने, ‘हामी नेपालका लागि झै लचिलो र समृद्ध भविष्य सुरक्षित गर्ने महत्वाकांक्षा पनि सार्वजनिक गर्न चाहन्छौं ।’

मन्त्री मिचेलले नेपाल भ्रमण क्रममा बेलायतले नेपालमा सीमान्तकृत समुदायलाई गरिरहेको मद्दत, जलवायु लचिलोपना विकास र नेपालको आर्थिक रूपान्तरणमा कसरी सहयोग गरिरहेको छ भनेर प्रत्यक्ष देखेको बताए ।

‘हाम्रो नयाँ विकास पोर्टफोलियोले नेपाललाई विकास र विकास यात्रामा समर्थन गर्न आवश्यक पुँजी परिचालनमा मद्दत गर्ने विश्वास छ,’ मन्त्री मिचेलले भने, ‘यो बेलायत–नेपाल मित्रताको आगामी सय वर्षे अवधिको चुनौती र अवसर सम्बोधन गर्नका लागि उपयुक्त साझेदारीको एक हिस्सा हो ।’

नेपालको अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बेलायती मन्त्री मिचेलले नेपाललाई अतिकम विकसित मुलुकको तहबाट स्तरोन्नति हुन सघाउनका लागि विकास कोष परिचालन गर्न, जलवायु संकटसँग जुध्न र व्यवसाय निर्माण गनै बेलायतले नेपालसँग कसरी काम गर्छ भन्ने बताए ।

दिगो स्थानीय पूर्वाधारमा सुधारिएको पहुँचका लागि बेलायतको नयाँ अनुदान सहयोगबाट नेपालका १७ लाखभन्दा धेरै मानिस लाभान्वित हुने बेलायतको अपेक्षा छ ।

नेपाल भ्रमण क्रममा बेलायती मन्त्री मिचेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउद र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटवार्ता गरेका थिए ।

त्यसैगरी मन्त्री मिचेलले माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको स्थलगत भ्रमण गरेका थिए । जसमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) ले २ करोड २० लाख अमेरिकी डलर लगानी गरेको छ । यसबाट नेपालका लाखौं मानिसलाई स्वच्छ र दिगो ऊर्जा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?